शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

बाबुरामको नजरमा सरकारको उपलब्धि : पुराना दलले समस्या समाधान गर्न सक्दैनन् भन्ने प्रमाणित गर्न सफल

आइतबार, २९ असार २०८२, १० : ००
आइतबार, २९ असार २०८२

सारांश

  • डा. बाबुराम भट्टराईले वर्तमान सरकारको एक वर्षको उपलब्धिबारे टिप्पणी गर्दै पुरानो दलहरूले समस्या समाधान गर्न नसक्ने कुरा प्रमाणित गरेको बताए।
  • भट्टराईले सामाजिक सञ्जालमा लेख्दै पुरानो दलहरूले देश र जनताका समस्या समाधान गर्न नसक्ने कुरा व्यवहारमै प्रमाणित गरेको बताए।
  • भट्टराईले अब नयाँ र वैकल्पिक शक्तिहरूको हातमा नेपाली इतिहासको कोर्टको बल आउने निश्चित रहेको उल्लेख गरे।

काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेसपा (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले संसद्का दुई ठुला दल मिलेर बनेको सरकारको एक वर्षको सबभन्दा ठुलो उपलब्धि पुराना दलहरूले कुनै पनि समस्या समाधान गर्न सक्दैनन् भन्ने प्रमाणित गर्नु मात्र रहेको टिप्पणी गरेका छन् । 

आइतबार सामाजिक सञ्जाल फेसबुकमा सरकारको एक वर्षे कार्यकालबारे टिप्पणी गर्दै लेखेका छन्, ‘अब पुराना दलहरूले जति पटक जोसुकैको नेतृत्वमा सरकार चलाए पनि उनीहरूबाट  देश र जनताका गम्भीर संरचनात्मक समस्याहरू (संस्थागत भ्रष्टाचार, बेरोजगारी, अल्पविकास, परनिर्भरता, पर्यावरण विनाश आदि) हल हुनै सक्दैनन् भन्ने कुरा आम जनताले बुझ्ने गरी व्यवहारमै प्रमाणित गरिदिनु हो ।’

तेस्रो ठुलो दल माओवादी केन्द्र नेतृत्वको सरकारले समेत माखो मार्न नसकेको पहिल्यै देखिइसकेको भट्टराईको भनाइ छ । ‘तेस्रो ठुलो दलका एकल सुप्रिमोले पटक पटक च्याँखे थापेर  सरकारको नेतृत्व गरे पनि यी गम्भीर संरचनात्मक समस्याहरूको समाधानमा कुनै माखो मार्न नसकेको पहिल्यै देखिसकिएकै हो’, भट्टराईले भनेका छन्, ‘यो स्थितिमा अब नेपाली इतिहासको कोर्टको बल नयाँ र वैकल्पिक शक्तिहरूको हातमा ढिलोछिटो आउने निश्चितै छ ।’

उनीहरूले त्यसको गम्भीर तयारी कसरी गर्छन् वा गर्नुपर्छ ? आगामी दिनको राजनीतिक विमर्श अव त्यता सोझिनुपर्ने भन्दै भट्टराईले सबैले आआफ्नो छातीमा हात राखेर मम: भन्ने कि ? भनेर प्रश्न गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप