बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

स्वर्गको ठेगाना खल्तीमा हालेर नर्कको बाटो हिँडेपछि पुगिने नर्कै हो

बुधबार, ०७ साउन २०८२, ११ : ११
बुधबार, ०७ साउन २०८२

सारांश

  • राणा शासनको अन्त्यपछिको राजनीतिमा पुष्पलाल श्रेष्ठको निष्कर्षले ६५ वर्षसम्म डोर्यायो।
  • वर्तमान राजनीतिको नेतृत्वको शैली र भ्रष्टाचारबारे प्रश्न उठ्दा, युवा पुस्ताको विकल्पको खोजी भइरहेको छ।
  • कम्युनिस्ट आन्दोलनमा देखिएको विरोधाभास, सत्ता मोह र भ्रष्टाचारले गर्दा भविष्यमा खतरा उत्पन्न हुनसक्ने चिन्ता छ।

जतिखेर राणाको शासन थियो, त्यो वेलामा यो मुलुकमा नपढेकाहरूले, पिछडिएकाहरूले, दलितहरूले, महिलाहरूले श्रमजीवीले कुनै दिन राज्य चलाउँछन्, तिनीहरू यो राज्यको मालिक हुन्छन् भन्ने कुरा कम ठुलो घोषणा थिएन । यस्तो निष्कर्ष सामान्य होइन । त्यतिखेरको त्यत्रो सत्ताका विरुद्ध पुष्पलाल श्रेष्ठले चुनौती दिएर निकाल्नुभएको निष्कर्षले करिब–करिब हाम्रो मुलुकको ६५ वर्षको राजनीति र यहाँको आन्दोलनलाई निरन्तर निर्देशित गर्‍यो । किनभने पुष्पलालले नेपाली समाज, नेपाली क्रान्तिको चरित्रका बारेमा जे निष्कर्ष निकाल्नुभएको थियो, त्यही निष्कर्ष अनुसार यो आन्दोलन अगाडि बढेर आयो ।

यस अर्थमा फेरि यो हामीले बिर्सनुहुन्न कि हरेक क्रान्तिकारी आन्दोलन त्यो युगको बौद्धिक आन्दोलन हो । त्यो सर्वश्रेष्ठ बौद्धिक आन्दोलन हो । त्यतिखेरको क्रान्ति, क्रान्तिकारी आन्दोलन त्यो वेलाको सर्वश्रेष्ठ बौद्धिक आन्दोलन हो । मैले अघि भनिसकेँ । त्यस्तो निष्कर्ष आफैँमा बौद्धिक निष्कर्ष थियो र त्यसले हाम्रा गीत, संगीत, नारा, जुलुस, हाम्रो मनोविज्ञानलाई निर्देशित गर्‍यो र प्रभावित पार्‍यो । त्यस्ता महामानव कमरेड पुष्पलाललाई म श्रद्धाञ्जली अर्पण गर्छु ।

हाम्रो यो जनवादी क्रान्ति पूरा गर्ने क्रममा मोहनविक्रमजी, सीपी मैनाली, झलनाथ खनालजी, मदन भण्डारीजी, किरणजी, प्रचण्डजी, माधवजी जोसुकै पनि हुनुभयो– उहाँहरू त्यसमा जसरी लाग्नुभयो, उहाँहरूले निर्वाह गरेको भूमिकाका लागि म सम्मान पनि व्यक्त गर्न चाहन्छु । स्कुल अफ मार्क्सिजमले यो विषयमा छलफल गर्ने भनेपछि अलि फरक–फरक तरिकाले म सोच्दै थिएँ, तर हिजो (सोमबार) राति एउटा मैले फेसबुक स्टाटस हेरेँ । मलाई कसैले पठाइदिनुभएको हो ।

मलाई अहिले नेकपा एकीकृत समाजवादीको महासचिव भनेर बोलाउनुभयो । योभन्दा कुरा धेरै अगाडि बढिसक्या रहेछ । तपाईं–हामीले अध्यक्ष, महासचिव भन्ने तर आज समाजले र आज खासगरी युवाहरूले खोजेको अर्कै कुरा छ भन्ने लाग्यो मलाई । स्टाटसमा लेखिएको थियो, ‘आजको राजनीतिको पहिलो पुस्तालाई काँधमा हालेर केही अवसर हात पारेरै बुढो भइसकेको दोस्रो पुस्ताको कुरो सुन्न भोलि राष्ट्रिय सभागृहमा जाने सल्लाह भयो ।’

कम्युनिस्ट आन्दोलन सर्वश्रेष्ठ बौद्धिक आन्दोलन हो । त्यो तार्किक आन्दोलन हो । त्यो त धेरै निर्मम र वस्तुवादी आन्दोलन हो । यो सारा छोडेर आज यो विरोधाभास देखिएको छ ।

यो राजनीतिक निराशाले नयाँ अनुहारमात्रै होइन, प्रगतिशील विकल्पको खोजी गरिरहेको छ भन्ने बुझाइसहित आजको राजनीतिको दोस्रो पुस्ताले पनि विकल्प दिन सक्दैन भने अब हाम्रो पुस्ताले तयारी गर्नुपर्छ भन्ने मतसहित छलफलमा सहभागी हुन साथीहरूलाई अनुरोध छ ।

अन्धसमर्थन वा अन्धविरोध होइन, त्यो आलोचनात्मक चेतका साथ आफै बुझेर खडा हुने, प्रश्न सोध्न तयार मान्छेहरूको जमातलाई म स्वागत गर्छु । अर्को लाक्षणिक छ कि यो लेख्ने साथी माओवादी जनयुद्धमा आफ्ना बा–आमा गुमाएको एउटा पढालेखा लक्का जवानले आज यसरी प्रश्न गर्दैछ । यो धेरै अर्थपूर्ण छ । आज यस्तो प्रश्नलाई कसैले बेवास्ता गर्छ भने, यसलाई हामीले नसुनेजस्तो गर्‍यौँ भने यसको मूल्य हाम्रो पिढीले तिर्नुपर्छ भन्ने मलाई महसुस हुन्छ । मैले यो कुरालाई ध्यानमा राख्दै आफूलाई प्रस्तुत गर्ने प्रयत्न गर्नेछु र यो स्टाटस लेख्ने भाइको चुनौती मेरा लागि स्वीकार्य छ ।

एकातिर यस्तो प्रश्नको कुरा उठ्दैछ, अर्कोतिर हाम्रो आन्दोलनको नेतृत्व अब २० वर्ष कसैले मेरो कुर्ची नहेर्नु भन्छ । अर्कोले लजाई–लजाई २० वर्ष त होइन, १०–१५ वर्षचाहिँ मैले अरुलाई तयार गर्छु र छोडिदिन्छु भन्छ । अनि एउटा जमात यस्तो च्यालेन्ज गर्दैछ । अर्को जमात आजै च्यासलतिर १० वर्ष, २० वर्ष होइन, तिमी आजीवन, मरणोपरान्त भइराख्नुपर्छ भनेर आरती उतार्दैछ । प्रभातफेरी पनि गाउँदैछ । यो कस्तो विरोधाभास हो हाम्रो आन्दोलनको ?

कम्युनिस्ट आन्दोलन सर्वश्रेष्ठ बौद्धिक आन्दोलन हो । त्यो तार्किक आन्दोलन हो । त्यो त धेरै निर्मम र वस्तुवादी आन्दोलन हो । यो सारा छोडेर आज यो विरोधाभास देखिएको छ । मैले आफ्नो कोणबाट हेर्दाखेरि पञ्चायत फाल्न सकिन्छ, प्रजातन्त्र ल्याउन सकिन्छ, राजतन्त्र फाल्न सकिन्छ, गणतन्त्र ल्याउन सकिन्छ, त्यत्रो ठुलो मुलुकले लगाएको नाकाबन्दी झेलेर आफ्नो राष्ट्रिय स्वाभिमानलाई बचाउन पनि सकिन्छ । संविधान जारी गर्न सकिन्छ । यो सबै हुँदोरहेछ, तर घुस नखाने राज्य व्यवस्था बनाउन सकिँदो रहेनछ । हाम्रो दुर्भाग्य । त्यत्रो क्रान्तिकारी पार्टी बनाउन सकिँदोरहेछ । घुस नखान सकिँदो रहेनछ । घुस खाने र पार्टी कब्जा गर्नका लागि गुटबन्दी नगर्न नसकिँदो रहेनछ ।

घुस नखान सकिने हामी कहिले हुन्छौँ ? हामी पार्टीलाई त्यस्तो कहिले बनाउँछौँ ? हामी त्यस्तो राज्य कहिले बनाउँछौँ ? बनाउन सकिएला कि नसकिएला ? यो प्रश्न असाधारण हो भन्ने लाग्छ ।

हिजो राजाका पालादेखि सङ्कल्प गर्‍यौँ, आन्दोलन छेड्यौँ । किनभने राजाको दरबार आफैँ दलाल पुँजीवादको प्रतिनिधि थियो । कम्युनिस्ट पार्टीले त्यसका विरुद्ध संघर्ष गरेको हो । केबल राजाको विरुद्धमात्रै थिएन, दलाल पुँजीवादविरुद्ध थियो । हाम्रो सामर्थ्य, हाम्रो क्रान्तिकारी आन्दोलनमा के कमी छ ? त्यत्रो गर्न सकिन्छ, तर युवाहरूलाई, आफ्ना छोराछोरीहरूलाई रोजगारी दिन सकिँदैन । सुशासन बनाउन सकिँदैन । घुस नखान सकिँदैन । के विचित्र हो यो ३५/३७ वर्षको यो अभ्यास ?

आज राजनीतिले केन्द्रमा हेर्ने चिज यो होला भन्ने लाग्छ मलाई । अरु कुरा हेर्दै गरौँला फेरि । के के संयन्त्र बनाएर हुन्छ, त्यसमा छलफल गरौँला । तर आज सुशासन छैन, दलाल पुँजीवाद छ । त्यसले गर्दा रोजगारी छैन, बेरोजगारी छ । सुशासन छैन, कुशासन छ । हिजो थियो, अस्ति थियो र आज पनि छ । यस अर्थ क्रान्ति, अझै क्रान्तिकारी काम अहिले पनि बाँकी छ । यो लोकतन्त्रको, गणतन्त्रको वैचारिकीको कुरा गरेको मैले ।

घुस नखान सकिने हामी कहिले हुन्छौँ ? हामी पार्टीलाई त्यस्तो कहिले बनाउँछौँ ? हामी त्यस्तो राज्य कहिले बनाउँछौँ ? बनाउन सकिएला कि नसकिएला ? यो प्रश्न असाधारण हो भन्ने लाग्छ । दोस्रो, अहिले संविधानको कुरा छ । म यो ‘बबुरो’ संविधान भन्न थालेको छु, किनभने यो हाम्रा नालायकीहरू, राजनीतिज्ञका नालायकीहरू संविधानतिर फाल्दिने । किन भएन भन्दा संविधानले दिएन । यो निर्वाचनले दिएन । तपाईंले घुस नखानका लागि निर्वाचन प्रणालीले रोकेको हो ? तपाईंले गुटबन्दी नगर्नका लागि उसले रोकेको हो ? गुटबन्दीका लागि मान्छेको खुट्टा तानातान गर्न, अंकगणित गर्न, चाकरहरू जम्मा गर्न र राजनीति भनेको केबल कुर्चीको खेल हो भन्ने साबित गर्न संविधानले दिएको हो ? तपाईंलाई त्यस्तो बनाएको हो ? बाध्य पारेको हो ?

आज जसरी राजनीति जनताबाट उखेलिँदैछ, सत्तामा केन्द्रित हुँदैछ, जस्ता पनि सत्ता, जस्ता पनि गठबन्धन बनाउने, राज्य दोहन गर्ने जुन राजनीति स्थापित भएको छ, यो राजनीतिले जनतामा भयंकर असन्तुष्टि उत्पन्न गर्दैछ ।

संविधान बोल्दैन बिचरा ! त्यससँग बन्दुक पनि छैन, केही पनि छैन । अनि सजिलो भएको छ मान्छेहरूलाई । यो किन भएन ? संविधानले भएन !

सामन्ती युगमा गाउँमा ठुलाबडाहरूले अर्का निमुखाका छोरीहरूलाई गर्भवती बनाएपछि अर्को कोही निमुखो खोजेर त्यसलाई एक सय, दुई सय रुपैयाँ दिएर ‘ल स्याहार’ भनिन्थ्यो । त्यसलाई ‘हिल्ला लगाउने’ भन्थे । आज आफ्ना सारा अपराधहरू संविधानलाई हिल्ला लगाएर हाम्रो राजनीति बाँच्न खोज्दैछ । यो प्रणालीको कुरा र वैचारिकीको कुरा गर्न खोजेको मैले । यो दुई वटा उदाहरणमा मैले यो कुरा भन्न खोजेको हो ।

आज जसरी राजनीति जनताबाट उखेलिँदैछ, सत्तामा केन्द्रित हुँदैछ, जस्ता पनि सत्ता, जस्ता पनि गठबन्धन बनाउने, राज्य दोहन गर्ने जुन राजनीति स्थापित भएको छ, यो राजनीतिले जनतामा भयंकर असन्तुष्टि उत्पन्न गर्दैछ । त्यो असन्तुष्टिमाथि अरु अराजक पपुलिस्टहरूले खेल्दैछन् । यसले गर्दा ०८४ सम्म जाँदाखेरि असाध्यै उग्र हुँदै गरेको समाजका विरुद्धमा सत्ताधारीहरूले दमन गर्ने र अझै फासिस्ट हुँदै जाने, सडक अझै अराजक हुँदै जाने, ठुलो भ्रष्ट मुर्दावाद, सानो भ्रष्ट जिन्दावाद, पुराना भ्रष्ट मुर्दावाद, नयाँ भ्रष्ट जिन्दावाद जस्ता नाराहरू लाग्ने यिनीहरूबाट समाज लतारिँदै जाने हुन सक्छ । यही रह्यो भने २०८४ को चुनाव पाकिस्तानको वा बंगलादेशको जस्तो चुनावतिर जाने छ । दमन गरेर, बुथ कब्जा गरेर, मुद्दा लाएर मान्छेहरूलाई घुँडा टेकाएर, अर्को कुनै उपाय नदिएर यहीँ भोट हाल्ने हो, योभन्दा भोट हाल्ने अर्को कुनै उपाय नदिएपछि के हुन्छ त्यसपछाडि ? जतिले हाल्लान्, हाल्लान् । एउटा चित्र यो हो ।

तर यो नेपाल न पाकिस्तान हो, न बंगलादेश हो । यो त हरेक निरंकुशताका प्रवृत्तिहरूसँग लड्दै तिनलाई घुँडा टेकाउँदै आएको नेपाल हो । त्यसले गर्दाखेरि त्यो त्यति सजिलो छैन । सजिलो नहुँदा सत्ता जति फासिस्ट हुँदै जान्छ, त्यसका विरुद्धमा प्रतिरोध हुँदै जान्छ । त्यसपछाडि यो राजनीति, मूल्य, सिद्धान्त, विचार भन्ने कुराचाहिँ हराएर जान्छ । सत्ताधारीहरूको विरुद्धमा जसले सबैभन्दा चर्को–चर्को स्वरमा गाली गर्छ, तिनी मान्छे चुनिएर आउनेछन् ।

मदन भण्डारीका सपनामा सत्तामा पुग्ने । जनयुद्धका सपनामा सत्तामा पुग्ने बाहेक अर्को छैन, हराउँदैछ । छ कहीँ भने पनि त्यो खुम्चिँदै, दमित हुँदै गएको छ । त्यो बोल्न नसक्ने हुँदै गएको छ । यहाँबाट उछिट्टिएर कता–कता जाँदैछ ।

त्यसपछाडि के हुन्छ ? तीन महिना सरकार बन्दैन । सरकार बनेको १५ दिनमा खस्छ । यो दुई वटै अवस्थामा हाम्रो संविधान भयंकर खतरामा छ । नेपालीका दुर्दिन नजिक देख्छु मैले । यो धेरै डरलाग्दो कुरा छ । यस अर्थमा हामीले यस्तो बहस हरेक चोकमा, सडकमा गर्नुपर्ने वेला भइसक्यो । नत्र हामी नेपाली धेरै संकटमा आउँदैछौँ । यसलाई हामीले ख्याल गर्नुपर्छ होला भन्ने लाग्छ मलाई ।

अब कम्युनिस्टको कुरा गरौँ । यो अवस्थाले आजको कम्युनिस्ट आन्दोलनको विचार कहाँ छ ? सिद्धान्त के हो ? समाजवाद भनेको के हो ? कम्युनिस्ट पार्टी के हो ? वर्ग कहाँ छ ? उत्पीडित जाति कहाँ छन् ? यसमा चासो छ कि छैन ? आन्दोलनमा यो छ कि छैन भन्ने धेरै गम्भीर प्रश्न उठाउँछ । यही प्रश्नलाई अलिकति अर्को तरिकाले भन्ने हो भने, कमरेड कति पटक प्रधानमन्त्री भएपछि सहिदको सपना साकार हुन्छ ? कति पटक प्रधानमन्त्री भएपछि जनयुद्धको सपना साकार हुन्छ ?

मदन भण्डारीका सपनामा सत्तामा पुग्ने । जनयुद्धका सपनामा सत्तामा पुग्ने बाहेक अर्को छैन, हराउँदैछ । छ कहीँ भने पनि त्यो खुम्चिँदै, दमित हुँदै गएको छ । त्यो बोल्न नसक्ने हुँदै गएको छ । यहाँबाट उछिट्टिएर कता–कता जाँदैछ ।

नेतृत्वको कुरा गर्दा म १४ वर्ष जेल बसेको हुँ, मलाई प्रधानमन्त्री चाहियो भन्ने । म जनयुद्ध लडेको, मलाई प्रधानमन्त्री चाहियो ! त्यतिखेर पनि म नेता थिएँ, अब पनि म नेता हो भन्ने । यो कुनै तर्क हो ? इतिहासको तर्क हो आज ? खुलेआम यो भइराख्या छ, कुनै तर्क हुन्छ यस्तो ?

संविधान खतरामा छ, राजनीति बरालिँदै छ, दलाल पुँजीवादले कब्जा गरिराख्या छ, कम्युनिस्ट पार्टीको विचार सत्ताभन्दा बाहेक, कुर्चीभन्दा बाहेक अन्त जान छोडेको छ । लिडरसिप त नयाँ जेनेरेसनका लागि सिँढी बन्नुपर्ने हो । उसले भन्नुपर्ने हो– ल आऊ, हरेक आऊ, मभन्दा अब्बल आऊ, मभन्दा अगाडि हिँड भन्नुपर्ने हो । त्यो राम्रो लिडरसिप हो । लडेको छ, लडाएको छ, षडयन्त्र गरेको छ, रात–दिन गुटबन्दी गरेको छ । राजनीति कहिल्यै गर्दैन । देशको कुरा कहिल्यै छलफल हुँदैन । आजको भूराजनीतिको कुरा हुँदैन । विश्व व्यवस्थाको कुरा हुँदैन । यहाँको वर्गको कुरा हुँदैन । यहाँको तलबको कुरा हुँदैन । तिनका घरमा दुई रुपैयाँ, पाँच रुपैयाँ पुग्छ कि पुग्दैन ? तिनले भात खान्छन् कि खाँदैनन् ? तिनले तरकारीसित खान्छन् कि नुनसित मात्रै खान्छन् ? त्यसबारेमा कुरा हुन छोडेको छ ।

मैले यसैलाई पहिला एकचोटि भनेको थिएँ । घुस खान कांग्रेसले राजाबाट सिकेको थियो । कांग्रेसबाट हामी एमालेले सिक्यौँ । कांग्रेस र हामी एमाले मिलेर माओवादीलाई खुवाउन थाल्यौँ, सिकायौँ ।

यस्तो किन हुन्छ ? इटालीको कम्युनिस्ट पार्टीका महासचिव एन्टेनो ग्राम्सी हुनुहुन्थ्यो । उहाँले धेरै राम्ररी बताउनुभएको छ । एक वेलाको क्रान्तिकारी पार्टी अर्को वेलाको यथास्थितिवादी र कहिलेकाहीँ प्रतिक्रियावादी हुन सक्छ । किनभने जब लिडरसिपको वर्गोन्नति हुँदै जान्छ, त्यसपछाडि त्यो हिजोको श्रमिक वर्गको विचार पनि रहँदैन, केही पनि रहँदैन । केही खोल बाँकी रहन्छ, झण्डा बाँकी रहन्छ, नाम बाँकी रहन्छ, भित्र ब्वाँसाले जस्तो अरु खाइसक्या हुन्छ ।

हामीले प्रजातन्त्र ल्यायौँ । हामी एमालेहरू त्यतिखेर जनताको बहुदलीय जनवादको कुरा गर्दै थियौँ । जनताको बहुदलीय जनवादका केही राम्रा कुरा थिए, ती छोड्दै गयौँ हामीले । अनि प्रतिस्पर्धामा श्रेष्ठता हासिल गर्ने कुरा गर्न थाल्यौँ । आफ्नै साथीसँग सहकार्य होइन, प्रतिस्पर्धा गर्न थाल्यौँ र त्यो प्रतिस्पर्धामा अर्को साथीको खुट्टा भाँचेपछि मात्रै म माथि जान सक्छु भन्ने विद्या हामीले सिक्दै गयौँ । त्यसले हामीलाई फाइदा पनि भयो । किनभने हामीलाई सत्ताको हेलमेलमा पुर्‍यायो । हिजोभन्दा आज जीवन फेरियो । हाम्रो उठबस, खानपान, लवाइखवाइ सबै कुरा परिवर्तन हुँदै गए । अब हामी कांग्रेस वा हिजोका पञ्चहरूसँग प्रतिस्पर्धा गर्न थाल्यौँ । त्यस्तो जीवन बाँच्ने आदर्श हुन थाल्यो ।

यसरी हाम्रो जनवादी आन्दोलनकै क्रममा वर्गोन्नति हुँदै गयो । मैले यसैलाई पहिला एकचोटि भनेको थिएँ । घुस खान कांग्रेसले राजाबाट सिकेको थियो । कांग्रेसबाट हामी एमालेले सिक्यौँ । कांग्रेस र हामी एमाले मिलेर माओवादीलाई खुवाउन थाल्यौँ, सिकायौँ । पछि माओवादी बिस्तारै एमालेजस्तो भयो । बाटो उही थियो । त्यही बाटो हिँडेपछि जाने त दलाल पुँजीवादकै दरबारमा थियो । हामी पनि त्यही दलाल पुँजीवादकै दरबारमा घुस्यौँ । यसरी दलाल पुँजीवादसँग हाम्रो आन्दोलन, हाम्रो लिडरसिपले लडेन । मोलमोलाइ गर्न थाल्यो । धेरै कुरा गर्न थाल्यो, अहिले त्यतापट्टि नजाऊँ ।

यसरी त्यो विचार, त्यो सिद्धान्त, त्यो तत्परता, त्यो संकल्प, त्यो आदर्श, त्यो मूल्य, नैतिकता, के–के थिए ती जम्मै बाँकी बिस्तारै–बिस्तारै रुपान्तरित हुँदै गए । आज कम्युनिस्ट आन्दोलनको मूल प्रवृत्ति भन्दैछु मैले । सबै कम्युनिस्टहरू बिग्रे, सत्यानाश भए भन्ने कुरा निराशाको कुरा हो । त्यस्तो भएको छैन । फेरि नेपालमा त्यो हुन सम्भव पनि छैन । त्यस्तो हुने पनि छैन । प्रवृत्तिगत हिसाबले हेर्दाखेरि त्यस्तो देखिन्छ । लिडरसिपले म फाइदै गर्दैछु भनेर हामीलाई भनेर हुँदैन । उसले चाहेरमात्रै हुँदैन । जुवा खेलेर धनी बन्ने सिद्धान्त आजसम्म अर्थशास्त्रले बनाएकै छैन । हामी सब खेल्दैछौँ जुवा । सत्ताको जुवा खेलेर समाजवादमा जाने ? त्यसैलाई मैले पटक–पटक भनेको, स्वर्गको ठेगाना खल्तीमा हालेर नर्कको बाटो हिँडेपछि पुगिने नर्कै हो है कमरेड ।

(नेपाली कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलालको ४७ औँ स्मृति दिवसमा आयोजित कार्यक्रममा गरेको सम्बोधनको सम्पादित अंश)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

घनश्याम भुसाल
घनश्याम भुसाल
लेखकबाट थप