‘नेपालको परराष्ट्र सम्बन्ध : सङ्क्रमणकाल र प्रो. नरेन्द्रमणि दीक्षित’

‘नेपालको परराष्ट्र सम्बन्ध : सङ्क्रमणकाल र प्रो. नरेन्द्रमणि दीक्षित’ पुस्तक मलाई पढ्न दिन इम्प्रिन्ट पब्लिसर्सका निर्देशक रमेश घोरासइन मकहाँ आफैँ आए । २०८१ को फागुको अन्ततिर लोकार्पण भएको यस पुस्तकका शीर्षक र विषय आकर्षक लाग्यो तर मेरा अँखाले किताब–पत्रपत्रिका पढ्न गाह्रो हुने भएकाले दिक्क मानेर असमर्थता जनाएँ । कम्प्युटरको स्क्रिन ठुलो गरेर पढ्नचाहिँ सक्छु तर किताब पढ्न सक्दिनँ, त्यसैले मैले यसबारे केही लेख्न आफ्नो नातिनी समान कलेज छात्रा जुनु खनालसँग मद्दत लिएँ ।
पुस्तकका प्रमुख पात्र संक्रमणकालका परराष्ट्रसचिव नरेन्द्रमणि दीक्षित शिक्षा, भाषा, साहित्य, कूटनीति तथा प्रशासन क्षेत्रमा स्थापित नाम हुन् तर यिनीसँग मेरो सम्पर्क बडो तितो घटनाबाट भएको थियो । यो २०१० सालको कुरा हो, त्यतिबेला मातृकाप्रसाद कोइराला प्रधानमन्त्री थिए ।
अखिल नेपाल विद्यार्थी फेडेरेसनको केन्द्रीय नेतृत्व समूहमा कार्यरत मलाई अन्तर्राष्ट्रिय विद्यार्थी संघबाट विश्व छात्र महोत्सवमा भाग लिन निम्तो आयो । पासपोर्टको तारतम्य मिलाउन सिंहदरबार परराष्ट्र मन्त्रालयका सचिव उनै दीक्षितकहाँ गएँ र आफू आउनाको प्रयोजन बताएँ । उनले एक्कासि कठोर भाषामा ‘कम्युनिस्टहरू देशभक्त हुँदैनन्, त्यसैले उनीहरूलाई पासपोर्ट दिन मिल्दैन’ भने । पिता समान उमेरका व्यक्तिबाट यस्तो रुखो वचन–व्यवहारबाट चोट त पुर्यायो मलाई तर मैले उनलाई विनम्र तवरले त्यो महोत्सवको महत्त्व बताउँदा पनि झन् अपमानजनक पाराले आफ्नो नकारात्मकता जनाए । त्यसपछि मैले पनि ‘तपाईं एक सरकारी ब्युरोक्रेटले मेरो देशभक्तिको प्रश्न उठाउने के औकात ? यो कस्तो धृष्टता हो’ भन्दा उनी अरु आक्रोशित भएर ‘तपाईं जान सक्नुहुन्छ’ भने । यत्तिकैमा नेपाली काङ्ग्रेसका अध्यक्ष विश्वेश्वरप्रसाद कोइराला कुनै विदेश भ्रमणको सिलसिलामा आफ्नो पासपोर्ट लिन त्यहीँ आए । सचिवले उनलाई आदरपूर्वक पासपोर्ट दिए । मैले भनेँ, ‘उहाँलाई पासपोर्ट दिन मिल्ने, मलाई नमिल्ने किन ? यस्तो भेदभाव ?’
यो सुनेर बीपीले सोधे, ‘के भयो, हँ ?’ । मैले सबै वृत्तान्त बताएँ । उनी ‘ए’ भन्दै मुसुक्क हाँस्दै बाहिर गए ।
विदेशी शक्तिहरूको हैकम तथा हस्तक्षेपबाट राष्ट्रिय स्वाधीनता र सार्वभौमिकताको रक्षाको महत्त्वमा आफ्नो पार्टी नेता पुष्पलालबाट दीक्षित एक कार्यकर्ताको हैसियतले एउटा सरकारी कर्मचारीबाट अपमानित हुँदाको चोट त मलाई लाग्यो नै तर कालक्रममा मैले यो घटना बिर्सिएँ । यता बाग्मतीबाट धेरै धेरै पानी बगिसकेको थियो । सगरमाथामाथि सफल आरोहणपछि तेञ्जिङ शेर्पा स्वागत समितिमा म प्रचार समिति सचिव नियुक्त भई दीक्षित पनि परराष्ट्र सचिवको नाताले सदस्य रहँदा केही समय सँगसँगै काम गर्दा मैले यो तीतो घटनालाई बिर्सिसकेको थिएँ । त्यो बेलाको फोटो यहाँ प्रस्तुत छ, जुन कि मैले मदनकुमार भट्टराईकृत पुस्तकका फोटोहरू हेर्न लगाउँदा छुटेको रहेछ । मेरो ‘अवलोकन’मा ‘सगरमाथामा प्रथम मानव पाइला’ शीर्षकको ५७औँ अध्यायमा प्रकाशित यो फोटो सो पुस्तकलाई मेरो कोशेली भयो !
यत्तिकैमा २०३७ सालको एक दिन बिहान उनै दीक्षितजी मेरो घरमा टुप्लुक्क आए, एउटा चारकुने गह्रौँ काठको पेटी बोकाएर । शनिबारको दिन, म घरमै थिएँ । मलाई देख्नासाथ उनी झस्किए, आफू मेरा पिताजी कविराज नरेन्द्रनाथ रिमाललाई भेट्न आएको भने । मैले आदरपूर्वक नमस्कार गर्दै पिताजीको कोठामै पुर्याएँ । उनलाई सहसा देख्दा पिताजी पनि चकित पर्नुभयो, सायद यस्तो भेट पहिलोपटक भएर होला पिताजीले उनलाई आफूसँगैको चकटीमा बस्न आग्रह गर्नुभयो । उनले ‘यहाँका यी पुत्रको स्पिरिटलाई म तारिफ गर्दछु’ भन्दा पिताजी झन् छक्क पर्नुभयो ।
काठको पेटी खोलियो । प्लास्टिकका बट्टा, काँचका सिसीमा हालिएका रस, भष्स आदि अनेक प्रकारका नगदी औषधि थिए— जौहरीसामु जुवाहीरात देखाजस्तै । दीक्षितजीले ‘यी सामग्री मेरा लागि भन्दा यहाँका लागि उपयोगी हुने ठानेर ल्याएको हुँ’ भने । आमाको निधनपछि पिताजी हामीसँगै बस्दा नै चिकित्सा उपचारको काम छाडिसक्नुभएको थियो ! तथापि उहाँले यी उपहार आभारपूर्वक स्वीकार गर्नुभयो, जसलाई पछि गएर आयुर्वेदिक व्यवसायमा लागेका मेरा दुई दाजु र एक भाइलाई बाँडिदिनुभयो ।
चियापानको अनुरोधलाई ‘धन्यवाद’ भन्दै दीक्षितजी बिदा हुन उठे । म उनलाई आदरपूर्वक छाड्न बाहिर उनको सवारीसाधनसम्म पुर्याउन गएँ । यसबिच उनी अनेकपटक मतिर हर्दै हिँडे— अहिलेको मेरो उपयुुक्त व्यवहारमा छक्क परेर हो कि आफ्नो पहिलेको दुर्व्यवहारमा पछुतो भएर ? को जानोस् ! कोठामा फर्केर पिताजीलाई सबै घटना बताएँ । उहाँ पनि मुसुक्क हाँस्नुभयो ।
अब चर्चित पुस्तकका लेखक तथा विषयवस्तुबारे ! २००७ को अन्तरिम सरकारदेखि २०१५ सालको पहिलो आम निर्वाचनसम्मको सङ्क्रमणकालका सबै पक्ष अत्यन्तै संवेदनशील थिए । तिनलाई सरकारी पक्षले कसरी लियो, नेपाली काङ्ग्रेसइतर प्रजातान्त्रिक— कम्युनिस्ट पक्षले कसरी हेरे, भोगे ती सकेसम्म विस्तारपूर्वक अरविन्द रिमालको ‘१९९७ सालदेखि २०१७ साल एक अवलोकन’मा उल्लिखित छन् । हामीले भारतीयवादी भनी निन्दा–आलोचना गर्ने गरेको मातृकाप्रसाद कोइराला सरकारले आफ्नो पक्ष मातृकाबाबुले ‘अ रोल इन द रिभोल्युसन’मा राखेका छन्, जो आफैँमा अद्भुत छ— कम्युनिस्टहरूले सडक तताएर उठाउने विषयहरूमा उनले भारत सरकारका प्रधानमन्त्री जवाहरलाल नेहरुसँग पत्राचारमा उठाएका प्रश्न एवं जिज्ञासाका कारणबाट नेकाबाट त्यसका अध्यक्ष विश्वेश्वरप्रसाद कोइरालाले विभिन्न प्रकारद्वारा ।
अब कुराको चुरो छ, ‘कम्युनिस्टहरूको देशभक्ति हुँदन’ भन्ने सङ्क्रमणकालीन परराष्ट्र सचिव दीक्षितले तथा ‘अब्बल कूटनीतिज्ञ अनि कूटनीतिकशास्त्री प्रोफेसर हेनरी अलफ्रेड किसञ्जर’लाई पनि पुस्तक समर्पण गर्ने लेखक डा. मदनकुमार भट्टराईले कसरी राखे, विश्लेषण—विवेचना, शल्यक्रिया गरे भन्ने । त्यसमा पनि विप्र कोइरालाले हेयपूर्वक ‘मुजफे्फरपूरीया मजिस्ट्रट’ भन्ने गरेका भारतीय राजदूत चन्द्रेश्वरप्रसाद नारायण सिंहले सिंहदरबारबाट, राजा त्रिभुवनका निजी सचिव तथा सल्लाहकार गाविन्दनारायण सिंहले राजदरबारलाई बडामहारानी तथा राजकुमारबाहेक हावालाई छिर्न पाउन पनि उनको अनुमति लिनुपर्नेजस्तो पकडमा राख्दार भारतीय दूतावासका प्रथमसचिव महाराजकुमार रसगोत्राको तीनकुने चक्रव्यूहको च्यापुमा परेको कालखण्डलाई कसरी हेरे भन्ने !
हामीले त, अर्थात्, कम्युनिस्ट अखिल नेपाल विद्यार्थी फेडरेसन, ने. काङ्ग्रेसी नेपाल छात्र संघ, नेपाल स्टुडेन्ट युनियन, संस्कृत छात्र संघको संयुक्त प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही विद्यार्थी कार्यकर्ता अरविन्द रिमालले यस्तो बेलामा पनि राजाका निजी सहायक दयारामभक्त माथेमाको सौजन्यबाट १० मिनेटका ‘दर्शनभेट’लाई ४० मिनेटसम्म लम्ब्याई देशमा चरम भारतीय हस्तक्षेप राजालाई अवगत गराई ‘जब राजा समाजवादको पक्षमा’ मा गराएको थियो (द्रष्टव्य ‘अवलोकन’, दोस्रो संस्करण, अध्याय ५३) ।
टङ्कप्रसाद आचार्यले प्रधानमन्त्री पद सम्हालेको भोलिपल्टै बदर गरिदिएका दुई ‘परम्परा’लाई, अर्थात् नेपालको मन्त्रीमण्डलको बैठकमा भारतीय राजदूत उपस्थित हुनैपर्ने र नेपाल–भारत सैन्य माम्लामा बैठक सिंहदरबारमा नभई भारतीय सैनिक मिसनको कार्यालय जावलाखेल, नारायण भवनमा हुनैपर्ने र त्यसमा नेपालका प्रघानमन्त्री आफैँ जानुपर्ने भए गरेको नियमलाई उनीहरूले कसरी हेरे भन्ने ?
आफू आफ्नो देश वा विदेशका परराष्ट्र सम्बन्ध–मामिलामा सतही, पाठ्यपुस्तकीय, औपचारिक तौर–तरिकाभन्दा सूक्ष्म, गहन समालोचनीय दृष्टिकोण राख्न नाताले गर्दा पनि यो पुस्तकले ती संवेदनशील विषयवस्तुलाई कसरी केलाएको छ, चिरफार गरेको छ, त्यो पढ्ने अवसरबाट वञ्चित हुनुपर्दा बडो खेद लागेको छ, मलाई ।
लेखक भट्टराई आफैँमा विभिन्न देशमा कार्यरत् रही राजदूतपद एवं परराष्ट्र सचिव सम्हालेका दक्ष व्यक्ति तथा दक्ष लेखक हुन् । टोले छिमेकी समान उनी मेरी जेठा ज्वाइँ छोरीका निकटका सम्धि भएकाले एकपटक मकहाँ आउँदा वा नेपाल सांस्कृतिक संघमा ४–५ पटकउनका ‘परराष्ट्रका पात्रहरू’को तयारी सिलसिलामा नरप्रताप थापा, केशरबहादुर केसी आदिबारे भेट–कुराकानी हुँदा ‘बुबा’ भनेर सम्बोधन गरेको सम्झँदा पनि मलाई उनका पुस्तकबाट लाभ उठाउने अवसर गुमेकोमा थकथक लागिरहेछ ! तथापि म डा. भट्टराईको ग्रन्थको सफलताको कामना गर्दछु !
पुछारमा, २०१३ प्रधानमन्त्री टङ्कप्रसाद आचार्यका पालामा परराष्ट्र सचिव नरप्रताप शमशेर थापाले हस्ताक्षर गरेका ७२१ संख्याको कालो जिल्लाको पासपोर्ट बोकेर अरविन्द रिमाल चीनका प्रधानमन्त्री चु इन लाईको निम्तामा चीनको र पेकिङमा सोभियत कम्युनिस्ट पार्टीको मुखपत्र ‘प्राभदा’का सम्पादक पाभेल साल्टीकोभको निम्ता पाएर सोभियत रुसको ‘आविष्कार’ गर्ने पहिलो नेपाली पत्रकार हुन पुग्यो । (सोही ‘अवलोकन’ अध्याय ७४–७५) ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अष्ट्रेलियामा ‘मिसेस नेपाल अष्ट्रेलियामा’ हुने
-
सरकार र शिक्षकहरूबिच सहमति, मन्त्रिपरिषद् बैठकपछि निर्णय सार्वजनिक गरिने
-
संस्थागत विद्यालय शिक्षक युनियनका अध्यक्ष र शिक्षा समिति सभापतिबीच चर्काचर्की
-
देशको नीति कार्यक्रममा कर्णालीले खोजेका बुँदा
-
बुटवलमा श्रमिकलाई नगदसहित सम्मान
-
यथार्थ धरातलमा टेकेर प्रदेशले बजेट ल्याउँछ : मुख्यमन्त्री आचार्य