बुधबार, २१ जेठ २०८२
ताजा लोकप्रिय
विद्याकाे चीन भ्रमण

विद्या भण्डारीलाई चीनले दिएको ‘उच्च’ सम्मानले एमाले उत्साहित

सोमबार, १९ जेठ २०८२, २२ : २७
सोमबार, १९ जेठ २०८२

समाचार सारांश

  • पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी १० दिने चीन भ्रमण सकेर स्वदेश फर्किइन्, जहाँ उनलाई उच्च सम्मान दिइयो।
  • भ्रमणमा एमाले नेता र सरकारका प्रतिनिधिहरू सहभागी थिए, जसले दुई देशबीचको सम्बन्ध र आपसी हित प्रवर्द्धनमा जोड दिए।
  • चिनियाँ पक्षले नेपालका कम्युनिस्ट पार्टीहरूबीच एकता चाहेको र एमालेलाई दिएको महत्वलाई राजनीतिक अर्थका रूपमा हेरिएको छ।

काठमाडौं नेकपा एमालेका पूर्वउपाध्यक्ष समेत रहेकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार १० दिन चीन भ्रमण सकेर स्वदेश फर्किएकी छन् । चीन भ्रमणका क्रममा चिनियाँ पक्षले भण्डारीलाई दिएको उच्च सम्मानले एमाले वृत्त उत्साहित देखिएको छ ।

पूर्व राष्ट्रपति भण्डारीसहित एमाले केन्द्रीय सचिव एवम् परराष्ट्र मामिला विभाग प्रमुख रघुवीर महासेठ, स्थायी कमिटी सदस्य कर्ण थापा, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी लगायत पार्टी र सरकारको संयुक्त टोली १० दिने चीन भ्रमण सकेर सोमबार स्वदेश फर्किएको हो ।

चिनियाँ कम्युनिस्ट पार्टी र त्यहाँको सरकारको निमन्त्रणामा पूर्वराष्ट्रपति भण्डारीसहित एमाले नेता र सरकारका प्रतिनिधिहरू चीन भ्रमणमा गएका थिए ।

‘यो भ्रमणमा सरकार र पार्टीको पनि सहभागिता भएका कारणले सिङ्गो मुलुकको प्रतिनिधित्व भयो । उच्चस्तरीय फोरममा मुलुकको तर्फबाट प्रतिनिधित्व भएकाले पनि यस भ्रमणलाई विशेष सद्भाव र सम्मान भ्रमणका रूपमा लिन सकिन्छ’, स्वदेश फर्किएलगत्तै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग भ्रमण टोलीमा सहभागी मन्त्री भण्डारीले भने, ‘आर्थिक कूटनीतिक र सांस्कृतिक सम्बन्धहरू जसरी परस्परमा सदियौंदेखि चलिरहेका छन्, यसको पुनर्ताजगी गर्न भ्रमण सफल रह्यो ।’

दुई पार्टीबीचको सम्बन्ध, विश्वास र दुई देशबीचको आपसी हित प्रवर्द्धनका लागि भ्रमण फलदायी बनेको भण्डारीको भनाइ छ ।

‘परस्पर हित अभिवृद्धि गर्ने र त्यसलाई विकसित गर्ने काम चिनियाँ पक्षबाट भयो,’ मन्त्री भण्डारीले भने, ‘पूर्वराष्ट्रपति सहभागी कार्यक्रममा ६० वटा मुलुकको प्रतिनिधित्व रहेको थियो ।’

भ्रमणका क्रममा भण्डारीले चिनियाँ उपराष्ट्रपति हान चेङ, चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख, चिनियाँ कङ्ग्रेसका उपाध्यक्ष र गान्सु प्रदेशका मुख्यमन्त्रीलगायतसँग भेटवार्ता र छलफल गरेको भण्डारीले जनाए । भ्रमण टोलीमा रहेका स्थायी कमिटी सदस्य कर्ण थापाले चीनले पुर्व राष्ट्रपति भण्डारीलाई राजनीतिक शीर्ष नेताको हैसियतमा सम्मान प्रकट गर्नुले उत्साह थपिएको बताए ।

‘चीनले उच्च सम्मान प्रकट गर्यो । यसले दुई देशबीच र दुई पार्टीबीचको सम्बन्धलाई थप उचाइमा पुर्याउनेछँदैछ नेपाल चीनबीच भएका सहमति र सम्झौता कार्यान्वयनमा पनि सघाउ पुग्ने विश्वास गर्न सकिन्छ’, थापाले रातोपाटीसँग भने, ‘नेपालको आन्तरिक राजनीतिका बारेमा त्यहाँ छलफल हुने कुरा भएन ।’

यद्यपि उनले चिनियाँ पक्षले नेपालका कम्युनिस्टहरुबिच एकता होस् भन्ने चाहेको कुरा भनिरहनुपर्ने विषय नभएको बताए । ‘पार्टीहरुबिच एकता र मजबुत हुनुपर्छ भन्ने छिमेकीले सदासयता राख्नु नयाँ र अनौठो होइन’, थापाको भनाइ छ ।

चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भने भेटघाटको कार्यक्रम नभएकाले भेटवार्ता नभएको थापाको भनाई छ ।

‘राष्ट्रपति सीसँग भेटघाटको कार्यतालिका नै थिएन, कार्यतालिका नभएपछि भेट हुने कुरा पनि भएन’, थापाले भने, ‘हाम्रो जस्तो त्यहाँ गएपछि भेटिहालांै न भन्ने पनि हुदैन ।’

२०७९ सालमा राष्ट्रपतिको कार्यकाल पुरा गरेपछि भण्डारीले पहिलो पटक औपचारिक विदेश भ्रमण गरेकी हुन् ।

एमालेका एक केन्द्रीय पदाधिकारीका अनुसार भण्डारीलाई छिमेकी मुलुक चीनले यति धेरै महत्व दिनुको राजनीतिक अर्थ समेत रहेको छ । उनका अनुसार चीनले भण्डारीलाई दिएको महत्व र सन्देशले आगामी दिनमा एमालेको नेतृत्व र कम्युनिस्ट पार्टीबीचको एकता प्रक्रिया अघि बढ्ने संकेतका रुपमा बुझ्न सकिन्छ ।

‘चीनको चाहाना नेपालका कम्युनिस्ट पार्टीहरु एक होउन् भन्ने हो । सम्भवत त्यसबारे पनि केही कुराकानी भएको हुनुपर्छ’, ति नेताले भने, ‘यो सम्मान र महत्वले एमालेमा उत्साह छाएको छ । ’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप