कोरला नाका खोल्न तिब्बत सकारात्मक, मानसरोवरको बाटो खोल्न गण्डकीको प्रस्ताव
सारांश
- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे चीनको एक साता लामो भ्रमण सकेर पोखरा फर्केका छन्।
- भ्रमणमा गण्डकी प्रदेश र तिब्बतबीच आर्थिक, पर्यटकीय र सांस्कृतिक सम्बन्ध विस्तारबारे समझदारी भयो।
- मुख्यमन्त्री पाण्डेले कोरला नाका सञ्चालन र पोखरा विमानस्थलमा सीधा उडानका लागि प्रस्ताव राखे।
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे चीनको एक साता लामो भ्रमण सकेर पोखरा फर्किएका छन् ।
उनी हिमालय एयरलाइन्सको जहाज मार्फत पोखरा नै अवतरण गरेका हुन् । नेपाल र चीनबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवको अवसरमा उनी तिब्बत स्वायत्त सरकारले आयोजना गरेको विशेष कार्यक्रममा सहभागी हुन प्रतिनिधि मण्डल सहित साउन ६ गते गएका थिए ।
भ्रमणका क्रममा गण्डकी प्रदेश र तिब्बतबिच आर्थिक, पर्यटकीय र सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउन आपसी समन्वय गर्ने समझदारी भएको छ ।
सोही अवसरमा पाण्डेले तिब्बत स्वायत्त क्षेत्रका लागि चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) का सचिव वाङ जुनझेङसँग ल्हासामा उच्चस्तरीय भेटवार्ता गरे । उनले गण्डकी प्रदेश र तिब्बत जोड्ने रणनीतिक महत्वको कोरला नाकालाई नियमित सञ्चालन गरी दुईतर्फी व्यापार र पर्यटन प्रवर्द्धनका लागि सहकार्य गर्न प्रस्ताव राखेका उनका प्रेस संयोजक नरहरी सापकोटाले जानकारी दिए ।
पाण्डेले तिब्बतको मार्ग हुँदै कैलाश मानसरोवर जाने नेपाली तथा विदेशी तीर्थयात्रीका लागि यात्रा सहजीकरण, चीनका प्रमुख सहरहरूबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सीधा हवाई उडान थप गर्ने र दुई प्रदेशबिच लगानी भित्र्याउने विषयमा पनि प्रस्ताव गरेका थिए । चिनियाँ लगानीकर्तालाई आकर्षित गर्न कर छुट र पोखराबाट ल्हासा जाने पर्यटकका लागि भिसा प्रक्रियालाई सरल बनाउने पाण्डेले प्रतिबद्धता जनाएका थिए ।
सिपिसीका सचिव वाङ जुनझेङले कोरला नाका सञ्चालनमा गण्डकी प्रदेश सरकारले देखाएको चासो सकारात्मक रहेको बताए । उनले कोरला नाका चीनको पनि प्राथमिकतामा रहेको भन्दै यसको सफल सञ्चालनका लागि संयुक्त प्रयास आवश्यक रहेको सुनाए ।
सचिव वाङले कृषि, पर्यटन र उद्योगजस्ता क्षेत्रमा गण्डकी प्रदेशसँग सहकार्य गर्न तिब्बत सरकार इच्छुक रहेको बताएका छन् ।२०२३ को नोभेम्बरमा आफूले गरेको गण्डकी प्रदेश भ्रमणको स्मरण गर्दै वाङले उच्चस्तरीय भ्रमणको निरन्तरताले सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे ।
भ्रमणकै क्रममा मुख्यमन्त्री पाण्डेले लिन्जी नगरका पार्टी सचिव आओ लिउछ्वान र मेयर बातासँग पनि भेट गरेका थिए । पोखरा र लिन्जी सहरबिच भगिनी सम्बन्ध स्थापित छ । त्यस अवसरमा दुई सहरबिच पर्यटन, खेलकुद तथा व्यापार जस्ता क्षेत्रमा सहकार्य बढाउने विषयमा महत्त्वपूर्ण छलफल भएको मुख्यमन्त्री पाण्डेले जानकारी दिए ।
भ्रमणमा मुख्यमन्त्रीकी धर्मपत्नी बिना पाण्डे, कांग्रेस प्रमुख सचेतक नन्दप्रसाद न्यौपाने, एमाले प्रमुख सचेतक गोविन्दबहादुर नेपाली र मुख्यमन्त्रीका प्रेस संयोजक नरहरि सापकोटा सहितको टोली सहभागी थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुशलको कीर्तिमानी ब्याटिङमा नेपालको विशाल स्कोर
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
-
सर्वोच्चको फैसला कार्यान्वयन गर्न केले रोक्यो ?
-
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण