प्ले–अफ चरणमा पुग्न आतुर बेंगलुरु र जित्नै पर्ने दबाबमा रहेको लखनउ आपसमा भिड्दै
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा शुक्रबार लखनउ सुपर जायन्ट्स र रोयल च्यालेन्जर्स बेंगलुरु आपसमा भिड्दै छन् । खेल लखनउस्थित इकाना स्टेडियममा नेपाली समय अनुसार, राति १९ः४५ बजे सुरु हुनेछ ।
जारी आईपीएलमा खेल्न लागिएको यो ५९औँ खेल हो । बेंगलुरु र लखनउ दुवैले आफ्नो १२औँ खेल खेलन लागेका हुन् । यी दुवै टोली प्रतियोगिताको प्ले–अफ चरणमा पुग्न सङ्घर्षरत छन् । तर, लखनउको तुलनामा बेंगलुरुको अगाडि बढ्ने सम्भावना बढी देखिन्छ ।
लखनउ र बेंगलुरु दुवैले हालसम्म आईपीएलको उपाधि जित्न सकेका छैनन् । त्यसैले यो सिजन यी दुवै टोली पहिलो उपाधिको खाेजीमा छन् । बेंगलुरु हालसम्म तीनपटक आईपीएलको फाइनलमा पुगेर पराजित भएको छ ।
दुवै टोलीको समीकरण

जारी आईपीएलमा बेंगलुरुले हालसम्म खेलेको ११ मध्ये आठ खेलमा जित र तीन खेलमा हारको नतिजा निकालेको छ । बेंगलुरु १६ अंकसहित तालिकाको दोस्रो स्थानमा आसीन छ । त्यसैले बेंगलुरुको प्ले–अफ चरणमा पुग्ने सम्भावना बलियो छ ।
बेंगलुरुले अब लखनउका अतिरिक्त सनराइजर्स हैदराबाद र कोलकाता नाइट राइडर्ससँग खेल्नमात्र बाँकी छ । त्यसमध्ये हैदराबाद तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्द्वीका रुपमा देखिएको छ । बिहीबारको खेलमा विजयी भए बेंगलुरुले प्ले–अफ चरण प्रवेशको सम्भावना निकै बलियो बनाउने छ ।
लखनउले भने हालसम्म खेलेको ११ मध्ये पाँच खेलमा जित र ६ खेलमा हारको नतिजा निकालेको छ । लखनउ १० अंकसहित तालिकाको सातौँ स्थानमा छ । त्यसैले प्ले–अफ चरणमा पुग्ने सम्भावना जीवित राख्न लखनउले बाँकी तीनवटै खेल जित्नुको विकल्प छैन ।

तीनवटै खेल जितेर पनि लखनउले अन्य टोलीको नतिजा र नेट रन रेटमा भर पर्नुपर्ने हुन्छ । लखनउले अब बेंगलुरुका अतिरिक्त गुजरात टाइटन्स र सनराइजर्स हैदराबादसँग खेल्न बाँकी छ ।
त्यसमध्ये बेंगलुरु र गुजरात बलिया टोली हुन् भने हैदराबाद तुलनात्मक रुपमा कमजोर । त्यसैले यो सिजन लखनउ सुपर जायन्ट्सको प्ले–अफ चरण यात्रा निकै संकटमा देखिन्छ ।
हेड टु हेडमा बेंगलुरु अगाडि
इन्डियन प्रिमियर लिगमा हालसम्म लखनउ सुपर जायन्ट्स र रोयल च्यालेन्जर्स बेंगलुरुबिच कुल पाँच खेल खेलिएको छ । त्यसमध्ये बेंगलुरुले तीन खेलमा लखनउलाई हराएको छ । लखनउले भने दुई खेलमा बेंगलुरुलाई हराएको छ ।
पछिल्लो पटक यी दुई टोलीबिच सन् २०२४ मा भिडन्त भएको थियो । उक्त खेलमा लखनउले बेंगलुरुलाई २८ रनले हराएको थियो । त्यसअघि सन् २०२३ मा यी दुई टोलीबिच दुईपटक भिडन्त भएको थियो । त्यसमध्ये एक खेलमा लखनल एक विकेटले र अर्को खेलमा बेंगलुरु १८ रनले विजयी भएको थियो ।
त्यसअघि सन् २०२२ को आईपीएलमा पनि बेंगलुरु र लखनउबिच दुईपटक भिडन्त भएको थियो । ती दुवै खेलमा बेंगलुरुले लखनउलाई हराएको थियो । बेंगलुरु सन् २०२२ मा खेलिएको पहिलो खेलमा १४ रनले र दोस्रो खेलमा १८ रनले विजयी भएको थियो ।
बेंगलुरुको सर्वाधिक रन विराट कोहलीको नाममा

जारी सिजनको आईपीएलमा रोयल च्यालेन्जर्स बेंगलुरुका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान विराट कोहली हुन् । उनले हालसम्म खेलिएको ११ खेलमा कुल पाँच सय पाँच रन बनाएका छन् । यस क्रममा उनले सातवटा अर्धशतक पनि प्रहार गरेका छन् ।
जारी आईपीएलमा विराट हालसम्म सर्वाधिक अर्धशतक बनाउने ब्याट्सम्यान पनि हुन् । बेंगलुरुका लागि सर्वाधिक विकेट लिने बलर भने जस हेजलउड हुन् । उनले हालसम्म १० खेलमा १८ विकेट लिइसकेका छन् ।
लयमा छन् लखनउका निकोलस पुरन

आईपीएलको जारी संस्करणमा लखनउ सुपर जायन्ट्सका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान निकोलस पुरन हुन् । उनले हालसम्म ११ खेलमा कुल चार सय १० रन बनाइसकेका छन् । यस क्रममा उनले चारवटा अर्धशतक पनि प्रहार गरेका छन् ।
जारी आईपीएलमा उनले बनाएको उच्च स्कोर अविजित ८७ रन हो । लखनउका लागि सर्वाधिक विकेट लिने बलर भने सार्दुल ठाकुर हुन् । उनले नौ खेलमा १२ विकेट लिएका छन् । उनको उत्कृष्ट प्रदर्शन भने ३४ रन खर्चिएर चार विकेट हो ।
ब्याट्सम्यानलाई साथ दिने पिच
रोयल च्यालेन्जर्स बेंगलुरु र लखनउ सुपर जायन्ट्सबिच खेल हुने इकाना क्रिकेट स्टेडियमको पिच खासगरी ब्याट्सम्यानलाई साथ दिने प्रकृतिको रहेको छ । यो स्टेडियममा जवाफी ब्याटिङ गर्ने टोलीले एक सय ८१ रनसम्मको लक्ष्य सजिलै पूरा गर्ने गरेका छन् ।
जारी सिजनको आईपीएलअघि यो स्टेडियमको पिच ब्याट्सम्यानका लागि उपयुक्त थिएन । तर, यसपटक पिचको पनर्निमार्ण गरेर ब्याट्सम्यानका लागि अनुकुल बनाइएको समाचारमा जनाइएको छ ।
वर्षाको सम्भावना निकै कम
लखनउ सुपर जायन्ट्स र रोयल च्यालेन्जर्स बेंगलुरुबिच खेल हुने दिन शुक्रबार लखनउमा वर्षाको सम्भावना निकै कम रहेको बताइएको छ । त्यहाँको जल तथा मौसम विज्ञान विभागका अनुसार, वर्षाको सम्भावना केवल पाँच प्रतिशत छ ।
सम्भावित टोली
लखनउ सुपर जायन्ट्स : ऋषभ पन्त (कप्तान तथा विकेटकिपर), एडेन मारक्रम, निकोलस पुरन, अब्दुल समाद, आयुष बडोनी, डभिड मिल्लर, आकाश महाराज सिंह, दिग्वेशसिंह राठी, आवेश खान, मयंक यादव, प्रिन्स यादव र मिचेल मार्श (इक्प्याक्ट प्लेयर) ।
रोयल च्यालेन्जर्स बेंगलुरु : रजत पाटिदार (कप्तान), ज्याकब बेथेल, विराट कोहली, जितेश शर्मा (विकेटकिपर), टिम डेभिड, क्रुणाल पाण्ड्या, रोमारियो शेफर्ड, भुवनेश्वर कुमार, लुंगी एनगिडी, यश दयाल, सुयश शर्मा र फिल साल्ट (इम्प्याक्ट प्लेयर) ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुलुकभर मनसुन फैलिँदै : धेरै स्थानमा मेघगर्जनसहित वर्षाको प्रक्षेपण
-
क्यानडा पहिलो पटक विश्वकपको अन्तिम १६ मा प्रवेश, स्टेफन युस्टाकियो बने नायक
-
विश्वकप २०२६ को समूह चरणपछि को कति शक्तिशाली ?
-
पोखराका दुई उत्कृष्ट किसान सम्मानित
-
गण्डकीको बजेट पारित, ३३ अर्बमा कुन मन्त्रालयलाई कति बजेट ?
-
‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण