उपल्लो मुस्ताङमा हिउँ चितुवापीडितलाई राहत वितरण
सारांश
- राष्ट्रिय प्रकृति संरक्षण कोषले मुस्ताङका किसानलाई हिउँ चितुवाको आक्रमणबाट पीडित पशुधनको राहत वितरण गरेको छ।
- एक्यापले चालु आर्थिक वर्षदेखि वन्यजन्तुबाट क्षति भएका किसानलाई लक्षित गरी मानव वन्यजन्तु द्वन्द्व कोष स्थापना गर्ने तयारी गरेको छ।
- वन्यजन्तु क्षति निर्देशिकाअनुसार भेडा च्याङ्ग्रा क्षति भएका किसानलाई बढीमा रु १० हजार र प्रतिघोडा रु ६० हजारसम्म राहत दिइनेछ।
मुस्ताङ । राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), इलाका संरक्षण कार्यालय लोमान्थाङले उपल्लो मुस्ताङका हिउँ चितुवापीडित पशुपालक किसानलाई राहत वितरण गरेको छ ।
एक्याप लोमान्थाङले आर्थिक वर्ष २०८१–८२ मा उपल्लो मुस्ताङमा हिउँ चितुवाको आक्रमणबाट पीडित किसानलाई राहत वितरण गरेको जनाएको छ । उपल्लो मुस्ताङमा हिउँ चितुवाको आक्रमणबाट क्षति भएका १२५ वटा पशुचौपायाको राहत स्वरूप रु ११ लाख ३५ हजार भुक्तानी गरिएको एक्याप लोमान्थाङका कार्यालय प्रमुख उमेश पौडेलले जानकारी दिए ।
हिउँ चितुवाको आक्रमणबाट क्षति भएको पशुधनको ४३ प्रतिशत मात्रै राहत भुक्तानी र अझै रु २६ लाख ९४ हजार अर्थात् ५७ प्रतिशत राहत रकम वितरण गर्न बाँकी छ । उपल्लो मुस्ताङमा आर्थिक वर्ष २०८०/८१ मा २२ पशुधन क्षति भएको र राहत स्वरूप रु चार लाख १८ हजार र आर्थिक वर्ष २०८१/८२ मा क्षति भएको १०३ पशुधनको राहत रु २२ लाख ७६ हजार वितरण गर्न बाँकी रहेको एक्याप लोमान्थाङको भनाइ छ ।
कार्यालय प्रमुख पौडेलले कार्यालयको पटक–पटक गरेका ताकेताले पनि उक्त रकम हिउँ चितुवापीडित किसानलाई राहत उपलब्ध गराउने गरी समुदायलाई हस्तान्तरण गरिएको बताए । उनले वन्यजन्तुबाट क्षति भएका अन्य पशुधनको पनि केही महिनाभित्रै भुक्तानी उपलब्ध गराउने गरी कार्यालयबाट पहल भइरहेको बताए ।
एक्यापले हिउँ चितुवापीडित पशुपालक किसानलाई चालु आर्थिक वर्षदेखि वन्यजन्तुबाट क्षति भएका किसानलाई लक्षित गरी मानव वन्यजन्तु द्वन्द्व (कोष) स्थापना गर्ने तयारी गरेको कार्यालय प्रमुख पौडेलको भनाइ छ । ‘एक्याप आफैँले मानव वन्यजन्तु द्वन्द्व कोष स्थापना गर्न लागेको छ, सरकारले तत्कालै राहत उपलब्ध गराउन नसके पनि वन्यजन्तु पीडित किसान छिटोछरितो राहत उपलब्ध गराउन कोष स्थापना हुन लागेको हो’, उनले भने ।
सरकारले वन्यजन्तु क्षति निर्देशिका, २०८० बमोजिम पशुधन क्षति बेहोर्न बाध्य पीडित किसानलाई तोकिएको मापदण्डमा रहेर राहत उपलब्ध गराउने गरेको छ । उक्त राहत राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभाग हुँदै एक्यापमार्फत राहत उपलब्ध गराउने गरेको कार्यालय प्रमुख पौडेलले बताए ।
वन्यजन्तु क्षति निर्देशिकाअनुसार भेडा च्याङ्ग्रा क्षति भएका किसानलाई बढीमा प्रतिपशुधन रु १० हजार र प्रतिघोडा रु ६० हजारसम्म राहत दिने गरेको उनको भनाइ छ । एक्यापको मातहत रहेको मुस्ताङमा वन्यजन्तु र मानवबिचको द्वन्द्वले यहाँका पशुपालक तथा किसान आहत बन्दै जान थालेका छन् । उपल्लो मुस्ताङमा हिउँ चितुवा र तल्लो मुस्ताङमा कालो भालु आदिका कारण किसान पीडित बनेका हुन् ।
उच्च लेकमा चरन क्षेत्रमा वन्यजन्तुको आहारको अभावका कारण वन्यजन्तु बस्ती नजिक आउन थालेपछि यो समस्या देखिएको हो । वन्यजन्तु पीडितलाई एक्यापले विभिन्न प्रक्रिया पूरा गरी वन्यजन्तु क्षतिको राहत उपलब्ध गराउँदै आइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशमा पढेर आएका अधिकांश चिकित्सक लाइसेन्स परीक्षामा किन अनुत्तीर्ण ?
-
अन्नपूर्ण पदमार्गमा बृहत् सरसफाइ
-
अत्यावश्यक बाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध
-
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट
-
पर्यटक भिसामा काठमाडौँ आएर व्यापार गर्ने दुई चिनियाँ नागरिक पक्राउ
-
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन नगर्ने निर्णय सुशासन विरुद्ध: राष्ट्रिय जनमोर्चा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण