बिहीबार, २५ वैशाख २०८२
ताजा लोकप्रिय
राजनीति

एक सातादेखि पूर्वराजा ज्ञानेन्द्र नगरकोटमा, राजावादीसँग तारन्तार भेट

बिहीबार, २५ वैशाख २०८२, २१ : १४
बिहीबार, २५ वैशाख २०८२

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह एक सातादेखि नगरकोटमा बसोबास गर्दै आएका छन् । पूर्वराजा निकट स्रोतका अनुसार उनी वैशाख १५ देखि नगरकोटमा बसोबास गर्दै आएका हुन् ।

उनी नगरकोटस्थित सोल्टी वेस्ट इन्ड रिसोर्टमा बसिरहेको पूर्वराजा निकट स्रोतले जनायो । जहाँबाटै उनले राजावादीहरूसँग तारन्तार भेट गरिरहेको खुलेको छ ।  उनले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापासहित राजावादी शीर्ष नेतासँग भेट नगरकोटमै गरेको विश्वस्त स्रोतले बतायो ।

यस्तै दोस्रो तहका राजावादी नेताहरू राजेन्द्र गुरुङ, गुरुङ, शरद राज पाठक, प्रेम बलायर, निरञ्जन थापा, निराजन बमलगायतसँग पनि भेटेका छन् । भेटमा मूलतः राजावादी आन्दोलनका विषयमा कुराकानी भएको बताइएको छ । 

राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले पूर्वराजा र कमल थापाबीच केही दिनअघि नगरकोटमा भेट भएको पुष्टि गरे । उनले भेटमा समसामयिक विषयमा कुरा भएपनि थप खुलाउन चाहेनन् । 

तर, अन्य स्रोतले पूर्वराजाले राजावादी आन्दोलनकै विषयमा केन्द्रित रहेर छलफल गरिरहेका छन् । सो छलफलमा उनले सबै राजावादी समूहलाई नवराज सुवेदी नेतृत्वको आन्दोलनमा गोलबद्ध हुन आग्रह समेत गरेको बताइएको छ । 

यसअघि आफू सुवेदी नेतृत्वको समितिमा नरहेको घोषणा गरेका राप्रपा अध्यक्ष लिङ्देनले समेत उनको नेतृत्व स्वीकारेका छन् । पूर्वराजाकै सक्रियतामा सबै एक ठाउँमा आउने परिस्थिति बनेसँगै बिहीबार नै पत्रकार सम्मेलन गरेर राजावादी समूहले ‘राजसंस्था पुनर्स्थापनाका लागि जनआन्दोलन समिति’को संयोजकमा जेठ १५ देखि अनिश्चितकालीन आन्दोलनको घोषणा गरेको छ । जुन कार्यक्रममा लिङ्देन, थापासहित राजावादी समूहका सबै हस्तीहरू सहभागी थिए ।

पूर्वराजा केही समय नगरकोटमै रहने बताइएको छ । पूर्वराजाका एक सहयोगीले भने, ‘उहाँ केही दिन नगरकोटमै बस्नुहुन्छ । उहाँ कहिले कता कहिले कता गइरहनुहुन्छ । नगरकोटमा बस्नुभएको परिवारसहित नै हो । अरु धेरै थाहा भएन ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप