शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

साहित्यिक पत्रकार पन्थी र साह सम्मानित

बुधबार, ३२ असार २०८२, २१ : ३३
बुधबार, ३२ असार २०८२

काठमाडौँ । नेपाल साहित्यिक पत्रकार सङ्घको १९औँ स्थापना दिवसका अवसरमा ‘विशिष्ट साहित्यिक पत्रकारिता सम्मान’बाट शशि पन्थी र ‘नेपाली मातृभाषा विशिष्ट साहित्यिक पत्रकारिता सम्मान’बाट रामप्रसाद साह सम्मानित भएका छन् । 

मङ्गलबार यहाँ सम्पन्न स्थापना दिवस कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भुपाल राईले ‘हाम्रो पुरुषार्थ’ साहित्यिक त्रैमासिकका सम्पादक पन्थी र ‘भोजपुरिया माटी’ साहित्यिक पत्रिकाका सम्पादक साहलाई सम्मान गरेका हुन् । 

कुलपति राईले साहित्यिक पत्रकारिताले सर्जकहरू उत्पादन गर्न निर्वाह गरेको भूमिका महत्त्वपूर्ण रहेको बताए । उनले नेपाली भाषा साहित्यको उन्नयनमा साहित्यिक पत्रकारिताले ऐतिहासिक योगदान भुल्न नसकिने उल्लेख गरे । 

कार्यक्रममा विशिष्ट अतिथि वरिष्ठ समालोचक ईश्वरचन्द्र ज्ञवालीले सङ्घले साहित्यिक पत्रकारिताको विकासमा पुर्‍याएको योगदानको चर्चा गरे । 

वरिष्ठ पत्रकार तथा साहित्यकार पुरुषोत्तम दाहालले साहित्यिक पत्रकारिताको प्रवर्द्धनका लागि सरकारले भूमिका निर्वाह गर्नुपर्ने बताउँदै भाषा, साहित्य र संस्कृतिको संरक्षणबिना समाज अघि बढ्न नसक्ने बताए ।

कार्यक्रममा भाषा आयोगका सदस्य मातृकाप्रसाद पोखरेलले साहित्यिक पत्रकारितालाई राज्यले जति उपेक्षा गरे पनि आफ्नै बलबुताले टिकेको बताए । 

सङ्घका वरिष्ठ उपाध्यक्ष वियोगी बुढाथोकीले साहित्यिक पत्रकारिता व्यक्तिले आफ्नै करबलमा टिकाएकाबारे चित्रण गरे ।

नेपाल साहित्यिक पत्रकार सङ्घका अध्यक्ष मोहन दुवालले सम्पूर्ण साहित्यिक पत्रकारको साझा सङ्गठनका रूपमा सङ्घले पुर्‍याएको योगदान बिर्सन नहुने धारणा राखे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप