आफैँलाई प्रश्न : म को हुँ ?

‘म को हुँ ?’ यो प्रश्न साधारणजस्तो देखिए पनि यसको उत्तर खोज्दा जीवन नै समाप्त हुन पनि सक्छ । मैले मेरो नाम, परिचय, पेसा वा भूमिकाले आफूलाई परिभाषित गर्ने प्रयास गर्छु, तर ती सबै उत्तरहरू सतहमा मात्र हुन्छन् । वास्तविक ‘म’ त गहिरो अनुभूति, सोच, भावना, उद्देश्य र चेतनाको मिसावट हो ।
जब म भन्छु— म पत्रकार हुँ, लेखक हुँ, राजनीतिकर्मी हुँ, छोरा हुँ, दाइ वा भाइ हुँ; यी पहिचान हाम्रो सामाजिक भूमिकासँग सम्बन्धित हुन् । ती सबै भूमिका परिवर्तनशील छन् । जीवनको कुनै मोडमा ती भूमिका समाप्त हुन्छन् वा नयाँ रूपमा रूपान्तरण हुन्छन् । त्यसपछि फेरि म आफूले आफैँलाई सोध्न पुग्छु, अब म को हुँ ?
‘म’ त्यो चेतना हुँ— पीडा, खुसी, डर, आशा, मोह, मोहभंग अथवा सबै अनुभूतिहरूको भोगाइको पात्र । म त्यो प्राणी हुँ, जो भित्रभित्रै आफ्नो अर्थ खोजिरहेको छु । म त्यो आवाज हुँ, जसले प्रश्न गर्छ, संकोच गर्छ, कहिलेकाहीँ ढाडस दिन्छ र सत्यतर्फ आकर्षित हुन्छ ।
‘म’ शरीर मात्र होइन, नाम मात्र होइन र सोच मात्रै पनि होइन । म समयको प्रवाहमा बगिरहेको एक अस्तित्व हुँ, जहाँ म आफ्नो सार बुझ्न खोजिरहेको छु । म भूत, वर्तमान र भविष्यको संगम हुँ । म परिवर्तनशील हुँ, तर म स्वयंलाई खोजिरहने अनन्त खोजी पनि हुँ ।
कुनै क्षणमा लाग्छ— म कमजोर छु, असफल र अरूभन्दा कम छु । यी तमाम भावना अस्थायी हुन् । यी सबैले ‘म’लाई पूर्णतया परिभाषित गर्न सक्दैनन् । किनकि ‘म’भित्र अपार सम्भावना, नयाँ सुरुवात गर्ने शक्ति र चेतनाको गहिराइ जीवन्त लुकेको छ ।
पेसाले म पत्रकार हुँ, लेखक हुँ, समाजवादी विचारधारा बोकेको राजनीतिककर्मी पनि हुँ— यी मेरा परिचय हुन् । समाजले मलाई जसरी चिन्छ, बुझ्छ र सम्झन्छ । जब म आफैँसँग एकान्तमा बस्छु, म आफैँसँग सोध्छु — म को हुँ ?
पत्रकारिताले मलाई सत्यको खोजी गर्न सिकायो । कलम चलाउँदा शब्दहरू मेरा आवाज बने । अन्यायको विरुद्ध बोल्दा, कलम उठाउँदा, मैले महसुस गरेँ— म सधैँ आम मानिसको पक्षमा छु । मैले बुझेँ— म त्यो हुँ, जसले सत्यको उज्यालोमा समाजलाई डोर्याउने मार्गमा छु ।
लेखकका रूपमा, म भावना र विवेकबिच पुल बन्ने कोसिस गर्छु । समाजमा देखिएका विसंगति, असमानता, शोषण र संघर्षहरूलाई मैले शब्दमा उतार्छु, ताकि ती आवाज नटुटुन्, नहराउन् । म त्यो हुँ, जुन मौनतालाई आवाज दिने कोसिसमा हरदम उभिने गर्छु । मैले इतिहास लेख्न होइन, तर समयको मनोविज्ञान बुझन् समय खर्चिएको छु ।
राजनीतिक रूपमा म समाजवादी हुँ, किनभने मलाई विश्वास छ समानताको, सामाजिक न्यायको र समुन्नत मानवीय मूल्यहरूको । म त्यो हुँ, जसको विचारधारामा मानिसको मर्यादा सर्वोपरि होस् । मलाई सत्ता चाहिँदैन, मलाई समाजको संरचना परिवर्तन गर्न सक्ने चेतना भए पुग्छ ।
तर यति भएर पनि म पूर्ण हुँ त ? हैन । म त्यो प्रश्न हुँ, जुन अझै उत्तर खोजिरहेको छु । म परिवर्तनशील छु, शंका र विश्वास गर्छु । म गल्ती पनि गर्छु र सुधार पनि । म भोग्दछु र अनुभूतिहरू संकलन पनि गर्छु । म फेरि आफैँलाई प्रश्न गर्न पुग्छु, म को हुँ ? म त्यो होइन, जसलाई केवल नामले, जातले, लिंगले वा कुनै पहिचानपत्रले चिनाओस् । म त्यो पनि होइन, जसलाई समाजले भूमिकामा बाँधेर मूल्याङ्कन गरोस् ।
म सत्ता होइन, परिवर्तन खोज्छु । म विभेदको दिवार भत्काउने आवाज बोकेर हिँडेको छु । म मौन सहमतिलाई तोड्ने हिम्मत गर्छु ।
जातका नाममा मानिसलाई उँचनिच बनाउने संस्कारविरुद्ध लेख्छु, बोल्छु, उठ्छु । लैंगिक असमानताका जरा समाजको हरेक कुनामा लुकेको देख्दा, म मौन बस्न सक्दिनँ । किनकि म मानवताको पक्षमा छु ।
म कलमलाई चेतना फैलाउने अस्त्र बनाउन सक्छु । समानता र न्याय प्राप्तिका लागि लड्न सक्छु । परिवर्तनका निम्ति बलिदानी दिन सक्छु । यो सबैमा म तयार हुन सक्छु । फेरि आफैँलाई प्रश्न गर्छु, म को हुँ ?
म सिर्फ मेरो नाम होइन, म एक सोच हुँ, एक आन्दोलन हुँ । यो प्रश्न कहिल्यै पूरा उत्तर बन्न सकेको छैन । म एउटा नाम नै हुँ तर नामभन्दा फराकिलो चेतना पनि हुँ । म जातीय विभेदको विरुद्धमा उभिएको मानवीय आवाज हुँ । त्यो आवाज, जो ठुला सभामा हैन, गरिबको अँध्यारो झुपडीमा पनि न्यायको भाषा बोल्न सक्छ । म लैंगिक समानताका पक्षमा उठेको आँधी हुँ । शब्दले सजिएको, तर रगतले लेखिएको क्रान्तिको सपना । जहाँ पुरुषले मात्र होइन, महिला, ट्रान्स, दलित, सबैले एउटै सपना देख्न सकुन् । समान जीवन, बराबरीको ठाउँ । म त्यो हुँ, जो आत्मसन्तोषमा होइन, आत्मसंघर्षमा जीवित हुन चाहन्छु । सत्ताको नजिक होइन, सत्यको नजिक हुन चाहन्छु । भाषा, वर्ग, लिंग, जात — कुनै विभाजनलाई स्विकार्दिनँ ।
म त्यो हुँ जो म समाजलाई ऐना जसरी देखाउन सक्छु । जहाँ अझै पनि छोरी जन्मनुलाई अपराध ठानिन्छ, जहाँ दलितको सपना पनि ‘निच’ मानिन्छ, जहाँ विचारधारा, दर्शन, नीति सबै हुन्छ तर मानवता हराउँछ । यसका विरुद्धमा उत्रिन सक्ने तागत राख्छु । त्यसैले म प्रश्न हुँ, सामाजिक न्यायको लागि अझै अधुरो प्रश्न । तर म उत्तर बन्न खोजिरहेको छु, हजारौँ पीडितहरूको प्रतिनिधित्व गर्न सक्ने गरी । म त एक आन्दोलन नै हुँ, शब्द, संघर्ष र संवेदना समेटिएको; नफर्किने, नथाक्ने, नमेटिने । यी यावत् प्रश्न–उत्तरको घेराबन्दीमा रहेको ‘म’ को हुँ ? म त्यो हुँ, जो नसम्झिएकालाई सम्झिन्छु, जो नसुनेकोलाई लेख्छु, जो नदेखिएकालाई देखाउँछु ।
म तपाईंको समाजमै छु तर तपाईंको सत्ताबाट स्वतन्त्र छु । किनभने म साँचो परिवर्तनको आवाज बन्ने नागरिकहरुको पक्षमा छु । यदि म चिनिने नाम हुँ भने त्यो त मेरो सामाजिक परिचय मात्र हो । यदि म धर्मावलम्बी हुँ भने, त्यो त मेरो पहिचान हो । जात, वर्ण, वर्ग हो भने — त्यो त जन्मसाथै गाँसिएको खालि खोल हो । तर म त त्यो हुँ, श्रद्धाभन्दा पहिले बुझेपछि मात्रै स्वीकार गर्छु । म धर्मभन्दा पनि बढी मान्छेलाई मान्छे ठान्छु । म धार्मिक होइन, तर आस्थाहीन पनि होइन । म आत्माको स्वर सुन्छु, तर त्यो स्वर मन्दिर–मस्जिदको घण्टीमा मात्र होइन, मानवताको चित्कारमा पनि सुन्न सक्छु । म ईश्वरमा होइन, चेतनामा विश्वास गर्छु । किनभने मैले देखेको छु— धर्मको नाममा पड्काइएका बम, अन्धविश्वासको नाममा चढाइएका निर्दोष जिउँदो बलिहरू । त्यसैले म भन्न सक्छु— म धार्मिकताभन्दा स्वतन्त्र हुँ, तर संवेदनाहीन हैन ।
म को हुँ ? म त्यो हुँ, जो सहिष्णुतालाई धर्मको मूल मानेर बाँच्न खोज्छु । जहाँ सबैको विचारलाई सुन्ने साहस हुन्छ, तर सबै स्विकार्नुपर्ने गुलामी हुँदैन । जहाँ असहमति हुन्छ, घृणा हुँदैन । मानवता धर्मग्रन्थको अक्षरमा मात्र होइन, म मान्छेको व्यवहारमा खोज्छु । म धार्मिक परिभाषाभित्र अटाउन नसक्ने अस्तित्व हुँ । किनभने म धर्म होइन, धर्मको मर्म खोज्ने चेतना हुँ । म कुनै पन्थको अनुयायी होइन, म विवेकको यात्रु हुँ । म स्वतन्त्र हुँ, किनभने सत्यले मलाई डराउँदैन । म सहिष्णु हुँ, किनभने मलाई विश्वास छ, विचारको भिडन्तले सत्य जन्माउँछ, घृणाको जालोले होइन । धर्मभन्दा ठुलो मेरो विवेक हो, जातभन्दा ठुलो मेरो करुणा हो । र ईश्वरभन्दा नजिक म अरूको पीडा बुझ्न सक्ने मानवीय चेतनामा विश्वास गर्छु ।
म केवल अस्तित्वमा होइन, अर्थको खोजीमा पनि छु । यही कुराले मलाई दर्शन सिर्जना गर्न बाध्य पार्छ, धर्म र विज्ञान दुवैलाई सोच्न विवश बनाउँछ र चेतनशील आफ्नो जीवनको सार बुझ्न गहिरो यात्रामा लैजान्छ । जहाँ शून्यताको स्विकारोक्ति, जीवनको मूल्य र आत्मसत्ता पहिचान गर्न म हरदम सोचमग्न नै रहन्छु ।
म को हुँ, अन्त्य शून्य नै हो भने ? मृत्यु शाश्वत सत्य हो । सास लिँदै–छोड्दै गरेको यो जीवनयात्रा, अन्ततः एक शून्यतर्फ बगिरहेको नदी हो । घर बनाउने, नाम कमाउने, प्रतिष्ठा कमाउने । लेख लेख्ने, आन्दोलन गर्ने, सपना देख्ने । प्रेम गर्ने, घृणा पनि गर्ने तर अन्त्य नै शून्य हो भने यो सबै केका लागि गरिरहेको छु भन्ने प्रश्न पुनः जागृत हुन्छ । त्यसो भए, म को हुँ ? के म केवल समयको एउटा क्षणिक आकृति हुँ ? म माटोबाट उठेको, फेरि माटोमै फर्कने एक अणु मात्र हुँ ? यदि मैले जे गरें, त्यो एकदिन हराउने हो भने — के मेरो कर्मको कुनै अर्थ छैन ? तर त्यही क्षणभित्रको चेतना नै त मेरो वास्तविकता हो । म शून्य भएर जानु मेरो भाग्य हो । तर त्यो शून्य हुनुअघि मैले के दिएँ ? के बाँडेँ ? के बदलेँ ? के बोलेँ ? त्यो नै मेरो पहिचान हो ।
हो, मृत्यु एक यथार्थ हो, तर म त्यो हुँ, जो मृत्युको छायामा पनि अर्थ खोज्ने प्रयत्नमा छु । किनभने म एक लेखक हुँ, मेरो शब्द सायद मसँगै हराउँछ, तर कहिलेकाहीँ त्यो शब्दले कसैको जीवन बदल्न सक्छ । त्यो क्षण, त्यो परिवर्तन, त्यो अनुभूति शून्य हुँदैन । म शून्यतर्फ जानुको सत्यलाई स्वीकार गर्ने एक सीमित जीवन हुँ । तर त्यही सीमितताभित्र पनि असीमित जिम्मेवारी बोकेको आत्मा हुँ । म त्यस क्षणको प्रतिनिधि हुँ, जहाँ परिवर्तनको चिसो हावा चल्छ । जहाँ अन्यायका विरुद्ध आवाज सुनिन्छ । जहाँ प्रेम, करुणा र बौद्धिकता एक साथ बोल्छन्, म अझै बाँच्छु । म साँचो हुँ । म व्यर्थ छैन । शून्य हुनुपूर्व म अर्थ बन्न चाहन्छु । त्यसैले म केवल मर्ने होइन, बाँचेको समयको अर्थपूर्ण प्रयास हुँ । म शून्यमा गुम्ने छाया होइन, म शून्य अघि चम्कने दीपशिखा हुँ । म मरेर हराउने नाम होइन, बाँचुन्जेल प्रभाव पार्ने चेतना हुँ ।
म एक अस्तित्व हुँ । अन्त्यको स्वीकृति लिएर पनि सुरुवातमा विश्वास गर्ने । म शून्यको पर्खाइमा बाँचिरहेको मान्छे हुँ । त्यो शून्यतर्फको बाटोमा पनि सत्य, न्याय, प्रेम र विद्रोहको पदचिह्न छोड्न सक्ने प्रयत्न हुँ ।
अन्ततः ‘म को हुँ ? भन्ने प्रश्नको उत्तर तयार भएर आउने होइन । यो त बाँच्ने क्रममा बिस्तारै खुल्दै जाने पर्दाजस्तै हो । हरेक अनुभवले, हरेक सम्बन्धले, हरेक चुनौतीले मलाई मेरो आफ्नै वास्तविकताको नजिक पुर्याउँदै लैजान्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकैदिन एकसय ३५ आरोही सगरमाथा शिखरमा
-
देशको नाम उच्च राख्न खेलाडीको महत्त्वपूर्ण योगदान छ : मुख्यमन्त्री लामा
-
बागमती प्रदेश सर्वदलीय बैठकमा जुटेन सहमति, प्रतिपक्षले प्रदेशसभा चल्न नदिने
-
एरिका र राजन उत्कृष्ट खेलाडी, बस्नेत र मानन्धरलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड
-
सङ्ग्रहालय स्थानीय सरकारलाई हस्तान्तरण गरिए व्यवस्थापनमा थप सहज हुनेछ : महानगर प्रमुख महर्जन
-
कपिलवस्तुमा अवैध उत्खनन् रोक्न माग गर्दै जनमोर्चाले बुझायो ज्ञापनपत्र