शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

मन्त्रालय बाँडफाँड गरेर शासन चलाउन एमालेसँग सहकार्य गरेका होइनौँ : एनपी साउँद

बिहीबार, ०४ वैशाख २०८२, १९ : १३
बिहीबार, ०४ वैशाख २०८२

कञ्चनपुर । नेपाली कांग्रेसका नेता एनपी साउँदले मन्त्रालय बाँडफाँट गरेर शासन चलाउनका लागिमात्रै नेकपा एमालेसँग मिलेर सरकार गठन नगरिएको बताएका छन् । 

नेपाल थारु संघ कञ्चनपुरको प्रथम जिल्ला तथा क्षेत्रीय सम्मेलनलाई बिहीबार सम्बोधन गर्दै उनले दुई ठूला दलहरू मिलेर मन्त्रीहरूको बाँडफाँड गरेर शासन चलाउनका लागि मात्रै सरकार गठन नभएको बताएका हुन् ।  

‘सरकार नेपाली कांग्रेसको पनि छ । सरकारका काम–कारबाही सन्तोषजनक हुन सकेको छैन,’ नेता साउदले भने, ‘दुई ठूला मिलेर सरकार गठन हुँदा खाली सरकारमा गएर मन्त्रीहरुको बाँडफाँट गरेर शासन चलाउने उदेश्यलेमात्रै गरेको होइन ।’ 

पूर्वपरराष्ट्रमन्त्री साउँदले सरकार गठनका बेला कांग्रेस र एमालेले केही आधारभूत मुद्दाहरूलाई आधार बनाएको स्मरण गरे । 

उनले सरकार गठन हुँदा दुई दलबीच भएको सात बुँदे सहमतिअनुसार सरकार अगाडि बढ्नुपर्ने दोहोर्‍याए ।

‘आधारभूत रुपमा हामीले केही मुद्दाहरूलाई आधार बनाएर सरकार गठन गरेका हौँ । हामीले संविधानमा भएका कमी–कमजोरी र विकृतिलाई हटाएर जनताको चाहनाको गतिमा ‘मिट’ गर्ने भनेर गठन भएको हो,’ साउँदले भने । 

उनले सरकारका प्रति देखिएको असन्तुष्टिलाई सरकारले चाँडोभन्दा चाँडो समाधान गर्नुपर्नेमा जोड दिए ।

 ‘सरकारको काम–कारबाहीबाट जनता सन्तुष्ट छैनन् । हामी पनि सरकार राम्रोसँग चलोस् भनेर समय समयमा असन्तुष्टि राखिराखेका छौँ,’ साउँदले भने, ‘यो असन्तुष्टिको बिऊलाई सरकारले चाँडोभन्दा चाँडो समाधान गर्नुपर्छ ।’

नेता साउँदले सत्ता साझेदार दल एमालेसँग पदको भागबण्डाका लागि नभएर सरकार प्रभावकारी रुपमा अघि बढोस् भनेरमात्रै कांग्रेसले असन्तुष्टि जनाइरहेको जिकिर गरे । 

‘हाम्रो असन्तुष्टि भनेको गर्भनरका लागि, पुलिसको एआईजीका लागि या त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि या केही राजनीतिक नियुक्तिका लागि होइन,’ साउँदले भने, ‘कांग्रेसको असन्तुष्टि भनेको सरकार प्रभावकारी रुपमा अघि बढोस् भन्ने हो । सरकारले सुशासन दिन सकोस्, भ्रष्टाचारको निर्मुल गर्न सकोस्, विदेश गइरहेको युवालाई स्वदेशमै रोक्न सकोस् । आरालो लागेको अर्थतन्त्रलाई लयमा ल्याउन सकोस् भनेर हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप