राष्ट्रपति पौडेलद्वारा रामनवमी पर्वको शुभकामना
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले रामनवमी पर्व, २०८१ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति एवं समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन् ।
हरेक वर्ष चैत महिनाको शुक्ल पक्षको नवमी तिथिका दिन मर्यादा पुरुषोत्तम भगवान् श्रीरामचन्द्रको जन्मदिनको रूपमा ‘राम नवमी’ पर्व धूमधामका साथ मनाउने परम्परा रहिआएको छ । यस दिन भगवान् श्रीरामको विशेष पूजा अर्चना, व्रत अनुष्ठान र जप ध्यान गर्नाले भगवत् कृपा प्राप्त भई आफूले चिताएको सम्पूर्ण कार्य पूरा हुने जनविश्वास रहेको राष्ट्रपति पौडेलले जारी गरेको शुभकामना सन्देशमा उल्लेख छ ।
शताब्दीयौँदेखि प्रचलनमा रहेका यस्ता मौलिक पर्वले हाम्रो प्राचीन सभ्यताका साथै धर्म र संस्कृतिको जगेर्ना गर्न थप मद्दत पुग्ने विश्वास उनले व्यक्त गरेका छन् । रामनवमी भगवान् श्रीरामको जन्म दिवस मात्र नभई यो दिनलाई समस्त पृथ्वीमा अधर्मको पराजय र धर्मको स्थापना भएको खुसीयालीको दिवसका रूपमा पनि लिइन्छ । यस दिन मूलतः देशको विभिन्न स्थान एवं जनकपुरस्थित रामजानकी मन्दिरमा भव्य मेला लाग्दछ ।
“राम नवमीजस्ता सांस्कृतिक तथा ऐतिहासिक पर्वहरूले हाम्रो विविध जातजाति, भाषाभाषी, सांस्कृतिक एवं भौगोलिक क्षेत्रका नेपालीको बिचमा परस्पर विश्वास, सद्भाव, सहिष्णुता र सहयोगको भावनालाई प्रगाढ बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा लिएको छु”, राष्ट्रपति पौडेलले सन्देशमा भनेका छन् । नेपालीको मौलिक संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गरी यस पर्वले सम्पूर्ण नेपालीबिच आपसी समझदारी, दिगो शान्ति एवं भाइचाराको भावना अभिवृद्धि गर्न उत्प्रेरित गर्न सकोस् भन्ने कामना पनि उनले शुभकामना सन्देशमार्फत व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण