शुक्रबार, ०२ जेठ २०८२
ताजा लोकप्रिय

पोखरामा खानेपानी अभाव, पानी माग्दै होटल सङ्घ पुग्यो संस्थान

सोमबार, ०८ वैशाख २०८२, १९ : ५४
सोमबार, ०८ वैशाख २०८२

पोखरा । पानी शुद्धीकरण परियोजना लागू भएसँगै पोखरामा खानेपानी अभाव सुरु भएको छ ।

विगतको तुलनामा पानी आपूर्ति कम भएपछि अभाव हुन थालेको हो । अहिले दैनिक जसो उपभोक्ताहरू पानीको सहज आपूर्तिको माग गर्न  खानेपानी संस्थान पुग्छन् । 

सोमबार होटल सङ्घ पोखराको टोलीले पनि आपूर्तिको माग लिएर संस्थानको ध्यानाकर्षण गराएको छ ।

अध्यक्ष लक्ष्मण सुवेदीको नेतृत्वमा गएको टोलीले पानी आपूर्तिमा संस्थान गम्भीर हुनुपर्ने माग राख्यो । कार्यालय प्रमुख आशिष कार्कीलाई भेटेर पानी सम्बन्धी समस्या सुनाएको सुवेदीले बताए । पोखरा भ्रमण वर्ष चल्दै गर्दा पानीको आपूर्ति सहज नभएका कारण पर्यटन व्यवसाय नै समस्यामा परेको उनको भनाई छ ।

‘पहिले जस्तो पानी सहज रूपमा आएको छैन । पर्यटक आउँछन्, होटलमा पानी छैन भनेर फर्काउन भएन,’ उनले भने, ‘दैनिक जसो बोरिङको पानी किनेर चलाइरहेका छौँ । संस्थानले नियमित पानी आपूर्ति गराओस् भनेर ध्यानाकर्षण गराएका छौँ ।’ आजभोलि होटल सञ्चालकले पानी अभावबारे गुनासो गरिरहेका सुवेदी बताउँछन् ।

सङ्घका निवर्तमान अध्यक्ष विकल तुलाचनले पोखरा भ्रमण वर्षमा नै पानीको समस्या हुनु दुःखद भएको बताए । लेकसाइड जस्तो संवेदनशील क्षेत्रमा हप्ता बिराएर खानेपानी आपूर्ति हुँदा निकै समस्या परेको उनको भनाई छ । 

‘कहिले त हप्तौँसम्म पानी झर्दैन । दिनदिनै बोरिङबाट पानी व्यवस्था गर्नुपरेको छ,’ उनले भने, ‘शुद्ध पानी आउला भनेर खुसी भएको । त्यत्रो परियोजना चलाएपछि पनि आपूर्तिमा समस्या हुनु दुखद हो ।’

संस्थापन प्रमुख कार्कीले पुरानो डिजाइन अनुसारको परियोजना भएकोले पानी अहिलेको आवश्यकता अनुसार पुरा गर्न नसकिएको बताए । ‘२०१५ सम्मको लागि भनेर डिजाइन गरिएको परियोजना हो त्यो । अहिले बल्ल पूरा भयो,’ उनी भन्छन्, ‘पानी आपूर्तिमा पहिले भन्दा असर परेको । माग धान्न गाह्रो भइरहेको छ ।’ पानीको चुहावट र चोरीका कारण पनि बढी समस्या भोग्नुपरेको उनले बताए ।

पोखरेलीलाई प्रशोधित पानी पुर्‍याउने उद्देश्यका साथ २०७४ भदौमा सम्झौता गरिएको ‘पोखरा खानेपानी सुधार आयोजना’को काम सकेर जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको छ । 

यो आयोजना बनाउन जापान सरकारको ४ अर्ब ८१ करोड ३० लाख रुपैयाँमा लगानी भएको छ । आयोजना अन्तर्गत दैनिक ४ लाख १० हजार लिटर पानीलाई शुद्धीकरण गरेर घर घरमा पठाउने योजना भए पनि पोखरामा दैनिक ८ करोड लिटर भन्दा बढी पानीको माग छ । पोखराको मुख्य पानीको श्रोत मर्दिखोला हो ।

त्यसबाहेक अन्य मूलबाट पनि पानी आयात भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप