राजश्व छलीमा तीन करोड असुली गर्न माग गर्दै मुद्दा दर्ता

बुटवल । राजस्व छलीको आरोपमा बुटवलको एउटा फर्मविरुद्ध ३ करोड रुपैयाँभन्दा बढी असुल उपरको मागदाबीसहित मुद्दा दर्ता भएको छ ।
राजस्व अनुसन्धान कार्यालय बुटवलका अनुसार बुटवल–७ राधाकृष्ण पथस्थित भाञ्जा स्टोर्स एण्ड हाउसका प्रोप्राइटर बरकत अलि मियाविरुद्ध उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा बिहीबार मुद्दा दर्ता भएको हो ।
राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख विवेक घिमिरेका अनुसार सो फर्मका नाममा मालवस्तु पैठारी तथा खरिद गरी मौज्दात किताबमा प्रविष्टि नगर्नु, बिजक नै जारी नगरी मालवस्तु बिक्री गर्नु, बिक्री भएको मालबस्तुको अभिलेख बिक्री खातामा प्रविष्टि नगरेको पाइएको छ ।
त्यस्तै पेस गरेको मूल्य अभिवृद्धि कर विवरणभन्दा अधिक मौज्दात पसल तथा गोदामबाट फेला पर्नु, मौज्दात किताबभन्दा बढी फेला परेको मालवस्तु चोरी पैठारी गरी ल्याएर बिक्री गरेको तथा कारोबार छल्न न्यून बिक्री देखाई भन्सार महसुल, भ्याट तथा आयकर नबुझाई राजस्व चुहावट गरेको भन्दै मुद्दा दायर गरिएको छ ।
भन्सार चोरी पैठारीतर्फ ७५ लाख ९३ हजार ५५७, भ्याट २३ लाख २७ हजार ४५९ र आयकरतर्फ ५६ लाख ४५ हजार २६५ गरी १ करोड ५५ लाख ६६ हजार २८१ बिगो कायम गरिएको छ ।
सो बिगो र बिगोको शतप्रतिशत जरिवाना रकमसहित ३ करोड ११ लाख ३२ हजार ५६२ रुपैयाँ असुल उपर गर्न तथा राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ (संशोधन सहित) को ऐनबमोजिम जरिवाना र कैदको मागदाबीसहित मुदा दायर गरिएको छ ।