शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

यार्सागुम्बा संकलन गर्न गएका मगरको विभत्स हत्या

सोमबार, ०४ असार २०७५, १२ : ४७
सोमबार, ०४ असार २०७५

दुनै– हिमाली जिल्ला डोल्पाको एक यार्सापाटनमा रोल्पाका एकजनाको जघन्य हत्या गरिएको छ । 

डोल्पो बुद्ध गाउँपालिकामा पर्ने किम्जुङ पाटनमा रोल्पाका ४२ वर्षीय कर्ण पुन मगरको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । 

गएराति हत्या गरिएको अवस्थामा शव भेटिएको हो । मृतक मगर रोल्पाको उवा घर भई हाल चनौटा बस्दै आएको प्रहरीले जनाएको छ । मृतक मगर यार्सागुम्बा संकलनका लागि हरेक वर्ष यही यार्सा पाटनमा आउने गरेको बताइएको छ । 

मृतकले यार्सागुम्बा बेचेर कमाएको रु ७०÷७५ हजार नगदका लागि उनको हत्या गरिएको हुनसक्ने प्रहरीले अनुमान लगाएको छ । 

जिप्रका डोल्पाका प्रहरी नायब उपरीक्षक हरिप्रसाद अनुसार मगरको हत्या कसरी भयो भन्नेबारे अनुसन्धान तीव्र रुपमा भइरहेको छ । 

सञ्चारको कुनै पनि सुविधा नभएका कारण राति १ बजे प्रहरी चौकी धो मा जानकारी आएपछि तत्काल प्रहरी नायब निरीक्षकको कमाण्डमा प्रहरी घटनास्थलमा पुगेको प्रनाउ शर्माको भनाइ छ । 

उनका अनुसार आजै बिहान सदरमुकाम दुनैबाट पनि प्रहरी निरीक्षकको कमाण्डमा थप प्रहरी पठाइएको तर सदरमुकामबाट उक्त घटनास्थलसम्म पुग्न तीन दिन लाग्ने भएकाले घटनाका बारेमा थप जानकारी आउन समय लाग्ने छ । 

प्रहरी चौकी धोबाट घटना घटेको पाटनसम्म जान चार घण्टाभन्दा धेरै समय लाग्ने गरेको स्थानीयवासी बताउँछन् । 

भौगोलिक विकटता र घटना घटेको स्थान निकै जोखिम भएका कारण शव ल्याउनसमेत कठिन हुने भएको छ । 

मृतकका आफन्तलाई जानकारी गराइसकेको र निम्न परिवारका भएका कारण शव बुझ्न आउनसमेत कठिन भएको मृतककी श्रीमतीले बताएको प्रहरीले जानकारी दिएको छ । 

प्रहरीका अनुसार मृतक पुन मगरका छोरा मुस्ताङबाट आउँदै गरेको जनाएको छ । 

शव परीक्षणका लागि जिल्ला सदरमुकामसम्म ल्याउनका लागि कम्तीमा पनि एक साता लाग्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप