जित्नैपर्ने दबाबमा रहेको कोलकातालाई उसैको घरमा चुनौती दिँदै उपाधि होडबाट बाहिरिएको राजस्थान

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १८औँ संस्करणमा आइतबारको पहिलो खेल कोलकाता नाइट राइडर्स र राजस्थान रोयल्सबिच खेलिँदैछ । खेल कोलकाताको घरेलु मैदान ईडन गार्डन्समा नेपाली समय अनुसार, दिउँसो १५ः४५ बजे सुरु हुनेछ ।
आईपीएलको जारी संस्करणमा खेल्न लागिएको यो ५३औँ खेल हो । जारी सिजनमा यी दुई टोली दोस्रो पटक आपसमा भिड्न लागेका हुन् । यही सिजनमा यसअघि खेलिएको खेलमा कोलकाताले राजस्थानलाई उसैको घरेलु मैदानमा आठ विकेटले हराएको थियो ।
कोलकाताले हालसम्म तीनपटक आईपीएलको उपाधि जितेको छ । कोलकाताले सन् २०१२ मा पहिलो पटक उपाधि जितेको थियो । त्यतिबेला कोलकाताले फाइनलमा चेन्नई सुपर किङ्सलाई पाँच विकेटले हराएको थियो ।
कोलकाताले दोस्रो उपाधि सन् २०१४ मा जितेको थियो । उक्त संस्करणको फाइनलमा कोलकाताले पञ्जाब किङ्सलाई तीन विकेटले हराएको थियो । कोलकाताले तेस्रो उपाधि सन् २०२४ मा जितेको थियो । कोलकाताले अघिल्लो संस्करणको फाइनलमा भने सनराइजर्स हैदराबादलाई आठ विकेटले हराएको थियो ।
राजस्थान रोयल्सले भने हालसम्म एक पटक आईपीएलको उपाधि जितेको छ । राजस्थानले सन् २००८ मा आयोजित पहिलो संस्करणको उपाधि चुमेको थियो । उक्त संस्करणमा उत्कृष्ट प्रदर्शन गरेको राजस्थान रोयल्सले फाइनलमा चेन्नई सुपर किङ्सलाई तीन विकेटले हराएको थियो ।
प्ले–अफ चरणमा पुग्न सङ्घर्षरत कोलकाता
जारी सिजनको आईपीएलमा कोलकाता नाइट राइडर्सको प्ले–अफ चरणमा पुग्ने सम्भावना जीवितै छ । तर, साविक विजेता कोलकाताको आगामी यात्रा भने निकै कठिन छ । कोलकाताले हालसम्म १० खेल खेलिसकेको छ ।
कोलकाताले त्यसमध्ये चार खेलमा जित र पाँच खेलमा हारको नतिजा निकालेको छ । कोलकाताको एक खेल भने वर्षाका कारण अनिर्णित रुपमा सकिएको छ । कोलकाता नौ अंकसहित तालिकाको सातौँ स्थानमा आसीन छ ।
प्रतियोगिताको प्ले–अफ चरणमा पुग्ने सम्भावना जीवित राख्न कोलकाताले बाँकी चारवटै खेल जित्नुपर्ने हुन्छ । बाँकी सबै खेल जितेको अवस्थामा कोलकाताको अंक १७ अंक पुग्नेछ । त्यसपछि पनि कोलकाताले प्ले–अफ चरणमा पुग्न अन्य टोलीको प्रदर्शन र नेट रन रेटमा भर पर्नुपर्ने हुन्छ ।
कोकलाताले अब राजस्थान रोयल्सका अतिरिक्त चेन्नई सुपर किङ्स, सनराइजर्स हैदराबाद र रोयल च्यालेन्जर्स बेंगलुरुसँग खेल्न बाँकी छ । सुरुका तीनवटा प्रतिद्वन्द्वी तुलनात्मक रुपमा कमजोर भए पनि अन्तिम प्रतिद्वन्द्वी बेंगलुरु भने निकै बलियो छ ।
