कम्युनिस्ट पार्टीमा नेतृत्व हत्याउन होडबाजी
सारांश
- एमाले विधान संशोधन प्रस्तावमा ७० वर्ष उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने प्रस्ताव आएको छ, जसले पार्टीमा विवाद निम्त्याएको छ।
- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा पुनरागमन र केपी ओलीको आगामी महाधिवेशनमा अध्यक्ष बन्ने चाहनाले पार्टीभित्र गुटबन्दी बढेको छ।
- कम्युनिस्ट पार्टीहरूमा नेतृत्व हस्तान्तरणको समस्या र आन्तरिक लोकतन्त्रको अभावले पार्टी विभाजन र विचलन निम्त्याएको छ।
काठमाडौँ । सत्ताको नेतृत्व गरिरहेको दल नेकपा एमालेले केन्द्रीय समिति बैठकमा ७० वर्ष उमेरहद र दुई कार्यकालको व्यवस्था विधानबाट हटाउने प्रस्ताव केन्द्रीय समिति बैठकले अनुमाेदन गरेपछि अन्तरविरोध चर्किएको छ । प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीलाई आगामी ११ औँ महाधिवेशनमा अध्यक्ष बन्न सहज हुनेगरी उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव पेस गरेका थिए । बुधबार बिहान सम्पन्न बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पार्टी राजनीतिमा फर्किन प्रतिबन्ध लगाउँदै उमेर हद र दुई कार्यकालको व्यवस्था खारेज गर्ने निर्णय गरेको थियो ।
पूर्वराष्ट्रपति भण्डारी भावी अध्यक्ष दाबी गर्नेगरी फेरि सक्रिय राजनीतिमा फर्किएको घोषणा गरिरहेको वेला एमालेको सचिवालय र पोलिटब्यूरो बैठकले विधान संशोधन प्रस्ताव केन्द्रीय समिति बैठकले अनुमोदन गरिसकेको छ । भदौ २०–२२ सम्म ललितपुरमा हुने विधान अधिवेशनमा विधान संशोधन प्रस्ताव पेस हुनेछ ।
२०७१ सालमा काठमाडौँमा सम्पन्न एमाले महाधिवेशनले पदाधिकारीमा ७० वर्ष उमेरहद लगाउने व्यवस्था गरेको थियो । २०७८ असोजमा सम्पन्न एमालेको विधान अधिवेशनले ७० वर्ष उमेरहदको साथै दुई कार्यकालको व्यवस्था गरेको थियो । तर दुई कार्यकालको व्यवस्था चितवनमा भएको १० औँ महाधिवेशनबाट हटाइएको थियो । यी दुईमध्ये एक प्रावधान कायमै रहेमा ओली अर्को वर्ष हुने ११ औँ महाधिवेशनमा अध्यक्षको उम्मेदवार बन्न पाउने छैनन् । केन्द्रीय समितिको निर्णयलाई भण्डारीले चुनौती दिइसकेकी छन् । र आफू माझ किरातको छोरी भएको भन्दै पछि नहट्ने चेतावनी दिएकाले एमालेभित्र तीव्र ध्रुवीकरण हुने देखिएको छ ।
शक्ति र सत्ताको दुरुपयोग गरी ओलीले आफू अनुकूल विधान संशोधन गरेको आरोप संस्थापन इतर पक्षको छ । एमालेभित्र अहिले ओली पक्ष र भण्डारीपक्षबिच कित्ताकाटको अवस्था देखिएको छ । यद्यपि आइतबार केन्द्रीय कार्यालय च्यासलमा ओली र भण्डारीबिच पार्टीलाई एकताबद्ध बनाएर लैजाने समझदारी भएको नेताहरूले दाबी गरेका छन् । यद्यपि भण्डारीलाई पार्टीमा दिइने जिम्मेवारीको विषयमा कस्तो समझदारी भयो भन्नेबारे स्पष्ट खाका दुवै पक्षले बाहिर ल्याएका छैनन् । यस्तै भण्डारीलाई सक्रिय राजनीतिमा आउनबाट रोक लगाउन ओलीले सदस्यता नवीकरण सम्बन्धमा बखेडा झिकेको आरोप लागेको छ ।
२०७९ साल फागुनमा राष्ट्रपतिको जिम्मेवारीबाट मुक्त भएपछि विद्या भण्डारीले अध्यक्ष ओली, महासचिव शंकर पोखरेल, संगठन विभाग प्रमुख काशीनाथ अधिकारी र कार्यालयका मुख्यसचिव डा. भीष्मराज अधिकारीसँगको परामर्शमै सदस्यता नवीकरण गरेको संस्थापन इतर पक्षको दाबी छ । अघिल्लो वर्ष नै नवीकरण भएको विषय अहिले आएर बखेडा झिक्नुको अर्थ नरहेको भण्डारी पक्षका नेताहरू बताउँछन् ।
सदस्यता नवीकरणमा बखेडा झिक्नु, ७० वर्ष उमेहद र दुई कार्यकालको व्यवस्था खारेजीको प्रस्ताव अनुमोदन गर्नुको पछाडि भण्डारीलाई रोक्ने प्रयास नै रहेको उनीहरूको आरोप छ ।

एमालेका तत्कालीन महासचिव मदन भण्डारीको २०५० साल जेठ ३ गते दासढुंगा दुर्घटनामा निधन भएपछि माधवकुमार नेपाल महासचिव भए । झण्डै १५ वर्ष नेपाल महासचिव हुँदा ओली पार्टीभित्र अल्पमतमा थिए । आफू अल्पमतमा हुँदा ओलीले पटकपटक आन्तरिक लोकतन्त्र, एक व्यक्ति एक पदको वकालत गर्दै आएको स्थायी समिति सदस्य कर्णबहादुर थापाको जिकिर छ । आन्तरिक लोकतन्त्रको पक्षमा सधैँ ओलीलाई आफूहरूले साथ दिँदै आएको थापा बताउँछन् । तर आफू नेतृत्वमा आएपछि जनताको बहुदलीय जनवादलाई कुल्चिएर ओली अगाडि बढ्न खोजेको उनको आरोप छ ।
‘आन्तरिक जनवादको विषयमा मैले सधैँ ओली कमरेडलाई साथ दिएँ । नवौँ महाधिवेशनपछि दुई पटक लगातार अध्यक्ष बन्नुभयो । चार पटक प्रधानमन्त्री बनिसक्नुभयो । पार्टीको आन्तरिक लोकतन्त्रको बारेमा उहाँले किताब नै लेख्नुभएको छ’, थापाले भने, ‘तर उहाँ आफैँ विधानमा भएको व्यवस्थालाई हटाएर ११ औँ महाधिवेशनमा अध्यक्ष बन्न खोज्दै हुनुहुन्छ । यी सबै जनवादी केन्द्रीयता विपरीत काम भयो । पार्टीलाई विधि, पद्धतिबाट चलाउनुपर्छ ।’
एमालेमा मात्र होइन, दोस्रो ठुलो वामपन्थी दल नेकपा माओवादी केन्द्रमा पनि आन्तरिक लोकतन्त्र निकै कमजोर अवस्थामा छ । २०५२ साल फागुनदेखि थालिएको १० वर्षे सशस्त्र विद्रोहमा नेतृत्वको केन्द्रीकरण गर्नु उचित भए पनि शान्ति प्रक्रियामा आएपछि युद्धकालकै धङधङीबाट पार्टी चलाउनु उचित नभएको माओवादी नेताहरू बताउँछन् ।
२०४५ सालमा महामन्त्री भएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ ३६ वर्षसम्म निरन्तर नेतृत्वमै छन् । अर्को वर्ष नवौँ महाधिवेशनको तयारीमा रहेका प्रचण्ड फेरि अध्यक्षमा दोहोरिन चाहन्छन् । उनीमाथि नाम मात्रैको महाधिवेशन गर्दै आएको आरोप लाग्ने गरेको छ ।
२०७८ साल पुसमा राष्ट्रिय सम्मेलनको तयारी गरेर रातारात महाधिवेशनमा परिणत गरेका उनले त्यतिवेला पार्टीभित्र बढ्दै गएको विरोधका स्वरलाई थामथुप पार्न ६ महिनाभित्र विशेष महाधिवेशन गर्ने घोषणा गरेका थिए । तर चार वर्ष बित्नलाग्दा समेत विशेष महाधिवेशन गर्ने मनस्थितिमा उनी नभएको नेताहरूको आरोप छ ।
उपमहासचिव जनार्दन शर्माले गत वर्ष साउन अन्तिम साता बसेको स्थायी समिति बैठकमा पार्टी निर्माण र नेतृत्व हस्तान्तरणको विषयमा १४ बुँदे प्रस्ताव पेस गरेका थिए । २०८० साल फागुनमा सम्पन्न प्रथम विधान अधिवेशनमा अधिकांश प्रतिनिधिले प्रत्यक्ष निर्वाचन प्रक्रियाबाट सबै तहका समिति छनोट गर्नुपर्ने माग गरेका थिए । तर आफूले पेस गरेको प्रस्ताव नेतृत्व विरुद्ध नभइ विधि, पद्धतिबाट पार्टी निर्माण र नेतृत्वको लोकतान्त्रिकीकरणका लागि भएको शर्माले प्रस्ट पारेका छन् ।
‘मैले गरेको प्रस्ताव नेतृत्वको विरुद्ध होइन । म अध्यक्ष बन्नका लागि होइन । बदलिँदो परिस्थिति अनुसार विधि, पद्धकिको कुरा गरेको हो । नेतृत्व हस्तान्तरण वा पुस्तान्तरण कसरी गर्न सकिन्छ भन्ने विषयमा हो । पार्टी निर्माणको विषयलाई नेतृत्वसँग जोडेर हेर्नु उचित हुँदैन’, शर्माले भने ।
पुष्पलालको ४७ औँ स्मृति दिवसको अवसरमा मङ्गलवार काठमाडौँको राष्ट्रिय सभागृहमा आयोजित समारोहमा शर्माले पार्टी नेतृत्वको विकल्प दिनेगरी अगाडि बढ्ने संकेत गरिसकेका छन् । पुरानो नेतृत्वबाट कम्युनिस्ट आन्दोलन अगाडि बढ्न नसक्ने भन्दै नेतृत्वलाई ससम्मान बिदा गरी दोस्रो वा तेस्रो पुस्ताले नेतृत्व लिनका लागि आह्वान गरेका छन् । उनको अभिव्यक्तिले माओवादीमा पनि ध्रुवीकरण हुने स्पष्ट खाका कोरेको छ ।
एमालेबाट चोइटिएको अर्को दल नेकपा एकीकृत समाजवादीमा अध्यक्ष माधवकुमार नेपाललाई नेतृत्व छाड्न दबाब परिरहेको छ । मदनको निधनपछि करिब १५ वर्ष महासचिव बनेका माधवले २०६४ सालमा आफू र पार्टीले हार व्यहोरेपछि राजीनामा दिएका थिए । तर आठौँ र नवौँ महाधिवेशनमा फेरि नेतृत्वमा आउने उनको प्रयास सफल हुन सकेन । अन्ततः पार्टी नै विभाजन भयो । गत वर्ष असारमा भएको १० औँ महाधिवेशनमा उनलाई नेतृत्व छाड्न झलनाथ खनाल र घनश्याम भुसालले दबाब दिएका थिए । सहमतिको नाममा माधव आफैँ अध्यक्ष बने । उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि नेतृत्वमा बस्न नैतिक सङ्कट परेको छ ।
एमाले, माओवादी एकीकृत समाजवादीमात्र होइन, अन्य स–साना वामपन्थी दलहरूमा पनि नेतृत्व हस्तान्तरणको समस्या देखिएको छ । वामपन्थी दलहरूभित्र अहिलेमात्र होइन, नेपाल कम्युनिस्ट स्थापनाकालदेखि नै नीति र नेतृत्वको विषयमा अन्तरविरोध चर्किंदा पटकपटक पार्टी विभाजन भएको इतिहास साक्षी छ ।
- संस्थापक महासचिव पुष्पलाल नै नेतृत्वबाट हटाइए
नेपालमा सर्वहारा श्रमिक, मजुदर, किसानहरूको समस्या समाधानका लागि कम्युनिस्ट पार्टीको आवश्यकता ठानेर पुष्पलाल श्रेष्ठले २००६ साल वैशाख १० गते नेपाल कम्युनिस्ट पार्टी गठन गरेका थिए । दुई वर्षमै महासचिव पुष्पलाललाई हटाएर मनमोहन अधिकारी महासचिव भए । भारतको प्रभावमा उनलाई नेतृत्वबाट हटाइएको वामपन्थी विश्लेषकहरूले बताउँदै आएका छन् ।
२०१० साल पाटनमा भएको नेकपाको पहिलो महाधिवेशनमा अधिकारी नै महासचिव चुनिए । अधिकारी चीन गएको वेला पार्टीभित्र शक्तिशाली भएका डा.केशरजंग रायमाझीको नेतृत्वमा २०१४ सालमा दोस्रो महाधिवेशन भयो । त्यतिवेला नीति पुष्पलालको पास भयो, नेतृत्वमा रायमाझी आए । २०१७ साल पुस १ गते राजा महेन्द्रले ‘कु’ गरी निरंकुश शासन लादेपछि रायमाझी दरबार नजिक बन्न पुगे । २०१९ सालमा भएको नेकपाको तेस्रो महाधिवेशनमा तुलसीलाल अमात्य महासचिव बने । रायमाझीले राजा महेन्द्रको कदमलाई समर्थन गरे । रायमाझी पार्टीबाट निष्कासित भएपछि अलग्गै पार्टी गठन गरे । उनको समूहलाई पुष्पलाल र तुलसीलाल पक्षले हटाएको थियो । तेस्रो महाधिवेशन नै नेकपा विघटनको बिजारोपण भयो । आन्तरिक गुटबन्दी र शक्ति संघर्षका कारण पुष्पलाल कहिल्यै नेतृत्वमा आउन सकेनन् । त्यसयता नेकपा छिन्नभिन्न भयो । नेकपाबाट अलग भएका रायमाझी २०३८ सालमा विष्णुबहादुर मानन्धर समूहको कारबाहीमा परे । त्यसपछि उनी राजनीतिमा निष्क्रिय रहे ।

२०२५ सालमा पुष्पलाल र तुलसीलाल पनि अलग भए । तुलसीलालले नेकपा(अमात्य) गठन गरे । २०४९ सालमा नेकपा एमालेको पाँचौँ महाधिवेशनमा उनले पार्टीलाई विलय गराए । पुष्पलालले २०२५ सालमा तेस्रो महाधिवेशन गरी नेकपा पुनर्गठन गरे । २०३५ साल साउन ७ गते उनको निधन भएपछि साहना प्रधानले नेकपा पुनर्गठन गरिन् ।
यता २०२८ सालमा झापा जिल्ला कमिटी र केन्द्रीय न्यूक्लियस गठन भयो । झापा जिल्ला कमिटीको नेतृत्व सीपी मैनालीले गरे, जुन झापा विद्रोहले चर्चित छ । केन्द्रीय न्यूक्लियसको नेतृत्व मोहनविक्रमले गरे । सुरुमा मोहनविक्रमले पुष्पलाल, मनमोहन, शम्भुराम श्रेष्ठ लगायत नेतासँग मिलेर नेकपा पुनर्गठनको प्रयास गरेका थिए । तर मोहनविक्रमको प्रस्ताव पुष्पलालले अस्वीकार गरेपछि नेकपामा थप विभाजनको शृङ्खला थपियो । २०३१ साल भदौमा भारतको वाराणसीमा मोहनविक्रमको अगुवाइमा चौथो महाधिवेशन भयो, जुन नेकपा(चौम)को नामले चर्चित छ ।
२०३१ साल माघ १० गते भारतको दरभंगामा नारायणमान बिजुक्छेको नेतृत्वमा नेपाल मजदुर किसान पार्टी गठन भयो ।
२०३३ सालमा जलजला काण्डका कारण मोहनविक्रम कारबाहीमा परेपछि निर्मल लामा महामन्त्री बने । २०४० सालमा नेकपा(चौम) विभाजन भयो । मोहनविक्रम नेकपा(मशाल)का महामन्त्री बने । २०४१ सालमा भएको पाँचौँ महाधिवेशनबाट मोहनविक्रम कारबाहीमा परे । नेकपा(मशाल) विभाजन भयो । मोहनविक्रमले नेकपा(मसाल) गठन गरे । नेकपा(मसाल)को खुला मोर्चा गठन भयो । नेकपा(मसाल)का महामन्त्री मोहनविक्रम र राष्ट्रिय जनमोर्चाको अध्यक्ष चित्रबहादुर केसी अहिलेसम्म पनि नेतृत्वमा छन् ।

अर्का नेता मोहन वैद्यले नेकपा(मशाल) पुनर्गठन गरे । २०४३ सालमा सेक्टर काण्ड असफल भएपछि वैद्यले राजीनामा दिए । २०४५ सालमा प्रचण्ड महामन्त्री भए । २०४७ सालमा नेकपा(चौम), सर्वहारावादी श्रमिक संगठन, नेकपा(नेकपा मशाल) नेकपा(एकता केन्द्र) बन्यो । २०५१ सालमा नेकपा(एकता केन्द्र) फुट्यो । २०५२ सालमा नेकपा(माओवादी)ले सशस्त्र विद्रोह गर्यो । नेकपा(एकता केन्द्र) का महामन्त्री नारायणकाजी श्रेष्ठ भए । एकता केन्द्रको खुला मोर्चा संयुक्त जनमोर्चा थियो । यसको अध्यक्ष अमिक शेरचन थिए । २०६५ साल पुसमा माओवादीसँग एकता हुँदा नेकपा(एकीकृत माओवादी) बन्यो । २०६९ साल असारमा माओवादी विभाजन भयो । वैद्यको नेतृत्वमा छुट्टै पार्टी गठन भयो । २०७३ सम्म आइपुग्दा वैद्यको पार्टी पनि विभाजन भयो । नेत्रविक्रम चन्द विप्लवले नेकपा पुनर्गठन गरे । उनी अहिले नेकपाको महासचिव छन् ।
२०३५ साल पुस ११ गते सीपी मैनालीको नेतृत्वमा नेकपा(माले) गठन भयो । २०३६ सालमा मनमोहनले आफ्नै नेतृत्वमा छुट्टै पार्टी गठन गरे । २०४३ सालमा साहना र मनमोहनको पार्टी एकता भएर नेकपा(मार्क्सवादी) गठन भयो ।
२०३९ सालमा सीपीलाई हटाएर झलनाथ खनाल महासचिव बने । २०४६ भदौमा सिरहाको विष्णुपुरकट्टी, सर्रे अम्बामा नेकपा(माले)को चौथो महाधिवेशनबाट मदन भण्डारी महासचिव भए । २०४७ साल पुस २२ मा नेकपा(माले) र नेकपा(मार्क्सवादी) मिलेर नेकपा(एमाले) गठन भयो । अध्यक्ष मनमोहन अधिकारी र महासचिव भण्डारी भए । २०५० साल जेठ ३ गते भण्डारीको निधन भएपछि कार्यवाहक महासचिव माधव नेपाल भए । २०५४ सालमा एमाले विभाजन भएर नेकपा(माले) गठन भयो जसको अध्यक्ष साहना प्रधान र महासचिव वामदेव गौतम भए ।
२०५८ सालमा साहना र वामदेव समूह पुनः एमालेमै फर्किए । मालेको महासचिव सीपी मैनाली भए । अहिलेसम्म पनि उनी मालेको महासचिव छन् । माधव एमालेको छैटौँ, सातौँ महाधिवेशनबाट महासचिवमा निर्वाचित भएका थिए । एमालेको आठौँ महाधिवेशनबाट झलनाथ खनाल अध्यक्षमा निर्वाचित भए । नवौँ र दशौँ महाधिवेशबाट केपी ओली अध्यक्ष भए ।
२०७५ सालमा मदनको स्मृति दिवस पारेर एमाले र माओवादीबिच एकता भयो जसको अध्यक्ष ओली र प्रचण्ड भए । तर सत्ता र शक्ति संघर्षको कारण तीन वर्ष नपुग्दै नेकपा विघटन भयो । २०७७ फागुन २३ गते सर्वोच्च अदालतले नेकपा बदर गरिदिएपछि एमाले र माओवादी साविकमै फर्किएका थिए । २०७८ सालमा एमालेसमेत विभाजन भयो ।
मोहनविक्रमका अनुसार कम्युनिस्ट पार्टीमा नेतृत्वको टकरावमात्र नभइ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति, पार्टीको नीति, विचार, सिद्धान्त र कार्यदिशामा विचलन आउने गरेको छ । कहिले पार्टी नीति एउटाको र नेतृत्व अर्काको हुने हुँदा विचलन आउने उनको जिकिर छ । उनले नेकपा स्थापनाकालदेखि हालसम्म कम्युनिस्ट पार्टीमा देखिएको विचलन, नेतृत्वमा देखिएको दक्षिणपन्थ अवसरवादका कारण कम्युनिस्ट आन्दोलन कमजोर भएको बताए ।
‘नेतृत्वको मात्र सवाल होइन । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति, पार्टीको नीति, विचार, सिद्धान्त र कार्यदिशा एउटा नेतृत्व अर्को आउँदा विचलन आएको हो । कसैले चाहेर नेतृत्वबाट हउटाउने वा ल्याउने भन्ने हुँदैन’, उनले भने ।
चर्चित नेताहरू को कति पटक महासचिव/महामन्त्री/अध्यक्ष भए ?
- पुष्पलाल श्रेष्ठ(२००६–२००८) /(२०२५–२०३५) नेकपाको महासचिव ।
- मनमोहन अधिकारी(२००८–२०१४) नेकपाको महासचिव/(२०३६–२०४७)/नेकपा(मनमोहन–मार्क्सवादी)को अध्यक्ष /(२०४७–२०५६) नेकपा(एमाले)को अध्यक्ष ।
- डा.केशरजंग रायमाझी(२०१४–२०१९) नेकपाको महासचिव/(२०२३–२०३८) नेकपा(रायमाझी)को महामन्त्री ।
- तुलसीलाल अमात्य(२०१९–२०२३) नेकपाको महासचिव/(२०२५–२०४९) नेकपा(अमात्य)को महामन्त्री ।
- मोहनविक्रम सिंह(२०३१–२०३३) नेकपा(चौम)को महामन्त्री/(२०४१–हालसम्म) नेकपा(मसाल)को महामन्त्री ।
- नारायणमान बिजुक्छे(२०३१–हालसम्म) नेमकिपाका अध्यक्ष ।
- निर्मल लामा(२०४०–२०५१) नेकपा(एकता केन्द्र)का महामन्त्री ।
- मोहन वैद्य(२०४१–२०४५) नेकपा(मशाल)का महामन्त्री/(२०६९–हालसम्म विभिन्न माओवादी घटकको अध्यक्ष/महासचिव)
- प्रचण्ड(२०४५–२०५१) नेकपा(एकता केन्द्र)का महामन्त्री/(२०५२–हालसम्म) माओवादीको महामन्त्री/अध्यक्ष ।
- चित्रबहादुर केसी(राष्ट्रिय जनर्माचाका अध्यक्ष हालसम्म) ।
- नारायणकाजी श्रेष्ठ(२०५१–२०६५) नेकपा(एकता केन्द्र)का महामन्त्री ।
- अमिक शेरचन(२०५१–२०६५) पटक पटक राष्ट्रिय जनमोर्चाका अध्यक्ष ।
- सीपी मैनाली(२०३५–२०३९)/(२०५८–हालसम्म) नेकपा(माले)को महासचिव ।
- झलनाथ खनाल(२०३९–२०४६) नेकपा(माले)को महासचिव/(२०६५–२०७१) नेकपा(एमाले)को अध्यक्ष ।
- मदन भण्डारी(२०४६–२०५०) नेकपा(माले) र नेकपा(एमाले)का महासचिव ।
- माधव नेपाल(२०५०–२०६४) नेकपा(एमाले)को महासचिव ।
- केपी ओली(२०७१–हालसम्म) नेकपा(एमाले)का अध्यक्ष ।
- नेत्रविक्रम चन्द्र विप्लव(२०७३–हालसम्म) नेकपाका महासचिव ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिनिसियसको गोलमा ब्राजिलको कमब्याकः मोरक्कोसँगको पहिलो हाफ १–१ को रोमाञ्चक बराबरीमा
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण