हुम्ला पुल उद्घाटनपछि पूर्व मुख्यमन्त्री शाहीले भने– ‘रेडिमेट फलामे बेलीब्रिज अस्थायी समाधान मात्र हो’
सुर्खेत । प्रधानमन्त्री केपी शर्मा ओलीले हुम्लाको खार्पूनाथस्थित कर्णाली नदीमा बनेको बेलीब्रिज उद्घाटन गर्दा कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री तथा हुम्लाकै प्रतिनिधि जीवनबहादुर शाही भने कार्यक्रममा अनुपस्थित रहे ।
सत्तारुढ गठबन्धनकै प्रमुख दल नेपाली कांग्रेसका संसदीय दलका नेता शाहीको अनुपस्थितिलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।प्रधानमन्त्री ओली, कर्णालीका मुख्यमन्त्री यामलाल कँडेल र प्रदेश प्रमुख यज्ञराज जोशीसहितको उच्चस्तरीय टोली हुम्ला पुगेर राष्ट्रिय सडक सञ्जालमा जिल्ला जोडिएको घोषणा गर्दा शाहीले भने सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन् ।
उनको भनाइमा बधाई र धन्यवादसँगै सरकारको कामप्रति असन्तुष्टि र व्यङ्ग्य पनि झल्किएको छ ।पूर्व मुख्यमन्त्री शाहीले हुम्लाबासीलाई बधाई दिँदै लेखेका छन्, ’हुम्ला जिल्ला सदरमुकाम सिमकोटलाई राष्ट्रिय सडक सञ्जालमा छिटो पुर्याउने कार्यको क्रेडिट वर्तमान सरकारलाई नै जान्छ ।’
तर, उनले यसअघिका प्रयासहरूलाई नजरअन्दाज गर्न नहुने भन्दै व्यङ्ग्यात्मक टिप्पणी गरेका छन् ।’यो भन्दै जाँदा १०० डिग्री तापक्रम पश्चात् मात्र पानी उम्लिन्छ र आकार लिन्छ भन्ने महत्त्वपूर्ण पाटोलाई हामी कोही कसैले र कहिल्यै पनि नजरअन्दाज भने गर्नु हुन्न,’ उनले लेखेका छन् ।
यसले सडक सञ्जाल जोड्ने कार्यमा विगतका सरकार र आफ्नो पहलकदमीको भूमिका रहेकोतर्फ सङ्केत गरेको छ ।
शाहीले उद्घाटन गरिएको बेलीब्रिजलाई ‘अस्थायी समाधान’ मात्र भएको बताएका छन् । उनले सोही स्थानमा निर्माणाधीन पक्की पुल निर्माणमा भएको सरकारी उदासीनता र ढिलासुस्तीका कारण अस्थायी पुल बनाउनुपर्ने बाध्यात्मक अवस्था आएको उल्लेख गरेका छन् ।
उनले लेखेका छन्, ’आज हस्तान्तरित एवं उद्घाटन भएको रेडिमेट फलामे बेलीब्रिज अस्थायी समाधान मात्र हो । सरकारबाट पक्की सडक पुलको अविलम्ब निर्माणमा चासो र पर्याप्त बजेट व्यवस्थापन गर्नु नै यसको स्थायी समाधान र हामी सबैको कार्यभार हो।’
आफ्नो गृह जिल्लामा भएको महत्त्वपूर्ण कार्यक्रममा भौतिक रूपमा उपस्थित नभई टाढैबाट धन्यवाद दिएका शाहीले आगामी दिनमा कर्णाली राजमार्गको स्तरोन्नति र पक्की पुल निर्माणमा सरकारको ध्यान जानेमा विश्वास व्यक्त गरेका छन् ।
उनले जनप्रतिनिधिको हैसियतले सडक निर्माण र विस्तारमा आफ्नो निरन्तर पहलकदमी र खबरदारी रहने प्रतिबद्धतासमेत जनाएका छन् ।
उनको यो ‘टाढैबाट धन्यवाद’ले कार्यक्रमप्रतिको असन्तुष्टिलाई थप बल दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
-
बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण