शुक्रबार, २३ जेठ २०८२
ताजा लोकप्रिय

चैते धानको समर्थन मूल्य नपाउँदा किसान चिन्तित

शुक्रबार, २३ जेठ २०८२, ०१ : १३
शुक्रबार, २३ जेठ २०८२

समाचार सारांश

  • चितवनका किसानले चैते धानको समर्थन मूल्य नपाउँदा चिन्ता व्यक्त गरेका छन्।
  • सरकारले तोकेको मूल्यभन्दा निकै कम मूल्यमा धान बेच्न बाध्य भएपछि किसान निराश छन्।
  • कृषि विकास कार्यालयका प्रमुखले व्यवसायीका कारण समस्या भएको र छलफल भइरहेको बताए।

चितवन। चैते धानले समर्थन मूल्य नपाउँदा यहाँका किसान चिन्तित भएका छन् ।

सरकारले चैते धानको समर्थन मूल्य रु दुई हजार ८७९ तोकेको भए पनि यहाँका किसान रु एक हजारदेखि एक हजार ८०० सम्ममा बेच्न बाध्य भएका छन् । धान थन्काउने समयमा समर्थन मूल्य नपाएपछि किसान निराश भएका हुन् ।

खैरहनी नगरपालिकाका–१० का कृष्ण अर्याल चैते धानको समर्थन मूल्य नपाएकामा खिन्न छन् । दुई बिघामा चैते धान लगाएका उनी समर्थन मूल्य नपाएपछि आगामी वर्षदेखि धान खेती नगर्ने निर्णयमा छन् । 

समर्थन मूल्य नपाएपछि किसानले पालिका र उद्योग वाणिज्य सङ्घका पदाधिकारीसँग छलफल गरिएको उनले बताए । राप्ती नगरपालिका–५ का धर्मराज कँडेल पनि  धानको मूल्य नपाएपछि निराश छन् । 

जनजागृत हरियाली ताजा तरकारी तथा फलफूल उत्पादक सहकारी संस्थाका अध्यक्षसमेत रहेका कँडेलले धानको समर्थन मूल्य अविलम्ब तोकिनुपर्नेमा जोड दिए । 

पूर्वी चितवनको रत्ननगर, खैरहनी, माडी नगरपालिकासहित भरतपुर महानगरका केही भूभागमा चैते धान खेती हुने गरेको छ । कृषि विकास कार्यालयका प्रमुख झलकनाथ कँडेलले व्यवसायीका कारण किसानले मूल्य नपाएका बताए। स्थानीय व्यवसायी र सरोकार भएकाहरूबीचमा  छलफल जारी रहेको जानकारी दिँदै उनले चाँडै निष्कर्ष निस्कने विश्वास व्यक्त गरे । 

चितवनमा यो वर्ष करिब १० हजार हेक्टरमा चैते धान खेती भएको छ । गत वर्ष नौ हजार ५०० हेक्टरमा चैते धान रोपिएकामा ५९ हजार ५१९ मेट्रिक टन उत्पादन भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप