शुक्रबार, २६ वैशाख २०८२
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे १० समाचार : नगरकोटबाट पूर्वराजाको सक्रियतादेखि रवीन्द्रलाई अर्को ‘आपत’सम्म

बिहीबार, २५ वैशाख २०८२, २२ : ००
बिहीबार, २५ वैशाख २०८२

काठमाडौँ । आज मिति २०८२ साल वैशाख महिनाको २५ गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा १० बजे १० समाचार लिएर हाजिर भएका छौँ–

१. पूर्वराजाको सक्रियता

पूर्वराजा ज्ञानेन्द्र शाह एक सातादेखि नगरकोटमा बसोबास गर्दै आएका छन् । पूर्वराजा निकट स्रोतका अनुसार उनी वैशाख १५ देखि नगरकोटमा बसोबास गर्दै आएका हुन् ।

उनी नगरकोटस्थित सोल्टी वेस्ट इन्ड रिसोर्टमा बसिरहेको पूर्वराजा निकट स्रोतले जनायो । जहाँबाटै उनले राजावादीहरूसँग तारन्तार भेट गरिरहेको खुलेको छ ।  उनले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापासहित राजावादी शीर्ष नेतासँग भेट नगरकोटमै गरेको विश्वस्त स्रोतले बतायो । उनले अन्य नेतापनि भेटेका छन् ।

२. रवीन्द्रमाथि अर्को मुद्दामा अनुसन्धान

राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र विरुद्ध तीनकुने घटनासँग जोडेर अर्को अभियोग लगाइएको छ ।  पक्राउ परेको ४२ औँ दिनमा उनीविरुद्ध ‘आपराधिक उपद्रव’ को नयाँ कसूरसमेत लगाएर प्रहरीले अदालतमा उपस्थित गराएको हो ।

राप्रपाका महामन्त्री शरदराज पाठकले उनलाई नयाँ अभियोग लगाइएको भन्दै असन्तुष्टि पोखेका छन् ।

३. राजावादीको आन्दोलन घोषणा

व्यवस्था विरोधी राजावादी समूह ‘राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन परिचालन समिति’ले अनिश्चितकालीन आन्दोलनको घोषणा गरेको छ ।

 बिहीबार राजधानीमा पत्रकार सम्मेलन नवराज सुवेदी नेतृत्वको समितिले जेठ १५ देखि राजसंस्था स्थापना नभएसम्म आन्दोलन गर्ने घोषणा गरेको हो।

४. माओवादी अभियान

०७० सालको दोस्रो संविधानसभा निर्वाचनपछि लगातार कद घट्दै गएको नेकपा माओवादी केन्द्र २०८४ सालको निर्वाचनलाई लक्षित गरी जनता केन्द्रित जागरण अभियानमा निस्किएको छ ।

पुस २३ गते सम्पन्न केन्द्रीय समिति बैठकले शक्तिको स्रोत श्रमिक, कृषक वर्ग समुदाय छोडेर लामो सयम सत्ता स्वार्थमा अलमलिँदा माओवादी आन्दोलन लगातार कमजोर हुँदै गएको निष्कर्ष निकालेको थियो ।

५. शीर्ष छलफल

सत्ता सहकार्यका प्रमुख दल नेपाली काँग्रेस र नेकपा एमालेका शीर्ष नेताहरुबिच छलफल भएको छ । बिहीबार समसामयिक राजनीतिक विषयमा शीर्ष नेताहरुबिच छलफल भएको हो ।

६. संसद बैठक

प्रतिनिधिसभा बैठक शुक्रबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ । बिहीबारको बैठकमा आकस्मिक, शून्य समयका कार्यक्रममा सांसदहरूले समसामयिक विषयमा कुरा उठाएका थिए ।

त्यस्तै वैशाख १९ गते संघीय संसद्को संयुक्त सदनमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि सांसदहरूले धारणा राख्ने क्रम आज पनि जारी रह्यो ।

७. भारत–पाकिस्तान तनाव

भारत र पाकिस्तानबिच बढेको तनावमा नेपालले गहिरो चिन्ता व्यक्त गरेको छ ।

भारतको पहलगाममा निर्दोष पर्यटकहरूमाथि भएको आतंकवादी आक्रमणपछि भारत र पाकिस्तानबिच तनाव बढेको भन्दै नेपालको परराष्ट्र मन्त्रालयले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो अवस्थाको समाधान खोजिनुपर्ने बताएको हो ।

८. धितोपत्र

आईपीओ निष्कासनमा कमिसन मागिएको सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार नेपाल धितोपत्र बोर्डमा छापा मार्‍यो ।

बोर्डबाट पुगेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तीन जना अनुसन्धान अधिकृत उक्त दिन दिनभर बोर्डको कार्यालयमा बसेका थिए । बोर्डका अध्यक्षसहित उच्च पदाधिकारीलाई एक्लाएक्लै र फरक फरक राखेर उनीहरूले सोधपुछ गरेका थिए । अपराह्‍न ४ बजे बाहिरिएका अधिकृतहरूले आईपीओ स्वीकृतिको प्रक्रियामा रहेका फाइलहरू लिएर गएको बोर्ड स्रोतले जनाएको छ ।

९. कर्णालीमा प्रहरी प्रमुख पठाइएन

गृहमन्त्री रमेश लेखकले २१ वैशाखमा ७ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी)हरूको सरुवा गरे । सो सरुवा सूचीअनुसार ६ प्रदेशका प्रहरी प्रमुख फेरिएका थिए । तर, कर्णालीमा डीआईजी पठाइएन ।

१०. तीनकुने घटना

गत चैत्र १५ गते काठमाडौँस्थित तीनकुने घटनामा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं प्रमुख सचेतक सन्तोष परियारको गाडीमा आगजनी गरेको आरोपमा सेनाका पुर्व हवल्दार पक्राउ परेका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप