सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
इन्डियन प्रिमियर लिग क्रिकेटमा आज

जित्नैपर्ने दबाबबिच आपसमा भिड्दै दिल्ली र पञ्जाब

यस्तो छ प्लेअफको समीकरण, वर्षाले खेल बिथोल्ने सम्भावना
बिहीबार, २५ वैशाख २०८२, ०९ : १३
बिहीबार, २५ वैशाख २०८२

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १८औँ संस्करणमा बिहीबार पञ्जाब किङ्सले दिल्ली क्यापिटल्सको सामना गर्दैछ । खेल धर्मशालास्थित हिमाञ्चल प्रदेश क्रिकेट एसोसिएसनको स्टेडियममा नेपाली समय अनुसार, राति १९ः४५ बजे सुरु हुनेछ । 

जारी आईपीएलमा खेल्न लागिएको यो ५८औँ खेल हो । यी दुवै टोली जारी सिजनको आईपीएलमा पहिलो पटक आपसमा भिड्न लागेका हुन् । दिल्ली र पञ्जाब दुवै प्रतियोगिताको प्ले–अफ चरणमा पुग्न संघर्षरत टोली हुन् । 

तर, दिल्लीभन्दा पञ्जाबको अवस्था केही बलियो देखिन्छ । यो संस्करणमा पञ्जाब र दिल्ली दुवैले आफ्नो १२औँ खेल खेल्न लागेका हुन् । प्रतियोगिता उत्तरार्धतिर लम्किरहँदा यी दुवै टोलीका लागि बिहीबारको खेल निकै महत्त्वपूर्ण छ । 

punjab

पञ्जाब कङ्सले हालसम्म आईपीएलको उपाधि जित्न सकेको छैन । सन् २०१४ मा पञ्जाब किङ्स फाइनलमा पुगेको थियो । तर, उपाधि भने जित्न सकेन । उक्त संस्करणको फाइनलमा कोलकाता नाइट राइडर्सले पञ्जाब किङ्सलाई तीन विकेटले हराएको थियो । 

दिल्ली क्यापिटल्स सन् २००८ मा आयोजित पहिलो संस्करणदेखि नै आईपीएलमा सहभागी हुँदै आएको छ । तर, दिल्लीले पनि हालसम्म उपाधिको जित्न सकेको छैन । सुरुवाती संस्करणमा दिल्लीको टोली दिल्ली डेयरडेभिल्सको नामबाट सहभागी भएको थियो ।

दिल्ली हालसम्म एकपटक आईपीएलको फाइनलमा पुगेको छ । सन् २०२० मा दिल्ली प्रतियोगिताको फाइनलमा पुगेको थियो । तर, उक्त संस्करणको फाइनलमा दिल्लीको टोली मुम्बई इन्डियन्ससँग पाँच विकेटले पराजित भएको थियो । 

  • पञ्जाबको समीकरण

जारी प्रतियोगितामा पञ्जाब किङ्स र दिल्ली क्यापिटल्स दुवैले आफ्नो १२औँ खेल खेल्न लागेका हुन् । हालसम्मको नतिजालाई हेर्दा दिल्लीभन्दा पञ्जाब केही बलियो देखिन्छ । तालिकामा १५ अंकसहित पञ्जाब तेस्रो र १३ अंकसहित दिल्ली पाँचौँ स्थानमा आसीन छन् । 

400102

पञ्जाबले हालसम्म खेलेको ११ मध्ये सात खेलमा जित र तीन खेलमा हारको नतिजा निकालेको छ । पञ्जाबको एक खेल भने वर्षाका कारण अनिर्णीत रूपमा सकिएको थियो । प्रतियोगिताको प्ले–अफ चरणमा पुग्न पञ्जाबले थप दुई खेल्न जित्नु आवश्यक छ । 

पञ्जाबले अब दिल्लीका अतिरिक्त मुम्बई इन्डियन्स र राजस्थान रोयल्ससँग खेल्न बाँकी छ । पञ्जाबका लागि दिल्ली र मुम्बई बलिया प्रतिद्वन्द्वी हुन् । राजस्थान भने तुलनात्मक रूपमा कमजोर प्रतिद्वन्द्वी हो । राजस्थान यसअघि नै उपाधि होडबाट पनि बाहिरिइसकेको छ ।

  • दिल्लीको समीकरण 

अर्कोतिर, दिल्ली क्यापिटल्स केही दबाबमा देखिन्छ । बिहीबारको खेलमा पञ्जाबसँग पराजित भए दिल्लीको अगाडि बढ्न सम्भावना प्राविधिक रूपमा मात्र बाँकी रहने छ । त्यसपछि दिल्लीले बाँकी दुई खेल जित्दै अन्य टोलीको नतिजा र नेट रन रेटमा पनि भर पर्नुपर्नेछ ।

delhi capitals

दिल्लीले खेलेको ११ मध्ये ६ खेलमा जित र चार खेलमा हारको नतिजा निकालेको छ । दिल्लीको पनि एक खेल अनिर्णीत रूपमा सकिएको छ । दिल्लीले अब पञ्जाबका अतिरिक्त गुजरात टाइटन्स र मुम्बई इन्डियन्ससँग खेल्न बाँकी छ । यी तीनवटै टोली दिल्लीका लागि बलिया प्रतिद्वन्द्वी हुन् । 

  • हेड टु हेडमा एक जितको अन्तर

आईपीएलमा हालसम्म पञ्जाब किङ्स र दिल्ली क्यापिटल्सबिच कुल ३३ खेल खेलिएको छ । त्यसमा पञ्जाब थोरै अन्तरले अगाडि देखिन्छ । पञ्जाब १७ खेलमा दिल्लीलाई हराएको छ । दिल्लीले भने १६ खेलमा पञ्जाबलाई पराजित गरेको छ ।

धर्मशालामा भने हालसम्म यी दुई टोलीबिच कुल चार खेल खेलिएको छ । त्यसमध्ये दुई खेलमा पञ्जाब र दुई खेलमा दिल्ली विजयी भएका छन् । पछिल्लो पटक सन् २०२३ मा यो स्टेडियममा दिल्लीले पञ्जाबलाई १५ रनले हराएको थियो ।

  • लयमा छन् पञ्जाबका माथिल्लो क्रममा ब्याट्सम्यान 

जारी सिजनको आईपीएलमा पञ्जाब किङ्सका माथिल्लो क्रमका ब्याट्सम्यानहरु लयमा देखिएका छन् । ओपनर प्रभसिमरन सिंह टोलीका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान हुन् । उनले १७० को स्ट्राइक रेटमा कुल चार सय ३७ रन बनाएका छन् । 

यस क्रममा उनले चारवटा अर्धशतक पनि बनाएका छन् । पञ्जाबका लागि दोस्रो सर्वाधिक रन बनाउने ब्याट्सम्यान श्रेयष ऐयर हुन् । उनले हालसम्म चार अर्धशतकसहित कुल चार सय पाँच रन बनाएका छन् । 

यसैगरी, ओपनर ब्याट्सम्यान प्रियांश आर्याले पनि कुल तीन सय ४७ रन बनाएका छन् । पञ्जाबका लागि सर्वाधिक विकेट लिने बलर भने अर्शदीप सिंह हुन् । उनले ११ खेलमा कुल १६ विकेट लिइसकेका छन् । युजवेन्द्र चहलले पनि १४ विकेट लिएका छन् । उनी जारी आईपीएलमा ह्याट्रिक विकेट लिने एकमात्र बलर पनि हुन् । 

  • दिल्लीको सर्वाधिक रन केएल राहुलको नाममा

आईपीएलको जारी सिजनमा दिल्ली क्यापिटल्सका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान केएल राहुल हुन् । उनी यो सिजन लयमा छन् । उनले हालसम्म टोलीका लागि १० खेल खेल्दै १४२.६१ को स्ट्राइक रेटमा कुल तीन सय ८१ रन बनाएका छन् । 

यस क्रममा उनले तीनवटा अर्धशतक पनि प्रहार गरेका छन् । दिल्लीका लागि दोस्रो सर्वाधिक रन बनाउने ब्याट्सम्यान अभिषेक पोरेल हुन् । उनले पनि ११ खेलमा कुल दुई सय ६५ रन बनाइसकेका छन् । 

यसैगरी, दिल्लीका लागि सबैभन्दा बढी विकेट लिने बलर मिचेल स्टार्क हुन् । उनले ११ खेलमा १४ विकेट लिइसकेका छन् । दिल्लीका लागि दोस्रो सर्वाधिक विकेट लिने बलर भने स्पिनर कुलदीप यादव हुन् । उनले ११ खेलमा १२ विकेट लिएका छन् । 

  • धर्मशालाको पुनर्निर्माण गरिएको पिच

धर्मशालास्थित हिमाञ्चल प्रदेश क्रिकेट एसोसिएसन स्टेडियम पुरानै भए पनि यो स्टेडियमको पिच भने भर्खरैमात्र तयार पारिएको हो । सामान्यतः यो पिचले ब्याट्सम्यानलाई साथ दिने गरेको छ । यो स्टेडियममा जारी आईपीएलको धेरै खेल पनि खेलाइएको छैन । 

हालसम्म यो स्टेडियमका आईपीएलको कुल १४ खेल खेलाइएको छ । त्यसमध्ये नौ खेलमा पहिले ब्याटिङ गर्ने टोली विजयी भएका छन् । जवाफी ब्याटिङ गर्ने टोलीले भने पाँच खेलमा मात्र सफलता हात पार्न सकेका छन् । 

dharmashala

यो स्टेडियममा पञ्जाब किङ्सले कुल १४ खेल खेलेको छ । त्यसमध्ये ६ खेलमा पञ्जाब विजयी भएको छ । आठ खेलमा भने पञ्जाब किङ्स पराजित भएको छ । यो स्टेडियममा बनेको उच्च स्कोर सात विकेट गुमाएर दुई सय ४१ रन हो । यो स्कोर रोयल च्यालेन्जर्स बेंगलुरुले पञ्जाबविरुद्ध बनाएको हो ।

  • वर्षाले खेल बिथोल्ने सम्भावना

पञ्जाब किङ्स र दिल्ली क्यापिटल्सबिच खेल हुने दिन बिहीबार धर्मशालामा वर्षाको सम्भावना रहेको बताइएको छ । त्यहाँको जल तथा मौसम विज्ञान विभागका अनुसार, बिहीबार धर्मशालामा वर्षाको ६५ प्रतिशत सम्भावना छ । तापक्रम भने १६ देखि २० डिग्री सेल्सियसको बिचमा रहने अनुमान छ ।

starc

  • सम्भावित टोली 

पञ्जाब किङ्स : श्रेयष ऐयर (कप्तान), प्रियांश आर्या, प्रभसिमरन सिंह, जस इङ्लिस (विकेटकिपर), नेहल बधेरा, शशांक सिंह, मार्कस स्टोइनिस, अजमतुल्लाह ओमरजाई, मार्को यानसन, युजवेन्द्र चहल, अर्शदीप सिंह र विजयकुमार वैशाख । 

दिल्ली क्यापिटल्स : अक्षर पटेल (कप्तान), करुण नायर, फाफ डु प्लेसिस, अभिषेक पोरेल, केएल राहुल (विकेटकिपर), अक्षर पटेल, ट्रिस्टन स्टब्स, विपराज निगम, आशुतोष शर्मा, मिचेल स्टार्क, कुलदीप यादव र मोहित शर्मा ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप