सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अस्ट्रेलियासँग पराजित हुँदै भारतीय महिला टोली टी–२० विश्वकपबाट बाहिरियो

सोमबार, १५ असार २०८३, ०८ : ०१
सोमबार, १५ असार २०८३

सारांश

  • अस्ट्रेलियाले भारतलाई ६ विकेटले पराजित गरेपछि भारतीय महिला टोली टी–२० विश्वकपबाट बाहिरिएको छ।
  • कप्तान हरमनप्रीत कौरको २७ बलमा ५६ रनको उत्कृष्ट इनिङ्स पनि टोलीलाई जित दिलाउन पर्याप्त भएन।
  • यो हारसँगै भारत समूह 'ए' मा तेस्रो स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिएको छ।

लर्ड्स । भारतीय महिला क्रिकेट टोली टी–२० विश्वकपबाट बाहिरिएको छ। 

लर्ड्समा खेलिएको गर या मरको खेलमा अस्ट्रेलियाले भारतलाई ६ विकेटले पराजित गरेपछि भारतको विश्वकप यात्रा समाप्त भएको हो। 

भारतले जितका लागि १७१ रनको लक्ष्य प्रस्तुत गरे पनि एलिस पेरी र एश्ले गार्डनरको शतकीय साझेदारीले खेलको पाटो नै बदलिदियो। कप्तान हरमनप्रीत कौरको २७ बलमा ५६ रनको उत्कृष्ट इनिङ्स पनि टोलीलाई जित दिलाउन पर्याप्त भएन। 

यो हारसँगै भारत समूह ‘ए’ मा तेस्रो स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिएको छ। यस समूहबाट अस्ट्रेलिया र दक्षिण अफ्रिका सेमिफाइनलमा प्रवेश गरेका छन्।

टस जितेर पहिले ब्याटिङ रोजेको भारतलाई ओपनर सेफाली वर्मा र स्मृति मंधानाले आक्रामक सुरुवात दिलाएका थिए। यी दुईले पहिलो विकेटका लागि ६६ रनको साझेदारी गरे। सेफालीले २६ बलमा ३४ रन बनाइन् भने स्मृतिले ३७ बलमा ३८ रनको योगदान दिइन्।

कप्तान हरमनप्रीत कौरले २७ बलमा ५६ रनको विष्फोटक ब्याटिङ गरिन्, जसमा ६ चौका र ३ छक्का सामेल थिए। उनले जेमिमा रोड्रिग्स (३४ रन) सँग तेस्रो विकेटका लागि ६४ रन जोड्दै भारतलाई बलियो स्थितिमा पुर्‍याइन्। अन्तिम ओभरमा सोफी मोलिन्युको बलमा लगातार तीन छक्का प्रहार गर्दै हरमनप्रीतले भारतको स्कोर १७० रनसम्म पुर्‍याएकी थिइन्।

१७१ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाको सुरुवात राम्रो हुन सकेन। रेणुका सिंहले दोस्रो बलमै जर्जिया वाललाई एलबीडब्लु आउट गर्दै भारतलाई पहिलो सफलता दिलाइन्। त्यसपछि श्री चरणीले फिबी लिचफिल्ड र दीप्ति शर्माले बेथ मुनीलाई आउट गरेपछि अस्ट्रेलिया ६८ रनमा ३ विकेट गुमाएको नाजुक अवस्थामा पुगेको थियो। त्यतिबेलासम्म खेलमा भारत निकै बलियो स्थितिमा देखिएको थियो।

तीन विकेट गुमेपछि एलिस पेरी र एश्ले गार्डनरले भारतीय बलरहरूमाथि दबाब बढाउन सुरु गरे। यी दुईले चौथो विकेटका लागि मात्र ५७ बलमा १०० रनको खेल जिताउ साझेदारी गरे। पेरीले ३८ बलमा ५६ रन बनाइन् भने गार्डनर २९ बलमा ५३ रन बनाउँदै अविजित रहिन्। अस्ट्रेलियाले १९ ओभरमा ४ विकेट गुमाएर १७२ रन बनाउँदै खेल आफ्नो पक्षमा पार्यो।

आइतबार भएको पहिलो खेलमा दक्षिण अफ्रिकाले बङ्गलादेशलाई हराएर ८ अङ्क जोडिसकेको थियो। यस्तो अवस्थामा भारतलाई अन्तिम चारमा पुग्नका लागि यो खेल जुनसुकै हालतमा जित्नुपर्ने दबाब थियो। तर पराजयसँगै भारत ५ खेलमा ६ अङ्कका साथ समूह ‘ए’ को तेस्रो स्थानमा सीमित भयो। अस्ट्रेलियाले १० अङ्क र दक्षिण अफ्रिकाले ८ अङ्क बटुल्दै सेमिफाइनलको टिकट पक्का गरे।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप