९ वर्षसम्म सडक नबन्दा स्थानीयलाई सास्ती, जता गुहारे पनि भएन काम
सारांश
- बुटवलदेखि बेथरीसम्मको २१ किलोमिटर सडक विस्तारको काम ९ वर्षमा पनि सम्पन्न हुन सकेको छैन।
- सडक निर्माणमा ढिलाइ हुँदा स्थानीयले सास्ती खेप्नुपरेको छ, र पटक-पटक गुनासो गर्दा पनि सुनुवाइ भएको छैन।
- निर्माण कम्पनीले ६५ प्रतिशत काम सकेको छ, तर १७ करोड रुपैयाँ आवश्यक पर्ने र ठेक्का तोड्ने तयारी भइरहेको छ।
बुटवल । बुटवल बेलबासदेखि रुपन्देहीको मायादेवी गाउँपालिकाको बेथरीसम्म २१ किलोमिटर सडक विस्तार काम सुरु भएको ९ वर्षमा पनि सम्पन्न हुन सकेको छैन ।
२०७३ सालमा ठेक्का सम्झौता भएको यो सडक समयमा नबन्दा स्थानीयले सास्ती बेहोर्नुपरेको छ । तीन वटा प्याकेजमा ठेक्का लागेको यसको दक्षिणतर्फका भने दुई वटा प्याकेजको काम यसअघि नै सम्पन्न भइसकेको छ ।
बुटवलतर्फको एउटा प्याकेजको काम निर्माण सम्पन्न नहुँदा यात्रु तथा स्थानीयले सास्ती भोगिरहेका छन् । लामो समयसम्म सडकमै निर्माण सामग्री राख्ने र टिपर गुडाउने गर्दा धुलोधुवाँ अनि पानी पर्दा हिलोले हैरान भएपछि जिल्ला प्रशासनदेखि मुख्यमन्त्री कार्यालयसम्म स्थानीयले ज्ञापन पत्र बुझाएका थिए । तर यसप्रति कुनै सुनुवाइ नभएको स्थानीय अभियन्ता गणेश न्यौपानेले बताए । ‘हामीले पटक–पटक ध्यानाकर्षण गराउँदा पनि कसैले सुनुवाइ गरेनन्, दुःख पायौँ,’ उनले भने ।
पहिलो प्याकेजको साढे आठ किलोमिटर सडकमध्ये दुई किलोमिटरमा एक वर्षदेखि काम हुन नसक्दा सडक अलपत्र परेको हो । बुटवल उपमहानगरपालिका–११ का वडासदस्य नहकुल शाही चार लेन सडकको ठेक्का सम्झौता र शिलान्यास हुँदा उत्साहित भए पनि अहिलेसम्म आफ्नो घर अगाडि सडक अलपत्र परेपछि आक्रोशित छन् । उनले ठेकेदार तथा सरकारलाई सडक निर्माणको काम छिटो सक्न पटक–पटक दबाब दिएको सुनाए ।
निकाय फेरिए, काम उस्तै
यो सडक हेर्ने निकायहरू धेरै पटक फेरिएका छन् । सुरुमा यसलाई संघीय सरकारअन्तर्गत डिभिजन सडक कार्यालय बुटवलले हेरेको थियो । मुलुक संघीय संरचनामा गएपछि यो आयोजना प्रदेशमा हस्तान्तरण भएको छ ।
प्रदेशमातहत आएपछि कपिलवस्तु डिभिजन कार्यालयले यो सडक हेरेको थियो । पछि कपिलवस्तु डिभिजन संघ सरकारमातहत गएपछि उसले कपिलवस्तु सडक पूर्वाधार कार्यालय जिम्मा लिएको थियो । र हाल सडक पूर्वाधार कार्यालय रुपन्देहीमातहत छ ।
_h5rHc866Ih.jpg)
प्रदेश सरकारअन्तर्गत सडक पूर्वाधार कार्यालयले योजना कार्यान्वयन गरेपछि यसको बजेट भने संघीय सरकारको सशर्त अनुदानअन्तर्गत विनियोजन भएको हो । पछिल्लो समय यो आयोजनामा संघ सरकारले बजेट विनियोजन नगरेकाले काम बढ्न नसकेको सडक पूर्वाधार कार्यालय रुपन्देहीका सूचना अधिकारी कृष्ण पण्डितले बताए । हेर्ने निकाय पटक–पटक फेरिँदा समस्या आएको उनको भनाइ छ । ‘अन्यथा यति लामो समयसम्म २१ किलोमिटर सडक अलपत्र बन्नुपर्ने होइन,’ उनले भने ।
६० करोड ९१ लाख ९० हजार रुपैयाँमा निर्माण सम्पन्न गर्नेगरी ठेक्का सम्झौता गरेको बज्र गुरु कान्छाराम जेभीले यो सडकको हालसम्म ६५ प्रतिशत मात्र काम सकेको छ ।
साढे आठ किलोमिटरमध्ये दुई किलोमिटर बाटो कालोपत्र तथा फुटपाथको काम लामो समयदेखि अलपत्र अवस्थामा रहेको सडक पूर्वाधार रुपन्देहीका प्रमुख लालु गिरीले बताए ।
पटक–पटक पत्राचार गरेर सडक निर्माणको काम सम्पन्न गर्न आग्रह गरे पनि अहिलेसम्म पूरा हुन नसकेकाले ठेक्का तोडेर नयाँ ढंगबाट जाने तयारी भइरहेको पनि उनले बताए ।
_U3BLyugi4q.jpg)
सडकअन्तर्गत अब साढे दुई किलोमिटर कालोपत्र गर्न बाँकी छ । त्यसबाहेक केही ठाउँमा साइकल लेन र पैदल मार्ग बनाउन बाँकी छ । सडक विस्तारको काम सम्पन्न गर्न १७ करोड रुपैयाँ आवश्यक पर्ने कार्यालयका सूचना पण्डितले बताए । यता निर्माण कम्पनीले भने आफूले दुई करोडभन्दा बढी भुक्तानी पाउन बाँकी रहेको बताएको छ ।
सडकको बिचमा नहर र दुवैतर्फ सात–सात मिटरको डबल लेन बन्नेछ । सडकका दुवै किनारमा दुई मिटरको साइकल लेन र त्यसपछि १.५ मिटरको फुटपाथ हुनेछ । दक्षिणतर्फको एउटा साढे आठ किलोमिटर र अर्को चार किलोमिटर सडक गरी दुई वटा प्याकेजको ठेक्का रमण कन्स्ट्रक्सनले पाएको थियो । र उसले ठेक्का सम्पन्न गरिसकेको छ । बज्रगुरुले पाएको साढे आठ किलोमिटरको काम भने पाँच पटकसम्म म्याद थपिँदा पनि पूरा हुन सकेको छैन ।
_1nPu1paM0d.jpg)
बुटवल उपमहानगरपालिकाको बेलबासबाट सुरु भएको यो चार लेन मोतीपुर, शुद्धोधन गाउँपालिकाको बेतानी, सियारी गाउँपालिकाको अमुवा हुँदै मायादेवी गाउँपालिकाको बेथरीसम्म पुग्छ । बेथरी बजार भैरहवा–लुम्बिनी सडक खण्डमा पर्छ । बुटवलबाट लुम्बिनी जान सहज हुने गरी पर्यटकीय मार्गको परिकल्पनाअनुसार यो सडक निर्माण अघि बढाइएको सडक पूर्वाधार कार्यालय बुटवलका सूचना अधिकारी इन्जिनियर महेश्वर लम्सालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छुट्टाछुट्टै सडक दुर्घटनामा चार जनाले ज्यान गुमाए, दुई घाइते
-
१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ
-
घरेलु कामदारका रूपमा महिलालाई अवैध रूपमा खाडी पठाउने ६ जना पक्राउ, ३१ लाख नगद बरामद
-
मानव अधिकार आयोगको प्रतिवेदन बदनियतपूर्ण रहेको एमालेको निष्कर्ष, भूतप्रभावी कानुन बनाउने सिफारिसमा आपत्ति
-
संविधान संशोधन गर्दा मूल संरचनालाई कुनै पनि हालतमा खण्डित गर्न हुँदैन : रेग्मी
-
क्युबाका राष्ट्रपतिमाथि अमेरिकाले लगायो प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण