चन्दा सङ्कलन गरी २७ किलोमिटर पदमार्ग निर्माण
सारांश
- म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा खयरबाराही ताल जोड्ने पदमार्ग निर्माण भएको छ, जसको लागि स्थानीयवासीले चन्दा संकलन गरेका थिए।
- पदमार्ग निर्माणमा स्थानीयवासी, भक्तजन र दिवङ्गत आफन्तको सम्झनामा सहयोग गरिएको थियो, जसले गर्दा यात्रा सहज भएको छ।
- खयरबाराही तालमा जनैपूर्णिमामा विशेष मेला लाग्ने गर्छ, र खोप्रा लेक जस्ता पर्यटकीय स्थलहरू पनि यस क्षेत्रमा छन्।
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ को धार्मिक पर्यटकीयस्थल खयरबाराही (खयरभारानी) ताल जोड्न पदमार्ग निर्माण भएको छ । रु एक करोड ७० लाख चन्दा सहयोग जुटाएर उक्त पदमार्ग निर्माण गरिएको हो ।
खयरभारानी थान तथा क्षेत्र संरक्षण साथै व्यवस्थापन समितिको अगुवाइमा १० वर्षमा पाउद्वार गाउँदेखि लरेनी–खोप्रा (खोपारा), खयरखोला हुँदै खयरबाराही ताल जोड्ने पदमार्गको साथै चौतारी निर्माण र खानेपानीको सुविधा पुर्याइएको हो ।
समितिका संस्थापक राजु पुनले पाउद्वार र छिमेकी गाउँबासी तथा भक्तजनहरूले दिवङ्गत आफन्तको स्मृतिमा पदमार्ग र चौतारी निर्माण गरेको जानकारी दिए । सेवा निवृत्त बेलायती गोर्खा सैनिक पुनको अगुवाइमा विसं २०७२ देखि पाउद्वार–खयरभारानी ताल जोड्ने पदमार्ग निर्माण अभियान थालिएको थियो ।
“दिवङ्गत आफन्तको नाममा चौतारा र बाटो बनाउने पुरानो चलनलाई धार्मिक पर्यटनसँग जोड्ने हाम्रो प्रयासमा स्थानीयवासीका साथै खयरबाराहीमा पूजाआजा गर्न आउने अन्य ठाउँका भक्तजनले साथ दिनुभएको छ”, पुनले भने, “१० वर्षमा ६७ जनाले गर्नुभएको रु एक करोड ७० लाख सहयोगमा २७ दशमलव पाँच किलोमिटर पदमार्ग निर्माण भएको छ ।”
सत्र जना दाताको सहयोगमा पाउद्वार–लरेनी खण्डमा चार दशमलव पाँच किलोमिटर, २३ जनाको सहयोगमा लरेनी–खोप्रा खण्डमा ११ किलोमिटर र २७ जनाको सहयोगमा खोप्रा–खयर खण्डमा १२ किलोमिटर पदमार्ग निर्माण भएको उनको भनाइ छ ।
भिरालो पाखामा ढुङ्गाको सिँढी चिनेर पदमार्ग निर्माण भएपछि स्थानीयवासी, भक्तजन र पर्यटकहरूलाई आवतजावतमा सहज भएको पाउद्वारका बासिन्दा हरिप्रसाद तिलिजाले बताए । दाताको सहयोगमा विभिन्न ठाउँमा आश्रय स्थल र खानेपानीको व्यवस्था मिलाइएको छ ।
अन्नपूर्ण र बराह शिखर हिमालको काखमा रहेको खयर ताल र ताल परिसरमा रहेको प्रसिद्ध धार्मिकस्थल खयर भारानी थानलाई लक्षित गरेर पर्यटन पूर्वाधार निर्माण गरिएको छ । गाउँमा नभएका दाताहरूले समितिको सहजीकरणमा स्थानीय मजदुर परिचालन गरेर पदमार्ग र पूर्वाधार बनाउने गरेका छन् । पदमार्ग र चौतारामा निर्माणकर्ताको विवरण खुलाएर शिलालेख राखिएको छ ।
अन्नपूर्ण गाउँपालिका–५ का वडाध्यक्ष राजेश तिलिजा पुनले खोप्रा, खयर क्षेत्रको पर्यटन पूर्वाधार निर्माणमा सरकारी निकायको तुलनामा समुदायको बढी लगानी भएको बताए । सो क्षेत्रको पूर्वाधार निर्माणमा पर्यटन तथा उद्योग कार्यालयमार्फत पछिल्लो दुई वर्षयता रु ३२ लाख, अन्नपूर्ण गाउँपालिकाबाट करिब २० लाख बजेट खर्च भएको छ ।
स्थानीयवासीले ‘खयरभारानी’ भन्ने खयरबाराही तालमा जनैपूर्णिमा पर्वमा विशेष मेला लाग्ने गर्छ । खयरभारानीमा जनैपूर्णिमाका दिन पूजाआजा र दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने र आटे, मागेको पूरा भएपछि बली चढाउने चलन छ । जनैपूर्णिमाका दिन करिब एक हजार दुई सय जना भक्तजन खयरबाराही पुग्ने गर्छन् ।
जनैपुर्णिमा बाहेकका दिनमा ताल र यस क्षेत्रको अवलोकनका लागि पर्यटकहरू पुग्ने गर्छन् । पाउद्वारादेखि खयर जाने बाटोमा पर्ने खोप्रा लेक पर्यटकीय गन्तव्य स्थलको रूपमा विकास भएको छ । समुन्द्री सतहदेखि तीन हजार छ सय ६० मिटर उचाइको खोप्रा लेकबाट धौलागिरि, अन्नपूर्ण हिमशृङ्खला, पहाडी भूगोल, सूर्योदय र सूर्यास्तको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ ।
पर्यटन क्षेत्रमा खोप्राको नामले चिनिएको यो ठाउँलाई स्थानीयवासी ‘खोपारा’ भन्ने गर्छन् । खोप्रामा पाउद्वार सहकारी संस्थाले सामुदायिक लज सञ्चालन गरेको छ । चौँरी र भेडा बाख्राको घुम्ती गोठ पनि खोप्रा, खयर क्षेत्रको आकर्षण हो । पाउद्वारादेखि एक दिनमा खोप्रा र दुई दिनको पैदल यात्रामा खयरबाराही तालमा पुग्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण