शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

छिमेकीबिच तनाव भएको बेला सरकारलाई कूटनीतिक जिम्मेवारी बोध गर्न साउदको माग

बुधबार, २४ वैशाख २०८२, १२ : २५
बुधबार, २४ वैशाख २०८२

काठमाडौँ । नेपाली कांग्रेसका सांसद एनपी साउदले भारत र पाकिस्तानबिचको पछिल्लो तनावलाई मध्यनजर गरेर सरकारले कूटनीतिक जिम्मेवारी बोध गरी राष्ट्रिय र अन्तर्राष्ट्रिय दायित्व निर्वाह गर्नुपर्ने बताएका छन् । 

प्रतिनिधिसभाको बुधबार बसेको बैठकको शून्य समयमा उनले छिमेकमा युद्धको आगो सल्किरहेको बेला सरकारले कूटनीतिक जिम्मेवारी बोध गरी राष्ट्रिय र अन्तर्राष्ट्रिय दायित्व निर्वाह गर्नुपर्ने बताएका हुन् । 

‘आफ्नै नागरिक आस्थाका आधारमा आतङ्कको शिकार भएको र छिमेकमा युद्धको आगो सल्किरहेको बेला नेपाल सरकारले कूटनीतिक जिम्मेवारी बोध गरी राष्ट्रिय र अन्तर्राष्ट्रिय दायित्व निर्वाह गर्न सुझाव दिन चाहन्छु,’ साउदले भने । 

पूर्वपरराष्ट्रमन्त्री समेत रहेका साउदले भारतको जम्मु–कश्मीरमा पर्ने पहलगाममा नेपाली युवक सुदीप न्यौपानेसहित २६ जना निर्दोष व्यक्तिहरूको निर्ममतापूर्वक हत्याको प्रति दुःख व्यक्त गरे । 

‘विश्वव्यापी आतंकवादीहरूबाट भइरहेका आक्रमणहरूको सिकार हुनबाट नेपालीहरू पनि अछुतो रहन सकेका छैनन्,’ उनले भने, ‘पहलगाम आतंककारी घटनाले हाम्रो छिमेकी मित्रराष्ट्र भारत र पाकिस्तानबिच गम्भीर तनावको स्थिति उत्पन्न भएको छ ।’ 

छिमेकमा भएको जघन्य आतंककारी घटना र विकसित परिस्थितिलाई नजरअन्दाज गर्दै पाकिस्तानको उच्चस्तरीय सैनिक प्रतिनिधि मण्डलले नेपाल भ्रमण गरेको प्रति असन्तोष व्यक्त गरे । 

‘भ्रमण पूर्वनिर्धारित नै भए पनि वर्तमान स्थितिका बारे संवेदनशील भएर कूटनीतिक कौशलताका साथ तत्कालका लागि भ्रमण स्थगन गर्दै उपयुक्त समयको प्रतीक्षा गर्नुपर्ने आवश्यकता थियो,’ नेता साउदले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप