नयाँ शक्तिको ९ वर्ष, कहाँ चुके बाबुराम ?

समाचार सारांश
- डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) ले जेठ ३० गते १०औँ पार्टी दिवस मनाउने तयारी गरेको छ।
- पार्टी प्रवक्ताका अनुसार, नयाँ शक्तिले रास्वपा, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी लगायतका दलहरूसँग सहकार्यको तयारी गरेको छ।
- भट्टराईले नयाँ वैकल्पिक शक्ति निर्माणमा जोड दिँदै विगतमा भएका कमजोरीहरूलाई सच्याउँदै अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।
काठमाडौँ । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)ले जेठ ३० गते १० औँ पार्टी दिवस मनाउने तयारी गरेको छ ।
राजधानीको राष्ट्रिय सभागृहमा दिउँसो १ बजे नयाँ र आफूलाई वैकल्पिक शक्ति भनिएका नेताहरूसँग अन्तरक्रियात्मक कार्यक्रम राखिएको छ । नयाँ शक्तिका प्रवक्ता कृष्ण शर्माले खास गरी २०७९ को निर्वाचनबाट राष्ट्रिय राजनीतिमा स्थापित भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनमत पार्टी (जपा), नागरिक उन्मुक्ति पार्टी (नाउपा) लगायतलाई बोलाइएको जानकारी दिए ।
प्रतिगमनकारी शक्तिले राजनीतिक निराशाको फाइदा लिँदै व्यवस्था उल्ट्याउन खोजिएको र अबका संकटको निकास नयाँ वैकल्पिक शक्तिले मात्र दिन सक्ने भएकाले साझा एजेन्डा तय गर्न अन्तर्क्रिया राखिएको शर्माले जिकिर गरे ।
‘हामीले नयाँ युगको नयाँ आवश्यकता पूरा गर्न नयाँ शक्तिको स्थापना गरेका थियौँ । त्यो अझै मुलुकको लागि आवश्यक छ । पुराना शक्तिलाई रूपान्तरण गर्ने अभ्यास असफल भयो । त्यस कारण नयाँ शक्तिसँग एकता र ध्रुवीकरण गर्ने अभियानमा छौँ । त्यहाँभित्र पनि कतिपय वैकल्पिक र अग्रगामी शक्ति छन् । त्यसलाई समेटेर वैचारिक अन्तर्क्रिया गर्न बोलाइएको हो,’ उनले भने ।
भट्टराईले नयाँ वैकल्पिक शक्ति निर्माणमा पाँच ‘स’ स्वाधीनता, समावेशी लोकतन्त्र, सुशासन, समृद्धि र समुन्नत समाजवादको राजनीतिक कार्यदिशालाई अवलम्बन गर्ने प्रतिबद्धता बमोजिम २०७३ साल जेठ ३० राजधानीको दशरथ रङ्गशालामा नयाँ शक्ति नेपाल गठन गरेका थिए । त्यति वेला उनले अगाडि सारेको भिजन २०७४ सालको निर्वाचनबाट अस्वीकृत भयो ।
त्यति वेला दुई ठुला वाम शक्ति नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर चुनावी तालमेल गरेका थिए । सुरुमा वामपन्थी शक्तिसँग चुनावी तालमेल गर्ने प्रयास गरेका भट्टराईले पछि कांग्रेससँग मिलेर निर्वाचनमा भाग लिए ।
नयाँ वैकल्पिक शक्ति निर्माण गर्नका लागि माओवादीसँग सम्बन्धविच्छेद गरेका उनले तिनै परम्परागत शक्तिसँग मिलेर चुनावी तालमेल गरेको आरोप लाग्यो । त्यति वेला कांग्रेसको समर्थनमा गोरखा–२ बाट भट्टराई प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए पनि अन्य उम्मेदवार सबै पराजित भए ।
निर्वाचनमा पार्टीले नमिठो हार बेहोरेपछि उनले नयाँ शक्तिलाई उपेन्द्र यादव र अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीसँग विलय गराए । त्यसपछि जसपा हुँदै २०७९ सालमा नेपाल समाजवादी पार्टी(नेसपा) पुनर्गठन गरे ।
नेसपा समेत २०८० साल चैतमा विभाजन भएपछि भट्टराईले गएको माघमा सम्पन्न महाधिवेशनबाट नेसपाको पछाडि नयाँ शक्ति फुर्को झुण्ड्याउने गरी पार्टीको नाम अनुमोदन गराए । नेसपा स्थापना दिवस मनाउन छाडेर पुरानै नयाँ शक्ति नेपाल स्थापना दिवस मनाउनुको कारणबारे प्रवक्ता शर्माले नेसपा नयाँ शक्तिकै निरन्तरता भएको तर्क गरे ।
‘राजनीति भनेको एउटा गतिशील अवधारणा हो । हिजो जे थियो त्यही हुँदैन । विकास चरणमा हामीले समाजवादलाई केन्द्रमा राख्यौँ । जो समाजवादप्रति प्रतिबद्ध छैन, उनीहरूले समाजवादी मोर्चा बनाएका छन्,’ उनले भने, ‘समाजवाद केन्द्र भाग भएकाले किन छोड्ने भनेर समाजवादमा नयाँ शक्ति जोडेर निरन्तरता दिएका हौँ । नामले हाम्रो विचारको प्रतिनिधित्व गरोस् भनेर हामीले नेसपा नयाँ शक्ति राखेको हो ।’
पाँच ‘स’मध्ये समाजवाद पहिचानको महत्त्वपूर्ण विशेषता भएको र समुन्नत समाजवादको मुख्य आधार नयाँ शक्ति भएकाले मिश्रण गरिएको उनको तर्क छ । पुँजीवाद र साम्यवादभन्दा माथि उठेको समुन्नत समाजवाद हो । अहिले पुँजीवादमा पनि संकट आएको छ, साम्यवादमा पनि संकट आएको छ । यी दुवैको विकल्प समुन्नत समाजवाद हो । त्यसको प्रतिविम्बका आधारमा नेसपा(नयाँ शक्ति)लाई कायम राखिएको हो,’ उनले तर्क गरे ।
यद्यपि भट्टराईले वैकल्पिक नयाँ शक्ति असफल हुनुमा भट्टराईले परम्परागत राजनीतिक दलहरूको घेराबन्दी र ध्वंसात्मक नीति प्रमुख कारण रहेको निष्कर्ष निकालेका छन् ।
प्रवक्ता शर्माले संविधानसभाबाट निर्माण भएको संविधानलाई अपनत्व लिन नसकेका मधेसी समुदायलाई समेटेर पार्टी एकता गर्ने प्रयास असफल भएकाले केही विचलित जस्तो देखिएको भए पनि वास्तवमा त्यस्तो नभएको दाबी गरे ।
‘संविधानबाट असन्तुष्ट भएका मधेसी जनताहरू थिए, त्यसलाई राष्ट्रिय राजनीतिको मूलधारमा समेट्नुपर्छ । हामीले पनि जस्तो संविधान खोजेका थियौँ, त्यो भएन । आधा गिलास भरि आधा खाली भयो । आधा गिलास भर्न पिछडिएका समुदाय जसले संविधानसभाबाट बनेका संविधानप्रति अपनत्व गरेका छैनन् । त्यसलाई समेटेर संविधानलाई पूर्णता दिनुपर्छ । राजनीतिक क्रान्तिको बाँकी कार्यभार पनि पूरा गर्नुपर्छ भनेर वैकल्पिक नयाँ शक्ति गठन भएको हो,’ उनले भने, ‘नेपालको सन्दर्भमा हिमाल, पहाड र तराई सबैलाई जोड्ने उद्देश्यसाथ मधेसी शक्तिसँग एकता गरेका थियौँ । उनीहरूले आधारभूत जनताको एजेन्डा उठाएर सम्भ्रान्त वर्गमात्रै सत्तामा पुग्ने र पुराना पार्टीको जस्तै राज्यको दोहन गर्न थालेकाले सँगसँगै अगाडि बढ्न सकेन । लुछ्ने, फल नलाग्दै खानखोज्ने, ध्वंस पार्न खोज्ने शक्ति हाबी भएर बिचमा हामी विचलित जस्ता देखिएका हौँ तर त्यो होइन ।’
कहाँ चुके बाबुराम ?
भट्टराई पछिल्लो राजनीतिक क्रान्तिको नेतृत्व गरेको माओवादीलाई नै रूपान्तरण गरेर नयाँ वैकल्पिक शक्ति निर्माण गर्ने प्रयास असफल भएकाले समस्या आएको बताए । नयाँ वैकल्पिक शक्ति भनिए पनि परम्परागत दलहरूसँग सहकार्य हुँदा जनतामा केही भ्रम पर्न गएको देखिए पनि अब त्यस्तो गल्ती नदोहोरिने उनले केही दिनअघि रातोपाटीसँग प्रतिबद्धता जनाएका थिए ।
‘माओवादी आन्दोलनदेखि शान्ति स्थापनासम्मको नेतृत्व मैले नै गरेको हो । विचार निर्माण, संविधानसभा, गणतन्त्र, संविधान निर्माणका कुरामा मेरो महत्त्वपूर्ण योगदान छ । मेरो लाइनले नै संविधान जारी गर्ने ठाउँसम्म आइपुगेकै हो । अब माओवादीले आफ्नो कार्यभार पूरा गरिसक्यो । संसारभर धेरै परिवर्तन आइसक्यो । कम्युनिस्ट आन्दोलनले अबको कार्यभार पूरा गर्न सक्दैन,’ उनले भनेका थिए, ‘नयाँ समाजवादी शक्ति निर्माण गरेर जाऊँ भनेर माओवादी पार्टीमा छँदै मैले २०७० साल फागुनमा कुरा उठाएको थिएँ । दुई वर्षसम्म पार्टीभित्र बहस चलाएँ । २०७९ को निर्वाचनमा पनि हामी सच्चिन तयार छौँ भनेपछि चुनावी सहकार्य गरेका हौँ । तर स्टालिनमा आधारित कम्युनिस्ट पार्टीले आफूलाई रूपान्तरण गर्न चाहेनन् । यसमा हाम्रो कमजोरी भयो । अब त्यो गल्ती दोहोरिँदैन ।’
प्रवक्ता शर्माले २०७४ सालको निर्वाचनमा कांग्रेससँग चुनावी सहकार्य गर्नु कमजोरी भएको स्वीकारे । नयाँ शक्ति भनिए पनि पुरानै शक्तिसँग सहकार्य गर्न पुग्दा जनतामा भ्रम पर्न पुगेको भन्दै उनले यसबारे पार्टीले गम्भीर समीक्षा गरेको बताए ।
‘२०७४ को निर्वाचनमा कांग्रेससँग चुनावी तालमेल गर्नु कमजोरी थियो । पहिलो कुरा त्यति वेला नेतृत्वले कोही न कोहीसँग कार्यगत एकता गरेर चुनाव जित्नुपर्ने अवस्था थियो । दोस्रो जनतालाई बुझाउन सकिएन । चुनाव भनेको कार्यनीतिक सवाल हो । यसमा जनतालाई बुझाउन सकेनौँ । पुराना शक्तिसँग एकता गर्दा नयाँ शक्ति पनि उस्तै हो कि भन्ने भ्रम पर्न गयो । त्यसबाट हामीले शिक्षा लिएका छौँ । हामीले संगठन निर्माणलाई केन्द्रमा राखेर अभियान चलाएको भए अहिलेसम्म जनताको विश्वास आर्जन गर्न सक्थ्यौँ होला । सुरुमै जितेर आएर देशको नेतृत्व गर्न सक्छौँ भन्ने सोच्यौँ । त्यो कमजोरी भयो भनेर समीक्षा गरेका छौँ,’ उनले भने ।
अर्को माओवादीभित्रै लड्ने–भिड्ने विध्वंसात्मक गतिविधिमा लागेका कार्यकर्तालाई अघिपछि लगाएर हिँड्न खोज्दा नयाँ शक्ति असफल भएको शर्माले बताए ।
‘हामीले माओवादीभन्दा बाहिरको शक्तिहरूलाई समेटेर नयाँ आर्थिक क्रान्तिका लागि नयाँ शक्ति निर्माण गर्न चाहेका थियौँ । तर नेतृत्वदायी भूमिकामा रहेका पुरानै साथीहरूले आचरण, व्यवहार र कार्यशैली परिवर्तन हुन सकेन,’ उनले भने, ‘नयाँ भनिएकाहरू पनि भागेर गए । पुराना पनि तत्काल बाबुरामलाई प्रयोग गरी राज्यसत्ता दोहन गर्न सकिँदैन भनेर भागेर गए । अहिले फेरि नयाँ शक्तिको उद्देश्यलाई बुझेकालाई समेटेर पुनर्जिवित गरेर लैजान खोजेका छौँ ।’
राजनीतिक विश्लेषक मुमाराम खनालले पनि नयाँ शक्तिभित्र माओवादी हाबी हुँदा नयाँ शक्तिमा जोडिएका नयाँ समूह भट्टराईको छाया बन्न पुगेको जिकिर गरे ।
‘त्यति वेला वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता छ भनेर विभिन्न कोणबाट बहस गरिरहेका थिए । संविधान जारी भएलगत्तै बाबुरामले माओवादी परित्याग गरेर नयाँ शक्ति बनाउनुभयो । तर अधिकांश माओवादीभित्रका मानिस लिएर त्यसको सुरुवात गर्नुभयो । माओवादी शक्तिबाट नयाँ शक्ति हुन्छ भनेर धेरै संशय थियो,’ उनले भने, ‘दुई–तीन महिनाको कसरत गरेपछि ब्यूरोक्र्याटसलगायत विभिन्न पेसागत संगठनमा रहेका, राष्ट्रिय ख्यातिप्राप्त व्यक्तित्व जोडिए । त्यसले एउटा बहस सिर्जना गरेको थियो । तर दुर्भाग्य प्रधानमन्त्री, अर्थमन्त्री भइसकेको मातहतमा जम्मा भएका समूह बाबुरामजीको छाया शक्ति भए । जसले गर्दा सही वैचारिक लाइन समात्न सकेन ।’
खनालका अनुसार नयाँ शक्तिमा लागेका अधिकांश माओवादीहरू पुरानै पार्टीमा फर्किए । नयाँ शक्ति न त नयाँ भयो न माओवादी भयो ।
खनाल आफै भट्टराईलाई साथ दिएर नयाँ शक्ति अभियानमा लागेका थिए । तर तीन महिना नपुग्दै पार्टीबाट अलग भए । अहिले भट्टराईलाई ३५ वर्षदेखि साथ दिएका गंगानारायण श्रेष्ठलगायत नेताहरू समेत माओवादीमा फर्किसकेका छन् । नयाँ शक्ति अभियानमा जोडिएका पेसागत व्यक्तिहरू पनि आ–आफ्ना बाटो लागिसकेका छन् । नयाँ शक्ति कमजोर हुनुको पछाडि भट्टराईको गलत सांगठनिक संरचना रहेको खनालले जिकिर गरे ।
‘उहाँले गलत सांगठनिक संरचना बनाउनुभयो । नयाँलाई विश्वास गरेर त्यहीअनुसार नयाँ सांगठनिक संरचना बनाएर जानुपर्थ्यो । तर जिम्मेवारी माओवादीलाई दिनुभयो । उहाँ आफै माओवादी हुनुहुन्थ्यो । त्यसले गर्दा माओवादीभन्दा पृथक् राजनीतिक पहिचान बनाउन सकेन,’ खनालले भने, ‘उहाँले कहिले एमाले र माओवादीबिचको एकतामा हातेमाले गर्नुभयो । कहिले प्रचण्डसँग मिलेर नयाँ ‘भेन्चर’ तयार हुँदैछ भन्नुभयो । यस्ता खालका दुविधाले गर्दा उहाँको शक्ति क्षयीकरण हुँदै गएको छ ।’
- भट्टराईकै नेतृत्वमा नयाँ वैकल्पिक शक्ति निर्माण सम्भव छ ?
क्षयीकरणलाई रोक्न भट्टराईले नयाँ शक्ति वा नेसपा जुनसुकै शब्दावली प्रयोग गरे पनि काम नभएको खनालको भनाइ छ । १० वर्ष माओवादी सशस्त्र जनयुद्धको नेतृत्व टिममा रहेका भट्टराईले २०७२ सालमा संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनेपछि पार्टी परित्याग गरेका थिए । भट्टराईमा माओवादीकै धङधङी बाँकी रहेकाले पनि उनको नेतृत्वमा अब नयाँ वैकल्पिक शक्ति असम्भव रहेको खनालको विश्लेषण छ ।
‘बाबुराममा आफ्नै दुविधा छ । कता जान लागेको भन्ने कुरा अरूले त थाहा पाउने कुरै भएन स्वयम उहाँलाई पनि थाहा छैन । उहाँको गन्तव्य कता हो भन्ने कुरा कसैले भेउ नै पाउँदैन । आज एकथोक भन्नुभएको हुन्छ, उहाँको सम्पूर्ण गतिविधिले अर्कैथोक बताइरहेको हुन्छ । आफ्नो दिमागले फुलफिल नगरेपछि अरूसँगको सम्बन्धविच्छेदले के अर्थ राख्छ ?,’ उनले प्रश्न उठाए ।
खनालले भट्टराईको नयाँ शक्ति माओवादीको अर्को संस्करण मात्र भएको आरोप लगाए । नयाँ शक्ति स्थापना दिवस मनाउनु भट्टराईको नामप्रतिको मोह मात्र भएको उनले जिकिर गरे ।
‘उहाँमा नेतृत्वको महत्त्वाकाङ्क्षा कम्युनिस्टको जस्तै छ । अधिनायकवादी चिन्तन छ । बुढो मान्छे आफ्नो जन्म ठाउँ जाँदा ‘नोस्टाल्जिक’ हुन्छ, बाबुरामको त्यही हो । अब उहाँको नेतृत्वमा वैकल्पिक नयाँ शक्ति निर्माण हुने सम्भावना छैन,’ खनालले भने ।
तर खनालको आरोपप्रति प्रवक्ता शर्मा सहमत देखिँदैनन् । अहिले जनताले फेरि विकल्प खोजेकाले नयाँ शक्तिबिच ध्रुवीकरण र एकताबाट परिवर्तन सम्भव भएको उनी दाबी गर्छन् ।
‘नयाँ शक्ति बनेदेखिको यो १० वर्षको अवधिमा हामीले जे–जे अभ्यास र प्रयोग गर्यौँ तर व्यवहारमा जनताले हामीलाई पुराना शक्तिभन्दा फरक देखेनन् । त्यसकारणले मानिसहरूले छोड्दै भागे । हामीले उठाउँदै आएका स्वाधीनता, सुशासन, समृद्धि, समावेशी समानुपातिक राज्यप्रणाली, समुन्नत समाजवादको अंशअंश लिएकालाई जनताले पत्याइदिए,’ उनले भने, ‘अहिले जनताले फेरि विकल्प खोजेका छन् । जीवनमा परिर्वतन खोजेका छन् । मुख्य समस्या देशको बेरोजगारी, गरिबी, परनिर्भरता, राजनीतिक अस्थिरता हो । आर्थिक संकट हो । यी समस्या पुराना दलहरूबाट सम्भव छैन भनेर जनताले बुझेका छन् । यी सबैबाट शिक्षा लिएर त्यही जगबाट नयाँ प्रतिबद्धता जनाउनका लागि पार्टी स्थापना दिवस मनाउन लागेका हौँ ।’
भट्टराईले पनि कम्युनिस्ट पार्टी आफैमा रूपान्तरण भएको संसारमा कतै उदाहरण नभएको दाबी गरेका छन् । कांग्रेस, एमाले र माओवादीभित्रैबाट पुर्नसंरचना हुने भएकाले अबको राजनीति तीन धारमा विभाजित हुने निष्कर्ष निकालेका छन् ।
‘कांग्रेस, एमाले र माओवादीभित्र फेरि पुनर्संरचना हुन्छ । त्यसैले नेपालको सन्दर्भमा तीन धार देखिन्छ । एउटा मध्यदक्षिणपन्थी धार, जसको नेतृत्व पुँजीपति, समान्त वर्गले गर्छ । अर्को ठुलो शक्ति साना किसान, मजदुर, मध्यमवर्गीय व्यवसायीको मध्यवामपन्थीले नेतृत्व गर्छ । अन्य स–साना शक्तिका रूपमा छिटपुट रहन्छन् । नेपाल समाजवादी पार्टी मध्य वामपन्थी (लेफ्ट अफ सेन्टर) लोकतान्त्रिक शक्ति जसलाई हाम्रो संविधानले लोकतान्त्रिक समाजवाद भनेको छ । त्यसको विचार बोक्ने शक्ति अबको आवश्यकता हो । केही वर्षभित्र उथलपुथलबाट एउटा राइट अफ सेन्टर र अर्को लेफ्ट अफ सेन्टर हुन्छ र हुनुपर्छ,’ भट्टराईले भने ।
ती वैकल्पिक शक्तिले जनताबाट म्यान्डेट लिएर संविधान सुधार गरी प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीसहितको संसदीय व्यवस्थामा जानुपर्नेमा उनले जोड दिएका छन् ।
राष्ट्रपतिले विज्ञ लिएर सरकार चलाउने र संसदले ऐन–कानुन बनाउने गरिए १५/२० वर्षभित्रमा ठुलो परिवर्तन आउने उनको विश्लेषण छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
९० रुपैयाँभन्दा कम नेटवर्थ भएका कम्पनीको आईपीओ नरोक्न धितोपत्र बोर्डलाई पत्र
-
गृहमन्त्री बोल्दा रास्वपाले गर्यो बेल घेराउ र नाराबाजी
-
जनवादी शिक्षा समाजको आवश्यकता कि राजनीतिक नारा ?
-
संसद्मा गृहमन्त्रीको प्रश्न : अख्तियारमा दुई जना डीआईजी राख्न मिल्छ ?
-
रास्वपाको नाराबाजीका बिच गृहमन्त्रीले दिए संसदमा स्पष्टीकरण, तस्बिरहरु
-
अहिलेका राजनीतिक दलहरू यथावत रहेसम्म देश बदलिँदैन : घनश्याम भुसाल