कहालीलाग्दो सडक दुर्घटना : ११ वर्षमा २३ हजारको मृत्यु
काठमाडौँ । पछिल्लो ११ वर्षमा सडक दुर्घटनामा परेर २३ हजारभन्दा बढीले ज्यान गुमाइसके । प्रहरी तथ्याङ्कको यो कहालीलाग्दो दर हरेक वर्ष बढिरहेको छ, तर न्यूनीकरणका लागि सरकारी प्रयास निकै फितलो साबित भइरहेको छ ।
प्रहरीको रिपोर्टले देखाएअनुसार अधिकांश दुर्घटना तीव्र गतिकै कारण छन् । यसबाहेक चालकको लापरबाही, ओभरटेक, सवारीको खराब अवस्था र सडकको दुर्दशा पनि कारण बनिरहेका छन् ।
एक वर्षअघि चितवनको सिमलतालमा भएको दर्दनाक दुर्घटना यस्तै एउटा उदाहरण हो । जहाँ राजमार्गभन्दा माथि कमजोर तरिकाले बनाइएको सडक नै दुर्घटनाको प्रमुख कारण बनेको प्रतिवेदन नै बनेको थियो । जसका कारण पहिरोले दुई वटा बस त्रिशूलीमा बेपत्ता भए । उक्त दुई बस दुर्घटनामा ४० यात्रु अझै बेपत्ता छन् । २५ जनाको शव भेटिएको थियो ।

फेरि पनि मनसुन सुरु भइसकेको छ र वर्षायाममा यस्ता दुर्घटना बढ्ने उस्तै जोखिम बढिरहेको छ । वर्षामा चिप्लो सडक, बाढी र पहिरो त दुर्घटनाका कारण छँदै छन् । तर के सडक दुर्घटनाका यी मात्रै पर्याप्त कारण हुन् त ? नेपालमा भएका ठुला खालका सडक दुर्घटनापछि बनाइएका प्रतिवेदनले के भन्छन् ? आउनुस् नेपालमा भएका सडक दुर्घटना र त्यसका कारण र समाधानका उपायबारे यहाँ चर्चा गरौँ ।
नेपाली सडक दुर्घटनामा भयानक र डरलाग्दो मानिने ‘सिमलताल दुर्घटना’को एक वर्ष पुग्न लाग्यो । २०८१ असार २८ गते बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स र बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स त्रिशूलीमा खसेर बेपत्ता भए । बसमा सवार ४० यात्रु कहाँ छन् अझै अत्तोपत्तो छैन । २५ जनाको भने शव निकालिएको थियो । तर दुवै बस अझै भेटिएनन् ।
चितवनको भरतपुर महानगरपालिका–२९ स्थित उक्त दुर्घटनाको कारण पत्ता लगाउन बनाइएको कार्यदलले २०८१ साउन २२ गते अनुसन्धान प्रतिवेदन बुझाएको थियो । सहसचिव छवि रिजाल नेतृत्वको कार्यदलले उक्त दुर्घटनाको मुख्य कारण सिमलतालमाथि पहाडी क्षेत्रमा बनाइएको सिमलताल–बाङ्गेसाल–डुम्रेगाउँ सडक नै भएको ठहर्यायो । जुन सडक बनाउँदा भएको कमजोरीले पहिरो जाँदा दुई बस त्रिशूलीमा खसेको निष्कर्ष कार्यदलले निकालेको थियो ।
उक्त कार्यदलको निष्कर्षले कमजोर भूगोल, अत्यधिक क्रस स्लोप र इन्जिनियरिङ डिजाइनविनाका सडक भनेको छ ।
प्रतिवेदन उल्लेख छ – सडक बनाउँदा कट एन्ड फिल एप्रोचमा काम नगरेर कटिङबाट मात्र सडक बनाउँदा अत्यधिक निस्केको माटो छेउमा फ्याँकिएको र टेवा पर्खाल नहुँदा डेब्रिज सिन्दुरे खोल्सा हुँदै बगेको देखिन्छ ।
बगेको डेब्रिजको प्रेसर चेकड्याम र ग्याबिन वालले धान्न नसकेपछि बाढीसँगै आएको लेदो, गेग्रान र डेब्रिजले सडक क्रस गर्दै गरेका दुई वटा बस धकेलेर त्रिशूलीमा खसालेको कार्यदलको निष्कर्ष छ ।
राजमार्गभन्दा माथि सडक खन्दा वातावरणीय पक्षलाई ध्यान नदिँदा र सडक सुरक्षासम्बन्धी एकीकृत सूचना प्रणालीको विकास नहुँदा वर्षाको समयमा दुर्घटना बढ्ने गरेको छ । रिजाल नेतृत्वको कार्यदलले पनि सो तथ्यलाई आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।
सिमतालबाट के पाठ सिक्यो सरकारले ?
कार्यदलले औँल्याएको त्रुटिलाई आधार मानेर यसपटकको वर्षामा दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक प्रहरीले मुग्लिङ–नारायणगढ सडक माथिको ढुङ्गा र गेग्रान हटाएको छ । सडकमा सवारी रोकेर सडकमाथि अड्किएका ढुङ्गा र गेग्रान हटाइएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय चितवन, रामनगरका एसपी नरेश सुवेदी बताउँछन् । ‘वर्षामा पानीको कारण अड्किएर बसेको ढुङ्गा र गेग्रान खसेर दुर्घटना नहोस् भन्ने उद्देश्यले सडकमाथिको फोहोर यसपटक सफा गरेका छौँ,’ उनी सविस्तार बताउँछन् ।
मुग्लिङ–नारायणगढ खण्ड, पृथ्वी राजमार्ग र बीपी राजमार्गसहित देशभरका सडकमा दुर्घटना बर्सेनि बढिरहेको छ । पछिल्लो ११ वर्षको तथ्याङ्कले नै भन्छ सडक दुर्घटना भयावह छ । २०७१ साउनदेखि हालसम्म सडक दुर्घटनामा २३ हजार ६ सय ८८ ले ज्यान गुमाइसकेका प्रहरी प्रधान कार्यालयको तथ्याङ्कमा देखिन्छ ।
जहाँ दुर्घटनापछिको अवस्था त उल्लेख छैन, तर अनुमान गर्न सकिन्छ, बाँचेकाहरूको जिन्दगी कस्तो होला ?
- यस्तो छ दुर्घटनाको तथ्याङ्क :

स्रोत : प्रहरी प्रधान कार्यालय
बझाङको केदारस्युँ गाउँपालिकामा २०८० असार ५ मा जिप दुर्घटनामा परेर सुदूरपश्चिम प्रदेशका तत्कालीन आन्तरिक मामिलामन्त्री पृथ्वीबहादुर सिंहकै निधन भयो । आर्थिक वर्ष २०७९/०८० मा मन्त्री सिंहजस्तै सडक दुर्घटनामा २ हजार ३ सय ६८ जनाले ज्यान गुमाएका थिए । त्यस आवमा ३७ हजार ३ सय ९२ वटा दुर्घटनामा ५ हजार ७ सय ३८ जना घाइते भएका थिए ।
प्रहरी प्रधान कार्यालयको तथ्याङ्कले सडक दुर्घटनाको वार्षिक अवस्था भयानक भनिरहँदा सरकारका निकायहरू भने न्यूनीकरणको सामान्य प्रयासबाट पनि टाढै देखिएका छन् ।
२०७८/०७९ मा देशभर ३९ हजार ३ सय ७९ वटा सवारी–साधन दुर्घटना भएका थिए । उक्त आवमा २ हजार ८ सय ८३ जनाले सडक दुर्घटनामा ज्यान गुमाए ।
त्यस्तै २०८०/०८१ मा २२ हजार ९ सय २७ वटा सडक दुर्घटना भए, जहाँ १ हजार ९८५ जनाको मृत्यु भएको थियो । यसैगरी २०७५/०७६ मा सडक दुर्घटनामा ४ सय ७७ जनाले ज्यान गुमाए । चालु आर्थिक वर्षको जेठसम्म नै २ हजार २ सय ८९ जनाले ज्यान गुमाइसकेका प्रहरीको तथ्याङ्कले बताएको छ ।
यसरी सडक दुर्घटनाबाट हुने मृत्यु र घाइते हुनेहरूको दर बर्सेनि बढ्दै गइरहेको छ ।

- यो वर्ष मनसुनमा के होला ?
सरकारले सडक दुर्घटना न्यूनीकरणको प्रयासमा अपेक्षाकृत उपलब्धि हासिल गर्न नसक्दा यो वर्षको मनसुन पनि डरैडरमा छ । भलै मध्य असार सकिँदा पनि प्राकृतिक विपत्तिको कहालीलाग्दो सिमलतालजस्तो दुर्घटना भोग्नुपरेको छैन । तर उही बेहाल सडक, उही नसुधारिएको अवस्था रहिरहँदा सडक दुर्घटनाको जोखिम न्यूनीकरणका उपाय भने चाँडै खोज्नुपर्ने सडक सुरक्षासम्बन्धी जानकार आशिष गजुरेल बताउँछन् ।
र सडक दुर्घटनाका हुनुका मुख्य चार वटा कारण भएकाले वेलैमा यसप्रति सजग हुनुपर्ने उनी सुझाउँछन् । ती हुन्– असुरक्षित सडक, प्रयोगकर्ताको लापरबाही, अवस्था ठिक नभएका सवारी र नियामक निकायले सडक अनुशासन पालना गराउन नसक्नु । भन्छन्, ‘असुरक्षित सडक र वर्षामा चिप्लो हुँदा थप दुर्घटना हुन्छ, सडकमा ढुङ्गा र पहिरो खसेका कारण पनि वर्षायाममा धेरै दुर्घटना हुन्छ ।’

- प्रहरी रिपोर्ट : तीव्र गतिले धेरै दुर्घटना
प्रहरीको तथ्याङ्कले सडक दुर्घटनाको पहिलो कारण तीव्र गति मानेको छ । चालक निदाउने, ट्राफिक नियम उल्लङ्घन, ओभरटेक, मापसे पनि दुर्घटनाका कारक प्रहरीले मान्ने गरेको छ । यसबाहेक बेलाबखत मौसमी र सडकको अवस्था पनि मुख्य कारण मानिएको छ ।
त्यसबाहेक सवारीको यान्त्रिक गडबडी, ओभरलोड, चौपाया पनि दुर्घटनाका कारण बनिरहेका प्रहरीको हरेक वर्षको प्रतिवेदनमा उल्लेख छ ।
जसमध्ये तीव्र गतिकै कारण आर्थिक वर्ष २०८०/०८१ मा १० हजार ४ सय ३३ वटा दुर्घटना भएका देखिएको छ । तीव्र गतिकै कारण २०७९/०८० मा पनि १० हजार ८ सय १७ दुर्घटना भएका प्रहरी प्रधान कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
- यस्तो छ तीव्र गतिको तथ्याङ्क
स्रोत : प्रहरी प्रधान कार्यालय
प्रहरीको तथ्याङ्कले मौसमका कारण आर्थिक वर्ष २०७१/०७२ मा १९ वटा दुर्घटना भएको उल्लेख गरेको छ । त्यस्तै २०७२/०७३ मा १४ वटा, २०७३/०७४ मा १५ वटा, २०७४/०७५ मा १५ वटा, २०७५/०७६ मा २७ वटा, २०७६/०७७ मा ४३ वटा दुर्घटना मौसमकै कारण भएको भनिएको छ । मौसमको कारण अर्थात् हुस्सु कुहिरो, आँधीबेहरी, वर्षा, बाढी र पहिरो ।
यसमा पनि २०७७/०७८ मा हुस्सु कुहिरोबाट २४, आँधीबेहरीका कारण २ वटा, वर्षाको कारण ३४ वटा, बाढीका कारण दुई वटा र पहिरोका कारण २१ वटा दुर्घटना भएका उल्लेख छ ।
२०७८/०७९ मा पनि हुस्सुको कारण १९ वटा सवारी दुर्घटना भएका देखाइएको छ । जहाँ उक्त आवमा आँधीबेहरीका कारण ५, वर्षाका कारण २३, बाढी र पहिरोका कारण ११ दुर्घटना भएका प्रहरी प्रधान कार्यालयले जनाएको छ । २०७९/०८० मा भने मौसमका कारण ५० वटा दुर्घटना भएका थिए ।
२०८०/०८१ मा हुस्सुबाट १५,आँधीबेहरीबाट ३, वर्षाबाट २८, बाढीको कारण ६ र पहिरोको कारण ७ वटा दुर्घटना भएको प्रहरीले जनाएको छ । आर्थिक वर्ष २०८१/०८२ मा भने मौसमकै कारण १ सय १५ वटा सडक दुर्घटना भएका प्रहरी बताउँछ । यही वर्ष सडकको अवस्थाले ५ सय १३ दुर्घटना भएका उल्लेख छ ।
चालु आर्थिक वर्षमा भने ओभरटेकका कारण मात्र ८ सय ४९ दुर्घटना भएका प्रहरी प्रवक्ता (डीआईजी) विनोद घिमिरे बताउँछन् ।

- उपत्यकामा ११ महिनामा १ सय ६९ जनाको मृत्यु
काठमाडौँ उपत्यकामा चालु आर्थिक वर्षको जेठ मसान्तसम्म १ सय ६९ जनाको निधन भइसकेको छ । जहाँ २ सय ४६ जना गम्भीर घाइते भएका छन् । यो मृत्यु र घाइते गराउने चालु आर्थिक वर्षको यो जेठ मसान्तसम्म ६ हजार ४ सय १२ वटा दुर्घटना भइसकेका छन् ।
पछिल्लो ११ महिनामा काठमाडौँ उपत्यकामा मात्र ओभरटेककै कारण ५१ दुर्घटना भएका प्रहरीको प्रतिवेदनमा उल्लेख छ ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कले तीव्र गतिकै कारण चालु आर्थिक वर्षमा १ हजार ३ सय ७५ दुर्घटना भएका छन् । २०८१ साउनपछि उपत्यकामा चालकका कारण ४ हजार २ सय ४१ दुर्घटना भएका उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी दीपक गिरी बताउँछन् । ‘यस अवधिमा सवारी अवस्थाका कारण १ सय ३३ वटा दुर्घटना भएका छन्,’ उनी कहालीलाग्दो अवस्था सुनाउँछन् ।
यसैगरी ओभर स्पिड, रफ ड्राइभिङ, सवारी कन्डिसनमा नराखेका कारण र ओभरलोडका कारण धेरै दुर्घटना हुने गरेको एसपी गिरी बताउँछन् । ‘फोनमा कुरा गर्दै चलाउने र सिट बेल्ट नलगाएर गाडी चलाउने प्रवृत्ति धेरै देखिन्छ,’ उनी अवस्थाबारे बताउँछन् । यसका लागि रातो बत्तीमा सवारी चलाउनेहरू, लेन क्रस, स्पिड र मापसे गरेर सवारी चलाउनेहरूलाई ट्राफिक प्रहरीले निरन्तर कक्षा दिने गरेको पनि उनी बताउँछन् ।
- सडक दुर्घटना रोक्न प्रहरीको अभियान
उपत्यकामा १५ लाख मोटरसाइकल र स्कुटर चल्छन् । सवारी दुर्घटना न्यूनीकरण गर्न चालकलाई सचेत गराउन ‘दुईपाङ्ग्रेसँग दुई मिनेट’ भनेर अभियान नै चलाइको एसपी गिरी सुनाउँछन् । भन्छन्, ‘यातायात मजदुरको संगठनहरूसँग समन्वय गरेर चालक र सहचालकलाई सचेतनामूलक कक्षा पनि सञ्चालन गरेका छौँ ।’
यस्तै वर्षायाममा दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले उपत्यका ट्राफिकले मौसम पूर्वसूचना दिन १२ ठाउँमा सहायता कक्ष राखेको छ । उपत्यका बाहिरिने सवारीलाई मौसम र सडकको अवस्थाबारे जानकारी दिन सहायता कक्ष पनि राखिएको एसपी गिरीले जानकारी दिए ।
राज्यले चालकलाई व्यापक सचेतना कार्यक्रममा नचलाउँदा बर्सेनि दुर्घटना बढ्दो छ । यसबारे ट्राफिक प्रहरीका पूर्वइन्स्पेक्टर सीताराम हाछेथु भन्छन्, ‘सचेतना कार्यक्रम व्यापक हुन सकेको छैन, चालकमा ट्राफिक नियम पालना गर्नुपर्छ भन्ने भावना पनि विकास गराउन नसक्दा दुर्घटना न्यूनीकरण हुन सकेको छैन ।’
सार्वजनिक सवारीको यान्त्रिक परीक्षण नहुँदा पनि दुर्घटना दैनिक बढ्दै छन् । पुराना गाडीहरू चलिरहेका छन् । ठुला दुर्घटना भएपछि जाँचबुझ आयोग गठन गर्ने र प्रतिवेदन बुझेर घर्रामा थन्क्याएर बस्ने सरकारी शैली नयाँ होइन । तत्काल उद्धार संयन्त्र नहुँदा पनि दुर्घटनामा परेकाहरू मृत्युबोध गर्न बाध्य भइरहेका छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण