क्यानडा पहिलो पटक विश्वकपको अन्तिम १६ मा प्रवेश, स्टेफन युस्टाकियो बने नायक
सारांश
- सह-आयोजक क्यानडा फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ।
- स्टेफन युस्टाकियोले इन्जुरी समयमा गरेको गोलको मद्दतले क्यानडाले दक्षिण अफ्रिकालाई १-० ले हरायो।
- यसअघि कुनै पनि खेल नजितेको क्यानडाले यस संस्करणमा कतारलाई हराएर पहिलो जित दर्ता गरेपछि अन्तिम १६ मा पुगेर नयाँ इतिहास रचेको छ।
काठमाडौँ । सह-आयोजक क्यानडाले फिफा विश्वकप २०२६ मा ऐतिहासिक सफलता हात पारेको छ।
गएराति लस एन्जलस स्टेडियममा भएको 'राउण्ड अफ ३२' को रोमाञ्चक खेलमा दक्षिण अफ्रिकालाई १-० गोल अन्तरले पराजित गर्दै क्यानडा पहिलो पटक विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको हो।
क्यानडाको जितमा स्टेफन युस्टाकियो नायक बने। उनले इन्जुरी समयको दोस्रो मिनेट (९०+२) मा पेनाल्टी बक्सको छेउबाट उत्कृष्ट 'लो स्ट्राइक' प्रहार गर्दै बललाई जाली चुमाएका थिए। उनको यो गोलसँगै स्टेडियममा उपस्थित क्यानडामा समर्थक खुसीले झुमेका थिए।
खेल निकै प्रतिस्पर्धात्मक र केही हदसम्म संघर्षपूर्ण देखिएको थियो। क्यानडाले खेलभरि ७ पटक गोलको प्रयास (अन टार्गेट) गरेको थियो भने दक्षिण अफ्रिकाले मात्र १ पटक विपक्षीको पोस्टमा प्रहार गर्न सक्यो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो।
क्यानडाका मोइज बोम्बिटोको हेडरलाई दक्षिण अफ्रिकाका अब्रे मोडिबाले गोललाइनबाट जोगाएका थिए।
यस्तै, जोनाथन डेभिडको प्रहारलाई दक्षिण अफ्रिकी डिफेन्डर म्बेकेजेली म्बोकाजीले उत्कृष्ट ब्लक गर्दै विफल पारिदिएका थिए।
जितपछि मैदानमै खेलाडीहरूसँग अंकमाल गर्दै क्यानडाका प्रशिक्षक जेसी मार्शले निकै भावुक प्रतिक्रिया दिए। उनले भने, 'तिमीहरू क्यानडाका नायक हौ । तिम्रो कारणले गर्दा यस देशमा खेलकुदको भविष्य निकै उज्ज्वल छ। तिमीहरूले जुन स्तरको खेल प्रदर्शन गर्यौ, त्यसमा तिमीहरूले गर्व गर्नुपर्छ।'
यसअघिका विश्वकप क्यानडाले कुनै पनि खेल जित्न सकेको थिएन। तर यसै संस्करणमा कतारलाई ६-० ले हराएर पहिलो जित दर्ता गरेको क्यानडाले अहिले अन्तिम १६ सम्मको यात्रा तय गरेर नयाँ इतिहास रचेको छ।
क्यानडा अब अन्तिम १६ को खेलका लागि ह्युस्टनतर्फ लाग्नेछ। त्यहाँ क्यानडाले शनिबार, ४ जुलाईमा मोरक्को र नेदरल्याण्ड्सबिचको विजेता एकसँग प्रतिस्पर्धा गर्नेछ। पराजित दक्षिण अफ्रिका भने प्रतियोगिताबाट बाहिरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिलाई सम्मानित र लाभदायी पेसा बनाएर युवाहरूलाई आकर्षित गर्नुपर्छ: आङदेम्बे
-
सारिका घिमिरेदेखि थानेश्वर गौतमसम्मले जिते अवार्ड
-
अफगानिस्तानमा पाकिस्तानी आक्रमण, तनाव फेरि चर्कियो
-
मरिणमा असारे भाका र हलगोरुसहित धान रोपाइँ, तस्बिरहरू
-
असार १५ मा प्रसिद्ध ‘जुजु धौ’ को माग ह्वात्तै बढ्यो, उत्पादकहरू बिहानैदेखि व्यस्त
-
८९ अङ्कसहित भरतपुर अस्पताल उत्कृष्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण