शनिबार, ०३ जेठ २०८२
ताजा लोकप्रिय

बारामा भोलिदेखि नगरस्तरीय फुटबल प्रतियोगिता हुने

शुक्रबार, ०२ जेठ २०८२, १४ : २९
शुक्रबार, ०२ जेठ २०८२

समाचार सारांश

  • जीतपुर सिमरा उपमहानगरले भोलिबाट नगरस्तरीय फुटबल प्रतियोगिता सुरु गर्दैछ ।
  • प्रतियोगितामा आधारभूत र माध्यमिक तहका विद्यार्थीहरू प्रतिस्पर्धा गर्नेछन् ।

बारा । जीतपुर सिमरा उपमहानगरले भोलिदेखि नगरस्तरीय  फुटबल प्रतियोगिता सुरु गर्ने भएको छ । सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरूलाई अतिरिक्त क्रियाकलाप अन्तर्गत उपमहानगरले पहिलोपटक यो प्रतियोगिता सुरु गरेको हो । 

प्रतियोगितामा आधारभूत र माध्यमिक तहका विद्यार्थीहरु सहभागी हुनेछन् ।  जसमा माध्यमिक तहमा ६ वटा छात्राहरूको समूह र १२ वटा छात्रहरूको समूह रहनेछ । 

त्यसैगरी आधारभूत तहमा भने ४ वटा छात्राहरूको र १० वटा छात्रहरूको समूह सहभागी हुने जनाइएको छ । उपमहानगरभित्र संस्थागततर्फ ५० वटा विद्यालय छन् भने सामुदायिकतर्फ ६१ वटा विद्यालय छन् । 

सो प्रतियोगिता सञ्चालन गर्ने जिम्मेवारी नेपाल राष्ट्रिय आधारभूत विद्यालय नितनपुरले पाएको छ । सो विद्यालयका प्रधानाध्यापक जयप्रकाश रायले गर्मी धेरै बढेकोले बिहान र साँझ मात्रै खेलकुद कार्यक्रम राखिएको बताएका छन् । उनले खेलाडीहरूको लागि ५ लाखको दुर्घटना बिमा गरिएको बताए । भोलिदेखि सुरु हुने प्रतियोगिता जेठ १२ गतेसम्म सञ्चालन हुनेछ । 

सो प्रतियोगितामा प्रथम हुने समूहले १० हजार र द्धितिय हुने समूहलाई ७ हजार ५ सय नगद रकम प्रदान गरिनेछ । विद्यालयका प्रअ रायले बजेट थोरै भएकाले प्रथम र द्धितिय हुने समूहलाई पुरस्कार रकम थोरै  भएको टिप्पणी गरेका छन् । 

यता जीतपुर सिमरा उपमहानगर शिक्षा शाखाले भने कम बजेटबाट पनि उपलब्धिमूलक कार्यक्रम गर्न सकिन्छ भन्ने उद्देश्यले पहिलो पटक यो प्रतियोगिता राखेको  जनाएको छ । सो कार्यक्रमका लागि उपमहानगरले ५ लाख बजेट विनियोजन गरेको छ । मङ्सिर मै सम्पन्न गर्नुपर्ने सो प्रतियोगिता फिल्ड व्यवस्थापन र शिक्षकहरूको आन्दोलनका कारण ढिलो भएको उपमहानगरपालिकाले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप