शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
कविता

राष्ट्रिय कविता महोत्सव २०८२ मा पुरस्कृत सर्वोत्कृष्ट १० कविता

शनिबार, १४ असार २०८२, २१ : ०७
शनिबार, १४ असार २०८२

नेपाल प्रज्ञा–प्रतिष्ठानको ६८औँ वार्षिकोत्सवका उपलक्ष्यमा आयोजित राष्ट्रिय कविता महोत्सव २०८२ मा सहभागी भई सर्वोत्कृष्ट १० मा परेका कविताहरु :

छुटिजानेहरूको नाममा
अविनाश भट्टराई 

कति कुरा समयसँगै छुटेर जान्छन्
छुटेर जान्छन् पहेँला पातहरू रूखबाट
छुटेर जान्छन् पुराना कपडाहरू शरीरबाट
छुट्दै छुट्दै जान्छ नदीमा बहने पानी
छुट्दै छुट्दै जान्छ हिजोको जवानी ।

छुटेर जान्छ कुनै इतिहासको पाटो
जसरी छुटेर गयो
जङ्गबहादुरको तिलस्मी घोडा
रणबहादुरको साँढे
महेन्द्रको रोयल बेङ्गाली टाइगर ।

छुटेर जान्छन् बिरामी परम्पराहरू
जसरी छुटेर गयो सती प्रथा
कमलरी प्रथा
हलिया प्रथा ।

अगाडि हिँड्दै जाँदा
पछाडि केही त अवश्य छुट्छ
जसरी छुट्छ कोसेढुङ्गा यात्रामा
जसरी छुट्छ बेस क्याम्प शिखरको बाटोमा ।

अगाडि हिँड्दै जाँदा
पछाडि केही त अवश्य छुट्छ
जसरी छुट्छ निरङ्कुशता लोकतन्त्रमा
जसरी छुट्छ सामन्तवाद गणतन्त्रमा ।

समयसँगै छुटेर जान सक्छ
टाउकोबाट कपाल
गिँजाबाट दाँत
शरीरबाट शक्ति ।

परिस्थितिसँगै छुटेर जान सक्छ
राजाबाट श्रीपेच
जनताहरूबाट रैती
दरबारबाट मोजमस्ती ।

छुटेर जान नसक्ने के पो हुने रहेछ र ?
बोल्दाबोल्दै आवाज छुटेर जान सक्छ
हाँस्ताहाँस्तै हाँसो छुटेर जान सक्छ
जिउँदाजिउँदै जिन्दगी छुटेर जान सक्छ ।

कसै गरी रोक्न नसकिने रहेछ छुट्नेहरूलाई
कसै गरी छेक्न नसकिने रहेछ यो प्रकृतिलाई ।

के उठाउनु पश्चातापको बोझ छुटिजानेहरू सम्झिएर ?
के मारिहिँड्नु ऊर्जा छुटिजानेहरूको चिन्ता गरेर ?
बरु बालिदिनु एउटा बत्ती 
उनीहरूको सम्झनामा
कि झिम्काइदिनु एउटा आँखा 
उनीहरूको नाममा ।
(कर्जन्हा–२, बन्दीपुर, सिरहा)
०००
भुईं पुछिसकेपछि 
कसले पुछिदेला मेरो आफ्नै देहको टाटो 
म 
भगवान्को टालो 
जो 
अँगालो मार्न ठिक छु
अँगाल्न ठिक छैन । 

औजार
चन्द्रमणि चापागाई

ढुङ्गा मूर्ति बनेपछि 
म छिनोबाट फलाम बन्छु । 
र कुरिबस्छु अर्को ढुङ्गा । 

भुईं पुछिसकेपछि 
कसले पुछिदेला मेरो आफ्नै देहको टाटो 
म 
भगवान्को टालो 
जो 
अँगालो मार्न ठिक छु
अँगाल्न ठिक छैन । 

अर्पेर 
एउटा भजन भगवान्लाई
र यो देह प्यासीहरूलाई ।
प्रत्येक रात सपनामा
भगवानले शिरमा हात राखेर आशीर्वाद दिन्छन् ।
प्रेमीले तनमा मन राखेर आश दिन्छन् । 
म यसरी नै बाँचिरहेकी छु ।

मेरो सत्य मेरो सत । 
मेरी आमा,
मैले तिम्रो कसम खाएदेखि नै हो 
तिम्रो दम बढेको । 
म आफू बाँच्नका लागि आफैँलाई खान्छु । 
तिमीलाई बचाउनका लागि कसम खान्छु । 

मेरो नियति मेरो नियत । 
मन धेरै जमेपछि 
हातगोडा पनि जम्ने रैछन् । 
म शराब सजाएर बसेकी छु जिन्दगी भर
अन्तिम श्वासमा पानी माग्नेछु । 

मेरो चाह मेरो चैन । 
मेरी छोरीको मन
प्रेमिल होस् । 
उसले देखोस्
कि 
घामले आफूमै 
हिँड्दाहिँड्दै 
उज्यालोमै विश्राम गर्छ । 
खोजी बस्दैन
रातको औजार । 
०००
(कावासोती–१२ नवलपरासी, बर्दघाट सुस्तापूर्व)  

भालेको मौन विद्रोह
– गोमा श्रेष्ठ 

एक बिहानको चिसो ब्युँझाइ
जहाँ घाम आउनुअघि नै
बेलुकीहरू
आफ्नै छाया गुमाएर
साँझको साँघुरो कुनामा थचक्क बस्छन् ।

त्यही मौनताको मोहोडा चिरेर
उभिरहेको
एक कर्णकम्पित कलकल आवाजलाई
कसैले सोध्यो:
‘किन तिमीलाई बाँच्न दिँदैनन् मानिसहरू ?’

काखमा सूर्य बोकेको
अनुहार झल्काउँदै
कर्णफोदी स्वरको थोप्लो टिप्दै मुस्कुरायो:

“म उठाउँछु उनीहरूलाई
निद्रामा थुनिएको विवेकको कुण्डलीबाट
जसले घडी त बुझ्छन्,
तर समय बुझ्दैनन् ।

म जगाउँछु उनीहरूको 
निदाएको अन्तरात्मा
र घोच्दछु उनीहरूको
बानी परेको अँध्यारोलाई
जसले सत्यलाई
कहिल्यै उज्यालो देख्न दिँदैनन् ।”

“मानिसलाई घण्टीको धुन प्रिय लाग्छ
म घण्टी हुँ
तर घमण्डको होइन
जागरणको !
म संगीत हुँ
तर रमणको होइन
चेतनाको !
तर चेतना— आगोझैँ पोल्छ उनीहरूलाई ।”

“यसैले हो
जो आवाज दिन्छ
जो निद्राका महलहरू भत्काउँछ
जो झकझक्याउँछ
निद्रामा डुबेका स्वप्नद्रष्टाहरूलाई 
उसको घाँटी
त्यो स्वरभन्दा पहिले चुँडिन्छ ।”

“म हिंस्रक होइन,
म त उज्यालोको शंखध्वनि हुँ ।
तर मेरा तिखा उच्चारणहरू
उनीहरूका झ्यालहरूमा
ढुङ्गाझैँ ठोक्किन्छन् ।
म त गीत हुँ घामको
तर उनीहरूलाई 
सूर्यकिरण विस्फोटझैँ लाग्छ ।”

“जब मौनता नै प्रश्न बन्छ,
र आँसुले उत्तर लेख्छ
त्यो क्षण विद्रोह बन्छ ।
त्यो क्षण म हुँ
शब्दको पहिलो स्फोट,
मौनतामाथिको पहिलो प्रहार ।”

“मान्छेलाई
निद्राको भारी सिरक मन पर्छ
तर म भाले
छातीभरि सूर्य बोक्ने सन्देशवाहक हुँ
आवाजको पहिलो हुँकार हुँ
र दिनको पहिलो विद्रोह ।”
०००
(राइनास, लमजुङ)

बुबा, तपाईं को हुनुहुन्थ्यो ?

–कर्ण संजय 

बाबुको चिहानबाट एक मुठी खरानी टिपेर सोधेँ
बुबा, तपाईं को हुनुहुन्थ्यो ?

गोडाहरू सद्दे छँदाछँदै सिङ्गो भारी
छातीमा बोकेर एक्लै
जीवनभरि
टाउकाले टेकेर हिँड्ने
बुबा, तपाईं को हुनुहुन्थ्यो ?

जीवनको कुरुक्षेत्रमा
तपाईं एक्लै मर्नुभएन
तपाईंको मृत्युसँगै मरेका थियौँ हामी पनि
कति रात अनिँदो बसेका थिए घरका जिउँदा आँखाहरू
कति दिन आँसु निलेर भरिएका थिए पेटहरू
कति–कति दिनसम्म एकादशी मनाउँथे चुला–चौका, दाउराहरू
भान्साको कुनामा थन्किएका भाँडा–कुँडा गाइरहन्थे शोक/सान्त्वनाका गीत 
म झलझली सम्झन्छु
तपाईंको सारङ्गी शरीरमा बग्ने रगतको वाष्पले
पाँचवटा मुख अनि पाँच थान पेट चलायमान हुन्थे
आफ्नो पूर्णिमा बेचेर औँसी बेसाइहिँड्ने
बुबा, तपाईं को हुनुहुन्थ्यो ?

आफ्ना खुसीहरू अगेनोमा झोँस्दै
चुच्चाले च्यापेर सिन्का–पात–पत्करहरू 
बुनिरहनुभयो सपनाका सयौँ सय गुँडहरू
मैले देखेको छु
घाममा जिउ पगालेर पुछिँदै गरेको म्लान अनुहार
हजारौँ बाधाहरूसँग बाहाँजोरी खेल्दै चट्टानझैँ अडिग 
अभिमान र पूर्वाग्रहबाट कोसौँ टाढा
सुइराको चुच्चोमाथि घस्रिरहेको तपाईंको जीवनमा
छेपाराझैँ छिनछिनमा फेरिइरह्यो दुःखका रङहरू
पानीको आकारझैँ बदलिरहे अभावका आकारहरू
लज्जाको परिभाषालाई सम्बोधन गरिरहेको तपाईंका लुगामा
मुख बाइरहन्थे च्यातिएको अखबारझैँ टालाहरू
दिन–रात पसिनामा कलम चोपेर
पेटको भूगोलमा लेखिरहनुभयो अन्नका आख्यानहरू 
कहिले कोदाको रोटी र नुन–खुर्सानीको कथा
कहिले उसिनेको मसुरोमा घिरौँलाको चटनीको कथा
कहिले माड–भातमा बेथे सागको कथा
चर्किएको ऐनामा भन्दा बढ्ता आफ्ना जुत्तामा अनुहार हेर्ने
बुबा, तपाईं को हुनुहुन्थ्यो ?

वर्षौं बिते तपाईं बिदा हुनुभएको
हरेक वर्ष षष्ठी तिथिमा पिण्ड बनाउने आमाका 
दुवै आँखाबाट बहने वेदनाको बाढीले पानी–पानी भइरहे कोशी–कमला
पटक–पटक भित्तामा झुन्डिएको तस्बिरबाट झरेर पुछिरहनुभयो आँसु
बुबा !
तपाईं मर्नुभएकै होइन
एउटा मृत्युले मान्छे मर्दैन पनि
अल्पनाचित्रझैँ मौलाएको तपाईंको अस्तित्वमा
बाँचेका छौँ हामी
तपाईंभित्रको सिङ्गो मान्छे
आज पनि सास फेरिरहेको छ हामीभित्र
देवताको बस्तीमा सधैँ मान्छे भएर बाँच्ने
बुबा, तपाईं को हुनुहुन्थ्यो ?
०००

पिताजी अहाँ के छलौ ?
–कर्ण संजय 

बापक सारापर सँ एक मुठ्ठी मटियाह छाउर उठा पुछलियै
पिताजी अहाँ के छलौ ?
अछैते पयर सम्बन्ध के सभटा बोमm
अपन छाती पर एकसरे लादि
जीवन भरि
माथक बले चलैत रहलौ 
पिताजी अहाँ के छलौ ?

जीवन के कुरुक्षेत्र मे
अँहा एसगरे नहिँ मुइल छलौ
अँहाक मृत्यु सङ्गे मरि गेल छलौ हमहँु सभ
कतेक राति सुतल नै रहै घरक जीबैत आँखिसभ
कतेक दिन लोर पीब पीब क’ पोसने रहै पेट
कए कए दिनधरि चुल्हि सङ्गे जारन–काठी सभ करैत रहलै एकादशी
चिनवार पर के मोढा मे सैंतल वर्तन–वासन सभ दिन–राति गवैत रहलै समदाओन 
हमरा याद अछि
आँहाके काकोँडसन देह मे दौडैत शाेंणितक भाफ सँ 
चलै छलैे पाँचटा पेट, पाँचटा मूँह आ दशटा हाथ
अपन पूर्णिमा बेचिक’ अमावस्या बेसाहैत रहलौ
पिताजी अहाँ के छलौ ?

अपन खुशीके चुल्हिक आँच पर जारि क’
लोल सँ खढ–काठी बिछि खोंता बनबैत चिडैजकाँ
बुनैत रहलौं एक बराबर हजार सपना के खोंता सभ
हमरा देखल अछि 
रौद मे देह टटा क’ पोछैत रहलाँै सुखलाहा मूँह
सहत्र प्रतिकुलताके बावजूद चट्टानजकाँ पीठपर ठाढ रहलौ अहाँ
अभिमान आ पूर्वाग्रह सँ दूर
सूईक नोंक पर घुसकुनिया कटैत अँहाक जीवन मे
गिरगिट जकाँ क्षणे क्षण बदलैत रहल दुःखक रङ्ग
पानिक आकारजकाँ बदलैत रहल अभावक आकार सभ
लाजक परिभाषा के सम्वोधन करैत अँहाक वस्त्र पर  
मूँह बयने रहै छल फाटल अखबारजकाँ चेफरी सभ
दिन–राति पसिना मे कलम बोरि बोरि क’
पेटकक भूगोल पर लिखैत रहलौं अन्नक कथा सब
कहियो मरुआ रोटि पर नून–मिरचाईक कथा
कहियो मसुरीक उसना पर घिरा चटनीक कथा
कहियो माड–भात पर बथुआ सागक कथा
फूटल अएना सँ बेसी अपन जुता मे मूँह देखैत रहलौँ
पिताजी अहाँ के छलौ ?

वर्खो भ’ गेलै मुईला
हरेक वर्ख षष्ठी तिथिक’ पिण्ड कुटैत माए के 
दुनु आँखि सँ वहैत वेदनाक धार सँ पानि–पानि होइत रहली कोशी–कमला
बेर बेर भीत मे टाँगल तस्वीर सँ उतरि पोछति रहलौँ लोर
पिताजी !
अहाँ मरल नै छी 
आ, एकटा मृत्यु सँ मनुख मरै नै छैक 
अरिपनजकाँ निखरैत अँहाक धुआ मे
जीवैत छी हम सभ
अँहा भीतरक सौँसे लोक
आइयो जीवैत अछि हमरा सभ मे
देवताक वस्ती मे मनुखजकाँ सब दिन जीबैत रहलौं
पिताजी अहाँ के छलौ ?
०००

(विराटनगर, मोरङ)

पृथ्वीको क्रन्दन
किशन पौडेल 
 

यो सृष्टिको
अनुपम धरोहर
करोडौँ आत्माहरूको साझा घर
प्रकृतिको न्यानो काख 
म एक अखण्ड पिण्ड हुँ ।

जल, जङ्गल, हावा र माटो
मेरा अभिन्न अवयवहरू हुन्
यो आकाश, यो बादल, घाम, जून
मेरा शृङ्गारका अप्रतिम आभूषण हुन् ।

आजकल
फिकाफिका हुँदै गएको छ मेरो सौन्दर्य
जीर्ण बन्दै गएका छन् मेरा अङ्गप्रत्यङ्ग
कसले लुट्यो मेरो यौवनको रङ ?
कसले च्यात्यो मैले ओढ्ने
ओजनको बाक्लो बर्को ?
कसले झोँस्यो मेरो कोखामा
आणविक भट्टीको आगो ?

नदी–नदीजस्तो भएर बग्दैन
हावा–हावाजस्तो भएर बहँदैन
हिउँ–हिउँ जस्तै भएर किन जम्दैन ?

बिझाइरहन्छन्
यी आँखाका नानीहरू
मलाई पोल्छ हिउँको रापले
कसले उत्सर्जन गर्‍यो मेरो छातीमा
कार्बन मोनो अक्साइड ?
कसले छ्याप्यो मेरो सार्वभौम आकाशमा
क्लाउड सिडिङका रसायन ?
सदियौँदेखि मेरो वक्षस्थलमा टाँसिएर बसेका
हिउँका स्निग्ध पहाडहरू
किन पग्लिरहेछन्
आँसुका ग्लेसियर बनेर ?

हे मान्छे !
सल्काएर चेतनाको मस्तिष्कमा विध्वंशको आगो
किन रोप्दै छौ मेरो छातीमा कलहको बिउ ?

सावधान !
एक दिन पहिरो बनेर खस्नेछन् 
मेरा जब्बर पहाडहरू तिम्रा सपनाहरूमा
सुनामी बोकेर उर्लिंदै आउनेछन् 
हिमनदीका क्रुद्ध अनुहारहरू ।

हावालाई आफ्नै गति देऊ
माटोलाई आफ्नै प्रकृति देऊ
पानीलाई आफ्नै लय देऊ

याद राख !
मेरो अस्तित्वसँगै
तिम्रो अस्तित्व जोडिएको छ
म नहुनु भनेकै
तिमी नहुनु हो ।
०००
(हेटौँडा ४, मकवानपुर) । 

अचेल हरेक रात पहाड रुन्छ

मिरमा (रमा सुवेदी) 

कसले भन्यो र तिमीलाई ? पहाडलाई दुख्दैन भनेर !
कसैले सुनायो खै तिमीलाई ? पहाड कहिल्यै रुँदैन भनेर !

उमेरको चाङले थिच्दै गएपछि आफैँलाई बोक्न नसकेको बुढो पहाड
शिशिर ऋतुमा पातले छाड्दै गएर शुष्क रुखजस्तो बनेको पहाड 
एक्लोपनले गाँजिरहने दिनहरूले निस्सासिएर 
गहभरि धमिला स्मृतिहरू छचल्काएर 
मक्किँदै गएको तनमन सिउन नसकेर 
अतल आकाशको रित्तोपन ओढेर 
निविड, नीरव, निस्पट्ट अन्धकारजस्तो भएको जिन्दगीलाई 
मौन, चुपचाप, निर्वाक् रुँग्दारुँग्दै थाकेर 
अचेल हरेक रात पहाड रुन्छ !

आफ्नै आँसु पुछ्नलाई जब उठाउन सक्दैन नाडी
प्यास मेटाउन हातले भेट्दैन नगिचमा कुनै करुवा 
अन्तःस्करणको कोलाहल बिसाउन जब भेट्दैन कुनै आफ्नाको काँध 
जब मुटुभित्र धमिराझैँ गुँड बनाएका कुरालाई फुकाउन सक्दैन 
माकुराका जालझैंँ जेलिएका वाक्य फुटाउन सक्दैन 
खोलाझैँ पीडा सुसाउन नसकेर 
अचेल हरेक रात पहाड रुन्छ !

वर्षौंदेखि ओछ्यानमा लम्पसार आफ्नो भीमकाय शरीर देखेर
आफ्नो अडीगपन हेरेर
साँच्चै पहाडलाई पनि दुख्छ 
टाँढिदै गएका आफन्त 
भत्किँदै गएका मायाको संसार 
सुक्दै गएको मुहानजस्तो सुदूर स्मृति 
व्यस्तताको पहिरोले पुरिँदै गएका अपनत्वको अभावले 
अनि डुब्दै गएको आफ्नो अस्तित्वको मोहले 
अचेल हरेक रात पहाड रुन्छ !

पहाडले बोलेको तिमी सुन्दैनौँ 
न त उसको आँखामा छल्किरहेका आँसु तिमी देख्छौ 
तर पहाडलाई पनि दुख्छ 
अचेल पहाड मौनताको राग अलाप्न नसकेर रुन्छ 
शीतजसरी दुःख लुकाउन नसकेर रुन्छ
आदिम विचार खेलिरहेका मस्तिष्कमा 
प्रताडनाका अश्रव्य धुन मिसाएर 
मौन, चुपचाप, निर्वाक् अनि एक्लै 
अचेल हरेक रात पहाड रुन्छ !

कसले भन्यो र तिमीलाई ? पहाडलाई दुख्दैन भनेर !
कसैले सुनायो खै तिमीलाई ? पहाड कहिल्यै रुँदैन भनेर !
तिमी जेसुकै भन 
सधैँ लड्नकै लागि उभिएको पहाड
उभिनकै लागि लड्दै आएको पहाड 
लड्न नसकेर रुन्छ 
आफ्नै खुट्टामा उभिन नसकेर रुन्छ 
ढुङ्गाजस्तो मुटु भएको पहाड ढुङ्गाकै आँसु खसालेर रुन्छ 
ढुङ्गाभन्दा गह्रौँ हेलाका भारी सहन नसकेर 
अचेल हरेक रात पहाड रुन्छ  
हो, 
अचेल हरेक रात एउटा बुढो पहाड रून्छ  !
०००
(मकवानपुर जिल्ला हेटौँडा– ९)


हिउँस्वरमा हराएका मौन सपना 
सन्ध्या महर्जन

(नेपाल प्रज्ञा–प्रतिष्ठानको ६८औँ वार्षिकोत्सवका उपलक्ष्यमा आयोजित राष्ट्रिय कविता महोत्सव २०८२ मा सहभागी भई सर्वोत्कृष्ट १० मा परेको नेपालभाषाको कविता । यहाँ नेपालभाषा र नेपाली (अनुवाद) दुवै भाषामा दिइएको छ ।)
सयौँ माइल उचाइबाट
ती फूलपङ्खी छायाहरू 
आकाशको नाभिबाट झर्दै गर्दा
फुस्फुसाउँछन्: 
‘म उड्न सक्तिन... तर खस्न सक्छु !’

मृत्यु हावा होइन,
ढुङ्गामा टुक्रिने आफ्नै नाम हो—
चुपचाप चिच्याउने एउटा आघात,
जसको आवाज आत्माभित्रै टकराउँछ ।

म त
आमाको न्यानो स्मृतिको गन्धमा लपेटिएर
दूधको सपना ओढेर निदाइरहेको थिएँ 
तर उनीहरू 
हिउँजस्ता मौन— ब्रान्टा लियोकप्सिस !
अस्तित्वको चिसो अरण्यमा
कविता बिर्सेका थकित कविहरूझैँ
आँसुको पङ्क्तिमा टाँसिएका थिए
न चारो थियो, न चिर्चिरे निद्रा थियो 
मात्र एक अँध्यारो, एक जोखिमपूर्ण विकल्प:
‘बाँच्नलाई खस्नैपर्छ !’
‘मृत्युको धागोले सिलाएको सपना 
कविताजस्तै बाँच्न थालेको छ !’

सिकारी दृष्टिहरूको जलिरहेको काँचो राँको
र कञ्चन पत्थरहरूले 
आँखा झिम्क्याउँदै
जीवनको घडी हेर्दै थिए ।

शब्द पनि थाके
तर सासको भित्रैबाट फुटेको थियो
एक चुपचाप जङ्ग:
‘मर्ने होइन, बाँच्ने हिम्मतमा हाम्फाल्ने !’

हामी त यहाँ
घडीको सुई ढिलो हुँदा रुन थाल्छौँ,
फोनको नेटवर्क हराउँदा
जिउँदै मृत्यु अनुभूत गर्छौं
तर ती साना साहसी पखेटावालाहरू
हावा र भयबिचको निलो कागजमा
खस्ने गीत लेख्दै जान्छन्   
जहाँ बाँच्नु कविता होइन
क्रान्तिको प्रथम अक्षर हो 
त्यहाँ छ 
दुःखको नमिठो क्यानभास
जहाँ मर्नु एक निस्पृह घडीजस्तै सामान्य हुन्छ
र बाँच्नु 
मौन पृथ्वीको गर्जन ।
(ब्रान्टा लियोकप्सिस एक प्रवासी पक्षी हो, जो उत्तरी एटलान्टिक क्षेत्रका आर्कटिक द्वीपसमूह विशेषतः ग्रिनल्यान्ड, स्पिट्सबेर्गेन र आइसल्यान्डमा पाइन्छ । प्रजननकालमा सिकारीहरूबाट सुरक्षा पाउन यी चराहरूले समुद्रतटीय अग्ला ठाडा चट्टानी पहाडहरूमा गुँड बनाउँछन् । चारो नभए पनि सुरक्षा दृष्टिले यी स्थान उपयुक्त मानिन्छन् । पोथीले २५ दिनसम्म अण्डा सेकेपछि चल्ला फुट्छन् । अण्डा फुटेपछि तीन दिनभित्रै ती चल्लाहरू जो न उड्न सक्छन्, न आत्मरक्षा गर्न; चारोको खोजीमा तल उपत्यकातिर हामफाल्न बाध्य हुन्छन् । उचाइबाट खस्दा धेरै चल्ला चट्टानमा ठोक्किएर घाइते वा मृत हुन्छन्; बाँचेका चल्लाहरूलाई फेरि आर्कटिक फ्याउरा र पोलार भालुजस्ता सिकारीहरूले सिकार गर्छन् । यो जीवनचक्र प्राकृतिक चयनको उत्कृष्ट उदाहरण हो, जसमा चराको प्रजनन रणनीति, जोखिम व्यवस्थापन र जीवनका प्रारम्भिक चरणमै पर्ने तीव्र छनोट दबाब स्पष्ट देखिन्छ ।)
०००
हिउककं सः ले तनाच्वंगु मौन म्हगस
सन्ध्या महर्जन

सलंसः तःजागू थासः 
ईपि पपू चःकंका च्वनी पिं मस्तः
आकाशया तेप्चां क्वहां वया च्वनी बले 
ची ची सलं हाला च्वनी:
“जी वये मफु तः... तर कुटु वने फु !”

मृत्यु फये् मखु,
ल्वहककंतय् तःज्याईगु थःगूहे नां खः
मनं मनं हाला च्वनेगु छगु आघात खः
गु गुया सः नुगलय् छिया च्वनीगु खः ।

जि जुलं
मां या लुमुसे च्वंगु बास्नाय् ग्वःतुला 
दुरूया सपनां फाया धेना च्वना
तर इपिं–
हिउककं थें मौन– ब्रान्टा लियोकप्सिस 
अस्तित्वया ख्वाउककंसे च्वंगू बुई
कविता ल्वः मंपि च्यानु पिं कवि त थें
खव्बी धाःया लय् प्यपुना च्वन ।
न नसा दु, न गुजुं गुजुं च्वंगु न्हयः –
दु
छगु अन्धकार, छगु ग्यानापुगु विकल्प
“म्वया यत कुतुं वने हे मा !”
“मृत्युया आज्ञायं म्वायेगु सपना नं
गुबले गुबले कविता जुया दं वइ !”

सिकारी या मिखाः मिप्वा थें स्वया च्वन
व कञ्चन ल्वहककंपि नं मिखाः ताके याना 
जीवनया घडी स्वया च्वन ।

शब्द पिं च्यानुल
तर सासं न सं प्यावल
छगु सुनसान युद्धः
“सीगु मखु, म्वायेगु आशं कुतुं वनेउ”

जिपिं थन 
घडीया सुई बुलुहुं न्ह्याःवनेवं 
ख्वयेगु सुरू जुइ,
फोनया नेटवर्क तनेवं
म्वाना च्वंसा सीगु अनुभव जुइ ।

तर पुइगुं सानाच्वया बहादुर पपू
फये व भय या बीचय् वचुगु आकासे
कुतुं वनेगु म्ये च्वया वन
गन
म्वायेगु कविता मखु, 
क्रान्तिया न्हापांगु आखः खः ।
अन दु–
दुःखया बाँमलागु क्यान्भास
गन
सीगु छगू सुनानं लिचिके मफुगु सामान्य क्षण खः
व म्वायेगु –
संसार या मौन गर्जन ।
०००
(ब्रान्टा लियोकप्सिस— उत्तरी एटलान्टिक क्षेत्रया आर्कटिक द्वीपसमूह विशेषतः ग्रिनल्यान्ड, स्पिट्सबर्गेन व आइसल्यान्डये दयाच्वंगुं छगु प्रवासी झंगः खः । थुगुं झंगः प्रजननकालय्, शिकारीतपाखें बचय् जुइ तः, समुद्रया सिथगुं तःजागु चट्टानी थाय् छें दयका च्वनी । नेउ नसा मदुसां सुरक्षाया दृष्टिं थायागु थाय् उपयुक्त माने याइ । नीं न्ह्यान्हु तक माँ हें न खें केपुया तय् वं मस्त पिहां वइ । तर, माँ हेंया तौल नीं न्ह्यागु प्रतिशत् कम जुई व तापागु थासं मस्तः यात नकेगु नसा मा वने त किठन परीस्थिती जुइ । खें तःज्यागु स्वनु देका न ब्वये फुपी, न थःगुं आत्मरक्षा या फुपी मस्तः नसा माले तः उपत्यकाय् कुतुं वनेगुं बाध्य जुइ । सलंसः तःजागु थासं कुतुं वने बले यक्कु मस्तः ल्ह्होते  ट्योक्वना घाइते वा सीगु जुइ, म्वा पि मस्तः यात न आर्कटिक ध्व व पोलार भालु पिंस शिकार याइ । थ्व जीवनचक्र “प्राकृतिक चयन”या छगू उत्कृष्ट उदाहरण खः, थुकें झंगःया प्रजनन रणनीति, जोखिम व्यवस्थापन व जीवनया प्रारम्भिक अवस्थाय् तीव्र छनौट दबाव स्पष्ट रुपं क्यनि ।) 
०००
(धापाखेल, ललितपुर)

नेपाल मेरो घर 

– शमूएल कोइराला विश्वकर्मा


धर्ती अमरावती, सगरको माथा बनी बस्छु म ।
कालीका जलमा छु मै पुरुषको गाथा बनी बग्छु म ।।
मेरै हुन् सब शान्तिका रथहरू ती सुन्दरात्मा सब ।
भन्छन् बुद्ध हिमालमा सुर लिई, ‘नेपाल मेरो घर’ ।।
(१)

शिल्पी, ब्राह्मण, लिम्बु जे पनि भनुन् नेपालकै अंश ती ।
नेवारी, मिथिला, किराँत सब हुन् यो देशकै सन्तति ।।
बज्छन् च्याब्रुङ, खैँजडी र पिपरी छन् तालमा मादल ।
सारङ्गी अब बज्छ हर्ष धुनमा ‘नेपाल मेरो घर’ ।।
(२)

माथाको हिमशैल चम्किरहनेछन् नागझैँ टाकुरा ।
झुल्छन् स्वर्ण मधेसको जमिनमा खेली बयेली सदा ।।
जो जो आउँछ रम्छ मुग्ध पनले बिर्सन्छ सारा पिर । 
सानो स्वर्ग छटा समान तल यो ‘नेपाल मेरो घर’ ।।
(३)

गोर्खाली खुकुरी थियो, छ, जहिले योद्धाहरूको गति ।
मेरो यो इतिहास स्वर्णिम कथा लेखिन्छ आशा बनी ।।
आफ्नो प्राण सबै दिए सहिदले नेपालकै खातिर । 
टिष्टा यो अब भन्छ उच्च स्वरमा, ‘नेपाल मेरो घर’ ।। 
(४)

काव्यानन्द बनी उदार मनले भाषा यहाँ बच्द छन् । 
नेपाली जन ‘सत्यमेव जयते’ वेदान्त यो मान्दछन् ।। 
छैनन् मर्नु यहाँ कुनै मुलुकमा यो देश भन्दा पर ।
यौटे वाक चिरेर आउँछ सदा, ‘नेपाल मेरो घर’ ।।
(५)

लालीको रङमा मिलेर सब यो योटै कथा बन्द छन् ।
नेपाली छहरा पहाड गिरि ती ऐश्वर्यका सार छन् ।। 
शालग्राम छ योग वेद सब छन् काव्यादिको उद्भव । 
लोभिन्छन् सब देव आउ न भनी ‘नेपाल मेरो घर’ ।। 
(६)
ऊषा काल हिमाल प्रज्ज्वल हुने पूर्वीय यो भूमिमा ।
फैलिन्छन् अब ज्ञान विश्व भरमा नेपालकै नामका ।।
मेरा कौशल नित्य काल भर छन् संस्कार छन् सुन्दर ।
पाऊँ जन्म सदैव दैव्य तलमा नेपाल मेरो घर ।।
(७)
(धरान–८, भोटेपुल, सुनसरी, कोशी प्रदेश)

जीवनको महक
– सिर्जन अविरल

सम्बन्धको साँघुरो साँघु तरेपछि 
मेटिँदै गएका हत्केलाका बाङ्गाटिङ्गा रेखाहरू हेरेर 
उभिएकी छु, तिमीले एक्लै छोडेर गएको दोबाटोमा 
कुरी बसेकी छु, जीवनको रातो रङ 
देखिरहन्छु इन्द्रेणी सपना 
सुसेल्छु जीवनकै लामो गीत 
सोचिरहेँ
– कुन समय उदायो यो अस्ताउँदै गरेको बुढो घाम ?
– डुबाउनु रैछ दुःखकै तलाउमा 
– कसले लिपेको हो, मनका गह्राहरूमा प्रेमको गीत ?
– दुःख गाउँदै उड्ने जङ्गली चरा किन पसेका हुन् बस्तीमा ?
– समयले किन बजाइरहन्छ दुःखकै अर्केस्ट्रा कमलो छातीमा ?

सोधिरहेँ प्रश्नहरूको जङ्गलबाट
– शीत पोखेर हिउँदको गीत लेख्ने जूनसँग 
– रहर बगाएर लाने नदीको लहरसँग 
– बाँचेजस्तो किरिङमिरिङ सपना देखाइरहने समयसँग 
– दिनहुँ पहाडमा ठोक्किए सपनासँगै डुब्ने पहेँलो घामसँग

मेरो खुसीको ईश्वर कहाँ छ ?
कति पर छ, म हिँड्दै जाने बाटो ?
कहाँ पुगेर देखिन्छ जीवनको ईन्द्रधनुष ?

गोधूलि–साँझमा फर्किएपछि बटुवाहरू यात्राबाट 
कुर्दाकुर्दै नफर्कने तिमीलाई सम्झिएपछि
आँखामा उदाएर आँखामै अस्ताउँछ सपना 
उँधो उँधो बगिरहेको गहिरो नदी हेरेर
नलागेको होइन, बगूँ यही नदीमा दुःखसँगै सलल
– आँखाको चेपबाट कति बग्यो दुःखको नदी ?
– यही नदीमा कति सुनियो दुःखको कथा ?
– पानीको ऐनामा कति पढियो दुःखको अनुहार ?
सायद बगेर नसकिने रहेछ दुःखको नदी । 

वर्षौंदेखि उभिएकी छु, तिमीले छोडेकै ठाउँमा 
हाँगा लाछिएर पनि पलाइरहने रुख रहेछ जीवन 
तिमी गएको निर्जन जङ्गलको बाटोमा 
पठाएकी हुँ एक जोर आँखाहरू 
र, 
उभिएकी छु, तिमीले छोडेकै ठाउँमा 
सपनाहरू छन्, उमेरका पुतलीजस्तै भाग्दै गएका 
चराहरू छन्, रुखको डाली छोडेर उड्दै गरेका
कुहिरोले डम्म छोपेको छ, पहाडको छातीमा 
दुःखमा रहेछ, जीवनको महक 
पर्खाइमा रहेछ, जीवनको सौन्दर्य 
दुःखमै देखिनेरहेछ अनुहारमा खुसीको घाम ।
(चितवन ।) 

तिम्रो गाउँको शून्यता 
तुलसी केसी

तिम्रो गाउँ पुगेँ
जहाँ आँगनहरू खाली थिए
कुनै पनि अगेनोमा आगो बलिरहेको थिएन
र माटोले तिम्रो गन्ध बिर्सिसकेको थियो ।

पाटीपौवा सुतेका थिए
जहाँ कहिल्यै निदाउँदैनथ्यौ तिमी 
बुढो पिपलको फाँटमा बसेर
तिमीले कतै लेखेका थियौ होला
‘म फर्केर आउनेछु !’
तर ती अक्षरहरू 
हिउँसँगै पग्लिइसकेका रहेछन् ।

पँधेरीको पानी शान्त थियो
तर प्रतिविम्बहरू हराइसकेका थिए 
साँझ आउँथ्यो
तर चराहरू फर्किन छाडेका थिए
हावा चल्थ्यो
तर त्यसमा तिमीले भन्ने कथा थिएनन् ।

घरका छानाहरू उस्तै थिए
तर मौनताले भरिएका थिए ।
काठको झ्याल 
चुलोको खरानी
पिँढीमा बिर्सिएको एउटा पुरानो गम्छा
सबै तिम्रो अनुपस्थितिलाई बोकेर बसेका थिए ।

एउटा गाउँ थियो
जहाँ सबैथोक थियो
तर तिमी थिएनौ । 
०००
(त्रिवेणी ७, रुकुम पश्चिम)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप