शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
स्थायी कमिटी बैठक

प्रचण्डको प्रस्ताव– स्वार्थ समूह विघटन गरौँ, आन्तरिक कुरा बाहिर लैजान रोकौँ

शुक्रबार, १६ साउन २०८२, १७ : २६
शुक्रबार, १६ साउन २०८२

सारांश

  • प्रचण्डले पार्टीको आन्तरिक विवाद बाहिर ल्याएको भन्दै उपमहासचिव जनार्दन शर्माप्रति असन्तुष्टि व्यक्त गरे।
  • प्रचण्डले पार्टीभित्र कम्युनिस्ट आचरणमा विचलन आएको र स्वार्थ समूह हाबी भएको भन्दै चिन्ता व्यक्त गरे।
  • प्रचण्डले पार्टी एकताबारे माधवजीसँग सकारात्मक छलफल भएको र जागरण अभियान भदौ १५ गतेबाट सुरु हुने बताए।

काठमाडौँ । नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी भित्रको अन्तरविरोधलाई बाहिर लगेकोमा उपमहासचिव जनार्दन शर्मासँग असन्तुष्टि पोखेका छन् । शुक्रबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकमा एजेन्डा प्रस्तुत गर्दै प्रचण्डले शर्माको पछिल्लो गतिविधिबारे असन्तुष्टी पोखेका हुन् । आन्तरिक विवादलाई आगामी दिनमा बाहिर नलैजान सचेत गराएका एक नेताले बताए । 

‘पार्टीभित्र अन्तरविरोधको विषयमा प्रभाकरजीको बाहिर लगातार अभिव्यक्ति आएका छन् । यसलाई रोक्नुपर्‍यो । यस्ता गतिविधिले पार्टीको हित गर्दैन । जनार्दनजी मात्र होइन, अन्य नेताहरूले पनि आन्तरिक कुरा बाहिर लैजान बन्द गर्नुपर्छ । अन्तरविरोधलाई मिडियाले पनि उछाल्ने काम गरेका छन् । यसतर्फ सबै जना सचेत होऔँ । सबैले आ–आफ्ना कमी कमजोरी महसुस गरी पार्टीलाई थप एकताबद्ध बनाएर लैजाऔँ’, प्रचण्डको भनाइ उदृत गर्दै ती नेताले भने । 

नेकपाका संस्थापक पुष्पलालको ४७ औँ स्मृति दिवसको अवसरमा असार ६ र ७ गते प्रचण्ड र शर्माबिच सार्वजनिक रूपमै आरोप–प्रत्यारोप चलेको थियो । अर्का एक नेताका अनुसार पार्टीभित्र कम्युनिस्ट आचरणमा विचलन हुँदै बुर्जुवाकरण भएकोमा प्रचण्डले चिन्ता व्यक्त गरेका थिए । स्वार्थ समूह विघटन गर्नुपर्ने प्रस्ताव गरेका थिए । 

‘प्रभाकरजीलाई पार्टीमै नबस्न वा स्पष्टीकरण सोध्ने खालको प्रचण्डले प्रस्ताव गर्नुभएन । तर सिङ्गो पार्टीमा कम्युनिस्ट आचरणमा विचलन आएको र बुर्जुवाकरण भएको विषय राख्नुभयो । पछिल्लो समय पार्टीभित्र विचार समूहभन्दा पनि स्वार्थ समूह हाबी भएकोमा विघटन गर्नुपर्ने प्रस्ताव गर्नुभयो’, ती नेताले भने । 

प्रचण्डले राखेको एजेन्डामाथि शनिबारदेखि नेताहरूले धारणा राख्ने भएकोले आज अन्य नेताले नबोलेको ती नेताले बताए । यता उपमहासचिव हरिबोल गजुरेले पार्टीको अन्तरविरोध सम्बन्धमा छलफल नभएको जिकिर गरे । गजुरेलका अनुसार भोलि ११ बजे बैठक बस्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप