सोमबार, ०२ असार २०८२
ताजा लोकप्रिय

लुम्बिनीको बजेट लक्ष्यविहीन र सस्तो लोकप्रियताका लागि मात्रै : प्रतिपक्षी नेता महरा

आइतबार, ०१ असार २०८२, २१ : १९
आइतबार, ०१ असार २०८२

बुटवल । लुम्बिनी प्रदेशका प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का संसदीय दलका नेता जोखबहादुर महराले प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटलाई लक्ष्यविहीन र सिद्धान्तविहीनको संज्ञा दिएका छन् । 

रातोपाटीलाई प्रतिक्रिया दिँदै उनले यो बजेट सस्तो लोकप्रियताका लागि मात्र ल्याइएको र यसले प्रदेशको विकास लक्ष्य हासिल गर्न नसक्ने दाबी गरे । 

बजेट प्रस्तुत गर्दा सरकारको आत्मविश्वास नदेखिएको उनको भनाइ थियो । ‘यो बजेटले लुम्बिनी प्रदेशको विकास लक्ष्यमा पुग्न सक्दैन,’ महराले भने, ‘सरकारसँग बजेट कार्यान्वयन गर्ने कुनै ठोस योजना र गन्तव्य छैन ।’

उनले कृषि क्षेत्रमा नारा आकर्षक भए पनि बजेट अत्यन्तै कम विनियोजन गरिएको बताए । 

त्यस्तै बजेट भाषणमा उल्लेख गरिएको पाँच लाख रोजगारी कहाँ र कसरी सिर्जना गर्ने भन्नेबारे कुनै ठोस आधार र योजना नभएको महराको टिप्पणी छ ।

‘यो बजेटमा कुनै स्पष्ट दृष्टिकोण र सिद्धान्त छैन,’ महराले भने, ‘यसले जनताको जीवनस्तरमा वास्तविक परिवर्तन ल्याउन सक्दैन । कार्यान्वयनमा जानै नसक्ने गरी केवल सस्तो लोकप्रियताका लागि केही कार्यक्रम उल्लेख गरिएका छन् ।’ 

उनले बजेटमा आशा जगाउने खालका कुनै ठोस योजना तथा कार्यक्रम नरहेको पनि बताए ।
आइतबार लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३८ अर्ब ९७ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको थियो । 

बजेट प्रस्तुत गर्नुअघि सरकारको तयारी नपुगेका कारण प्रदेश सभा बैठक झन्डै तीन घण्टा ढिलो सुरु भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप