पुस्तक मेला गर्दै नेपालय, अफरमा पुस्तकमा छुटदेखि लेखकसँग भेटघाटसम्म
काठमाडौँ । पब्लिकेसन नेपालयले आफू २० वर्ष पुगेको अवसरमा किताबमा विशेष छुटसहित पुस्तक मेला आयोजना गर्दै छ । नेपालयले आफ्ना प्रकाशनमा ६० प्रतिशतसम्म छुट दिने बताएको छ । यही वैशाख २७ र २८ गते (शनिबार र आइतबार) हुने मेलामा लेखकसित भेटघाट समेत हुनेछ ।
पाठकहरुले आफ्ना प्रकाशन एकै ठाउँ छुट मूल्यमा किन्न सकून्, आफ्ना प्रिय लेखकसित भेटघाटको मौका पाऊन् भन्ने उद्देश्यले पुस्तक मेला आयोजना गर्न लागेको पब्लिकेसन नेपालयले जनाएको छ । ‘हाम्रो पहिलो पुस्तक पल्पसा क्याफेले धेरै पाठकको माया पायो,’ पब्लिकेसन नेपालयका प्रमुख कार्यकारी सैजन मास्केले भनिन्, ‘२० वर्षदेखि पाएको मायाको सम्मानमा हामी आफ्नै अफिस कालिकास्थानमा पुस्तक मेला आयोजना गरेर पाठकलाई सुखद अनुभव दिने तयारीमा छौँ ।’
पुस्तक मेलामा नेपालयका ३० भन्दा बढी लेखकको उपस्थिति रहने मास्केले बताइन् । ‘हाम्रा लेखक अच्युतकृष्ण खरेल, अरुणा उप्रेती, आनी छोइङ डोल्मा, आभास, कालीप्रसाद रिजाल, किशोर थापा, कुमार नगरकोटी, गणेशप्रसाद लाठ, गिरीश गिरी, जीवनकुमार प्रसाईँ, जेबी दर्लामी, तारानिधि भट्टराई, तुलसी भट्टराई, दिनेश अधिकारी, दुर्गा कार्की, नारायण वाग्ले, निमानन्द रिजाल, पद्मसुन्दर जोशी, महेशराज पन्त, लुज माथेमा, विप्लव प्रतीक, श्रवण मुकारुङ, सुदीप श्रेष्ठ लगायतको उपस्थिति रहनेछ,’ मास्केले भनिन्, ‘लेखकसित भेटघाट, कुराकानी गर्ने मौकामा सहभागी हुन कुनै शुल्क लाग्दैन, पुस्तक ५० प्रतिशतसम्म छुटमा किन्न सकिन्छ ।’
दुई दिने पुस्तक मेलाको आरम्भ जीवनकुमार प्रसाईँको पाँचौँ पुस्तक ‘कस्तो छ तिमीलाई, यो मन सोधिरहन्छ’बाट हुनेछ । शनिबार बिहान ९ बजे पुस्तक मेला स्थलमा उक्त पुस्तक लोकार्पण हुनेछ । १० वर्ष पहिले नेपालयबाटै प्रसाईँको ‘जीवन जिउने काइदा’ प्रकाशन भएको थियो, जो पाठकको अत्यधिक रोजाइमा पर्छ । पुस्तक मेलाको समापन काव्य अनुष्ठानबाट हुनेछ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण