शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

सवारीमा ह्विल लक लगाउने ट्राफिक कार्यविरुद्ध उच्च अदालतमा रिट, आज सुनुवाइ

सोमबार, ०९ असार २०८२, ११ : ०७
सोमबार, ०९ असार २०८२

सारांश

  • काठमाडौंमा ह्विल लक लगाउने कार्यविरुद्ध उच्च अदालत पाटनमा रिट दर्ता भएको छ। कानुनका विद्यार्थी विवेक चौधरीले रिट दायर गरेका हुन्।
  • रिटमा नगर प्रहरी, ट्राफिक प्रहरी, काठमाडौं महानगरपालिका लगायतलाई विपक्षी बनाइएको छ। रिटमा ह्विल लक नागरिकको मौलिक अधिकारमाथि हस्तक्षेप भएको जिकिर गरिएको छ।
  • अदालतले यसअघि दरपिठ आदेश बदर गर्दै रिट दर्ता गर्न आदेश दिएको थियो। आज न्यायाधीश खडानन्द तिवारीको इजलासमा रिटको सुनुवाइ हुँदैछ।

काठमाडौँ । नगर प्रहरी र ट्राफिक प्रहरीले सवारी साधनमा ‘ह्विल लक’ लगाउने कार्यविरुद्ध उच्च अदालत पाटनमा रिट दर्ता भएको छ । आइतबार कानुनका विद्यार्थी विवेक चौधरीले ह्विल लक लगाउने कार्य संविधान, ऐन तथा विधिको शासन विपरीत भएको दाबी गर्दै रिट दायर गरेका हुन् ।

रिटमा काठमाडौँ महानगरपालिका नगर कार्यपालिकाको कार्यालय, महानगरीय प्रहरी बल, प्रहरी प्रधान कार्यालय र उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई विपक्षी बनाइएको छ ।

चौधरी गत चैत १५ गते उक्त रिट लिई उच्च अदालत पुगेका थिए । उच्चका रजिस्ट्रार श्रीलाल पौडेलले दरपिठ गरिदिएका थिए ।  गत असार ५ गते न्यायाधीश श्यामकुमार भट्टराई र कृष्णराम कोइरालाको इजलासले दरपिठ आदेश बदर गर्दै रिट दर्ताको आदेश दिएको थियो । उक्त आदेशपश्चात् आइतबार रिट दर्ता भएको हो ।

रिटमा ट्राफिक प्रहरीले सवारीमा ह्विल लक लगाउने कार्य नागरिकको मौलिक अधिकारमाथि प्रत्यक्ष हस्तक्षेप भएको र कुनै कानुनी आधार समेत नरहेको भन्दै परमादेशको माग गरिएको छ । नगर प्रहरी र ट्राफिक प्रहरीलाई कुनै पनि सवारी साधनमा कारबाही स्वरूप ह्विल लक नगराउन माग गरिएको छ ।

रिटमाथि आज सुनुवाइ हुँदैछ । न्यायाधीश खडानन्द तिवारीको इजलासमा रिटमाथि पेसी तोकिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप