बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

धान दिवस कि कृषि वा कृषक दिवस ?

अन्नदाता कृषकलाई नमन

आइतबार, १५ असार २०८२, १५ : ३०
आइतबार, १५ असार २०८२

हाम्रो देश नेपाललाई कृषिप्रधान मुलुक भनिन्छ । जनगणना (२०७८) अनुसार नेपालमा रहेको कुल परिवार संख्या (६७ लाख) मध्ये ४१ लाख अर्थात् ६१ प्रतिशतभन्दा बढी परिवारले कृषिलाई मुख्य पेसा बनाएको देखिन्छ । 

विश्वको आँकडा हेर्दा करिब २७ प्रतिशत मानिस कृषि पेसामा आबद्ध देखिन्छन् । कृषि मूल पेसा होस् वा नहोस्, हाल विश्वभरका जुनसुुकै उमेर र पेसा, व्यवसाय अपनाउनेले खाने कृषि उपज नै हो । 

हाम्रो शरीरमा असंख्य कोष रहेका हुन्छन् । अति सूक्ष्म रूपमा रहेका यी कोषबाटै हाड, छाला, मासु, बोसो, रगत बनेको हुन्छ । कोष पाँच प्रकारका छ— अन्नमय कोष, प्राणमय कोष, मनोमय कोष, विज्ञानमय कोष र आनन्दमय कोष । यिनै कोषमा चेतन, अवचेतन तथा अचेतन मनको अनुभूति हुन्छ भनिन्छ । हाम्रो शरीरको अन्नमयकोष भोजनबाट बन्छ । सबै कोषहरूको आपसी तालमेलबाट शरीरमा ऊर्जाको प्रवाह भइरहेको हुन्छ । त्यसै भएर ऋषिहरूको भनाइ अनुसार हाम्रा शास्त्रले अन्नलाई ब्रह्म भनेका छन् । यही ब्रह्मरूपी अन्नको उत्पादन गर्ने भएर किसानलाई पञ्चपितामध्ये एक मानिन्छ । पञ्चपितामा बाबु, गुरु, ससुरा, किसान र राजा अर्थात् राष्ट्रपति वा सरकार प्रमुख पर्छन् । उच्च कदर एवं सम्मान गरेरै किसानलाई बाबु र गुरुकै समकक्षमा राखिएको हो । 

समाज विकासका क्रममा सबैभन्दा पहिला मानिसले अँगालेको पेसा कृषि भनिएको छ । कतिपय काम, कुरा र तौरतरिका कैयौँपटक परिवर्तन भए होलान् तर खानेकुरा अक्सर उही छ । यो अन्न र फलले आँखालाई, त्यो फलले दिमागलाई, यसले पेटलाई र त्यसले, उसले यी–यी अंगलाई मजबुत पार्छन् भनेर हामी पाएसम्म त्यही–त्यही वस्तु खोजीखोजी खान्छौँ । मूल रूपमा होस्, प्रशोधित गरेर होस् वा भण्डारण गरेर होस्, हामीले कृषि उपज नै खाइरहेका हुन्छौँ । यिनै कृषि उपजलाई कच्चा पदार्थ बनाएर खोलिने विभिन्न उत्पादनमूलक उद्योग र व्यापार–व्यवसाय चल्ने हुनाले धेरैले रोजगारी पनि पाएका हुन्छन् । 

नेपालमा उत्पादन गरिने विभिन्न प्रकारका फसलमध्ये धान मुख्य बाली भएकाले २०६१ सालदेखि हरेक वर्ष असार १५ लाई धान दिवसका रूपमा मनाइन्छ । यसै गरी विश्व खाद्य संगठनले पनि सन् १९८१ अक्टोबर १६ लाई विश्वखाद्य दिवस भनेर मनाउने गरेको छ । हामीले उपभोग गर्ने ९५ प्रतिशत खाद्यपदार्थ माटोबाटै प्राप्त हुने हुनाले डिसेम्बर ५ लाई माटो दिवस भनेर पनि मनाइन्छ । 

मानिसले चामल र चामलबाट बन्ने परिकार मात्र खाँदैनन्, अरु कृषि उपज पनि आवश्यक हुन्छ मानिसलाई, त्यसैले यसलाई धान दिवस मात्र भन्नुभन्दा कृषि तथा कृषक दिवस भन्नु उपयुक्त होला ।

नेपालको आँकडा अनुसार कुल कृषि परिवार संख्याको ४१ लाखमध्ये धेरै–थोरै जति भए पनि धानको खेतीमा संलग्न परिवार २७ लाख अर्थात् ६५ प्रतिशत रहेको उल्लेख छ । नेपालमा असार १५ गते धान दिवस भनेर मनाइए पनि वास्तवमा यो दिन कृषि दिवस वा कृषक दिवस नै हो । मानिसले चामल र चामलबाट बन्ने परिकार मात्र खाँदैनन्, अरु कृषि उपज पनि आवश्यक हुन्छ मानिसलाई, त्यसैले यसलाई धान दिवस मात्र भन्नुभन्दा कृषि तथा कृषक दिवस भन्नु उपयुक्त होला । 

हरेक वर्ष असार १५ गते धान दिवस मनाउन सरकारी स्तरबाट विभिन्न स्थानमा कार्यक्रम आयोजना गरिन्छन् । यस दिन कृषि मन्त्रीलाई खेत रोप्ने कार्यक्रममा जान भ्याइनभ्याई हुने गर्छ । त्यो एक दिन रमाइलो मनाउनैका लागि भने पनि गैरकृषि व्यवसायका व्यक्ति पनि हिलोमा रमाएको देखिन्छ । वास्तवमा किसान भनेका हातगोडा, हिलो र मन सफा भएका कमलको फूलजस्तै व्यक्ति हुन् । पानी पर्दा खुसी हुने र खालि खुट्टा हिलोमा गाडेर काम गर्ने किसान वर्ग नै हुन् । हामी त्यही मेहनतले गरेको उब्जाउ खान्छौँ तर कामको कदर कत्तिको गर्ने गरेका छौँ, सोच्नुपर्छ । 

पुर्ख्र्यौलीदेखि खेतीपाती गरिरहने किसानलाई आफ्नो मेहनतको आर्थिक मूल्यको पनि ख्याल हुँदैन । बाबुआमाले कृषि कार्य गर्छन् भने तिनका बालबच्चाको समेत कुनै न कुनै तरिकाले संलग्नता देखिन्छ । अन्य पेसा व्यवसाय भएका अविभावकका छोराछोरीलाई पनि अन्न र फलफूलको महत्त्व बुझाउन जरुरी छ । किसान, धान, धान दिवसजस्ता शब्द किताबमा पढेर मात्र किसान, अन्न र फलप्रति मनमा श्रद्घा अर्थात् सम्मान जन्मिन सक्दैन । नेपालको सन्दर्भमा हेर्दा जुनसुकै पेसा–व्यवसाय अपनाएका र हाल जुन आर्थिक वर्गमा परे पनि प्रायजसोका बाबुबाजे कृषक नै थिए भन्ने लाग्छ । हाल आएर विज्ञान प्रविधिले पेसा व्यवसायमा परिवर्तन भए पनि दैनिक उपभोग गरिने खाद्यान्न फेरिएको छैन । २०३२/३३ सालसम्म नेपाल धान निर्यात गर्ने देश थियो । हाल आएर त्यो स्थितिमा भने परिवर्तन आएको छ । कृषिप्रधान मुलुक भएर पनि खाद्यान्न आयात गर्नुपर्ने विडम्बना रहेको छ ।

स्कुल पढ्ने केटाकेटीलाई विभिन्न फसलका बारेमा बुझाउने कुरामा जापानको पाठ्यक्रम अग्रणी देखिन्छ । किसानलाई स्रोतव्यक्ति बनाएर सम्बन्धित फिल्डमा विद्यार्थी लगेर उनीहरूको काम देखाउने र गर्न समेत लगाउने गर्दा रहेछन् । जापानका हरेक व्यक्तिको थालमा खाना राखेपछि अनुग्रह व्यक्त गरेर मात्र ग्रहण गर्ने अथवा खाने चलन रहेको देखियो । यसरी सबैले कृषि र कृषकलाई सम्मान गर्नु भनेको आफ्नो स्रोतलाई स्मरण गरिरहनु हो । अब नेपालमा पनि सबै तहका स्कुलले खेती लगाउने र भित्र्याउने समयमा केटाकेटीलाई खेतबारीमा पुर्‍याउनुपर्छ ।

जसले गर्दा बालबच्चाले सानै उमेरदेखि किसानले उत्पादन गर्ने अन्न, फलफूल आदि खानेकुराको महत्त्व बुझेर सम्मान गर्न सिकुन् । सबै पेसा, व्यवसायप्रति हामी अनुग्रहित हुनैपर्छ । त्यसमाथि पनि कृषकको स्थान उच्च छ, उनीहरूप्रति अन्तर हृदयले नमन गरौँ । 

(लेखक जीवन विज्ञान प्रतिष्ठानमा प्रशिक्षक छन् ।)
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सूर्यवदना घिमिरे पण्डित
सूर्यवदना घिमिरे पण्डित
लेखकबाट थप