‘दुर्घटना न्यूनीकरण गर्न स्थानीय सरकारलाई जिम्मेवार बनाउनुपर्छ’
सारांश
- ट्राफिक व्यवस्थापन विज्ञ सीताराम हाछेथुसँगको कुराकानीमा दुर्घटनाका कारण र समाधानबारे छलफल गरिएको छ।
- दुर्घटनाको मुख्य कारण चालकको लापरबाही, सडकको अवस्था र ट्राफिक नियमको पालना नहुनु रहेको हाछेथुको भनाइ छ।
- स्थानीय निकायलाई जिम्मेवार बनाउँदै सडक दुर्घटना न्यूनीकरणका लागि विभिन्न उपायहरू अपनाउनुपर्ने कुरा बताइएको छ।
काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनमा २९ वर्ष काम गरेका सीताराम हाछेथु अवकाशप्राप्त प्रहरी निरीक्षक हुन् । ट्राफिक व्यवस्थापनमा विज्ञ भनेर चिनिएका उनी अहिले ललितपुर महानगर प्रहरी बलको प्रमुखका रूपमा कार्यरत छन् । उनको आफ्नो करिअरमा एउटा भनाइ चर्चित थियो, ‘जहाँ जाम, त्यहाँ सीताराम ।’
मनसुन सुरु भएसँगै बढ्ने दुर्घटना र न्यूनीकरणका उपायबारे हाछेथुसँग रातोपाटीकर्मी राजेश भण्डारीले गरेको कुराकानीको सम्पादित अंश :
- दुर्घटना हरेक वर्ष बढ्छ, सधैँ दुर्घटना बढिरहने, न्यूनीकरणको उपाय केही पनि अवलम्बन नहुने अवस्था छ, यसरी दुर्घटना बढिरहनुको कारण के हो ?
दुर्घटना हुनुका कारण धेरै छन् । चालकको लापरबाही, सडकको अवस्था, गाडीको अवस्था, ट्राफिक नियमको कुरा, ट्राफिक प्रहरीको कुरा सबै यसमा आउँछ । एउटालाई मात्रै दोष दिनु हुन्न । तर, हामी यहाँ दुर्घटना भएपछि सवारी चालकलाई मात्रै दोष दिन्छौँ । विद्यार्थी फेल भएमा शिक्षकलाई मात्र दोष दिनु हुँदैन । पढाइ नराम्रो हुनुमा विभिन्न फ्याक्टरले काम गरेको हुन्छ ।
त्यस्तै, सवारी दुर्घटना हुनासाथ चालकलाई कारबाही गरिरहेका छौँ । बाटो काट्ने मान्छेले नियम पालना गरेको छैन, उसलाई कहिल्यै दोष दिँदैनौँ । पैदलयात्रुको गल्ती कहिल्यै देखाइँदैन । सडकमा पैदलयात्रुले गर्दा दुर्घटना भएको देखिन्छ । तर, दोष चालकलाई ? अर्को कुरा, ट्राफिक प्रहरी देखेपछि मात्र ट्राफिक नियम पालना गर्ने कुरा जुन मनसाय छ, त्यो हामीले चेन्ज गर्नैपर्छ । त्यो चेन्ज गर्नलाई के गर्नुपर्ला भने बच्चादेखि ट्राफिक नियम पढाउनुपर्छ ।
तीव्र गति र सवारी चालकको लापरबाही भन्ने सजिलो उत्तर हो । तीव्र गति भनेर हामीले कतिसम्मलाई तीव्र भन्ने ?
मापसे गरेकाहरू ट्राफिकको ज्याकेट देख्नासाथ अर्को बाटो प्रयोग गर्छन् । मापसे गर्नेहरूलाई दुर्घटनाको भन्दा ट्राफिक प्रहरीले लाइसेन्स समात्ला भन्ने डर हुन्छ ।
बसमा भीड भएको देखेपछि म चढ्नु हुँदैन भन्ने यात्रुले पनि ख्याल गर्नुपर्छ । ओभरलोड भएको गाडीमा नचढेर सतर्क भए दुर्घटनाबाट बच्न सकिन्छ । चालकलाई मात्र दोष दिनुभन्दा दुर्घटना हुनाका कारणबारे सरकारले मूल्याङ्कन गर्नुपर्छ । दुर्घटना रोक्ने जिम्मेवारी ट्राफिकलाई मात्रै पन्छाएर हुँदैन, ट्राफिक पुलिसले त सिठी बजाउने, गल्ती भेटे जरिवाना गर्ने मात्रै हो ।

- ११ वर्षयताको दुर्घटनाको तथ्याङ्कमा प्रहरीको विश्लेषणअनुसार अधिकांश दुर्घटना तीव्र गति र चालकको लापरबाहीबाट हुने गरेको देखिन्छ । तीव्र गति र चालकको लापरबाहीले मात्रै दुर्घटना हुने हो ?
होइन, तीव्र गति र सवारी चालकको लापरबाही भन्ने सजिलो उत्तर हो । तीव्र गति भनेर हामीले कतिसम्मलाई तीव्र भन्ने ? राति ८० स्पिड हाँक्दा चुप लागेका छौँ, जाम हुँदा प्रतिघण्टा २० किलोमिटर हाँक्नुपर्ने अवस्था छ । त्यो बाटो कति स्पिडमा हाँक्न पाउने भन्ने कुरा कहाँ छ त ? चक्रपथमा दिउँसो ट्राफिक पुलिसले ड्युटी गर्दासम्म ५० भन्दा धेरै हाँकेमा कारबाही गर्ने र राति सडक खाली हुँदा त्यहाँ ९० स्पिडमा हाँक्दा पनि केही हुँदैन । सरकारले तीव्र गतिको मापदण्ड तयार गर्नुपर्छ । विदेशमा रोडको क्षमताअनुसार १३० सम्म हाँक्न सकिन्छ ।
नियम कडा बनाएर चेक गर्दा नियम उल्लङ्घन गरेको भेटिए १० हजार, ५ हजार जरिवानाको सिस्टम पनि ल्याउनुपर्छ ।
हाम्रोमा यो–यो सडकमा यति स्पिडभन्दा हाँक्न पाइन्न भनेर क्लियर गर्नुपर्यो । दिउँसो, राति र पिक आवर छुट्ट्याएर तोक्नुपर्यो । हाम्रोमा रातको समयमा स्पिड कन्ट्रोल गर्ने निकाय नै छैन । अनि, दुर्घटनापछि बन्ने समितिले भन्छ, ‘दुर्घटनाको कारण तीव्र गति ?’
- छानबिन प्रतिवेदन र प्रहरीको रिपोर्ट हचुवाको भरमा आइरहेको छ त ?
तीव्र गति केलाई भन्ने ? सवारी चालकको लापरबाही कसलाई भन्ने ? कोही ड्राइभर सा’बले दुर्घटना गराउँछु भनेर चलाउँछ र ? मापसे गरेर चलाउँदा वा गलत दिशाबाट गएमा लापरबाही भनिन्छ तर, सही दिशामा जाँदा हिलोमा परेर सवारी पल्टिँदा लापरबाही कसरी हुन्छ ? कहाँ–कहाँको रोडमा तीव्र गति चलाउन नपाइने भनेर तोक्नुपर्यो । चक्रपथमा ५० लेखिएको छ, बजार क्षेत्रमा २५ भन्छ, त्यति हो त ?
नियम कडा बनाएर चेक गर्दा नियम उल्लङ्घन गरेको भेटिए १० हजार, ५ हजार जरिवानाको सिस्टम पनि ल्याउनुपर्छ ।
एउटा बसमा ३०–४० जना मान्छे लिएर चालक हिँड्छ । उसको दिमागमा हुन्छ, ‘भोलि बिहान यति बजे पुग्नुपर्छ ।’ उसको दिमागमा रात्रिबस चलाएर बिहान गन्तव्यमा पुग्नुपर्छ भन्ने हुन्छ । लामो दूरीमा टाइम कार्ड पनि लागू गरिएको थियो तर, सफल भएन ।
स्पिड कम गर्न प्रतिघण्टा ६० भन्दा पनि बढी हाँक्न नपाउने गरी गाडीमै कन्ट्रोल रुम राख्नुपर्यो । मेरो गाडीमा मैले ६० भन्दा धेरै जान नमिल्ने सिस्टम बनाएको छु । भाडाका गाडीहरूमा पनि यो सिस्टम राख्नुपर्छ । मापसे गरेपछि चलाउनै नमिल्ने सिस्टम गाडीमा नै जडान गर्न सकेमा चेकजाँच गर्नै पर्दैन ।
अहिले बजारमा आएका ईभी गाडीहरू दुर्घटना भएमा सबै यात्रुहरूको मृत्यु हुने अवस्थाको छ । ईभी गाडीहरूको सुरक्षा सिस्टम कमजोर छ ।
दुई वटा कुरा, सचेतना अभियान हुनुपर्यो । अहिले सबै पढेका छन् । अनि, यातायात क्षेत्रलाई प्रविधिमैत्री बनाउनुपर्छ । यहाँ त चालकले गल्ती गर्छ तर, जरिवाना गाडी साहुले तिरेको अवस्था छ । यातायात समिति र युनियनहरूले जरिवाना तिर्ने र प्रशासनिक डिल गर्ने भएपछि चालकहरू पनि जिम्मेवारीबाट पन्छिने गरेका छन् । गल्ती जसले गरेको हो, उसैलाई सजाय दिनुपर्छ । सडकको अवस्थाको कारण दुर्घटना भएको छ भने, चालकले सजाय पाउनु हुँदैन । गाडीको अवस्था कमजोर भएर, बाटो बिग्रेर, खाल्डोमा गाडी परेर दुर्घटना हुँदा पनि सवारी चालकले लापरबाही गरेको भन्न मिल्दैन । गाडीको अवस्था कमजोर हुनुमा गाडी धनीको दोष हुँदैन ?
अहिले बजारमा आएका ईभी गाडीहरू दुर्घटना भएमा सबै यात्रुहरूको मृत्यु हुने अवस्थाको छ । ईभी गाडीहरूको सुरक्षा सिस्टम कमजोर छ । धेरै वेट भएमा ब्याट्रीले थाम्न सक्दैन भनेर कमजोर सामग्री फिट गरेर बनाइएको हुनाले सरकारले ईभी गाडीबारे अहिले नै नसोचेमा दुर्घटना हुँदा धेरै क्षति हुन्छ । ईभी गाडीको लागि गति र रुटबारे छुट्टै नीति ल्याउनुपर्ने देखिन्छ । ईभी गाडी दुर्घटना भएपछि सबै ध्वस्त हुने र क्रेन नै ल्याउनुपर्ने अवस्था छ ।

- यो बर्खा याममा धेरै दुर्घटना भएको समाचार हामी सुन्छौँ, बर्खामा दुर्घटना बढ्नुको कारण के हो ?
बर्खामा धेरै दुर्घटना हुनुको कारण बाटोको समस्या । बाटोको अवस्था र सवारी चालकको अवस्थाले पनि पानी पर्ने मौसममा धेरै दुर्घटना भएको म देख्छु । गाडीमा फोर–ह्विल हुन्न । उकालो, ओरालो सडकमा खिइएको टायरको कारण चिप्लो हुन्छ ।
पहिरो गएर सडकमा हिलो झरेको हुन्छ, त्यसकारण बाटो चिप्लो हुन्छ । मोटरसाइकल दुईवटा चक्का मात्रै भएको कारणले चिप्लिएर धेरै दुर्घटना हुन्छ । साइड दिँदा वा जम्काभेट हुँदा अर्को सवारीलाई बचाउन खोज्दा बस नै खोलामा खस्ने गरेको देखिन्छ ।
हाम्रोमा सडकको अवस्था कस्तो छ भनेर चेकजाँच गर्ने निकाय नै छैन । दुर्घटना नभएसम्म बाटो ठिक छ भन्ने हुन्छ । दुर्घटना भएपछि बल्ल बाटो खराब रहेछ भनेर राज्यका निकायले थाहा पाउने परिपाटी छ । सडकमा बाढी, पहिरो र हिलो सबै पसिरहेको हुन्छ । इन्जिनियरहरूले यो बाटो प्रयोग गर्नुहुन्न भनेर हल्लाखल्ला गर्नुपर्छ ।
मुख्य सहरमा ट्राफिक प्रहरीको सङ्ख्या धेरै छ । जहाँ दुर्घटना भएर क्षति धेरै हुन्छ, ती ठाउँमा ट्राफिक हुँदैन ।
डोजरले माटो पन्छाउँदै गाडीहरू पास हुँदै गरेको अवस्था बर्खाभरि देखिन्छ । बाटो खराब भएर दुर्घटना भयो भनेर सडक विभागले कहिल्यै जिम्मेवारी लिएको देखिएको छैन । जिम्मेवारी कसैले लिनेवाला पनि छैन । अनि, गाडीको अवस्था ठिक नभएर दुर्घटना भो, ब्रेक फेल भो, ब्रेक नभएर टायरले खत्तम भो र चालकले स्टेरिङ काट्न सकेन भनिन्छ । गाडीको अवस्था ठिक नभएर दुर्घटना भएको भनेर हामीले गाडीधनीलाई कारबाहीको दायरामा ल्याउन सकेका छैनौँ ।
मुख्य सहरमा ट्राफिक प्रहरीको सङ्ख्या धेरै छ । जहाँ दुर्घटना भएर क्षति धेरै हुन्छ, ती ठाउँमा ट्राफिक हुँदैन । अनि, दुर्घटना भएको एक घण्टापछि थाहा हुन्छ, उद्धारकर्मी पुग्दा मानवीय क्षति भइसक्छ । त्यसैले सम्भावित दुर्घटनास्थल पहिचान गरेर सुरक्षात्मक उपाय अवलम्बन गर्नुपर्छ, जनशक्ति खटाउनुपर्छ ।
अब सबैभन्दा राम्रो पक्ष के हुन्छ भने, दुर्घटनामा स्थानीय सरकारलाई जिम्मेवार बनाउनुपर्छ । किनभने, स्थानीय सरकारका मेयर, उपमेयर, वडा अध्यक्ष र सदस्यहरूलाई सडकको अवस्था थाहा हुन्छ । पाँच वर्षसम्म पदमा रहँदा उहाँहरूलाई आफ्नो क्षेत्रको सडकको लम्बाइ, चौडाइ सबै थाहा हुन्छ । उहाँहरूले दुर्घटना न्यूनीकरणबारे प्लानिङ गर्नुपर्छ ।
- स्थानीय निकायलाई जिम्मेवार बनाएर चाहिँ सडक दुर्घटना न्यूनीकरण गर्न सकिन्छ ?
स्थानीय निकायलाई जिम्मेवारी दिनुपर्छ । उसलाई स्रोतसाधन र समन्वय गर्ने अधिकार पनि दिनुपर्छ । त्यहाँको ट्राफिक प्रहरी, सडक विभाग सबैसँग समन्वय गरेर उसले प्लानिङ गर्न सकोस् । आफ्नो पालिका क्षेत्रमा दुर्घटना भएमा त्यहाँका जनप्रतिनिधिलाई जिम्मेवार बनाउनुपर्छ । अहिले कुनै ठाउँमा दुर्घटना भयो भने त्यहाँको मेयर–उपमेयरलाई कहिल्यै दोषी ठहराइएन । त्यहाँको वडा अध्यक्षलाई कहिल्यै पनि दोषी ठहराइएन । अब, स्थानीय निकायलाई जिम्मेवारी दिनुपर्ने अवस्था आयो ।
- नेपालको जस्तो पहाडी भूभागको बाटो छ, फुटपाथ छैन, सहरी क्षेत्रमा पनि साँघुरा सडकहरू छन् । यस्तो ठाउँमा सडक दुर्घटना न्यूनीकरण गर्न स्थानीय निकायलाई जिम्मेवार बनाउनुपर्छ भन्नुभयो । न्यूनीकरणका लागि त्योबाहेक अरू के–के गर्न सकिन्छ ?
सडकमा खाल्डोमा पसेर गाडी दुर्घटना हुन्छ, त्यसलाई पुर्न नसक्दा दुर्घटना हुन्छ । त्यहाँ ट्राफिक प्रहरी खटाएर, लाइट वा कोन राखेर न्यूनीकरणको उपाय अपनाउन सकिन्छ । मुग्लिङदेखि नारायणगढसम्मको सडकमा यहाँ खाल्डो छ भनेर जानकारी दिने निकाय चाहिन्छ । त्यो जानकारी चालकलाई कसले दिन्छ ? त्यस्तोमा नगर प्रहरी प्रयोग गर्ने काम स्थानीय निकायले गर्नसक्छ ।
लामो दूरीको रात्रिबसमा चालकलाई सहयोग गर्ने मान्छे चाहिन्छ । रात्रिबसको यात्रामा तपाईं भगवान् पशुपतिनाथको कृपाले मात्र गन्तव्यसम्म पुग्नुहुन्छ ।
रातको समयमा ट्राफिक नियम लागू गराउन सकिँदैन । ट्राफिक प्रहरीको दरबन्दी बढेको छैन तर, गाडीको सङ्ख्या बढिरहेको छ । ट्राफिकसँग स्रोत पनि छैन । उसलाई साधनस्रोत सम्पन्न बनाउन जरुरी छ ।
दुर्घटना भएको ठाउँमा ‘कोन’ राख्नुपरेमा हात जोडेर माग्नुपर्ने अवस्था छ । नो पार्किङ बोर्ड राख्न ‘सौजन्यकर्ता’ खोज्दै हिँड्नुपर्ने अवस्था छ । ट्राफिक दुर्घटना न्यूनीकरण गर्न आवश्यक संरचना भोलिसम्मलाई हुने गरी प्लानिङ गर्नुपर्छ ।
हाम्रोमा दुर्घटना हुन्छ, छानबिन समितिले रिपोर्ट दिन्छ । तर, त्यस ठाउँमा परिवर्तन केही गरिँदैन । अनि, रिपोर्टको के अर्थ हुन्छ ? दुर्घटनाको कारण यकिन गरेर त्यहाँको भौतिक संरचना परिवर्तन गर्ने गरी काम गर्नुपर्छ, त्यसपछि दुर्घटना न्यूनीकरण गर्न सकिन्छ । हाम्रोमा रिपोर्ट आउँछ तर, भौतिक संरचना परिवर्तन गरिँदैन ।
ललितपुरको बी एन्ड बी अस्पतालअगाडि बाटो काट्न सडक बत्ती छैन । आकाशे पुलबाट बाटो काट्न ३ मिनेट लाग्छ । अस्पतालमा आउने ज्येष्ठ नागरिक पुलबाट बाटो काट्न सक्ने अवस्था छैन । ट्राफिक प्रहरी आफैँ बाटो मर्मत गरिरहेको देखिन्छ, त्यो काम उसको होइन । सडक विभागले तत्काल त्यो काम गर्ने पद्धति विकास गर्नुपर्छ ।
बर्खायाममा दुर्घटना न्यूनीकरण गर्न सूचना र सचेतना व्यापक गर्नुपर्छ । त्यसमा पैसा खर्च गर्न सरकार डराउनु हुँदैन । अप्ठ्यारो बाटोमा रातको समयमा बस चलाउन नदिने विकल्प पनि राम्रो हो । दुर्घटना सम्भावित क्षेत्रमा सडक बत्ती र ट्राफिक पनि परिचालन गरेर कन्ट्रोल गर्ने मेकानिजम बनाउन सकेमा बर्खामा हुने दुर्घटना न्यूनीकरण गर्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम हो : सञ्चारमन्त्री
-
महिनावारीमा दुखाइ कम गर्ने औषधिले बाँझोपन निम्त्याउँछ ?
-
गर्मीको प्रिय फल लिचीलाई कसरी जोगाउने ?
-
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो टिभिएस रोनिनको दुई नयाँ भेरियन्ट, यस्ता छन् विशेषता र मूल्य
-
एक सातापछि सगरमाथा आधार शिविर क्षेत्रबाट दावा शेर्पाको उद्धार, थप उपचारको लागि काठमाडौँ ल्याइयो (तस्बिरहरू)
-
अफगानिस्तानमा बारुदी सुरुङ विस्फोट : २ जना बालबालिकाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण