मङ्गलबार, ०३ असार २०८२
ताजा लोकप्रिय
समीक्षा

खेलकुदमा कोशी प्रदेश निरन्तर खस्किँदै

१५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा खर्च दुई करोड, स्वर्ण शून्य
मङ्गलबार, ०३ असार २०८२, ०७ : १९
मङ्गलबार, ०३ असार २०८२

समाचार सारांश

  • कोशी प्रदेश खेलकुद बोर्डको असक्षमताका कारण राष्ट्रपति रनिङ शिल्डमा कोशी प्रदेशको नतिजा कमजोर रह्यो।
  • प्रतियोगितामा कोशी प्रदेशले एउटा पनि स्वर्ण पदक जित्न सकेन, जसका कारण खेलप्रेमीहरूले आलोचना गरेका छन्।
  • बोर्डले समयमै बजेट नपठाउँदा र राम्रोसँग तयारी नगर्दा खेलाडीहरू छनोट हुन नसकेको र नतिजा प्रभावित भएको बताइएको छ।

विराटनगर । कोशी प्रदेश खेलकुद बोर्डको असक्षमताका कारण प्रदेशको खेल क्षेत्र धराशायी बन्दै गएको पछिल्लो परिणामले देखाएको छ । काठमाडौँमा जेठ ३० गते सम्पन्न १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको परिणाम अनुसार कोशी प्रदेश उपाधि होडमा अन्तिम स्थानमा सीमित रह्यो ।

प्रतियोगितामा बागमती प्रदेश ३६ स्वर्ण, ७ रजत र ११ कांस्यसहित ७ प्रदेशमध्ये टिम च्याम्पियन बन्यो । १४ औँ संस्करणको च्याम्पियन सुदूरपश्चिम भने यस पटक १४ स्वर्ण, २० रजत र १८ कांस्यसहित दोस्रो स्थानमा रह्यो । लुम्बिनीले ५ स्वर्ण, १३ रजत र १५ कांस्य जित्दै तेस्रो, गण्डकीले पनि ४ स्वर्ण, ११ रजत र १७ कांस्यसहित चौथो, कर्णाली ४ स्वर्ण, ६ रजत र १९ कांस्य जितेर पाँचौँ र मधेस प्रदेश ३ स्वर्ण, २ रजत र १० कांस्यका साथ छैटौँ स्थानमा पुग्यो ।

स्वर्ण पदकविहीन बनेको कोशी प्रदेशले भने ७ रजत र ८ कांस्य पदकमात्रै हात पार्‍यो । यो अवस्था लज्जास्पद रहेको भन्दै खेलकुदप्रेमीहरूले आलोचना गरिरहेका छन् ।

छनोट चरणदेखि नै विवादमा रहेको कोशी प्रदेश खेलकुद विकास बोर्ड राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको नतिजाले थप आलोचित बनेको छ । बोर्डले समयमै जिल्लाहरूमा बजेट नपठाउँदा तीन जिल्लाबाट खेलाडी छनोट हुन नसकेपछि ३२४ खेलाडी प्रतिस्पर्धाबाट वञ्चित भए । यसको प्रभाव नतिजामा परेको हो ।

विराटनगरमा भएको छनोट प्रतियोगितामा सुनसरी, सोलुखुम्बुमात्र नभएर बोर्डका अध्यक्षसमेत रहेका सामाजिक विकासमन्त्री पञ्चकर्ण राईकै गृहजिल्ला खोटाङका खेलाडी प्रतिस्पर्धाबाट वञ्चित भए । यसरी तीन जिल्लाबाट खेलाडी छनोट हुन नसकेपछि ११ जिल्लाका खेलाडीबिच प्रतिस्पर्धा गराइएको थियो । व्यवस्थापक र प्रशिक्षकसहित ११५ जना खेलाडी छनोट भएर केन्द्रमा गएका थिए ।

सोलुखुम्बु जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्र थापा मगरले प्रदेश खेलकुद विकास बोर्डले समयमै पत्राचार नभएको र आवश्यक तयारी गर्न नपाएको कारण छनोट गर्न नसकिएको बताए । बोर्डले समयमै खर्च पठाएर तयारीका लागि समन्वय नगरेको उनको गुनासो छ ।

यसअघिको १४ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कोशी प्रदेशले ८ स्वर्णसहित २६ पदक ल्याएको थियो । त्यसवेला कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव हंशराज वाग्ले र सामाजिक विकासमन्त्री राजेन्द्र कार्की थिए । अहिले भने प्रदेश खेलकुद विकास बोर्डको सदस्यसचिव कृष्ण बस्नेत छन् भने मन्त्री पाँचकर्ण राई छन् ।

14

प्रदेश खेलकुद विकास बोर्डका पूर्वसदस्य सचिव वाग्लेले खेलको कार्ययोजनाविना आफू निकट र पार्टीको भक्ति केन्द्र जस्तो गरेर प्रशिक्षक नियुक्ति गर्दा प्रदेशले राम्रो नतिजा ल्याउन नसकेको बताए । कोशी प्रदेशले एउटै पनि स्वर्ण पदक हासिल नगर्नु लज्जास्पद भएको उनको भनाइ छ ।

‘म सदस्यसचिव रहँदा दक्ष प्रशिक्षक राखेर उत्कृष्ट खेलाडी छनोट गरिएको थियो । त्यसवेला मैले राजनीतिक पार्टी पनि हेरिनँ र खेलसँग सम्बन्धित दक्ष प्रशिक्षक राख्ने गरेको थिएँ,’ उनले भने, ‘त्यसपछि उनीहरूले खेलाडीलाई पर्याप्त प्रशिक्षण पनि दिएर खेलाडीहरूले राम्रोसँग मेहनत गरेको कारणले ८ स्वर्णसहित २६ पदक ल्याउन सफल भएका थियौँ ।’

koshi

अहिले प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिवले प्रशिक्षकदेखि खेलकुदको हरेक निकायमा राजनीतिक भक्ति केन्द्र बनाउन खोजेपछि यस्तो परिणाम आएको वाग्लेको दाबी छ । वर्तमान सदस्यसचिव बस्नेतले योग्यताको मापदण्डमा १५ वर्षको खेलकुद अनुभव देखाउनुपर्ने भए पनि कोशी प्रदेश खुकुरी दल मार्शल आर्टको सदस्यतामात्र पेस गरेका थिए । ‘कराँतेमा खुट्टा उचाल्न नजान्ने व्यक्तिलाई प्रशिक्षक बनाउने काम भएको छ,’ वाग्लेले वर्तमान व्यवस्थापनमाथि आक्रोश पोख्दै भने, ‘राजनीतिक भक्ति केन्द्र बनाएर प्रशिक्षक नियुक्ति गर्दा कहाँबाट राम्रो परिणाम आउँछ ? पार्टीको लोगो लगाएको कोच राखेपछि परिणाम यस्तै आउने हो ।’

प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, उसु र तेक्वान्दो गरी ६ विधामा प्रतिस्पर्धा भएको थियो । तीन दिने प्रतियोगितामा ६८६ खेलाडीले ६६ स्वर्ण, ६६ रजत र ९८ कांस्य पदकका लागि प्रतिस्पर्धा गरेका थिए । समावेशी ६ वटै खेलको हरेक पदकका लागि कुल १२ लाख नगद पुरस्कार वितरण गरिएको थियो । प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव बस्नेतले ढिलो निर्णय गरेको र खेलाडीहरूले पर्याप्त मात्रामा प्रशिक्षण लिन नपाउँदा सोचेजस्तो सफलता नपाएको बताए ।

Khelkud (1)

उनले खेलाडी नपठाउने सुनसरी, सोलुखुम्बु र खोटाङलाई बोर्डले स्पष्टीकरण सोध्ने निर्णय भएको बताए ।

प्रदेश खेलकुद विकास बोर्डका कार्यालय प्रमुख कालीप्रसाद भट्टराईले प्रदेश छनोट भएर लगत्तै केन्द्रमा खेल्नुपर्ने अवस्था र तीन जिल्लाका खेलाडीहरू नआउँदा सोचेजस्तो सफलता नभएको बताए । ‘प्रदेशबाट १०८ जना खेलाडी र ७ जना प्रशिक्षक र व्यवस्थापक गरेर ११५ जना केन्द्रमा गएका थिए,’ भट्टराईले भने, ‘खेलाडी थकित पनि थिए । त्यही भएर पनि होला– हामीले सोचेजस्तो परिणाम आएन ।’सबै जिल्लालाई समेट्न नसक्दा पनि समस्या भएको उनले बताए । 

Khelkud (3)

‘सोलुखुम्बुमा एथलेटिक्समा पदक ल्याउने खेलाडी थिए । त्यहाँबाट आउन सकेन । खेलाडीहरूलाई आराम पनि भएन । छनोट भएर लगत्तै केन्द्रमा खेल्न गए । क्यालेन्डर अनुसार खेल पनि भएन । खेल हुन्छ कि हुँदैन भन्ने अन्योल थियो । खेलाडीहरूले राम्रोसँग तयारी नगर्दा पनि यस्तो समस्या भएको हो,’ बोर्डका कार्यालय प्रमुख भट्टराईले भने ।

Khelkud (4)

यस वर्षको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि २ करोड बजेट खर्च भएको प्रदेश खेलकुद विकास बोर्डले जनाएको छ । खेलकुद क्षेत्रमा करोडौँ रुपैयाँ खर्च गर्ने तर उपलब्धि शून्य भएपछि अहिले प्रदेश खेलकुद विकास बोर्डको नेतृत्व तहमा बसेकाहरूले खेलकुदमा रणनीतिक योजना बनाउन नसकेको भन्दै सामाजिक सञ्जालमा आलोचना बढेको छ । १४ औँ राष्ट्रपति कपमा भने १ करोड खर्च भएको वाग्लेले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप