दृष्टि

समाचार सारांश
- एक युवतीलाई बिहेको लागि हेर्न आउने युवाको कुरा हुन्छ।
- कमला नाम गरेकी युवती बिहे गर्न नचाहेपनि परिवारको दबाबमा पर्छिन्।
- अन्त्यमा, एक दृष्टिविहीन युवकसँगको प्रेम र आँखा दान गरेपछिको कथा प्रस्तुत छ।
‘केटाहरू हेर्न आउँदै छन्, छिटो तयार भएर बस्,’ आँगनबाटै चर्को स्वरमा कराउनुभयो आमा ।
आमाको बोली नखस्दै मैले पनि अझै चर्को स्वरमा जवाफ दिएँ, ‘बेला न कुबेला तयार भएर बस् रे । त्योभन्दा बरु मेरो एउटा फोटो दैलोमा झुन्ड्याइदिनुस् न ! आउनेजति त्यही हेरेर फर्किन्छन् ।’
‘के भन्छे यल्ले ? पिरैपिरले जानी भओ मेरो परान,’ फतफताउँदै घरभित्र छिर्नुभयो आमा ।
केटी हेर्न भन्दै आउने मान्छेका अगाडि शृङ्गारपटार गरेर उभिदाउभिदा आजित भइसकेकी थिएँ म । बारम्बार कसैका अगाडि त्यसरी उभिन पर्दा यस्तो लाग्थ्यो, जिउँदै बगरेकोमा झुन्ड्याइएको पशु हुँ म । ग्राहकहरू आउँछन्; मासु, छाला, कलेजो, मुटु इत्यादि छानीछानी लैजान्छन् । सिङ्गो म टुक्राटुक्रामा बेचिन्छु ।
आमाको कुरा नसुनेझैँ गरी सिलाई मेसिन चलाइरहेँ । म बाहिर ननिस्केपछि आमा थन्थनाउँदै मेरो कोठा बाहिर आउनुभयो र व्यथित आवाजमा बोल्नुभयो, ‘छिटो ढोका खोल् त नानी ! म बुढीलाई कति सताउँछेस् बा !’
जाँगर नलागीनलागी ढोका खोलेँ । आमा कम्मरमा हात लगाएर स्याँस्याँ गर्दै ढोकामा उभिनुभएको थियो । पटुकामा हँसिया घुसारेकी, रातो नैनसुतको ओढ्ने टाउकोमा बाँधेकी, पसिनाले निथ्रुक्क भएकी आमालाई देख्दा आमा मेलाबाट हतारिँदै घर आएकी हुन् भन्ने सजिलै अनुमान लगाइहालेँ ।
मायालु नजरले मेरो अनुहारमा हेर्दै भन्नुभयो, ‘नानी सुन् त ! रात्माटे ऋषिरामको कान्छो छोरो पल्टनबाट छुट्टीमा आका रचन् । पोहोर उसकी जहान खसेकी । यसपटक बिहे गरेर फर्कने सुरसारमा रैचन् । सानासाना केटाटी स्याहार्नी र घर–व्यवहार राम्रोसँग धान्न सक्नी पाकी केटी खोजेका रचन् । तेरो कुरो चलाका रचन् भागवत पण्डितबाले । बाले केटाले माने हुन्च भन्नो रैच । त्यही भर अहिले आउँदै छन् रे । जाँट आको कुरो नि भर्केको भर्केई छ । दोस्रो ब्या भनेर के भओ त कमाई राम्रै छ ! जग्गा–जिमिन राम्रै भका मुन्छे हुन् ! दुनियाँका छोरा आर यस्तो र उस्तो भनी खोट लार जानभन्दा त्यही लाहुरेले हुन्च भनो भनी तैँले नि नाइनास्ति नगरेस् है बा । आखिर एउटासँग ब्या नगरी हुन्न ! तेरो भाग्य राम्रै रैच भनी सुख पाउँचेस् केरे । रैन्च भनी कसैको केही लाउन्न ।’
धोतीको फेरोले पसिना पुछ्दै फेरि बोल्न सुरु गर्नुभयो, ‘बाले रातदिन सुर्ता गनुन्च । यसको कन्यादान नगरी मरेँ भने सोझै नर्कमा जानी भएँ भनेर रातभर सुस्केरा हाल्नुहुन्च । केटो मैले नि देखिछु । मान्छे सोझै छ । हेर्दा नि खाइलाग्दो छ । महिनामा दश हजार भारू कमाउनी को छ र यो गाउँमा ? पोहोर ढुङ्गाले छाएको दुईतले घर बनार गको यसपालि तीस मुरी धानखेत खाओ अरे । आफूले गर्न सके जति नि लाउनखान पुँच । अर्काको मेला गर्न जानपर्दैन । झट्केला छोराछोरी भए नि केही हुन्न । आफूले मयाँ गरे उनरुले नि गर्चन् । नाइनास्ति नगरी हुन्च भन्दे है बा ! के गर्चेस् त, छोरीको जात माइतै बसेर कल्लाई पुगेओ छ र ! राजाकी छोरी त ब्या गरेर रैतिकाँ जान्चन् । म पनि हाम्रा गाउँका मुख्खेकी एक्ली छोरी हुम् के रे ! यी यहाँ आएर यत्रो दुःख अर्न परेओछ ।’
सानासाना केटाटी स्याहार्नी र घर–व्यवहार राम्रोसँग धान्न सक्नी पाकी केटी खोजेका रचन् । तेरो कुरो चलाका रचन् भागवत पण्डितबाले । बाले केटाले माने हुन्च भन्नो रैच । त्यही भर अहिले आउँदै छन् रे । जाँट आको कुरो नि भर्केको भर्केई छ । दोस्रो ब्या भनेर के भओ त कमाई राम्रै छ ! जग्गा–जिमिन राम्रै भका मुन्छे हुन् !
मेरो जवाफ कुर्दै नकुरी भान्सातिर छिर्नुभयो, ‘लौ ! म आगो सल्काएर च्या बसाल्चु । तँ यसो कपालसपाल कोरेर हेर्नी जस्ती भएर बस् । उनीहरू अब आइपुग्नी बेला भओ ।’
बल्ल बुझेँ हिजो साहिँली र कान्छी बहिनीलाई किन ठुलाबाका घरमा बस्न पठाएका रहेछन् ।
सिलाउँदै गरेको कपडा फ्यात्त भुईंमा फालेँ । मनभरि एक हुल जवाफ तँछाडमछाड गर्दै आएका थिए । सम्झेँ, यी बिचरी आमा त्यसै दुःखी छन्, उल्टै मुख लाएर के फाइदा । यिनको के नै दोष छ र फेरि ?
एकैपटक आमामाथि दया र आफूमाथि माया लागेर आयो ।
भान्साबाटै चर्को स्वरले फेरि बोल्नुभयो, ‘बा जजमानकाँट फर्कंदै हुनुहुन्च । तेरा पीरले सुकेर सिरेठोझैँ हुनुभछ । बाले केही भन्नो भनी मुख नलाएस् ।’
रिसले आफ्नै जगल्टा लुछौँ जस्तो भएको थियो । जेनतेन रिसलाई थामथुम पारेँ ।
एक महिनाअघि माइजूले भनेको सम्झेँ, ‘त्यति राम्रो केटो माग्न आयो भनेर मख्ख परेको त— यस्ती अनार नपरेकी केटी ब्या गरेर क्यार्नी हो ! स्वास्नी हो भन्न नि लाज लाग्नी भनेर गओ । क्यार्नी हो ! रूप नभका छोरी बिकाउनै गाह्रो ।’
अस्ति भर्खर पल्लागाउँका लमीले ल्याएको केटाले पनि खान्दान र पढाइ त राम्रै हो केटीको रूपै रैनछ भनेर गओ रे । खाना पस्कने बेला भाउजूले गरेको खिसीले मुटु चरचर चिरेजस्तो भएको थियो । खाना पस्कने बेला वचन लाएसि कसरी निल्नु गाँस ? घाँटीबाट मुनि गाँस नझरेपछि बाहिर लगेर कुकुरलाई दिएकी थिएँ । यस्सो खाटा बस्न लाको थियो आलो घाउमा । फेरि अर्को आयो, नुनचुक छर्किन । उफ ! के भनेर जाने हो यल्ले फेरि ? कति भन्नी हो के बालाई, अब कुरा बढाउन छाड्नुस् भनेर । मरिगए मान्नी होइनन् बुढा । सयौँले अनेक खोटका बिल्ला भिराइदिएर गइसकेपछि पनि कति नथाकेका बा–आमा ? म त वाक्क भइसकेँ ।
मान्छेको बोलेको गुनगुन आवाज सुनियो तगारोमा ।
‘ऊ बाले मान्छे ले’र आइसक्नो । के गरेर बसिछ भन्चु यो अझै ? झट्टै यता मुन्टी त ।’
आमाका कुराले भाउन्न भएर आयो । रिसले कोठाका लुगा र सामान यत्रतत्र फाल्दै भुतभुताउन थालेँ । ल म राम्री छैन रे के भो त ! मेरो रूपले किन दुनियाँले टाउको दुखाउनुपरेको होला ? खालि विधुर, दोस्रो बिहे, मभन्दा बीस–तीस वर्ष जेठा मान्छेको मात्र कुरो लिएर आउछन् बा । रूप छैन भन्दैमा गाईभैँसीझैँ जसलाई दे नि हुनी ! पशुझैँ बेचिएर अर्काको गोठमा पुग्नुपर्ने ? पशुले झैँ जे दिन्छन् चुपचाप खानुपर्ने ? अनि म बिहे नगरी बस्छु भन्दा नि धर नपाउनु ? रूप नहुनु के मेरो दोष हो र ? मलाई बिहेसिहे गर्नुछैन भन्दा पनि रातदिन बिहेकै कारण यत्रो रडाको ? यत्रो खिसिट्युरी ?
बाका डरले यन्त्रवत् तयार हुन थालेँ । मन नलागीनलागी लुगा फेरेँ, जानेजति सिँगारपटार गरँे, ऐनामा अनुहार हेरेँ, त्यसैत्यसै आफैँँप्रति दया लागेर आयो । बली दिन ठिक्क पारेको पशुझैँ लाग्यो आफूलाई । घरीघरी त मलाई हेर्न आउने मान्छेहरू यस्ता लाग्छन्, उनीहरू बलि चढाउन खोटविनाको बोको खोज्दै खसी बजारमा पुगेका छन् । एकएक अङ्ग छाम्छन्, नाप्छन्, तौलन्छन र अन्तिममा खोट लगाएर छाड्छन् ।
‘कमला ! कमला !’ बाको बोलीले कपाल कोर्दै गरेकी म सतर्क भएँ ।
बाले मेरो शिरदेखि पाउसम्म एक नजर डुलाउनुभयो, ढोकाबाट यसो मुन्टो छिराएर ।
‘आमाले सबै कुरो गरी होली केरे । उनरु आइसके । पाँचजनालाई चिया लिएर झट्ट आइहाल् त !’
ढोकामै उभिएर एकछिन घोरिनुभयो बा । अनुहारको भाव फेरियो । फेरि मेरा आँखामा आँखा गाढेर अलि कडा लबजमा बोल्नुभयो, ‘उनरका अगाडि केही नबोलेस्, तँ आजभोलि खुब मुख चलाउने भैछस् । कहाँ खोट लगाम् भनेर आका मान्छेलाई निहुँ मात्र हुन्च, छोरी मान्छेले धेरै मुख चलाको राम्रो हुन्न । अलि सोमतकी हुनपर्च । आमाले केटाका बारेमा सबै कुरा भनिसकी होली । उसले मन पराए भने हामी बोल्नुपर्ने केही छैन । छानीछानी पाउनलाई त आफू पनि रोज्जा हुन परो नि । उसले हुन्छ भनो भनी त तेरो उपकारै हुन्च ।’
बाका मुखबाट निस्केको ‘तेरो उपकारै हुन्च’ भन्ने पदावली सिधैँ मेरो मुटुमा शूलझैँ रोपियो ।
छोरीको जात माइतै बसेर कल्लाई पुगेओ छ र ! राजाकी छोरी त ब्या गरेर रैतिकाँ जान्चन् । म पनि हाम्रा गाउँका मुख्खेकी एक्ली छोरी हुम् के रे ! यी यहाँ आएर यत्रो दुःख अर्न परेओछ ।’
बाको कुराले मेरो माथा तातेर आउँछ । मनमनै भुतभुताउँछु, अहो ! हामी त केही बोल्न नहुने रे ? कस्तो उदेकलाग्दो कुरा हेर न । आईए पास गरेकी छोरीलाई क नपढेको केटालाई दिन तयार छन् । केटाको बानी–व्यहोरा असल, खराब के छ— केही मतलब छैन । मेरा रहर, इच्छा के छन्— सरोकार छैन । म कन्ने केटी, ऊ दुइटा सन्तानको बाउ । मभन्दा पन्ध्र वर्ष जेठो ! अझ उल्टै नबोल रे, उफ ! कहाँ गएर यिनीहरूले नभेट्ने ठाउँमा लुकुँ म ?
टाउकाको गिदी पटपट पड्केर ज्वालामुखीझैँ विस्फोट होलाजस्तो भयो । आँखामा ड्याम्म आँसुका बादल आएर छेके । जवाफ फकार्उन मन लागेन । भन्न त मन थियो— बा, तपाईंहरूले मेरो चिन्ता लिनुपर्दैन । मैले आफ्नो ज्यान आफ्नै इलमले पाल्छु । मलाई यसरी पशुलाई झैँ घोक्र्याएर जबर्जस्ती नपठाउनु । मलाई बिहे गर्ने मन छैन
बाको अगाडि मेरो बोली बरफझैँ जम्थ्यो ।
भुइँतलाका पिँढीमा मान्छेहरू गाइँगुइँ बोलेको सुनिन थाल्यो । ढोका ढप्क्याएर फेरि लुगा मिलाएँ, गालामा अलिकति पाउडर र ओठमा लाली थपँे । गाजलको कोस तानेर ऐनामा हेरेँ, के नमिलेनमिले जस्तो लाग्यो । मन नलाइनलाई गरेको काम के राम्रो हुन्थ्यो र ! हुन त मलाई कसैका अगाडि राम्री देखिनु थिएन । बाआमाको मन राखिदिनका लागि मात्र शृङ्गार गरेकी थिएँ ।
‘कमला ! पानी लिएर आऊ त छोरी !’
ऊ हेर न चेपारो घसेर बोलाको ! अघिपछि चाहिँ बाघको जस्तो गर्जन, अहिले चाहिँ नौनी दलेर चेपारो पार्छन् ।
फतफताउँदै भान्सातिर उक्लेँ ।
आमाले किस्तीमा तयार पारेर राखिदिएका सर्वतका गिलास उठाएँ । भाउजूले सिकाएजस्तै शिर निहुराएर बिरालाका चालमा तल झरेँ । लज्जाको घुम्टो भुईंसम्म लतार्दै हेर्न आएका मान्छेहरू छेउ पुगेँ । सबैका अगाडि एउटा एउटा गिलास टक्र्याएर छेउको कुर्सीमा मुन्टो निहुराएर बसेँ ।
सबैको बिचमा बसेका कपाल सेतै फुलेका बुढाले सोधे, ‘के हो नि नानी नाम तिम्रो ?’
‘कमला,’ मैले सकेसम्म नम्र भएर जवाफ दिएँ ।
‘पढाइ कँहा पुगो ?’
आईए सकियो । अब बीए पढ्नी ।
दोस्रो प्रश्नको जवाफ शिर ठाडो गरी आँखा जुधाएर दिएँ ।
‘ओहो ! पढाइ त राम्रै रैच ।’ बुढाको छेउमा बस्ने अर्का व्यक्तिले उज्यालो अनुहार पार्दै बाले ।
शिर उठाएको मौकामा चोर आँखाले सबैलाई सर्सर्ती हेरँे ।
पाका उमेरका तीन जना पुरुषको बिचमा कालो वर्णको, भुँडी भ्यात्त बाहिर निस्केको, जुँगामुठे अधबैँसे मान्छे वर हो भन्ने सहजै बुझ्न सकिन्थ्यो । उसले गालासम्मै आउने गरी कपालमा बास्नादार तेल चिप्काएको थियो । अकासे रङको कमिज र खैरो बेली पाइन्ट लगाएको थियो । कस्तो रैछ भनेर मैले उसको अनुहारमा हेरेको उसका आँखाले चिर्थोलान्झैँ गरी शिरदेखि पाउसम्म हेरिरहेको थियो । उसको हेराइको झम्ट्याइबाट आहत भएकी भएँ म ।
‘जाउ, चिया पाको होला लिएर आउ !’ बाको बोली झर्न नपाउँदै खाली गिलासहरू बटुलेर भान्सा कोठातिर बतासिएँ ।
‘केटो कस्तो मानिस् त ?’ मेरो अनुहारको भाव नियाल्ने प्रयास गर्दै सोध्नुभयो आमाले ।
‘छ्या ! त्यस्तो बुढो मान्छे नि केटो हुन्छ र ? झन्डै हाम्रा कान्छा बाको उमेरको जस्तो छ ।’ मैले मुख बिगार्दै भनेँ ।
‘दश पन्ध्र वर्षको फेरले केही हुन्न । आइमाईको जिउ दुईतिन्टा केटाटी पाएसि खस्की हाल्च । तेरा बा पनि त मभन्दा तेह्र वर्ष जेठा हुनुहुन्च के रे ! तेरा बा अझै कति तगडा र बैंँसैको देखिनुन्च, यी म यस्ती भैसकेँ ।’
मैले मेरो एउटा आँखा तिमीलाई दान गर्ने निर्णय गरेकी छु । तिमी देख्न सक्ने भएपछि मलाई मन परायौ भने हामी बिहे गरौँला । यदि मन परेन भने पनि मेरो कुनै गुनासो रहनेछैन ।
मेरी नादान आमासँग सवाल जवाफ गर्न मन लागेन । बाह्र वर्षको उमेरका २५ वर्षको जवानसँग बिहे भएको रे आमाको । बर्साैटे सातवटा सन्तान जन्माएकी । उनी किन रोगी भइन् र बुढी देखिइन् भन्ने मैले बुझेर पनि आमालाई बुझाउन सक्दिनथेँ । आमासँग के रिस पोख्नु !
‘खै छोड् । च्या मै लिएर जान्चु । मैले नि यसो कुरो सुन्न परो के भन्दा रचन् ! तँैले यसो पिठो मुछ्दै गर् । तेरा बाले खाजा बना भन्नो भनी परौँठा बनाइदिम्ला ।’
आमा चियाको किस्ती बोकेर पाहुना कोठातिर लाग्नुभयो ।
फेरि उनीहरूका सामु जाननपर्ने भयो भनेर खुसीले बुरुक्क उफ्रेँ म । फटाफट एक डेक्ची पिठो मुछी छोपेर राखिदिएँ । कोठामा गएँ र बिस्तामा पल्टिएँ । रेडियोमा नारायणगोपालको गीत बजिरहेको थियो । म अल्छी मानेर पल्टिइरहेँ ।
सिँढीमा गाइँगुइँ मान्छे बोलेको सुनियो । झ्यालको छेल पारेर तलतिर हेरेँ । बाले ती मान्छेहरूलाई झुकेर नमस्कार गर्दै बिदाइ गर्नुभयो । मनमनै सोचेँ— हेर न, छोरी बिकाउनलाई बाँसझैँ नुगेका हाम्रा बा । ज्वाइँ भर आएसि झन् पाउमै पसारिनी होलान् । मलाई बाको लाचारीपनमा दया लागेर आयो ।
बेलुकासम्म कोठा बन्द गरेर आफ्नै काममा अल्झिरहेँ । मलाई न कसैले बोलायो, न म कसैसँग बोल्न गएँ ।
आमाले भात खान बोलाएपछि भान्सामा उक्लेँ । आमाको अनुुहार सधैँभन्दा अझ बढी अँध्यारो थियो । केही नबोली खाना खाएँ । धन्दा सकेर सबैजना घरको बार्दलीमा मकैका झुत्ता बनाउन थाल्यौँ ।
वातावरणमा छाएको नीरवता भाउजूको बोलीले बिथोलियो ।
‘के भने त नि आज कमलालाई हेर्न आउनीले ?’
कसैबाट जवाफ आएन ।
कोही नबोलेपछि हजुरआमाले लामो सुस्केरा तान्दै बोल्नुभयो, ‘आस त थेन । त्यही नि झट्केला केटाटी र डिँगा स्याहार्नी स्वास्नी चाहिएको भ र ब्या गर्ला कि भन्नी इत्ति आस पलाथ्यो । जाबो भैँसी गोठाल्नी हुन लायक नि देखेनच हाम्री कमलेलाई त्यल्ले । त्यत्रो पढेकीले मेलापात गर्दिनँ भन्दै गएछन् । मैले त भनिकी हुम् धेरै नपढाओ, ब्या गर्न गाह्रो हुन्च । मेरो कुरो कसैले सुने पो ।’
एकछिन रोकिएर लामो सुस्केरा हाल्दै फेरि बोल्न थाल्नुभयो, ‘हाम्लाई जस्तो पीर कसैलाई नपरोस् भौमान् ! बढेकी छोरी थारो गाईझैँ पाल्न पर्या ह । थारो गाईलाई बरु भीरतिर लएर छाडिदिन मिल्छ, छोरीका जातलाई त्यसो गर्न नि नमिल्नी । हेर्दाहेर्दै साइली र कान्छी दिनी उमेरका भइसके । कोही आउँदा अर्काका घराँ लएर लुकाउन परेओछ । उनरुलाई देखेसि जो आएनि दिदीलाई हैन बैनीलाई ब्या अर्चम् भन्चन् । कुन जुनीमा के पाप गरियो रैच र यो दिन देख्न परो । हे दैव ! छिटो टिपेर लैजा यो चोला ! यस्तो देख्न भन्दा दुःख लुकाउन जाती ।’
हजुरआमाका कुराले मेरो मुटुको भित्तामा कसैले आठ इन्चीको किल्ला ठोकेजस्तो भइरहेको थियो । मेरा चिउँडोबाट आँसुका बलेनी खसेर मकैका पोस्करमा बज्रे ।
‘काँट यस्तो अनार भकी जन्मी होली हाम्रा कुलमै नभको । विष नभको सर्प र रूप नभकी आइमाई खोटो दामझैँ हुन्च भन्चन् । दिदीबहिनी त्यस्ता अप्सराजस्ता छन्, यो यस्ती ।’ हजुरआमाको वचन सहन नसकेर जुरुक्क उठेर कोठातिर हानिएँ । झ्यालढोका थुनेर रेडियोको घन्काएँ र बिस्तारामा पल्टेँ । मनमा अनेक तर्कना ओहोरदोहोर गर्न थाले । बाआमाको ग्रहण लागेजस्तो अनुहार । हजुरआमाका कचकच, भाउजूहरूको कटाक्ष, गाउँलेका गिज्याइ— एकएक कुरा मनमा रिलझैँ घुम्न थाले ।
सानैदेखि नाच्न र गाउन उस्तै सिपालु म । जुन गीत पनि टपक्कै टिपेर दुरुस्तै गाइदिन्थेँ । गाउँमा व्रतबन्ध, भजन, पूजाआजा जे हुँदा पनि नाच्न र गाउनका लागि मलाई अघि सार्थे । म नाचिरहेकै बखत मान्छेहरू फुसफुसाएको सुन्थेँ, ‘हेर यस्तो कला भकी मान्छेको रूप त्यस्तो । भौमानले नि कति ठग्छन् कसैलाई त !’
मेरो नृत्यकला र गायनले सबैको मन जिते पनि अनुहारले भने कसैको मन जित्न सकेन ।
असामान्य रूपले उछिट्टिएका दाँत, ढेप्रे ओठ, बल्ड्याङ्ग्रे आँखा र झुसैझुस भएको अनुहार । केटाकेटी हुन्जेल त म आफ्नो रूपका बारेमा बेखबर थिएँ । मान्छेहरूले कुरा काटेको बुझ्दिनथेँ तर किशोरी हुँदै गएपछि साथीसङ्गीका अगाडि आफू असुन्दर छु भन्ने महसुुस हुन थालेको थियो । स्कुलमा पनि कोही मसँग हिँड्न खोज्दैनथे । म जति राम्रो नाचे पनि कुनै पनि प्रतियोगितात्मक कार्यक्रममा मलाई सामेल गराइँदैनथ्यो । कोही साथी नभएपछि रेडियो मेरो सुखदुःखको साथी बनेको थियो । रेडियोबाट प्रसारण हुने प्रत्यक्ष कार्यक्रममा गीत सुनाउँथे । ‘हाम्रो रेडियो तपाईंको आवाज’ कार्यक्रमका प्रस्तोता अविरल मेरो गलाको खुलेर प्रशंसा गथ्र्यो । उसले गरेको प्रशंसाले नजानिदो किसिमले ऊप्रति अज्ञात प्रेम टुसाएको थियो मेरा मनभित्र । हुन पनि ऊ मात्र एक थियो, जसले मनैदेखि मेरो प्रशंसा गर्दथ्यो । कहिलेकाहीँ सोच्थेँ, साँच्चिकै अविरलले मलाई देख्यो भने के भन्दो हो ?
हाम्रो गाउँमा विदेशी प्रोजेक्टले ‘ग्रामीण सीप विकास परियोजना’ चलाएको थियो । मैले पनि उक्त परियोजनाबाट हस्तकलाको तालिम लिने मौका पाएकी थिएँ । सीप सिकेपछि मलाई केही गर्न सक्छु भन्ने आत्मविश्वास पलाएको थियो । मलाई बाहिरी संसारले हिंसा गर्न थालेपछि मैले आफूलाई पूर्णरूपमा सिर्जनात्मक काममा व्यस्त राख्न थालेकी थिएँ । एक्लै रमाउन थालेकी थिएँ ।
भोलिपल्ट बुधबार । सदरमुकाम बाग्लुङ बजारमा हाट लाग्ने दिन । मेरी साथी हरिप्रिया र म हस्तकलाका सामान बेच्न झोलाभरि सामान बोकेर गाडी चढ्यौँ । हस्तकलाका सामान राम्रा र आकर्षक भएकाले राम्रै मूल्यमा बिक्थे ।
सामान बिकिसकेपछि घरका लागि आवश्यक सरसामान किनमेल गर्यौँ । चिया खाजा खाइवरी बस चढ्न बसपार्कतिर गयौँ । गोडाहरू गाउँतिर जाने बसमा चढ्नै खोजेनन् । मनमा झ्वास्स हिजो हजुरआमाका कुरा मनमा आए । आफ्नै मनले प्रश्न गर्यो— भिरमा घचेट्नपर्ने थारो गाईजस्तो भएर फेरि फर्केर किन जान्छेस् त्यही घरमा ?
घरका लागि किनेको सामानको पोको हरिप्रियाको हातमा थमाउँदै भनेँ, ‘हरिप्रिया म आज यतै कान्छी फुपूकोमा बस्छु । यो सामान उल्टो बाटो किन बोक्नु ? आमालाई यो सामान लगेर दे ल ! अनि कमला भोलि आउचे रे भन्देस् है ।’
एकाएक मेरो कुरा सुनेर छक्क परी ऊ । मेरो अनुहारमा अचम्म मानेर हेर्दै भनी, ‘के हो त नि एक्कासि जान्न भन्चेस् त ?’
म चुपचाप उभिइरहेँ ।
बसले उसलाई कुरेर हर्न बजाइरहेको थियो । मेरो जवाफ नसुनी ऊ बसतिर कुदी । धेरै बेरसम्म ऊ गएतिर हेरिरहेँ ।
आँखा ड्याम्म भरिए । हरिप्रिया चढेको गाडी घरतिर कुद्यो । म एक्लै उभिरहेँ बसपार्कमा । केहीबेर यत्तिकै बसपार्कको भीड हेरेर टोलाइरहेँ । बसपार्क वरिपरि कोही चटपटे बेचिरहेका देखिन्थे, कोही कुल्फी र बेलुन बेच्दै हिँडिरहेका देखिन्थे । बसपार्क छेउको पेटीमा एक जोडी दृष्टिविहीन विरहलाग्दो गीत गाइरहेका थिए । बटुवाहरूले दुई–चार पैसा झोलीमा हालिदिन्थे । उनीहरू भन्दा अलि पल्तिर कुप्री परेका बुढा पुराना जुत्ता सिलाउने काम गरिरहेका देखिन्थे । उनीहरूलाई देखेर मनमा लाग्यो, यस्तो दुवै आँखा नदेख्ने त आफ्नै बलबुताले पेट पालिरहेका छन् भने मसँग के छैन र ? गला छ, कला छ, हातमा सीप छ, सर्टिफिकेट छन् । छि ! म कति लाचार । यस्तै तर्कनाहरूमा डुबेर यताउता गर्दै थिएँ, बसको खलासीको चर्काे आवाजले मेरो ध्यान खिच्यो ।
‘काठमाडाँै ! काठमाडौँ ! सिट खालि छ । आउनुस्, आउनुस् ।’
अनायास मेरा खुट्टा बसतिर लम्किए । ‘जाने हो ?’ खलासी चिच्यायो । मैले मुन्टो हल्लाएर हो भन्ने संकेत गरेँ । बस घ्याच्च रोकियो, म फूर्तिसाथ बसमा चढेँ ।
कहाँ पुग्ने थाहा थिएन, के गर्ने कुनै योजना थिएन । बस्, मलाई समाजको हतकडीबाट मुक्त हुनु थियो, भएँ । ब्यागमा हेरँे, सामान किनेर बचेको तीन हजार रुपैयाँ बाँकी रहेछ । पैसा झिक्दा हातमा एउटा भिजिटिङ कार्ड पर्यो । कार्ड पल्टाएर हेरँे, लेखिएको थियो— मन्जु थापा । तालिमकर्ता, ग्रामीण सीप विकास परियोजना । कार्ड हात पर्नेबित्तिकै तालिमका क्रममा उहाँले भनेको सम्झेँ, ‘तिम्रो हातमा साह्रै राम्रो सीप छ कमला । यो सानो ठाउँमा कलाको बजार छैन । काठमाडौँ आऊ, तिम्रो भविष्य उज्ज्वल छ ।’
ढुङ्गा खोज्दा देउता भेटिएजस्तो भयो मलाई । खाना खान मुग्लिन झरेका बेला कार्डमा भएको नम्बर डायल गरेँ । एकैपटकमा फोन उठ्यो । मैले आफ्नो परिचय दिनेबित्तिकै मञ्जु म्यामले चिन्नुभयो । म काठमाडौँ आउँदै गरेको कुरा बताएँ । उहाँले खुसी हुँदै भन्नुभयो, ‘ल ल कमला भक्तपुर ठिमी चोकमा आएर मलाई फोन गर्नु । म तुरुन्तै तिमीलाई लिन आउँछु ।’
आफ्नो काम फत्ते गरेपछि पुच्छरमा लागेको आगो समुद्रमा चोपलेर निभाएपछिको हनुमानझैँ प्रफुल्ल र गर्वित थिएँ म । हातमा सीपको वज्र, आँखामा सपनाका सगरमाथा र मनमा अनमोल आकाङ्क्षा बोकेर नयाँ क्षितिजमा उडिरहेकी थिएँ । थोरै साहस, थोरै डर अनि धेरै आत्मविश्वास । यस्तो लागिरहेथ्यो, पहिलोचोटि गुँडबाट उडेकी चरी हुँ म ।
आत्मविश्वास हुनु आफैँमा प्रेम हुनु रहेछ । आहा ! पहिलोचोटि आफूले गरेको निर्णयमा आफैँलाई धाप मार्न मन लाग्यो । आफैँले आफैँलाई, ‘स्याबास् ! कमला’ भन्दै आफ्नै गालामा म्वाइँ खान मन लाग्यो ।
गुडिरहेको बसको झ्यालबाट बाहिर हेर्दा बाहिर जम्मै दृश्यहरू दगुरिरहेजस्ता देखिन्थे । मलाई भने यस्तो लागिरहेथ्यो कि ती सारा घर, बाटो, रुख, बुट्यान, डाँडा सबै मलाई भेटाउन मेरै पछिपछि दौडिरहेछन्, एकछिन अगाडिसम्म निरस र स्थिर लागिरहेको आफ्नो जीवन एकाएक चलायमान सरस र प्रवाहित भइरहेजस्तो लाग्न थाल्यो । यस्तो लाग्दै थियो, मानौँ कारागारबाट रिहा भएर घरतिर फर्किरहेको निर्दोष कैदी हुँ म ।
आहा ! यो दिव्य ज्योति चेतनाको । आहा ! यो स्वर्णिम पल निडरताको ! यो समयले च्याप्प समातेर गर्लम्म अँगालो हालौँ जस्तो भइरहेथ्यो । बाग्लुङदेखि काठमाडौँसम्मको लामो यात्रा गर्दा यस्तो लागिरहेथ्यो, मानौँ साइबेरियाबाट कुतूहुलपूर्ण यात्रा तय गर्ने मालचरा मै हुँ ।
०००
‘तिम्रो यो रेसमी कपालको माधुर्य र सुगन्धबाटै म अनुमान लगाउन सक्छु कि तिमी कति सुन्दर छ्यौ ! यो सुमधुर अनि कोकिल कण्ठबाट म अनुमान लगाउन सक्छु कि यो ध्वनि प्रवाहित बनाउन सक्ने मानवदेह कति सुन्दर छ । महसुस गर्नलाई दृष्टि चाहिँदैन कमला !’
मेरो केशराशि आफ्ना औँलाहरूले खेलाउँदै मेरा काँधमा अडेस लागेर बोल्छ सुन्दर ।
मञ्जु म्यामले चलाइरहेको दृष्टिविहीनहरूलाई दिइने तालिमको सहजकर्ता थियो सुन्दर । काठमाडौँ पुगेपछि तालिमकै क्रममा भेट भएको थियो । सहकर्मीबाट चाँडै नै मन मिल्ने साथी बनेका थियौँ हामी । मेरो कालो वर्ण, बल्ड्याङ्ग्रे आँखा, उछिट्टिएका दाँत, नमिलेको जिउडालसँग कुनै लिनुदिनु थिएन सुन्दरलाई । ऊ त मेरो उपस्थितीसँग प्रेम गथ्र्यो, मेरो आवाजसँग प्रेम गथ्र्यो ।
घुम्रे कपाल, गोरो वर्ण, मिलेका दाँत र बान्की परेको मझौला कदको सुन्दर साँच्चिकै सुन्दर र भलाद्मी थियो ।
म उसलाई हेरेर अघाउन्नथँे । ऊ मलाई सुनेर अघाउन्नथ्यो ।
नजिक हँुदै जाँदा एकअर्काका भक्त मात्र नभई आशक्त भइसकेका थियौँ ।
उसले आवाज र गन्धले पछ्याइरहन्थ्यो मलाई । म नजरले प्रदक्षिणा गरिरन्थँे उसको ।
मेरा आँैलाहरू चुम्दै भन्थ्यो, ‘कास, यी चिजहरू देख्न सक्दो हुँ त । मलाई थाहा छ यी निकै सुन्दर छन् ।’
उसका वाक्यले मेरो मन चिथोरिरहन्थ्यो, कोपरिरहन्थ्यो । मैले बारबार भन्थेँ पनि, ‘सुन्दर मेरो कुरा मान, म राम्री छैन । मेरा आँखा यस्ता छन् । जिउ यस्तो छ ।’ इत्यादि इत्यादि । म त दुनियाँले नराम्री भनेर तिरस्कार खपिरहेकी युवती हुँ । उसले मेरा कुरा कहिल्यै पत्याउँदैनथ्यो । उसले गरेको प्रशंसा सुन्दा लाग्थ्यो, सुन्दरले नजानी नजानी मेरो वास्तविक रूपमाथि नमिठो व्यङ्ग्य गरिरहेछ । अट्टहास गरिरहेछ ।
मलाई सुन्दरको प्रेममा विश्वास थियो तर डर लाग्थ्यो, ‘के सुन्दरले मलाई देख्न सक्ने भयो भने यतिकै प्रेम गरिरहला त ?’
जिन्दगीले मसँग धेरैचोटि मजाक गरिसकेको थियो । अझ एउटा मजाक पचाउन नसक्ने थिइनँ म । एकपटक फेरि आफ्नो प्रेम, जिन्दगी र विश्वासमाथि मजाक गर्ने लहड चल्यो ।
एकदिन आँट गरेर सुन्दरलाई भनेँ, ‘सुन्दर मलाई तिमीप्रति पूरै विश्वास छ तर मैले आफैँँप्रति विश्वास गर्न सकिरहेकी छैन । म एउटा परीक्षा लिन्छु । त्यसमा पास भयौ भने मात्र म तिमीसँग बिहे गर्छु, मन्जुर छ सर्त ?’
मेरो कुराले सुन्दर अलमल पर्दै भन्यो, ‘के हो त्यस्तो परीक्षा ? अनि म परीक्षामा पास भइनँ भने तिमी मेरी हुने छैनौ ? यो कस्तो मजाक हो, साँचो प्रेममाथि कमला ?’
मैले मेरो एउटा आँखा तिमीलाई दान गर्ने निर्णय गरेकी छु । तिमी देख्न सक्ने भएपछि मलाई मन परायौ भने हामी बिहे गरौँला । यदि मन परेन भने पनि मेरो कुनै गुनासो रहनेछैन । मेरो दृष्टि मलाई प्रेम गर्ने मेरो मायालुलाई आजन्म उपहार हुनेछ, प्रेमको निसानी हुनेछ । अन्यथा मैले सदैव तिम्रो निष्कपट प्रेमलाई सन्देह गरिरहनेछु, मलाई माफ गर सुन्दर ।’
यो कस्तो बेवकुफी हो कमला । एक्लै हुँदा त मलाई कमजोर छु जस्तो लागेन । अझ अहिले त झन् तिमीजस्तो मान्छे साथी पाएको छु । मलाई तिम्रा नजरबाट देखिएको संसार नै सुन्दर लाग्छ । मेरा अभौतिक आँखाबाट देखिएकी तिमी नै मलाई प्रिय लाग्छ, अनि तिमी प्रेमको पनि परीक्षण गर्छ्यौ ?
मेरो चाहना र जिद्दीका अगाडि उसको केही जोड चलेन । अन्ततः अपरेसनको मिति तय भयो ।
अपरेसनको तेस्रो दिन ।
डाक्टर हाम्रो वार्डमा आउनुभयो र भन्नुभयो, ‘कमलाजी आज सुन्दरजीले संसार हेर्ने दिन ।’
हामी दुवै निकै भावुक, उत्साहित थियौँ । म डराइरहेकी थिएँ । सुन्दरको साथ छुट्ने आशंकाले आत्तिरहेकी पनि थिएँ । सुन्दर पनि नर्भस थियो । पट्टी नफुकाउन्जेलसम्म ऊ बोल्न सकिरहेको थिएन ।
डाक्टरले पट्टी खोल्दै भन्नुभयो, ‘ल सुन्दरजी बिस्तारै आँखा खोल्नुस् ।’ सुन्दरले बिस्तारै आँखाका ढक्कनहरू खोल्यो । डाक्टरको अनुहारमा हेर्यो, फेरि आँखा चिम्ल्यो । एकचोटि आँखा झिम्कायो, फेरि हेर्यो, दृष्टि डोर्याउँदै ल्याएर मेरा अनुहारमा बिसायो ।
डाक्टरका दुवै हात आफ्ना हत्केलामा लिएर बोल्यो सुन्दर, ‘यो गुनका लागि आजन्म ऋणी हुनेछु डाक्टर साब ।’
धन्यवादको पात्र म होइन कमलाजी हुनुहुन्छ । तपाईं भाग्यमानी हुनुहुँदोरहेछ कमलाजी जस्तो उदार हृदय भएकी प्रेमिका पाउनुभएको छ ।’ डाक्टरले खुसी र उत्साहित हुँदै भन्नुभयो र हामी दुवैलाई बधाई दिनुभयो ।
सुन्दरले हात लम्क्याएर मेरा आँखा, ओठ, गाला, कपाल र आँैलाहरू छोयो । मेरा दुवै हत्केला आफ्नो हातमा लिएर आँखाभरि आँसु पार्दै बोल्यो, ‘प्रिय ! उज्यालो समेत बाँड्न तयार नहुने यो संसारमा तिमी त उज्यालो दिएर अँध्यारो लिन तयार भयौ । बलियो बन्न तँछाडमछाड गर्ने यो दुनियाँमा तिमी कमजोर बन्न तयार भयौ । संसार सोचेभन्दा सुन्दर रहेछ, अझ सुन्दर रहेछौ तिमी । आजदेखि तिम्रो नाम दृष्टि भयो । मेरो संसार, मेरो दृष्टि तिमी ।’
सुन्दरको पछिल्लो वाक्यले मेरो गला अवरुद्ध भयो, उसलाई अँगालेर बच्चाजस्तै गला फुटाएर रोएँ । उसका आँखा गालाबाट झरिरहेका आँसु पुछ्दै मैले गला भरिएको स्वरमा भनेँ, ‘चारैतिर अँध्यारो मात्र देख्ने मलाई उज्यालो देख्ने तिमीले बनाएका हौ । उज्यालो देख्न सक्ने भौतिक दृष्टिविना तिमी आधा थियौ, उज्यालो देख्ने अन्तरदृष्टिविना म आधा थिएँ । अब हामीसँग दृष्टि पनि छन् र अन्तरदृष्टि पनि । अब हामी भित्रदेखि बाहिरसम्म उज्यालो देख्न सक्ने भएका छौँ ।’ ऊ मेरो कुरा सुनेर भावुक भयो । मेरो टाउको दुवै हातले समातेर निधार चुम्यो र छातीमा टाँसेर भन्यो थ्याङक्यु दृष्टि ! लभ यु सो मच ।
०००
तिलगङ्गा अस्पतालबाट डिस्चार्ज भएर सुन्दरको कोठा भएको ठाउँ भक्तपुरतिर लाग्यौँ । सुन्दरले ट्याक्सी चालकलाई भन्यो, ‘दाइ एकछिन सूर्यविनायक मन्दिरतिर लैजानुस् ल, त्यसपछि कोठातिर जाउँला ।’
ट्याक्सी उसले अह्राएतिर मोडियो । सोचेँ, नयाँ जिन्दगी पाएकोमा भगवान्लाई धन्यवाद भन्न चाहन्छ सुन्दर । म केही बोलिनँ । ट्याक्सी सूर्यविनायक मन्दिर अगाडिगएर रोकियो । मन्दिरको छेउबाट दुईवटा सयपत्री फूलको माला र एक डब्बा लड्डुसहित पूजा सामग्री किनेर ऊ मन्दिर छिर्यो । म उसको पछिपछि लागेँ । पूजा गरिसकेपछि पण्डितले माला लगाइदिन खोज्दा सुन्दरले रोक्दै भन्यो, ‘पण्डितजी एकछिन रोक्नुस् । तपाईंलाई स्वयंवर गर्दा भन्ने मन्त्र आउँछ ?’
पण्डितले उत्साहित हँुदै भने, ‘लौ किन नआउनु बाबु ! बनारसबाट शास्त्री पास गरेको पण्डित पो हुँ त, सयौँ विवाह कार्जे उम्काको छु ।’
म कुरो नबुझेर अलमल परिरहेकी थिएँ, सुन्दर फेरि बोल्यो, ‘ल ठिक छ त्यसो भए हामीलाई कुशका दुईवटा आँैठी पनि बनाइदिनुस् त ।’
हातमा कुशका औँठी लिएर सुन्दर बोल्यो, ‘ल पण्डितजी मन्त्र पाठ गर्नुहोस् ।’
‘आजदेखि साँच्चिकै हामी आधा–आधाबाट सिङ्गो भयौँ । यति भन्दै उसले मलाई फूलको माला र कुशको औँठी लगाइदियो । म अन्यमनस्क भई उभिरहेथेँ, उसले कुम हल्लाउँदै भन्यो, खोई त तिमीले मलाई औँठी लगाइदिएको । मैले पनि उसै गरेँ । उसले मलाई प्रेमपूर्वक अँगाल्यो । मेरो आँखा खुसीका आँसुले भिज्यो ।
सुन्दरले बताएको ठेगाना पछ्याउँदै ट्याक्सी गएर एउटा एकतले घरअगाडि रोकियो । सुन्दर उसले आफ्नो घर हो कि होइन चिन्नका लागि आँखा चिम्म गरेर गेट छाम्यो, भित्र पसेर ढोका छाम्यो । खल्तीबाट चाबी निकालेर ढोका खोल्यो, भित्र छिरेर आँखा खोल्यो । एकछिनसम्म आफ्नै कोठा देखेर दङ्ग पर्यो ।
म भने आफ्नै जीवनको घुम्ती देखेर दङ्ग थिएँ । पार्किङमा राखिएको गाडीको सिसामा आफ्नो अनुहार हेरेँ । एउटा आँखा झिकिएकी म, खै किन हो मलाई आफ्नो अनुहार पहिलेभन्दा सुन्दर लाग्यो ।
सुन्दरले मेरो हात समाएर कोठाभित्र लग्यो । मलाई खाटमा बसाएर मन्दिरबाट ल्याएको लड्डुको बट्टा खोलेर खुवाइदिँदै भन्यो, ‘ह्याप्पी म्यारिज लाइफ माई डियर वाइफ !’
‘थ्याङक्यु एन्ड सेम टु यु डियर हस्बेन्ड’ म भावविभोर भएर सुन्दरको अँगालोमा समेटिएँ ।
धेरैबेरसम्म हामी चुपचाप एकअर्काको प्रेमिल अँगालोमा बाँधिइरह्यौँ ।
धेरैबेरको मौनतापछि आफ्ना औँलाहरूले मेरा कपाल खेलाउँदै बोल्यो, ‘तिमी नभेटिएकी भए मेरो जीवन कति पट्यारलाग्दो हुँदो हो । कति सुन्दर रहेछ है यो संसार !’
आफ्नो टाउको मेरो छातीमा अड्याउँदै फेरि भन्यो, ‘आहा ! यो सुगन्ध, यही सुगन्ध हो मलाई मन्त्रमुग्ध बनाउने ।’
टाउको उठाएर मेरा आँखामा हेर्यो र नजर झुकाएर मेरा ओठमा पुर्यायो अनि आँैलाले ओठमा छोएर भन्यो, ‘अब त अनुमति हुन्छ होला नि ?’
लाजले भुतुक्क भएर मैले अर्कोतिर मुन्टो लुकाएँ । उसले दुवै हातले मलाई आफूतिर फर्काएर छातीमा टाँस्यो ।
मैले उसको छातीमा मुन्टो घुसार्दै फुसफुसाएँ, ‘सुन्दर तिमीलाई संसारमा सबैभन्दा सुन्दर के लाग्यो ?’
‘तिमी ।’
उसको उत्तरले मैनबत्तीझैँ पग्लिएर मेरो आँखाबाट आँसुका थोपा चुहिन थाले ।
आँसु पुछिदिँदै सुन्दर बोल्यो, ‘रुन्चे मायालु तिमीभन्दा सुन्दर अझ एउटा चिज छ ।’
‘के नि ?’ मैले डराउँदै सोधेँ ।
‘प्रेम !’
म केही बोल्न खोज्दै थिएँ, उसले आफ्ना ओठले मेरो दुवै ओठहरू बन्द गरिदियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हज यात्राका क्रममा कम्तीमा १३ इरानीको मृत्यु
-
१० बजे १० समाचार : अमेरिकामा नेपालीको मृत्यु, पतञ्जलि जग्गा प्रकरणमा आरोप-प्रत्यारोप जारी
-
बेंगलुरुको विजय उत्सवमा भागदौड प्रकरण : कर्नाटक क्रिकेट संघका अधिकारीहरूद्वारा राजीनामा
-
सिकलसेल भएका युवायुवतीले विवाह गर्दा अनिवार्य रगत परीक्षण गर्नुपर्ने सुझाव
-
राष्ट्रिय आर्चरी च्याम्पियनसिपमा तिलक र आयशालाई स्वर्ण पदक
-
खोलामा डुबेर बालिकाको मृत्यु