उपाधि होडबाट बाहिरिए पनि राजस्थानले समीकरण बिगार्ने सम्भावना
जारी आईपीएलमा राजस्थान रोयल्सको प्रदर्शन भने निराशाजनक देखिएको छ । राजस्थान यसअघि नै उपाधि होडबाट पनि बाहिरिइसकेको छ । त्यसैले राजस्थान रोयल्सलाई आइतबारको नतिजाले खासै ठुलो अर्थ राख्दैन ।
तर, आगामी खेलमा राजस्थानले अन्य टोलीको नतिजालाई भने राम्रैसँग असर पार्न सक्छ । राजस्थानले हालसम्म ११ खेल खेलिसकेको छ । त्यसमध्ये केवल तीन खेलमा जित हात पारेको छ भने आठ खेलमा पराजय भोगेको छ ।
राजस्थान ६ अंकसहित तालिकाको आठौँ स्थानमा आसीन छ । राजस्थानले अब तीन खेलमात्र खेल्न बाँकी छ । बाँकी तीनवटै खेलमा विजयी भए पनि राजस्थानको अंक १२ मात्र पुग्नेछ । जबकि अहिले नै तालिकाको चौथो स्थानमा आसीन टोली पञ्जाब किङ्सको १३ अंक छ ।
त्यसैले राजस्थानको प्ले–अफ चरणमा पुग्ने सम्भावना समाप्त भएको हो । लिग चरणको खेलपछि तालिकाको माथिल्लो चार स्थानमा रहने टोलीमात्र प्रतियोगिताको प्ले–अफ चरणमा पुग्ने प्रावधान रहेको छ ।
राजस्थान रोयल्सले अब कोलकाता नाइट राइडर्सका अतिरिक्त चेन्नई सुपर किङ्स र पञ्जाब किङ्ससँग खेल्न बाँकी छ । जारी प्रतियोगितामा कोलकाता र पञ्जाब दुवै राजस्थानभन्दा बलियो देखिएका छन् भने चेन्नई प्रतियोगिताकै सबैभन्दा कमजोर टोली हो ।
हेड टु हेडमा एक जितको अन्तर
आईपीएलमा हालसम्म कोलकाता नाइट राइडर्स र राजस्थान रोयल्सबिच कुल ३१ खेल खेलिएको छ । त्यसमा कोलकाता थोरै बलियो देखिन्छ । ३१ मध्ये १५ खेलमा कोलकाताले राजस्थानलाई हराएको छ । राजस्थानले भने १४ खेलमा कोलकातालाई पराजित गरेको छ ।
यी दुई टोलीबिचको दुई खेल भने अनिर्णित रुपमा सकिएको छ । ईडन गार्डन्समा हालसम्म यी दुई टोलीबिच कुल ११ खेल खेलिएको छ । त्यसमध्ये ६ खेलमा कोलकाताले जित हात पारेको छ भने चार खेलमा राजस्थान विजयी भएको छ ।
ईडन गार्डन्समा यी दुई टोलीबिच खेलिएको एक खेल भने अनिर्णित रुपमा सकिएको छ । यो स्टेडियममा कोलकाताले अन्तिम पटक सन् २०१८ मा राजस्थानलाई हराएको थियो । त्यसयता खेलिएको तीनवटै खेलमा राजस्थानले कोलकातालाई हराएको छ ।
कोलकाताको सर्वाधिक रन रहाणेको नाममा
जारी सिजनको आईपीएलमा कोलकाता नाइट राइडर्सका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान अजिनक्या रहाणे हुन् । उनले १० खेलमा कुल दुई सय ९७ रन बनाएका छन् ।
रहाणेले रोयल च्यालेन्जर्स बेंगलुरुविरुद्ध ३१ बलमा ५६ रन बनाएका थिए । कोलकाताका लागि सबैभन्दा बढी विकेट लिने बलर वरुण चक्रवर्ती हुन् । उनले १० खेलमा १३ विकेट लिएका छन् ।
लयमा छन् राजस्थानका यशस्वी जैसवाल
राजस्थान रोयल्सका लागि जारी सिजनको आईपीएलमा सर्वाधिक रन बनाउने ब्याट्सम्यान यशस्वी जैसवाल हुन् । उनले ११ खेलमा टोलीका लागि कुल चार सय रन बनाइसकेका छन् । यो सूचिमा दोस्रो स्थानमा रियान पराग छन् ।
रियान परागले ११ खेलमा कुल दुई सय ८२ रन बनाएका छन् । राजस्थानका लागि सर्वाधिक विकेट लिने बलर वानिन्दु हसरंगा हुन् । उनले आठ खेलमा कुल १० विकेट लिइसकेका छन् ।
ब्याट्सम्यानलाई साथ दिने पिच
कोलकाता नाइट राइडर्स र राजस्थान रोयल्सबिच आइतबारको खेल हुने ईडन गार्डन्स स्टेडियमको पिच ब्याट्सम्यानहरुलाई साथ दिने प्रकृतिको छ । यो स्टेडियममा हालसम्म आईपीएलको कुल ९८ खेल खेलिएको छ ।
त्यसमध्ये ४१ खेलमा पहिले ब्याटिङ गर्ने टोली र ५६ खेलमा जवाफी ब्याटिङ गर्ने टोलीले सफलता हात पारेका छन् । यो स्टेडियममा बनेको उच्च स्कोर भने दुई विकेट गुमाएर दुई सय ६२ रन हो । उक्त स्कोर अघिल्लो सिजनको आईपीएलमा पञ्जाब किङ्सले कोलकाताविरुद्ध बनाएको थियो ।
वर्षाले खेल बिथोल्ने सम्भावना
राजस्थान रोयल्स र कोलकाता नाइट राइडर्सबिच हुने आइतबारको खेल वर्षाका कारण बिथोलिने प्रबल सम्भावना रहेको छ । कोलकातामा आइतबार वर्षाको ८० प्रतिशत सम्भावना रहेको त्यहाँको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
कोलकाताको आकाश आइतबार दिनभर बादलले छोप्नेछ । कोलकाताको तापक्रम २६ देखि ३३ डिग्री सेल्सियसको बिचमा रहने अनुमान गरिएको छ । वर्षाका कारण खेल बिथोलिएमा त्यसको घाटा कोलकाता नाइट राइडर्सलाई लाग्नेछ ।
सम्भावित टोली
कोलकाता नाइट राइडर्स : अजिनक्या रहाणे (कप्तान), सुनिल नारिन, रहममानुल्लाह गुरबाज (विकेटकिपर), वेंकटेश ऐयर, रिंकु सिंह, अंगकृष रघुवंशी, आन्द्रे रसेल, रोभमन पोवेल, हर्षित राणा, अनुकुल रोय, वरुण चक्रवर्ती र वैभव अरोडा ।
राजस्थान रोयल्स : रियान पराग (कप्तान), यशस्वी जैसवाल, वैभव सूर्यवंशी, नितिष राणा, ध्रुव जुरेल (विकेटकिपर), शिमरोन हेटमायर, वानिन्दु हसरंगा, जोफ्रा आर्चर, महिश तिक्षणा, सन्दीप शर्मा, यद्धवीरसिंह चरक र तुषार देशपाण्डे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोमबार कुन राशिका लागि शुभ ?
-
कति पुग्यो अमेरिकी डलर, युरो, पाउण्ड, स्वीस फ्र्याङ्क तथा दिराम, दिनार र रियालको मूल्य ?
-
तीनवटा मौसमी प्रणाली सक्रिय : यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना
-
आत्मनिर्भर बन्दै मुक्त कमैया महिला
-
डोल्पामा आगामी जेठ पहिलो सातादेखि यार्सागुम्बा सङ्कलन
-
भ्यानले अटोरिक्सालाई ठक्कर दिँदा चालकको मृत्यु