‘वाटर कलर ओडिसी’ : तीन देशका कलाकारको क्यानभासमा आ–आफ्नै पहिचान

केही दिनअगाडि ‘वाटर कलर ओडिसी’ नामक चित्रकला देशका दुई ठुला ग्यालरीमा प्रदर्शनी गरिए । सुरुमा पाँच दिनसम्म (१८–२२ फेब्रुअरी २०२५) नाफा (नेपाल ललित कला प्रज्ञा–प्रतिष्ठान)को कलादीर्घामा र पछि (२५ फेब्रुअरीदेखि २५ मार्चसम्म) सिद्धार्थ कला दीर्घामा यो प्रदर्शनी चलेको थियो । जसमा तीन देश (नेपाल, चीन र बंगलादेश) का तीन देशका कलाकार सहभागी थिए । यस प्रदर्शनीको अभिलेखन होस् भन्ने उद्देश्यले ढिलै भए पनि यहाँ चर्चा गर्न गइरहेको छु ।
दुवै प्रदर्शनीमा बंगलादेशबाट कनक चन्पा चक्मा, काम्रुजोहा, मोङ मोङ सो, अब्दुल्लाह अल बसिर, साहानुर मामुन र सौरभ चौधरी, सहभागी थिए भने चीनबाट चेन लिउ, ली होङबिङ, ली यिछियाङ, लियाङ बिङ्ग्यु, पेङ केयु, वाङ होङ्गुन र नेपालबाट श्रीजन राजभण्डारी, एनबी गुरुङ, जीवनराज उपाध्याय, रतनकुमार रार्ई, डी. राम पाल्पाली र केशवराज खनाल सहभागी थिए ।
आ–आफ्ना क्षेत्रमा यथेष्ट नाम कमाइसकेका कलाकारहरू सम्मिलित यो कला प्रदर्शनी एक अलग्ग प्रदर्शनीका रूपमा देखा परेको थियो । राष्ट्रहरूबिच तुलनात्मक अध्ययन गर्न पनि यो कला प्रदर्शनी सहायकसिद्ध भएको छ । तीनवटै राष्ट्रका कलाकारले कलामा आ–आफ्ना देशको परम्परा र संस्कृतिलाई ल्याउने कोसिस गरेका छन् । कलाका विषयवस्तुको छनोटदेखि संगठन अनि प्रस्तुति पनि पृथक् देखिन्छन् ।
प्रदर्शित सबैजसो चित्र पश्चिमा अङ्कन पद्धतिमा बनेका हुँदा बुझ्न गाह्रो थिएन । सबै एकै–एकै जस्तो देखिँदा देखिँदै पनि यी चित्रको स्वभाव र प्रकृतिमा भने यथेष्ट फरकपना देखिन्छ ।
सहभागी सबै कलाकारले पश्चिमा अंकन पद्धतिलाई मूल रूपमा समाएका त देखिन्छन्, त्यसमाथि केही कलाकारले आ–आफ्नै निजी पहिचान वा मौलिकता घुसाएका छन् । कतिले यसो गर्न सकेका छैनन् । समष्टिगत रूपमा अवलोकन गर्दा आ–आफ्ना देशका संस्कृतिलाई यी कलाले प्रतिनिधित्व गरिरहेको भान हुन्छ । आ–आफ्नो राष्ट्रको पहिचान बोकेका यी चित्र स्वादिला छन् ।
- समसामयिक पानीरङ चित्र
यसपल्ट देखापरेका पानीरङ चित्र भने समसामयिक चित्र हुन् । चित्रकलामा समसामयिकताले पश्चिमा कला प्रवृत्ति र प्रकृतिलाई जनाउँछ, यद्यपि यस्तो प्रवृत्ति विश्वभर फैलिएर सबैको साझा हुन पुगेको छ ।
पश्चिमी कलागत पद्धतिमा बनेका वाटरकलर चित्रहरू स्वभावतः परम्परागतभन्दा अलग्ग देखिन्छन् । यसपालि प्रदर्शनीमा राखिएका अधिकांश कला दृश्यचित्र नै हुन् । यद्यपि भावनात्मक रूपमा बनेका चित्रहरू (यसलाई रचना भन्ने चलन पनि छ) पनि भेटिन्छन् । पुराना परम्परागत शैली र प्रवृत्तिलाई भाव र अभिव्यञ्जनामा बाँध्ने आजको समसामयिक कलाको एउटा अलग्ग विशेषता पनि हो । यसले गर्दा यस्ता चित्रहरूमा प्रचुर मात्रामा सौन्दर्य देखिन्छ ।
यस्ता चित्रले विचारलाई समेत बोकेका देखिन्छन् । साधारण कागजदेखि चित्र कोर्नकै लागि बनेका विशेष प्रकारका कागजमा यस्ता चित्र बनाइन्छन्, त्यसो हुँदा कागज अनुसार पनि यस्ता चित्रले अलगअलग प्रभाव छर्छन् । अर्कोतिर शास्त्रीय दृश्यचित्रको आभास दिने दृश्यचित्रहरूले आजको समसामयिकताको प्रत्याभूति दिन समेत सक्षम देखिन्छन् । आजका कलामा शास्त्रीयता र आधुनिकता भनेर अलग्याउने प्रचलन भने हराउँदै गएको छ, त्यसो हुँदा समसामयिक कलाका नौला–नौला रूप देखिन थालेका हुन् ।
बंगलादेशकै अर्का कलाकार मोङ मोङको दृश्यचित्र अलि भावनात्मक रूपमा देखापरेको छ । उनको चित्रमा दृढ, स्थिर, सुनसान नदी किनार आएको छ, जहाँ एउटा डुङ्गा सुस्ताएझैँ देखिन्छ । मानौँ, दिनको चर्काे घाममा डुङ्गालाई पनि आराम चाहिएको छ ।
- पानीरङ चित्रको पृष्ठभूमि
चीनमा पानीरङ (वाटरकलर) चित्रहरूको धेरै लामो इतिहास छ । पानीरङ चित्रकलाको इतिहास पल्टाउँदा चीन नै अग्रभागमा देखिन्छ । पारदर्शिता मूल विशेषता रहेको यस्ता परम्परागत चित्रमा कमलोपनाको महसुस तत्क्षण नै हुन्छ । यथार्थता र अमूर्तताको मिश्रणमा बनेका यस्ता चित्र थोरै अलौकिक पनि देखिन्छन् । यस्ता कला विशेषतः लालित्यले भरिपूर्ण हुन्छन् ।
हल्का पातलो अर्थात् चित्रपटमै हराएजस्तो गरी देखापर्ने पारदर्शी वाटरकलर चित्रहरू हेर्दाखेरि साधारण देखिन्छन् । सफा–सुग्घर देखिने यस्ताखाले चित्रमा कम रङको प्रयोग हुन्छ, त्यसैले चित्र खँदिलो अनि सन्तुलनमा बनेको देखिन्छ । यस्ता कलामा सशक्त तुलिकाघातको प्रयोग भएको हुन्छ । रङमा पूर्णतः नियन्त्रण रहेको हुन्छ । यस्तो चित्र बनाउँदा हरेकपल्ट तुलिकाघातको पहिलो स्ट्रोक जहाँ जसरी हानिन्छ, त्यसलाई करेक्सन गरिँदैन, अर्थात् करेक्सन गर्न नमिल्ने प्रकृतिमा तुलिकाघातको प्रयोग गरिएको हुन्छ । यसर्थ यो चित्र बनाउने कलाकार जटिल कलागत प्रक्रियामा पोख्त हुनुपर्छ । त्यसैले यस्ता चित्र विश्वभर प्रख्यात छन् । चीनका परम्परागत पानीरङले जे–जस्ता विशेषता बोकेका छन्, अन्यत्र त्यस्तो कमै पाइन्छ ।
कलामा पानीरङको प्रयोग सर्वप्राचीन कालदेखि नै चल्दै आएको भनिन्छ । हजारौँ वर्षपहिले गुफा–चित्र र प्राचीन इजिप्सिएन ‘पपिरस पेन्टिङ’ आदि यसका ज्वलन्त उदाहरण हुन् । अझ यसको प्राचीनता खोज्दै जाँदा ‘प्यालियोलिथिक पिरियड’सम्म पुर्याउने गरिन्छ । यो स्पष्ट रूपमा देखापरेको भनेको ‘रिनेइसन्स पिरियड’ (पुनर्जागरण युग) अनि ‘बारक पिरियड’देखि हो । त्यतिबेला प्राकृतिक अध्ययनका लागि स्केचहरू बढी मात्रामा गरिन्थ्यो । यस युगका कलाकारमा पाउल स्यान्डबाई, थोमस ग्रिटिन, विलियम टर्नर आदि हुन् ।
पानीरङ चित्र चित्रकलाको माध्यमकै रूपमा पपुलर हुन थालेको १७औँ वा १८औँ शताब्दीदेखि हो । यसपछि कलामा अनेकौँ प्रकारका माध्यम देखापरे ।
नेपालमै पनि ११औँ शताब्दीतिर बनेका ग्रन्थचित्र आदिमा प्रयोग हुने रङ प्रकृति अर्थात् ढुङ्गा, झारपात आदिबाट बनाइन्थ्यो; जसमा पानीरङकै प्रमुख भूमिका रहन्थ्यो । त्यसबखत पानीरङलाई पारदर्शी नभई ओपेक रूपमा लगाउने प्रचलन थियो । नेपालमा पारदर्शी पानीरङ चित्रहरू १९औँ शताब्दीको मध्यतिर (सन् १८३० तिर) मात्र सुरु भयो ।
अहिले चर्चामा आउने गरेको प्रभाववादी पानीरङ चित्र २०औँ शताब्दीको मध्यतिर (सन् १९६० तिर) मात्र सुरु भएको हो । मोटा तुलिकाघात अनि दौडँदै गरेका आधारभूत रङहरू यस्ता चित्रमा बढी प्रयोग हुन्छन् । यस्ता चित्र अलग्ग प्रकारले दृश्यावलोकन हुन्छन्, त्यसैले प्रभाववादी पानीरङ चित्रहरू बनाउन कलाकारले आज पनि जोड गर्छन् ।
आधुनिक कलाको पूर्वसन्ध्यामा पानीरङ मात्र नभई अनेकौँ थरी मिसिएर यो ‘मिक्समिडिया’ को प्रकृतिको रूपमा देखापरेको छ । कलामा विषयवस्तुुले ठुलो भूमिका खेलेको हुन्छ । कलाकारले कस्तो विषयवस्तु छान्छ, कुन शैली र प्रवृत्तिलाई अँगाल्छ अनि प्रस्तुतिको ढाँचा कस्तो हुन्छ, यसैबाट सर्जकको सोचको अवस्थाबारे थाहा हुन्छ भनिन्छ ।
ल्यान्डस्केपको प्रचलन १६औँ शताब्दीभन्दा अगाडि भइसकेको इतिहास छ । १६औँ शताब्दीको शुभारम्भमा बनेको मोनालिसाको पृष्ठभूमिमै दृश्यचित्र छ । नेपालमै पनि १८औँ शताब्दीमै हाम्रै परम्परागत चित्रमा दृश्यचित्र समावेश भइसकेको देखिन्छ । विश्व कला बजारमा सामाजिक यथार्थवादी दृश्यचित्र १९औँ शताब्दीको शुभारम्भमा बनाउन थालिएको थियो । प्रभाववादी दृश्यचित्र १९औँ शताब्दीको मध्यतिर उदाइसकेको इतिहास छ ।
- यस कला प्रदर्शनीमा
यस कला प्रदर्शनीमा अधिकांश कलाकारको रोजाइमा दृश्यचित्र परेका छन् । नेपालका त ६ जनै कलाकारले दृश्यचित्र बनाएका छन् ।
बंगलादेशका काम्रुजोहा, मोङ मोङ सो, साहानुर मामुनले; चीनका ली होङबिङ, ली यिछियाङ, पेङ केयु आदिको रोजाइमा दृश्यचित्र नै परेका छन् । दृश्यचित्रमा पनि प्रकृतिको कुन भागलाई विषयवस्तुका रूपमा उठाउने भन्ने सन्दर्भमा हरेकजसो कलाकारले अलगअलग पात्र रोजेको देखिन्छ ।
बंगलादेशी कलाकार साहानुरले सानो नदी तटमा ससाना डुङ्गालाई आफ्नो विषय बनाएका छन् । आम मान्छेको जीवनसँग नजिकबाट घुलमिल भएजस्तो पारामा चित्रमा एउटा गति देखिन्छ । उनको ‘बेडेको लाइफस्टाइल’ नामक चित्र होस् या ‘अन्धरमानिक नदीको तट’ नामक चित्र होस्— तिनले ठाउँ विशेष अनि मध्याह्नको चर्को घामको वातावरणलाई टिप्न खोजेको देखिन्छ । बंगलादेशको गाउँले जीवनयापन वा दैनिकीको प्रतिविम्ब पनि उनको काममा आएको छ ।
बंगलादेशकै अर्का कलाकार मोङ मोङको दृश्यचित्र अलि भावनात्मक रूपमा देखापरेको छ । उनको चित्रमा दृढ, स्थिर, सुनसान नदी किनार आएको छ, जहाँ एउटा डुङ्गा सुस्ताएझैँ देखिन्छ । मानौँ, दिनको चर्काे घाममा डुङ्गालाई पनि आराम चाहिएको छ ।
काम्रुजोहाले सानो दह अनि दहमाथि खेलिरहेको हाँसको बथानलाई आफ्नो विषयवस्तु बनाएका छन् । हाँसहरू खेल्दै अगाडि बढ्दै गर्दा उठेका पानीका तरङ्ग नै उनका चित्रको आकर्षण हो ।
नेपालबाट श्रीजनको ‘बाघ भैरवको मन्दिर’, एनबी गुरुङको ‘कालिञ्चोकको हिमपात जीवन’, ‘काठमाडौँको साँगुरो गल्ली’, रतनको ‘पहाडको लस्कर’, डी. रामको ‘वसन्तपुर दरबार–स्क्वायर‘ अनि केशवको ‘होयर इज माई स्नो’ नामक दृश्यचित्र छन् ।
शान्त र स्थिर बाघभैरव मन्दिर नेपाली वास्तुकला विशेष गरी काष्ठकलाको अनुपम नमुना हो । जसलाई श्रीजनले डिटेलमा चित्रण गरेका छन् । त्यसैले उनका चित्रमा यथेष्ट नेपालीपन झल्कन्छ । उनी आफैँ पनि दृश्यचित्रका प्रखर प्रयोक्ता हुन् । अति धैर्यका साथ मिहीन अवयवलाई उनले आफ्नो कलामा उठाउने गर्छन् ।
एनबी गुरुङले आफ्नो चित्रमा कालिञ्चोकमा भएको हिमपातको जीवन्त वातावरणलाई उठाएको देखिन्छ । सशक्त गतिपूर्ण तुलिकाघातका साथ उनले साँझपखको मनोरम दृश्यलाई उतारेका छन् । बाह्य प्रकृतिमै गई यथास्थितिलाई प्रभावपूर्ण रूपमा उठाउने उनको निजी विशेषता हो । बोल्ड ब्रस–स्ट्रोक रङको लयात्मक बहाव नै उनको थप विशेषता हो । उनी निरन्तर रूपमा कला सिर्जना गरिरहने कलाकारका रूपमा चिनिन्छ । दृश्यचित्रलाई अमूर्त फर्ममा समेत खेलाउन सक्ने कलाकारका रूपमा उनलाई चिनिन्छ ।
जीवनको दृश्यचित्रमा काठमाडौँको सानो गल्ली र वरपरको दृश्य उजागर भएको देखिन्छ । दृश्यचित्रमा अब्बल काम गर्ने यी कलाकारले दृश्यचित्रलाई नितान्त अमूर्ततामा समेत रूपान्तरण गर्ने गर्छन् ।
रतनकुमार राई यी सबै कलाकारभन्दा पाका कलाकार हुन् । सशक्त रेखाहरूमा उनको बलियो पकड छ । यसले गर्दा प्रकृतिका स–साना आकृतिलाई चित्रण गर्नु उनको मुख्य विशेषता देखिन्छ । उनका चित्रहरूमा रङभन्दा रेखाहरूले नै बढी भूमिका खेलेको देखिन्छ ।
पानीरङ दृश्यचित्रमा स्थापित नाम हो, डी. राम पाल्पाली । यसपल्ट वसन्तपुरको घमाइलो घाम र त्यहाँका आममान्छेको दिनचर्यालाई जीवन्त रुपमा उनले आफ्नो क्यानभासमा उतारेका छन् ।
केशवको क्यानभासमा चौँरी गाई र हिमशृङ्खला देखा परेका छन् । यी दृश्यसँगै चित्रमा उनको अन्तर्मनको भाव र विचार समेत प्रश्नवाचक रूपमा देखापरेको भान हुन्छ ।
चीनका कलाकारका दृश्यचित्र थोरै अलग्ग छन् । ली होङबिङ प्राकृतिक रातो माटो र हरियो वनस्पतिको समिश्रणमा नौलो संयोजन निर्माण गर्छन् । उनको क्यानभासमा लोभलाग्दो रातो रङ सँगसँगै अग्रभागमा कलात्मक ढुङ्गाहरू देखिन्छन्, जसकारण यो चित्र अझ मनमोहक देखिन्छ ।
ली यिछियाङले आफ्नो चित्रमा डुङ्गामाथि काठका खम्बालाई ल्याएका छन् । नदी तटदेखि टाढा सानो पहाड देखिनु, आकाशका शान्त वातावरणलाई सन्तुलनमा राख्नु उनको चित्रको आकर्षक पक्ष लाग्छ । शिल्प दक्षता र अब्बल क्षमताका यी कलाकारले बनाएका मान्छेविनाका चित्र–संरचना अनि निर्जीव डुङ्गा पनि उम्दा देखिन्छन् ।
बंगलादेशकी कनकको चित्र अरुको भन्दा बेग्लै देखिन्छ । उनले चित्रमा प्रकृतिलाई पृष्ठभूमिमा राखेकी छन् भने महिलालाई प्रकृतिको ध्वनिसँग मिसाएकी छन् । अर्थात् उनले नेचुरल–साउन्डको परिकल्पना गरेकी छन् । भावनामा बढी रुमलिन मन पराउने यी कलाकारले विकट समुदायको लोक भाषालाई महिलाको विम्बबाट उप्काउने चेष्टा गर्छिन् । प्राविधिक हिसाबमा कोलाजको प्रयोग पनि गर्छिन् । अभिव्यञ्जना पोख्दै गर्दा चहकिलो गरम रङलाई खेलाउनु उनको रहर बनिदिन्छ ।
अब्दुल्लाहको चित्रपट सग्ला माछाले टनाटन भरिएको देखिन्छ । हेर्दा आलो लाग्ने माछाहरू चाङ परी खप्टेर बसेको देख्दा पनि रोमाञ्चको अनुभूति हुन्छ । उनी राम्रा प्रिन्ट मेकिङ कलाकार हुन् । उनका काम सुपररियालिस्टिक रूपमा देखापर्ने गर्छन् ।
सौरभले राजादेखि उल्लु, शङ्खेकिरा, बकुल्ला पात अनि अनेकानेक अवयवलाई समायोजन गर्दै स्वैरकाल्पनिक चित्र बनाएका छन् । कल्पना वा सपनामा देखेजस्तो पारामा उल्लुमाथि राजा बस्छन्; चराहरू गहना च्यापेर अनि गंगटा श्रीपेज बोकेर रमाइरहेका छन् । यस खालको अचम्मको संरचना उनको कलामा देखिन्छ । परम्परागत लोक मोटिफहरू प्राचीन विम्बमा मिसाउँदै त्यसैमा आजको सन्दर्भ जोड्ने कलाकारको रूपमा उनी चिनिन्छन् ।
चीनका चेन लिउले समुद्रको छालमाथिबाट माछालाई उफारेका छन् । यसरी उनले धेरै कुरा भन्न खोजेजस्तो, सपनाको एउटा अंशलाई यथार्थमा जोडेजस्तो गरी कलाको संंरचना तयार गरेका छन् ।
यस्तै, लियाङ बिङ्ग्युले परम्परागत कागजमा इमेजलाई प्यारोडीका साथ उतारेका छन् । उनी आफ्नो कलामार्फत भावनात्मक रूपमा प्रकटीकरण हुन चाहन्छन् ।
यस्तै, वाङ होङ्गुनले कलाको मुख्य विषयमा अजङ्गको घोडा छानेका छन् । यथार्थमा त्यो घोडा नै हो, तर त्यसको निधारमा अनौठो गरी रौँलाई बाँधिएको छ । चित्रको पृष्ठभूमिमा पानी र आकाशलाई जोडिएको छ । जसले गर्दा सपना हो कि जस्तो स्वैरकाल्पनिक संसार निर्माण भएको देखिन्छ ।
यस्तायस्तै केही यथार्थ, केही भावनामा बग्दै गरेका चित्र यस कला प्रदर्शनीमा देखिए ।
(लेखक मल्ल कलाकार र कला समीक्षक हुन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठ दाउराका लागि मात्रै भेला र साधारणसभा नगर्नुहोस् : प्रमुख संरक्षण अधिकृत
-
प्रधानन्यायाधीश नेतृत्वको टोलीद्वारा बेलायतमा भेटघाट
-
भरतपुर अस्पतालमा ‘एमबिबीएस’ कार्यक्रम सञ्चालनका लागि प्रस्ताव गरेका छौँ : मन्त्री पौडेल
-
ट्याक्टरले ठक्कर दिँदा जन्ती गइरहेकी एक महिलाको मृत्यु, एक घाइते
-
बालाजुस्थित करिडोर सडक डुबानमा (तस्बिरहरु)
-
१० बजे १० समाचार : दुई घण्टासम्म ओली–देउवा वार्ता, एमाले महासचिवको प्रस्तावलाई ओलीले गरे अस्वीकार