बिहीबार, २५ वैशाख २०८२
ताजा लोकप्रिय
अलबिदा कमरेड प्रदीप

प्रदीप नेपालको ‘आत्मस्वीकृति’ : मलामी बोलाउने र खुवाउने काम नगरियोस् !

बुधबार, २४ वैशाख २०८२, १४ : १६
बुधबार, २४ वैशाख २०८२

काठमाडौँ । हिन्दु धर्म र संस्कार अनुसार कसैको निधनपछि मलामी जाने चलन छ । मलामी जानेलाई १३ औँ दिनका दिन चोख्याउने (खुवाउने) चलन पनि छ । तर, वामपन्थी चिन्तक तथा प्रगतिशील साहित्यकारको पहिचान बनाएका प्रदीप नेपाल उर्फ संजय थापाले आफ्नो मृत्युपछि मलामी नबोलाउन र नखुवाउन आत्मस्वीकृति प्रदान गरेका थिए । प्रदीप नेपालको सोही चाहना अनुसार नै उनको दाहसंस्कार गरिएको छ ।

प्रदीप नेपालको निधनमा कुनै पार्टीको झण्डा पनि ओढाइएन र प्रज्ञा वा कुनै पार्टी कार्यालयमा पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पनि राखिएन । नेपालको कम्युनिस्ट आन्दोलनको उनन्नयनका लागि तत्कालीन माले हुँदै अहिलेको नेकपा एमाले पार्टी बनाउन महत्त्वपूर्ण योगदान दिएका नेपाल जीवनको उत्तरार्द्धमा भने कुनै पार्टीमा पनि क्रियाशील थिएनन् ।

उनै नेपालको मंगलबार भएको निधनपछि एमाले र एमालेबाट विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादीले पार्टीको झण्डा ओढाउने चाहना राखेका थिए । तर उनको आत्मस्वीकृतिका कारण दुवै पार्टी रोकिन पुगे । उनको पार्थिव शरीरमा सरकारले राष्ट्रिय झण्डा ओढाएर सम्मान प्रकट गर्‍यो ।

प्रदीप नेपालले आफ्नो मृत्युपछि कुनै मृत्युकर्म समेत नगर्न भनेका थिए । ‘मेरो मृत्युपछि मेरो परिवारले मेरो नाममा कुनै मृत्युकर्म नगरोस्’, वामपन्थी नेता प्रदीप नेपालले २०७८ सालमा प्रकाशित गरेको ‘एक मानु हो चाहिने’ निबन्ध सङ्ग्रहमा आत्मस्वीकृति दिएका छन् ।

उक्त निबन्ध सङ्ग्रहमा उनले आफ्नो मृत्युपश्चात् फोन गरीगरी मलामीसमेत नबोलाइयोस् भनेर लेखेका छन् ।

‘पार्टी कार्यालय अथवा प्रज्ञा प्रतिष्ठानमा लासको प्रदर्शन पनि नगरोस् । मैले आँखा दान गरिसकेको, काट्न बाँकी रहेका कुनै अङ्ग अर्को मानिसलाई काम लाग्छ भने काट्न पनि यही आत्मस्वीकृतिमार्फत दान दिएको छु’, नेपालले लेखेको निबन्ध सङ्ग्रहको १५९ पृष्ठमा उल्लेख छ ।

‘मेरा नाममा श्रद्धाञ्जलीका कुनै कार्यक्रम आयोजना नगरिऊन्’, प्रदीपले भनेका छन्, ‘मलामी खुवाउने काम गर्दै नगरियोस् ।’

प्रदीपले आफू एक्लै आएको र जिन्दगीको लामो हिस्सा पनि एक्लै बिताएको स्मरण गर्दै जाँदा पनि एक्लै जानुपर्छ भन्ने चेत आफूलाई रहेको उक्त निबन्ध सङ्ग्रहमा उल्लेख गरेका छन् । उनले आफैँ नेता भएको र आफैँले नेताको पद त्यागेको स्मरण पनि गराएका छन् । नेपाल सांसद हुँदै चार पटक मन्त्री र नेकपा एमालेको स्थायी कमिटी सदस्य समेत बने पनि पार्टी पदाधिकारीको पदमा भने पुगेका थिएनन् ।

‘म एक्लै आएँ, जिन्दगीको लामो हिस्सा एक्लै बिताएँ, आफैँ नेता भएँ, आफैँले नेता पद त्यागेँ, आफैँ साहित्यकार भएँ र जाँदा पनि म एक्लै जाने भन्ने सत्य मलाई थाहा छ । मेरो मात्र युग समाप्त हुने छ, अरू सबै यथावत् रहने छ’, नेपालले निबन्ध सङ्ग्रहमा भनेका छन्, ‘बाँचुन्जेल मैले मेरो स्वतन्त्रतालाई अक्षुण्ण राखेँ । म मर्दा पनि स्वतन्त्र भएरै मर्न पाऊँ ।’

मृत्युपछि सम्बन्धित व्यक्तिको प्रशंसा गर्ने प्रचलनको समेत विपक्षमा आफू रहेको उनले उल्लेख गरेका थिए । उनले भनेका थिए, ‘लासको प्रशस्ति गाउने चलन छ नेपालमा । मेरा नाममा त्यो नगरियोस् किनभने मृत्युपछिको कुनै संसार हुँदैन भन्ने मलाई थाहा छ । थाहामात्र होइन विश्वास पनि छ ।’

उनले भोजपुरको गोगनेलाई आफू जन्मिएको थलो भन्दै कहिल्यै बिर्सन नसकिने पनि उल्लेख गरेका थिए ।

pd

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप