शुक्रबार, २६ वैशाख २०८२
ताजा लोकप्रिय
प्रदेश

गाउँ नै रित्तिन थालेपछि मान्छे फर्काउन डिठ्ठा गाउँमा नयाँ जुक्ति

शुक्रबार, ०५ वैशाख २०८२, १९ : ००
शुक्रबार, ०५ वैशाख २०८२

पोखरा । दशकअघिसम्म कास्कीको रुपा गाउँपालिकास्थित स्याक्लुङकोट डिठ्ठा गाउँ हराभरा थियो । मान्छेहरू छपक्कै हुन्थे । 

आजभोलि ढोका खुलेको घर फाट्टफुट्ट मात्रै देखिन्छन् । ८५ घरधुरी रहेको यहाँका १७ घरमा मात्रै मान्छे बस्छन् । गाउँ रित्तिन लागेपछि अगुवाहरू बसाइँ सरेर गएकाहरूलाई फर्काउन तातेका छन् । गुरुङ समुदायको होमस्टे चलाएर गाउँ फर्काउन जुटेको होमस्टे समितिका अध्यक्ष चन्द्रप्रसाद गुरुङले बताए ।

‘भएका घर पनि हेर्दाहेर्दै रित्तिने अवस्था आइसक्यो । बरु होमस्टे चलाउन पाए यतै राख्न सकिन्थ्यो कि भनेर होमस्टे सुरु ग¥यौँ,’ उनी भन्छन्, ‘राम्रो चल्यो भने गाउँ छोडेर गएका पनि फर्किन्छन् ।’ पाँच घरबाट होमस्टे सुरुवात गरिएको उनले बताए । ‘पाहुना आउन थाले भने आफ्नै उत्पादन बिक्री हुन्छ । २–४ पैसा गोजीमा हाल्न पाइन्छ,’ उनले भने, ‘गाउँ सबै खाली भयो, खेतबारी बाँझो भयो । होमस्टेले सबै जुरमुराउँछ अब ।’

स्याक्लुङकोट त्यही ठाउँ हो, जहाँ २०३९ मा बेलायती राजकुमार चार्ल्सले पदयात्रा गर्ने क्रममा बास बसेका थिए । मनोरम अन्नपूर्ण हिमशृङ्खलाले उनलाई मोहित पारेको थियो । अहिले अन्नपूर्णको शृङ्खला उस्तै छ । पोखराको झलमल्ल दृश्य थपिएको छ । स्थानीय उत्पादन पस्केर पाहुनालाई खुसी बनाउने अगुवा क्याप्टेन तेजबहादुर गुरुङ बताउँछन् । ‘पोखराबाट नजिक भए पनि सहरी हावा छिरिसकेको छैन । पाहुनालाई स्थानीय उत्पादन पकाएर ख्वाउँछौँ,’ उनले भने, ‘अर्ग्यानिक खाना र स्वच्छ वातावरणको प्रचार भयो भने धेरै पाहुना आउँछन् ।’

homestay (3)

पोखराबाट पूर्व २४ किलोमिटर टाढा रहेको स्याक्लुङकोट डिठ्ठा गाउँमा खुलेको होमस्टे गण्डकीका अर्थमन्त्री डा. टकराज गुरुङले उद्घाटन गरे । उनले पर्यटनबाटै समृद्धि हासिल गर्न सकिने भएकाले आयआर्जनमा जोडिन गाउँलेलाई आग्रह गरे । ‘मुलुक समृद्ध हुने पर्यटनबाटै हो । पर्यटन गाउँगाउँमा विस्तार गर्न सकिन्छ,’ उनले भने, ‘फरक स्वाद पाउने बित्तिकै पाहुना ओइरिन्छन् । गाउँको विकास हुन्छ ।’ हरेक गाउँ पर्यटनमार्फत आत्मनिर्भर र स्वरोजगार हुने उनी बताउँछन् । रुपा गाउँपालिका–७ का अध्यक्ष कृष्णराज सुवेदीले स्थानीय उत्पादन र संस्कृति जोडेर पर्यटक लोभ्याउन वडाले पनि साथ दिने प्रतिबद्धता जनाए ।

तमु धीँ नेपालकी प्रथम उपाध्यक्ष गीमाया गुरुङले निश्चित समुदायले चलाएको होमस्टेले छिटो प्रभाव जमाएको भन्दै स्याक्लुङकोटको गुरुङ होमस्टे पनि पाहुनाको रोजाइमा पर्ने बताइन् । आफ्नो कला र संस्कृतिलाई होमस्टेमा जोड्न उनको आग्रह छ । कांग्रेस रुपाका सभापति विमलबाबु न्यौपाने स्याक्लुङकोट सम्भावना भएको ठाउँ भए पनि ओझेलमा परेकोबारे चिन्ता व्यक्त गरे । ‘त्यो वेला बेलायती राजकुमार बसेको ठाउँ हो । हामीले मार्केटिङ गर्न जानेनौँ र पछि पर्‍यौँ,’ उनी भन्छन्, ‘ढिलै भए पनि सुरुवात भएको छ । सबैले साथ दिने भने उद्देश्य पूरा हुन्छ ।’ राजकुमार चार्ल्सले यात्रा गरेको विजयपुरदेखि चिन्ते डाँडा हुँदै स्याक्लुङबाट बेगनास तालसम्मको पदमार्ग रोयल ट्रेकको रूपमा परिचित छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप