अप्ठेरो समयमा मौन रहने ‘आइकन’हरू

समाचार सारांश
- लेखले भारत र अमेरिकाका दुई चर्चित व्यक्तित्व सचिन तेन्दुलकर र बाराक ओबामाको राजनीतिक तथा नैतिक संकटको समयमा मौनताको विषयमा प्रश्न उठाएको छ।
- लेखमा तेन्दुलकरलाई भारतको मध्यम वर्गको निकृष्ट रूप भन्दै उनको नैतिक उदासीनता र नागरिक दायित्वप्रति बेवास्ता गरेको आरोप लगाइएको छ।
- ओबामाको मौनताले उनको प्रतिज्ञा र राजनीतिक पहिचानमा धोका दिएको बताइएको छ, र दुवै व्यक्तित्वको मौनताले नैतिक दायित्वको प्रश्न खडा गरेको छ।
भर्खरै छापिएका दुईवटा लेखहरूले घोत्लिन बाध्य बनाए । ती लेखहरू भारतको अखबार ‘द क्याराभान’ तथा अमेरिकी अखबार ‘द एटलान्टिक’ मा छापिएका छन् । दुवै लेखले मननयोग्य सवाल उठाएका छन्– के संसारभर चिनिएको/मानिएको व्यक्ति जसले दशौँ करोड मानिसको सोचमै प्रभाव पार्ने शक्ति राख्छ, त्यस्तो व्यक्ति राजनीतिक तथा नैतिक सङ्कटको घडीमा मौन रहन सक्छ ? उसले बोल्नु पर्छ वा पर्दैन ?
हामीले सचिन तेन्दुलकरलाई नै हेरौँ न । उनी क्रिकेटमा भगवान् जस्तै मानिन्छन् । साथै भारतमा सबैभन्दा श्रद्धा गरिएका सार्वजनिक व्यक्तित्व हुन् । सन २०२१ मा द क्याराभानमा छापिएको ‘इस्टाब्लिसमेन्ट मेन: द मोरल टीमीडीटी अफ सचिन तेन्दुल्कर’ शीर्षकको आफ्नो लेखमा पत्रकार वैभव भाट्सले सचिनको जीवनका विरोधाभासहरूको चिरफार गरेका छन् ।
हो पक्कै पनि तेन्दुल्कर शालीन छन् । उनी आफ्नो सौम्य चरित्रका लागि चर्चित छन् । तर, भाट्स तेन्दुल्करलाई यस्ता गुणहरूले ढाकेर मात्रै हेर्दैनन् । सार्वजनिक जीवनमा नैतिकताको खडेरीलाई उनले शालीनताको बर्को भन्दा बाहिर निकालिदिएका छन् ।
उक्त लेख छापिएको समयमा भारत कोरोनाको दोस्रो लहरले असाध्यै ठुलो समस्यामा थियो । त्यस बेला भारतका प्रधानमन्त्री नरेन्द्र मोदी भने विभेदकारी नागरिकता संशोधन विधेयक जबरजस्ती अगाडि बढाइरहेका थिए । तेन्दुलकरलाई भारतका अर्बौँ मानिसले असाध्यै सम्मान गरेर आदर्शको रूपमा हेर्छन् । तर, ती आदर्श तेन्दुल्करले न त कुनै चासो देखाए, न कुनै टिप्पणी गरे । उनलाई नागरिक दायित्वको कुनै अनुभूति भएको जस्तै देखिएन ।
आफ्नै उचाइको मूल्य नबुझेरै सायद तेन्दुल्कर आफ्नो धारणा राख्नुपर्ने समयमा झिना मसिना कुरामा अलमलिएका भेटिन्छन् ।
भाट्स दिक्दार लाग्दो घडी सम्झन्छन्, जब भारतभर नागरिकता संशोधन विधेयक विरुद्ध आन्दोलन चलिरहेको थियो । ठुला–ठुला प्रदर्शनहरूमा प्रहरी दमन भइरहेको थियो । संविधानको खिल्ली उडाइएकोमा प्रश्नहरू उठिरहेका थिए । उता तेन्दुल्कर भने आफ्नो ट्विटर एकाउन्टमा महाराष्ट्रिय खाना ‘वडा पाव’ मा ‘चट्नी’ कति राख्दा उनलाई मिठो लाग्छ भनेर ट्विट गरिरहेका थिए ।
उनले ट्विटरमा यस्तो लेखेका थिए । ‘रातो चट्नी, अलि कम हरियो चट्नी र अलिकति इमिली चट्नी’ । यस्तो लाग्थ्यो मानौँ उनलाई भारतभर के भयो भन्ने केही थाहा छैन ।
द क्याराभानले कुरा नचपाई लेख्यो । त्यहाँ तेन्दुल्करलाई आफ्नै छविको महत्त्व नबुझेको अनौठो मान्छेको रूपमा देखाइयो । उनी भारतमा सबैभन्दा धेरै मानिएका मान्छे हुन । तर उनले उचाइले दिएको आफ्नो नैतिक दायित्व बुझ्न नचाहेको वा नसकेको प्रस्ट देखियो ।
आफ्नै उचाइको मूल्य नबुझेरै सायद तेन्दुल्कर आफ्नो धारणा राख्नुपर्ने समयमा झिना मसिना कुरामा अलमलिएका भेटिन्छन् । यो भन्दा अझै अघि बढेर उक्त लेखले त तेन्दुल्करलाई ‘भारतको मध्यम वर्गको निकृष्ट रूप’ मा प्रस्तुत गरेको छ । यो रूप नैतिक उदासीनता, लोकतन्त्रप्रतिको संवेदनाहीनता तथा बौद्धिक खोक्रोपनाको त्रिवेणी जस्तै छ ।
लेखका अनुसार तेन्दुल्कर यस्तो ऐना हुन्, जसले हाम्रो अपेक्षा र यथार्थबिचको फरक देखाउँछ । अर्थात् नागरिक साहसको सट्टा उपभोगमा मग्न मान्छे देखाउँछ ।
अब हामी लागौँ यो हप्ताको ‘द एटलान्टिक’ को लेखतर्फ । जसको शीर्षक नै ‘कहाँ छन् बाराक ओबामा ?’ भन्ने छ । लेखमार्फत मार्क लेइवोभिच उस्तै प्रश्न गर्छन् । कुनै समय आशा र परिवर्तनका विम्ब मानिएका ओबामाबारे प्रश्न उठाइएको छ ।
पक्कै पनि ओबामा आठ वर्षे कार्यकालको झिनाझप्टी पछि केही समय आराम गर्न तथा रमाइलो गर्न स्वतन्त्र छन् । तर जब डोनाल्ड ट्रम्पले आफ्नो दोस्रो कार्यकालमा पुरा संसारलाई नै भद्रगोल बनाएर नयाँ ठाउँमा लैजाँदै छन्, त्यस्तो समयमा ओबामाको वैराग्य पक्कै पनि गैह्र–जिम्मेवार अनुभव हुन्छ ।
‘द एट्लान्टिक’मा लेखक लेइवोभिचले ओबामालाई सम्झँदै उनी चुपचाप अवकाश लिएर जर्ज डब्लु बुशले जस्तै ’तेल चित्र’ जस्ता आफ्ना सोख पुरा गर्दै बसेको भए सन्दर्भ फरक हुने बताउँछन् । तर, ओबामाको सन्दर्भ त बिल्कुल त्यस्तो होइन ।
ओबामा आज पनि सार्वजनिक चर्चामा छन् । तर अहिले उनी सामाजिक सामाजिक सञ्जालमा आफूले हेरेका चलचित्र र पढेका पुस्तकका सिफारिसहरू ‘शेयर’ गर्दै बसी रहेका छन् । वा समुद्र किनारमा आराम गरेका, मनोरन्जनसाथ घुमेका तस्बिरहरू पोस्ट गर्दै बसेका देखिन्छन् । तर, आजको दिनमा अमेरिकामा मात्रै नभएर संसारभर मानिस लोकतन्त्रको बारेमा चिन्तित छन् । के उनी त्यसबारे बोल्नु पर्दैन ?
कुनै समय करोडौँ मानिसहरूलाई सामूहिकताको शक्तिमाथि विश्वास जगाउन प्रेरित गर्ने ओबामा आज नागरिक जीवन अप्ठेरो अवस्थामा पुग्दा आरामसाथ टुलुटुलु हेरेर बसिरहेका छन् । सम्पत्ति, नाम र मस्तीको जीवन बिताएर ढुक्कले बसेका छन् ।
लेइवोभिचका अनुसार ओबामाको अनुपस्थितिको ठुलो अर्थ छ । यसले ठुलो विरोधाभासको खुलासा गर्छ । ओबामा यत्तिकै आएका नेता थिएनन् । उनी भुइतहमा क्रियाशीलता देखाएर, समुदाय स्तरमा संगठन गरेर तथा नागरिक स्तरमा नयाँ भावना जगाएर आएका हुन् ।
सान २००८ मा राष्ट्रपतिको चुनाव लड्दा उनको मुख्य कुरा ‘म तपाईँहरूलाई जोगाउँछु’ भन्ने थिएन । बरु ‘हामी नै त्यस्ता मान्छे हौँ, जसले हामीलाई जोगाउन सक्छौँ’ भन्ने थियो । उक्त सन्देश कुनै समय विद्युत् जस्तै प्रवाह दिने अनुभव हुन्थ्यो । तर, अहिले उनको मौनताले त्यसलाई खोक्रो अनुभव गराउन थालेको छ ।
ट्रम्पले धमाधम लोकतान्त्रिक मूल्य मान्यताहरूमा प्रहार गरिरहेको बेला ओबामाको प्रस्ट मौनता उनको आफ्नै प्रतिज्ञाप्रति धोका जस्तो देखिन्छ । उनले आफै बनाएको राजनीतिक पहिचान प्रति पनि घात महसुस हुन्छ । लेइवोभिचले यसलाई ओबामाको ‘उपेक्षा’ भनेका छन् ।
कुनै समय करोडौँ मानिसहरूलाई सामूहिकताको शक्तिमाथि विश्वास जगाउन प्रेरित गर्ने ओबामा आज नागरिक जीवन अप्ठेरो अवस्थामा पुग्दा आरामसाथ टुलुटुलु हेरेर बसिरहेका छन् । सम्पत्ति, नाम र मस्तीको जीवन बिताएर ढुक्कले बसेका छन् ।
यी दुई लेख फरक परिवेशमा लेखिएका हुन । ओबामा र तेन्दुल्करको पृष्ठभूमि, संस्कृति, इतिहास तथा प्रभाव क्षेत्र पनि पक्कै फरक छ । तर ती दुवै ‘नायक’ ले देखाएको ’प्रस्ट नैतिक असफलता’ भने ठ्याक्कै मिल्ने खालको छ ।
जब पुरा संसार नैतिक कल्पनाको खाँचोमा तड्पिरहेको हुन्छ । विश्वास र प्रष्टता सहितको आवाज खोजिरहेको हुन्छ । उनीहरू ठ्याक्कै त्यही बेला पछाडि फर्किएर बसिदिए । उनीहरूले यसो गरेर मौनता पनि निष्पक्ष भने नहुने रहेछ भन्ने देखाइदिएका छन् । अझ सङ्कटको घडीमा त मौनताले ठुलो स्वरमा केही भनिरहेको हुन्छ ।
ती दुवै लेखले उठाउन खोजेको सवाल भने उस्तै छ । त्यो प्रश्न आजका दिनमा अझ सान्दर्भिक छ । प्रभावशालीहरूको नैतिक दायित्व हुन्छ कि हुँदैन ?
जब कसैले कुनै समय आम मान्छेको विचार निर्धारण गर्ने शक्ति हासिल गरेको हुन्छ । ठुलो समुदायको ध्यान तथा काल्पनिक चलाउने सक्ने भएको हुन्छ । त्यस्तो मान्छेले सङ्कटको घडीमा गर्नुपर्ने जिम्मेवारी हुन्छ कि हुँदैन ?
उनीले बोल्नु पर्ने कर्तव्य हो कि हैन ? आफ्नो अडान लिनु पर्छ कि पर्दैन ? प्रभावशालीहरूले आफूलाई मन लागेको मात्रै गरेर बस्न हुने हो त ? विशेषाधिकार सम्पन्न त्यस्ता मानिसहरू नैतिक प्रष्टता चाहिँ अरूकै मात्रै दायित्व हो भनेर आफूचाहिँ राजनीतिक मुद्दाहरूबाट टाढा लुकेर बस्न मिल्छ र ?
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक सय ५७ वर्ष पुरानो नहर पक्की बनाइँदै
-
१२ बजे १२ समाचार: ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता, स्कटल्याण्डविरुद्ध नेपालको जित
-
नेपालले दुई विकेटको जित निकाल्दा मैदानमा देखियो यस्तो खुसी, तस्बिरहरू
-
चैते धानको उत्पादन बढ्दा, मूल्यमा गिरावट
-
स्कटल्याण्डविरुद्ध नेपालको जित
-
सरकारले संविधान संशोधनमा ढिलाइ गर्नुहुँदैन: प्रवक्ता डा. महत