एउटा रोज है गीता !
भूमिका
गीता ! तिमीले मलाई धेरैपटक तिम्रो ‘अस्तिता’ पत्रिकाका लागि कथा चाहियो भनेर २०६४–६५ सालतिर मलाई भनेकी थियौ (तर त्यो पत्रिका तिमीले प्रकाशितै नगर्नाले मेरो यो कथा पनि अप्रकाशित अवस्थामै रहन गएछ) । २०६१ सालमा मोमिलाका आग्रहमा ‘कलाश्री’का लागि कथा भनेपछि मेरो कथाकार फेरि सुतेको थियो । अनुरोधको, आग्रहको अपेक्षा गर्दो रहेछ मेरो कथाकार । नत्र सुतिरहन्छ । विगतमा पनि त्यस्तो भएको छ । कसैले सुमसुम्याएर उठाएपछि, म्वाइँ खाएर झकझक्याएपछि मात्र यो उठ्छ । यसलाई मायाले मात्र उठाउन सकिन्छ, झर्कोफर्को हप्कीदप्की गर्यो भने त यो झन् गुटुमुटु भएर सुतिदिन्छ । त्यस्तो पो छ त मेरो कथाकार । हिजोआज त झन् यस्तो भूखण्ड गर्मीमा पनि मेरो कथाकार जाडो महिनामा सिरक ओढेर मज्जाले सुतेजसरी पो सुतेको छ । त्यसो त त्यसलाई उठाउन पनि मलाई मन लाग्दैन । ‘मैले किन लेख्ने कथा ? कसका लागि लेख्नु मैले कथा ?’ उसले प्रश्न गर्यो भने म उसको चित्त बुझाउने गरी जवाफ दिन पनि सक्तिनँ । त्यसैले पनि चकचके बच्चा सुतेपछि आमाले चैन मानेर ढल्केजस्तै म पनि बरु चैन नै मनाइदिन्छु । त्यसैले उसले भन्दैन कथा, अनि म पनि लेख्दिनँ कथा ।
अझ थाहा छ गीता ! एकपटक ऊ बिउँझिएको बेला मैले उसलाई सम्झाएथेँ– ‘हेर यसरी सुतिनराख्, तैँले कथा भनिस् भने पो मेरो पनि अस्तित्व रहन्छ, कुनै पनि मानिससँग समय कति छ भनेर कसैले भन्न सक्तैन, विलम्ब गर्नु ठीक छैन, आलस्य लिनु ठीक छैन,’ आदि इत्यादि मैले जानेजति पाण्डित्य उसका अघि छाँटेँ ।
त्यसपछि आफूले राम्रैसँग उसलाई सम्झाएँ भन्ठानेर म आफूचाहिँ आत्मगर्वले फुल्दै उसका अनुहारमा मेरा कुराहरूको स्विकारोक्तिका भाव खोज्न थालेँ । तर त्यहाँ त मेरा कुराले उत्प्रेरित भावका साटो झनै विरक्तिका भावहरू पो थपिएर देखापरे । आफूले जानेसम्मका शब्दभण्डार खर्च गरेर उसलाई क्रियाशील तुल्याउने मेरो प्रयत्न खेर गएकोमा मलाई पनि हुनसम्मको विषादले छोप्यो । निकै बेर मौन रहेर त्यसले मसँग त्यस बेला गन्थन पनि गरेथ्यो, ‘हिजोआज कथा पनि केको पो लेख्छौ ? कसको पो लेख्छौ ? कति पो लेख्छौ ? जताततै कथाहरू छ्याल्लब्याल्ल छन् । लेख्नका लागि लेखेर मूल्यवान् कागज नाश पारेको पनि मलाई मन पर्दैन । अनि कुरा पनि के लेख्छौ ? रामायणजस्तो आदर्शवादी कुरा अब काम लाग्दैन । महाभारतको उदात्तता पनि हाम्रो समाजले पचाउनै सक्तैन । वेद, उपनिषद् लेख्न तिम्रो क्षमताले भ्याउँदैन अनि अब अर्को वेद, उपनिषद्को खाँचो पनि कसलाई पो छ र ? भएकै वेद, उपनिषद् नै कतिले पढेका छन् ? पढ्नेले कति बुझेका छन् ? र बुझेर पनि व्यवहारमा कतिले लागू गरेका छन् ? अनि पुराणकै कारण अपभ्रंश भएको यो समाजलाई पुराण लेखेर अरू कति थिलथिल्याउँछौ ? त्यसैले तिमीले मेरा कुरा बुझ न ! तिमीलाई म अरू के लेखाऊँ ? लेखिइसकेका थोत्रा पुराना कुरा लेखेर तिमी आत्मरतिमा कति रमाउँछौ ? अथवा जे पायो त्यही लेखेर लेखकीय दम्भले भरिँदै मुस्कुराउँछौ ?’ मैले त्यस बेला उसलाई केही जवाफ फर्काउन सकिनँ गीता ! तिमी विश्वास गछ्र्यौ, त्यसपछिका दिनरात मैले छटपटाएर बिताएँ । ऊ भने मस्त निदाइरह्यो, एकनास निदाइरह्यो । म के गर्न सक्थेँ र ! कथाकार निदाएको दृश्य टुलुटुलु हेर्नुसिवाय ।
यो समय त्यसैले मेरा लागि चाहिँ मौन भएर बित्यो । आफू जति नै उथलपुथलिए पनि निकास नभएको पोखरी नियतिसँगको सामीप्यतामा पोखरीकै पीडानुभूतिमा बाँचिरहेँ म । ...र बाँच्नुको अर्थ खोजिरहें म ।
त्यसैले कथा नलेखेको र लेख्ने सोचाइ पनि नबनाएको धेरै भयो गीता !
तर त्यति बेला अचानक तिमीसँग निकै लामो समयपछि भेट भएको थियो । यो भेट दोहोरियो र तेहरियो पनि । यस्ता भेटहरूमा तिमीले जबजब आग्रह गर्यो, मैले तिमीलाई अरूलाई जस्तै पन्साउन खोजेकी थिएँ । तर तिम्रा सामुन्ने तिमीलाई पन्साएर तिमीबाट टाढिए पनि मेरा स्मृतिमा ‘सेभ’ तिम्रो आकृतिले मलाई सताउन थाल्थ्यो । त्यसैले मैले आफूले ‘सेभ’ गरेको तिम्रो त्यो आकृतिको पत्रपत्र केलाउने उपक्रम नगरी हुँदै भएन । माफ गर गीता ! मानिस भन्ने जन्तुबाट मैले यति धेरै धोका खाइसकेकी छु कि म यो जन्तुलाई सितिमिति विश्वास गर्नै सक्तिनँ । यो जन्तुजस्तो बहुरूपीया जन्तु मैले अर्को देखेको पनि छैन । अहिले भर्खर एउटा रूपमा देखिएको यो जन्तु आफ्नो अनुकूलअनुरूप तुरुन्तै रूप परिवर्तन गर्न छेपारोभन्दा पनि खप्पिस हुँदो रहेछ । एकैछिन अघि मात्र एउटा रूपमा देखिएको यो जन्तु एकै पलमा अर्कै भइसकेको हुन्छ । फेरि यसमा हुने विकृतिको पनि सीमा नै छैन । कुनचाहिँ कुरो हुँदैन यसमा ? त्यसैले गीता म हिजोआज मानिस भन्ने जन्तुसँग सङ्गत नै गर्न चाहन्नँ । सङ्गत गरिहाले पनि यसलाई विश्वास गर्न चाहन्नँ । त्यसैले गीता ! मैले तिमीले थाहै नपाई ‘सेभ’ गरेको तिम्रो आकृतिलाई केस्राकेस्रा गरेर केलाउनुपरेको हो । तर एउटा गुठी कुरो भनुँ गीता ! यो जन्तुलाई छोटकरीमा केलाएर विश्वासको ससानो पहिचान गर्न पनि सकिन्छ । यसका लागि यसका आँखा मात्रै जाँच्न सकियो भने पनि यसको केही सत्यतथ्यचाहिँ सामुन्ने आउँछ । यो कुरा मेरा अनुसन्धानले प्रमाणित भइसकेको तथ्य हो । त्यसैले मैले रेसारेसाहरूलाई केलाएर हेरेँ । मैले तिम्रा आँखामा छल देखिनँ, ‘सेभ’ गरेको तिम्रो आकृतिबाट छुट्टयाएर तिम्रा आँखाका आडम्बर पनि देखिनँ, त्यहाँ औपचारिकता पनि थिएन । तिम्रा आँखामा त मायाका रसिला छालहरू सलबलाइरहेका थिए, आखिर म पनि त यही मानिस भनिने जन्तुभित्र त पर्छ नि गीता ! तिमीलाई थाहा छ ! त्यस्तो मानिस भन्ने जन्तुमध्ये एक थरी स्वार्थ, धोका र प्रपञ्चको जाल थाप्छ र त्यही जन्तुमध्येको अर्का थरी भने पटकपटक त्यही जालको आकर्षणमा पर्छ । सायद त्यस्तै केही भएको पो हो कि, म त तिम्रो जालमा परेँ नि गीता ! तिम्रो सुमुग्ध भावभङ्गिमाले मलाई तिम्रो आग्रह स्वीकार गर्न विवश पनि पारिसकेछ । तिमीसामु हुन्जेल मैले यो कुरा पटक्कै बुझेकी थिइनँ, बुझ्यौ गीता ! तिमीसँग बिदा भएपछि मात्रै मैले म स्वयम् तिम्रो स्नेहतालमा डुबेको अनुभूति गरेँ ।
कुवेतबाट पैसा आउन थालेपछि उसको धेरैजसो समय भट्टीतिरै बित्छ । भट्टीमा आउने अरू पनि धेरैजसो केटाहरूका स्वास्नीहरू उसकी मीनाजस्तै पैसा कमाउन अरब, इजरायलतिर गएका छन् । मात्दै गएपछि त्यहाँ एकअर्काका स्वास्नीका बारेमा अनर्गल कुरा पनि चल्छन् ।
त्यसैले गीता ! मैले तिम्रै अनुरोध पूरा गर्ने लक्ष्य लिएर मेरो कथाकारलाई जगाउन थालेँ । निकै गाह्रो पर्यो त्यसलाई जगाउन । साँच्चै निदाएकालाई जगाउन सकिन्छ तर निदाएको बहाना गर्नेलाई जगाउन सकिँदैन भन्ने उक्तिको सार्थकता मेरा अघि देखापर्यो । मेरो कथाकार पनि निदाउँदो रहेनछ, ऊ त निदाएको बहाना मात्रै गर्दो रहेछ । मैले यसैपालि थाहा पाएकी हुँ । आ... हुनु न हुनामी, किन टन्टा बेहोर्नुपरेको होला मैले पनि, गीतालाई ‘कथा लेख्न सक्तिनँ म’ भनिसकेकै छु, किन यसलाई जगाउने उपक्रममा म बितिरहनुपर्यो र ? जस्तो पनि लाग्यो । तर तत्क्षण तिम्रा सामान्य आँखामा मैले पाएको मेरा लागि चाहिँ अति सुन्दर भावहरूले मलाई शान्तिले बस्नै दिएनन् । अनि मैले कथाकारलाई जगाउने प्रयत्नमा लागिरहनुबाहेकको अर्को विकल्प नै मसँग भएन ।
त्यसैले पुनःपुनः कथाकारलाई जगाउने कर्ममै मेरो केही समय बित्यो । ऊ निदाएजस्तो गर्ने र म उसलाई नजगाई नछोड्ने ।
कस्तो निरर्थक जस्तो खेल खेलेँ मैले । सत्तेसत्ते गीता मैले यसरी लगन लगाउनुमा तिम्रा आँखाका कोमल भावहरू नै कारक हुन् । नत्र म यसरी एकलव्य भएर लागिपर्ने मानिस नै होइन ।
तिमीसँग साँचो भन्दै छु, यस्तो घटना पहिलेपहिले पनि नघटेको होइन र यस्तो क्रियामा मैले सफलता पाएको पनि छैन । तर यसपल्ट चाहिँ अचम्म भयो ।
बुझ्यौ गीता ! मेरो कथाकार त उठ्यो । उसले मलाई मन नपराएका आँखाले हेर्यो । मैले उसलाई मायालु आँखाले हेरेँ । मलाई ऊसँग काम लिनुपर्नेछ, म ऊसँग रिसाएर पनि त काम चल्दैन नि ‘आफूलाई काम परेपछि कोढीको पनि पाउ मोल्नुपर्छ’ कुष्ठरोग असाध्य र सरुवा रोग भएको बखत बनेको पुरानो उक्ति भर्खरै मेरै लागि बनेको नयाँ उक्ति भएको थियो । त्यसैले मैले उसको मन नपर्दो अनुहार र व्यवहार पनि सहेँ र एकनास सहिरहेँ ।
‘ए कथाकार तिमीले एउटा कथा भनिदिनुपर्ने भयो ।’ मैले उसलाई सुमसुम्याएर भनेँ । उसले मलाई झनै रिसले तमतमाएको अनुहार पारेर कपलक्क निलौँला जसरी हेर्यो ।
‘हो तिमीले एउटा कथा त भन्नैपर्ने भयो । जसरी पनि भन ।’ मैले पनि उसको व्यवहारसँग सरोकारै नराखी आफ्नो उद्देश्यमा अडिग भएर भनेँ । मैले उसका आँखाको भावको पनि वास्तै गरिनँ । त्यस क्षण कथाकारले पनि केही नबोली टुलुटुलु मेरा आँखामा मात्र हेरिरह्यो ।
‘हो तिमीले कथा भन्नैपर्ने भयो ।’ उसको मौनबाट झनै प्रोत्साहित भएर मैले उसलाई आदेश दिएँ ।
‘के तिमी मसँग ठट्टा गरिरहेकी छौ ।’ बल्ल कथाकारको गम्भीर आवाज आयो ।
जेहोस् उसको वाक्य फुट्दा भने मैले ठुलो प्रतिशतले सफलता पाएँजस्तो मलाई लाग्यो । त्यसैले अब म अझ उत्साहित भएकी थिएँ ।
‘कथासथा भन्न सकिँदैन, अब तिमी पनि कुनै बेला कथाकार थियौ भन्ने कुरा मनमा मात्रै राख, अबको यो युग नै तिम्रो हाम्रो रहेन । यस बेलाको सामाजिक मूल्यमान्यता नै अर्कै भइसक्यो । व्यक्ति, परिवार, समाज, राष्ट्र र विश्व नै तिमी हामीले देखेको, बुझेको र भोगेको भन्दा नितान्त बेग्लै भइसक्यो । कुनै बेला पुजिने देवतालाई अहिले रछ्यानमा राखेका छन् । त्यसैले अबका मानिसका लागि तिमी हामीले लेखेको कथा म्याद नाघेको औषधिजस्तै हुन्छ ।’
मेरो कथाकारका कुराहरूसँग मेरो असहमति हुने कुरा थिएन, तर पनि मलाई तिम्रा लागि कथा नलेखी पनि हुने थिएन नि गीता ! म अलि जिद्दीजिद्दी पनि छु नि ! आफूले अठोट गरेको काम गरिछोड्ने रोगैजस्तो पनि मलाई छ ।
‘भैगो यी सब तिम्रा उपदेश मलाई सुन्नु छैन । म अरू केही जान्दिनँ, मलाई एउटा कथा तिमीले भनिदिनैपर्छ ।’ मैले पनि आफ्नो निक्र्योल उसलाई सुनाइदिएँ ।
‘कस्तो कुरा नबुकने मानिस रहेछिन् यिनी, के भन्ने ? कस्तो भन्ने ? तिमीले किन मलाई असहजताको भुमरीमा पार्दै छौ ?’ उसको झिँझिएको आवाज आएको थियो ।
‘त्यो तिमीले आफैँ ठहर गर्ने कुरा हो, मैले कहिले पनि तिमीलाई यही कथा भन भनेर किटानी दिएकी छैन । आज पनि तिम्रो खुसीले जे मन लाग्छ त्यही भने हुन्छ । मलाई कथासँग मतलब छ । विषय र सुन्दरतासँग मतलब छैन ।’ मैले पनि उसलाई पाखुरामा समातेर भने ।
‘तिमीले लेखाएको कथा आजसम्म लेख्नुपर्ने खालकै छ नि, त्यसैले पनि म ढुक्क छु ।’ पहिले मैले बोलेको वाक्यले उसको बेवास्ता गरेको ठहर्ला र उसको अहम्मा चोट पर्ला भनेर उसलाई उत्प्रेरित पार्ने मनासायले म दोहोर्याएर बोलेकी थिएँ ।
त्यसपछि पुनः हामीबीच मौनता छायो । कथाकार त आँखा चिम्लेर बसिरहेकै थियो, म पनि अब अहिलेलाई बोल्नु हुन्न भन्ने मानसिकतामा पुगेर चुपचाप थिएँ ।
निकै समय बित्यो । हिसाब त गरेकी थिइनँ, तर समय निकै बितेकै अनुभूति मभरि भइरह्यो । मैले पनि आफ्नो अड्डी छोड्दै छोडिनँ, ‘स्त्रीहठ’ भनेको पनि यही हो कि !
आखिर मेरो कथाकार हारेको अनुहार लगाएर कागजकलम समातेकी मेरा सामुन्नेमा बस्यो । ऊ त्यसरी ‘मुड’मा बस्नेबित्तिकै मेरो मनको आकाशभरि सन्तुष्टिका सेता बादलहरू लहराउन थाले ।
‘तिम्रो जिद्दीका कारण मैले कथा भन्ने भएँ । तर म एउटा कथा मात्रै भन्दिनँ । तिम्रो र मेरो वरिपरि छ्याल्लब्याल्ल भएका कथाहरू सोरेर तिमीलाई दिन्छु । ती कथाहरूको व्याख्या विश्लेषण पनि म केही गर्दिनँ । कुनै केमिकल नमिसाइएको प्राकृतिक स्वरूपका विशुद्ध अर्थात् अग्र्यानिक भन्छन् नि, त्यस्ता ती कथाहरू तिमी जे गछ्र्यौ गर । तर हेर अर्को पटकदेखि मलाई यसरी कथा भन्न विवश नपार है ।’
त्यसपछि सधैँझैँ मेरो कथाकार कथा भन्न थाल्यो र म खुरुखुरु लेख्न थालेँ ।
कथा नम्बर एक : अर्थको अर्थ
मीना कुवेत गएको पनि पूरै दुई वर्ष भइसकेछ । चार वर्षका लागि दूधे बालख छोडेर गएकी हो । छोरो राजु पनि दुई वर्ष पुगेर तीन वर्ष लागिसक्यो । आइमाईले कुवेतमा सजिलै काम पाउने कुरा राजुको बाबुले नै दलालबाट सुनेपछि लोग्नेकै सल्लाहले मीना कुवेत गएकी हो । ‘छोरो पनि म राम्ररी स्याहार्छु तँ चिन्तै नगर’ भनेर ढुक्क पारेको थियो गरिबीसँग हारिसकेको राजुको बाबुले । मीना गएपछिका केही दिन त मीनासँगको सम्झौताअनुरूप नै उसले छोराको स्याहार गरेको थियो । तर मीनाले पैसा पठाउन थालेपछि ऊ आफ्नै दुनियाँमा मस्त हुन थालेको छ । कुवेतबाट पैसा आउन थालेपछि उसको धेरैजसो समय भट्टीतिरै बित्छ । भट्टीमा आउने अरू पनि धेरैजसो केटाहरूका स्वास्नीहरू उसकी मीनाजस्तै पैसा कमाउन अरब, इजरायलतिर गएका छन् । मात्दै गएपछि त्यहाँ एकअर्काका स्वास्नीका बारेमा अनर्गल कुरा पनि चल्छन् । त्यस्तो बेला कहिले ऊ पनि सह मिलाउँछ भने कहिले त्यहाँ उनीहरूको झगडा पनि हुने गर्छ । पर्याप्त पैसा भएपछि छोरो स्याहार्न भनेर उसले एउटी कामदार केटी पनि घरमा राखेको छ । तर त्यस कामदारले राजुलाई भन्दा आफैँलाई तनमन धनले स्याहार्नु अनौठो पनि होइन । त्यसैले राजु दिनदिनै कुपोषणको सिकार हुँदै छ । आमा जिउँदो भएको टुहुरो छोरो राजुको भविष्य कस्तो होला ?
कथा नम्बर दुई : अपेक्षाको मूल्य
सञ्जीव बहराइन गएका छन् । सञ्जीवका बूढा बाआमा छोराले पैसा कमाएर ल्याउला र ऋण तिरौँला भनेर पाँच वर्षदेखि छोरोको बाटो हेरिरहेका छन् । सुरुसुरुमा त सञ्जीवले पैसा पनि पठायो । तर बिस्तारै पैसा पठाउने क्रम रोकिएजस्तै भएको छ । ऋण पनि तिरिसकिएको छैन । एउटा मात्र छोरो सञ्जीव फर्केर आउला, हामी मरेपछि किरिया त गर्ला भन्ने आशा छ बाआमालाई । सञ्जीवका बाआमाले पिण्डपानी दिन छोरै चाहिन्छ भनेर दशवटी छोरी जन्माएर पनि सञ्जीव एघारौँ सन्तानका रूपमा जन्मिएको हो । तर सञ्जीव कहिले फर्कन्छ सञ्जीवलाई पनि थाहा थिएन । अचानक वृद्ध पिताको मृत्यु भयो । छोरोलाई खबर पनि भयो, उसले पैसा पठाइदियो, आफूले बिदा नपाउने जानकारी गरायो । घरमा पैसा त थियो तर किरिया गर्ने छोरो आउन सकेन । आमा रोइरहेकी छन् ।
कथा नम्बर तीन : समयको रौनक
‘कस्तो महँगी ? ढाडै सेकिइसक्यो ! घरव्यवहार चलाउन त तपाईंको तलबले पुग्दैन, अरू मलाई चाहिएका कुराको त कुरै नगरौँ ! पल्लो घरको मदनदेव खरदार होइन, उसको त आम्दानी धूमधाम छ जस्तो छ नि ! अनि तपाईं हाकिम भएर पनि किन यस्तो सधैँको टिमटिम ?’ सधैँको अभावबाट दिक्क भएर स्वास्नीले लोग्नेलाई टोकसेकी थिई । ‘म ऊजस्तो हुन सक्दिनँ, बेइमानीको कमाइ मलाई पच्दैन, मेरो सीमित आम्दानीबाट जति पुग्छ त्यति नै पुर्याएर खर्च गर्, बुझिस् । अरू मलाई थाहा छैन ।’ लोग्नेचाहिँले निकै अमिलो मुख लाएर स्वास्नीलाई हपारेको थियो ।
केही दिनपछि स्वास्नीचाहिँलाई छिमेकी खरदारको गाडीमा रानीवनतिर जाँदै गरेको देखिएको थियो ।
कथा नम्बर चार : चाहनाको औचित्य
‘चियर्स !’ सबैले चियर्स गरेपछि सुकन्याको बैठक गुञ्जायमान भयो । एकसे एक पहिरन र गहनाधारी तरुनी सुन्दरीहरूको जमघट थियो त्यहाँ आज । ‘आज हामी मात्रै ? खोइ, अरू को छ त ?’ सुनीताले प्यासा आँखाले चारैतिर नियाली । ‘आउँछ, आज अर्कै आउँछ, म तिमीहरूको इच्छा पूरा नगरौँला र ?’ सुकन्याले सबै तरुनीका आँखामा छचल्किएको प्यास चाखेर भनी । सबैका लोग्नेहरू पैसा कमाउन विदेश गएका थिए । कसैका लोग्ने बिहे गरेपछि मधुमास पनि राम्ररी नमनाई हिँडेका थिए । कसैका लोग्ने एउटा सन्तान भुइँमा झर्दानगर्दै हिँडेका थिए । मिठो स्वादसँग परिचय गर्दानगर्दै थाल खोसिएका भोका आइमाईहरूलाई विदेशबाट लोग्नेको कमाइ राम्ररी आउँथ्यो । पैसा सबै थोक भएर पनि लोग्नेको पर्याय हुँदैनथ्यो । तर सुकन्याको परिपाठका कारण अब लोग्नेले नै पठाएको पैसाले लोग्नेको आवश्यकता पूर्ति गर्ने उपक्रमले पनि गति लिँदै थियो ।
कथा नम्बर पाँच : वर्तमानमा जीवन
बिहे गरेको चार वर्षसम्म पनि सुन्तलीको कोख भरिएन । अब अति भयो भनेर घर र गाउँ सबैतिर कुरा काट्न पनि सुरु भइसकेको थियो । लोग्ने, सासू र ससुरासमेत सुन्तलीको पछिल्तिर खासखुस खासखुस गर्न थालिसकेका थिए ।
सुनीताले प्यासा आँखाले चारैतिर नियाली । ‘आउँछ, आज अर्कै आउँछ, म तिमीहरूको इच्छा पूरा नगरौँला र ?’ सुकन्याले सबै तरुनीका आँखामा छचल्किएको प्यास चाखेर भनी । सबैका लोग्नेहरू पैसा कमाउन विदेश गएका थिए । कसैका लोग्ने बिहे गरेपछि मधुमास पनि राम्ररी नमनाई हिँडेका थिए ।
एक पटक डाक्टर देखाउने सल्लाह भयो र केही औषधिपानीपछि गर्भ रह्यो, छोरै जन्मियो । साउनको पानी बढेझैँ छोरो बढ्यो, उनीहरूको अर्को सन्तान जन्मेन पनि । एउटै सूर्य काफी छ भन्ठानेर परिवारमा पनि चित्त बुझेकै थियो । अचानक एक दिन त्यही सोह्रबर्से छोरो अज्ञात बन्धुकधारीको गोलीको सिकार भयो ।
मध्यान्तर
मैले लेखिरहेको बेला अचानक कथाकारको आवाज बन्द भयो । मैले कथाकारलाई हेरेँ, ऊ त चुप लागेर मलाई पो हेरिरहेको रहेछ । मैले उसलाई ‘किन कथा नभनेको ?’ भन्ने मौन प्रश्न गरेँ ।
‘कतिवटा कथा चाहियो तिमीलाई ? पुगेन भन्याँ ? यस्ता कथाहरू त जताततै छयाल्लब्याल्ल छन् । टिप्नु मात्रै पर्छ । भो अब ।’ उसले केही झर्केको भाकामा भन्यो ।
‘यतिले काँ पुग्छ भन्याँ, अल्छी नगर न अझै केही कथाहरू भन न’ मैले पुनः आग्रह गरेँ ।
उसले केही अल्छी नै गरेर लामो हाइ काढ्यो र आँखा चिम्ल्यो । अब उसले केही कथा भन्छ । म पनि टिपोटका लागि अग्रसर भएँ ।
कथा नम्बर छ : सहादत
जनयुद्ध समाप्त भयो । दिन नभनी रात नभनी के गरिएन । लुटपाट गरिएन कि, हत्या गरिएन कि, भोकप्याससँग लडिएन कि ! जे पनि गरियो नवबिहानी आउँछ भनेर गरियो । जेहोस् सोचेजस्तै शान्तिवार्ता पनि भयो । अब सपनाहरू साँचो हुने भए । लोकनाथ काठमाडौँ गएको पनि निकै दिन भयो । कसोकसो विमलाले जङ्गलमै पेट बोकेकी थिई । तै लोकनाथले पेट स्विकारेकाले ठुलो समस्या परेन । कमान्डरले पनि दुवैलाई जोडी नै मानिदियो । हुन त कमान्डरलाई पनि विमलाले खुसी राखेकी नै थिई । विमलाले धन्न जङ्गलमा सुत्केरी हुनु पनि परेन । शत्रुको आक्रमणको खबर आएकाले त्यस बेला कमरेड शान्तिले जङ्गलमा सुत्केरी भएकै दिन रगत चुहाउँदै त्यहाँबाट सुदूरपूर्वको डाँडो नाघ्नुपरेको थियो । कमरेड शान्तिकै हाल हुने भयो भनेर यो बच्चो पेटमा आएपछि गिराउन पनि विमलाले कति खोजेकी हो तर केही लागेन । ‘तर अब शान्तिवार्ता भएको छ । यो पेटको बच्चो भाग्यमानी छ जस्तो छ । लोकनाथले केही त काम पक्कै पाउँछन् । सुत्केरीमा भोकै बस्नुपर्नेछैन ।’ विमलाले शान्तिको सुस्केरा तानी । ‘घर फर्किन केही ढिलो हुन्छ, अहिले पार्टीले खटाएको एउटा अपरेसनमा जाँदै छु, उताबाट फर्केपछि कमान्डरले आम्दानी हुने काम मिलाइदिने भएका छन् । काम पाउनासाथ तिमीलाई पनि बोलाउँछु, चिन्ता नगर्नु ।’ त्यस दिन लोकनाथले काठमाडौँबाट फोन गरेको थियो ।
पार्टीले लोकनाथलाई तराईमा खटाएको रहेछ । हिजो मात्रै गाउँभरि समाचार फैलियो, रौतहटको घटनामा कमरेड लोकनाथले सहादत प्राप्त गरे ।
कथा नम्बर सात : प्राणऔचित्य
कालीमाटीबाट पचास रुपियाँको कागती र पच्चिस रुपियाँको साग किनेर साँझपख जमलको सडककिनारामा थापेपछि उसका हातमा साउँ छुट्टयाएर पचास रुपियाँ परेको हो । उसले बेलुकीको छाकका लागि बीस रुपियाँको चामल र दस रुपियाँको मट्टीतेल किनी, भोलि कालीमाटी जान–आउन माइक्रोबसको भाडा बीस रुपियाँ पनि छुट्टयाएपछि बाँकी पचहत्तर रुपियाँ साउँ चोखै छँदै थियो ।
‘जेहोस् पानी परेन भने भोलि बेलुकीको छाक पनि कमाउँला ।’
ऊ ढुक्क भएर भात पकाउन थाली । सधैं मातेको लोग्ने छिँडीको कोठामा पस्यो । अभ्यस्त भए पनि नाकमा ठ्वाँस्स गनायो । ‘ए राँडी ! खोइ, पैसा ले...’ एकैछिन भनाभन..., एकैछिनपछि हानाहान..., एकैछिनपछि कोलाहल... आइमाई स्वरको चिच्च्याहट ‘...राँडीका छोरोले सबै पैसा लग्यो, अब भोलि केले कमाउनु...’ भोलिको छाक केले टार्ने ?
.. भोलिको भोक जागेर ऊ आजैदेखि रोइरहेकी थिई ।
कथा नम्बर आठ : सेरोफेरोमा विश्वास
‘अहिले हामीले भनेअनुसार मात्रै गर, हाम्रो सरकार आएपछि तिम्रा पनि दिन आउलान् ।’
नेताजीले भनेका थिए, बारम्बार भनेका थिए । उसकै झुपडीमा आएर पिँडीमा बसेर उसकै ठुटो बिँडी तानेर भनेका कुरा पनि उसले नपत्याउने कुरै भएन नि ।
‘त्यत्रो ठुलो नेता... ! बाबै हाम्रा घरकरेसाँ आउनु भनेकै हाम्रो भाग्य उदाउने सङ्केत हो बुझिस् !’ स्वास्नीलाई उसले परिपाठ लाउँदै भनेको थियो ।’ ...जे नि पाकेको छ भातभान्सा लोभ नगरी उनको पनि भाग लगा, हेर्, पछि उनकै शरणाँ जाने हो हामी पनि..., बरा कति दिनदेखि पुलिसले लखेटेर हैरान भा छन् ।’
अनि उसले पनि गर्नुनगर्नु जे पनि नेताजीकै हिसाबमा गयो । आफ्ना आँखाले पनि हेरेन, स्वविवेक पनि चाल पाएन, गाउँछिमेकी पनि भनेन, पापधर्म पनि भनेन ।
‘त्यस्तो देउताजस्तो नेताजीले भनेका कुरा जगत्कै भलोका लागि भनेका हुन्, मेरै भलोका लागि भनेका हुन् ।’
उसले यसबाहेक केही ठहर्याएन ।
नभन्दै नेताजीले भनेजस्तै भयो, दिन फिर्यो नेताजीको । उनी हेर्दाहेर्दै चिल्ला ठुला गाडीमा चढ्ने भए । उसका पनि भुइँमा खुट्टा थिएनन् ।
‘...अब गरिबको पनि दिन फिर्छ... ।’
त्यसपछिको उसको ठहर थियो ।
अहिले नेताजीलाई भेट्न काठमाडौँ धाउँदाधाउँदा उसलाई ऋण पनि लागेको छ । कसै गरे पनि नेताजीसँग उसले भेट गर्नै पाएन । गाउँलेलाई गर्नु नगर्नु गरेकाले उसको बास पनि गाउँबाट उठिसकेको छ । तर नेताजीसँग भेट गर्न पनि उसले पाएन । नेताजीको झलक उनी गाडीमा चढेका बेला एकदुईपल्ट मात्रै देखेको हो ।
‘कस्तो अर्कै देखिएका... मोटाएर गालाबाट रगत चुहिएला जस्तो... । पोसाक पनि सफा चिटिक्क, आर्कै मानिसजस्तो... ।’
टाढैबाट देखिएका नेताजीबारे उसले गुनेको थियो । ‘नेताजीलाई फुर्सतै छैन...’
ऊ आफ्नो जीर्ण हुँदै गएको तनमन सम्झेर दिक्क भएको थियो । तर नेताजीसँग अहँ उसको भेट हुन सकेन ।
...सरकार भर्खरै ढलेको खबर रेडियोमा आएको थियो । अब नेताजीलाई फुर्सत हुन्छ । पार्टी प्रतिबन्धित भयो रे ! अब फेरि नेताजी पनि अन्डरग्राउन्ड ।
कथा नम्बर नौ : महत्ता र परिवार
‘मेरो बाँकी भाडा पनि तिर र मेरो कोठा पनि छोडिहाल नत्र भने म अब पुलिस नै बोलाउँछु, ...तिमीहरू लाजसरम नभएका साह्रै टीठ मानिस रहेछौ... ।’
भर्खरै फेरि पनि घरपतिले नानावली भनेर गयो । किन नभनोस्... भाडा नतिरेको पनि तीन महिना भइसक्यो ।
‘...के गर्ने होला, अब त यसले छोड्दैनजस्तो छ ।’ होसमै भएकाले लोग्नेचाहिँले भन्यो ।
‘मैले सकुन्जेल गाह्रोसाँगुरो टारेकै हो, अब आफैँ ढलेँ ।’ रुग्ण स्वास्नीको मसिनो आवाज आयो ।
‘...तिमीले पनि त यसो काम गरेको पैसा जोगाए हुन्थ्यो नि, आफूले कमाएको जति रक्सी घिच्तै ठिक्क छ ! मेरो मासु हुन्जेल खायौ, अब जेठी छोरीको मासु खान थालेका छौ, कहिलेसम्म खान्छौ, त्यसलाई पनि कहिलेदेखि..., मजस्तै थलिन्छे होली... !’ स्वास्नी सुँक्कसुँक्क गर्न थाली ।
‘बढ्ता बोल्छेस् हैजेराँड, तेरो बाबुको किरिया खाको छु र...’ लोग्नेचाहिँ फत्फताउँदै हिँड्यो ।
‘...काम गरेको पैसा मात्रै घरमा दिए पनि त हुन्थ्यो नि तर के गर्नु र...’ बजिया अब टन्न धोकेर आधा रातमा मात्रै आउँछ ।’
बिहानको दस बज्न लागेको छ, जेठी छोरी सुतिरहेकी छे । सधैँ यस्तै हो, बरी राति कतिखेर आउँछे, गलेको शरीर कसरी उठोस् पनि, फेरि भरे नहिँडे केले व्यवहार चलाउने । निदाएकी तरुनी छोरीको दिनदिन अस्ताउँदै गएको अनुहार हेरेर खुइय्य काढ्नबाहेक उसले गर्न सक्ने केही छैन । सानी छोरी पनि हिजोआज साँझ निक्कै छिप्पेपछि घर आउन थालेकी छे । उसका पनि नक्कल गर्ने सामान र लुगाफाटा नयाँनयाँ देखिन्छन् । मनमनै अड्कल काट्नुसिवाय उसले के नै गरोस् । छोरो त मोरो भइगयो । यस बेलासम्म उठेको छैन । त्यत्रो ज्यान भए पनि केही काम गर्दैन, दिदीचाहिँसँग झगडा गरेर पैसा माग्छ । हिजोआज के खान्छ कुन्नि !
भात जति राखिदिए पनि पुगेन भनेर झगडा गर्छ । कस्ताकस्ता अनपामरिका केटाहरू उसलाई बोलाउन आउँछन्, कपाल पनि कहिले रातो, कहिले खैरो उफ्... छोरोको बहुरूपिया रूपले उसलाई खलखली पसिना आउँछ । आफ्नै छोरो कस्तो डरलाग्दो भएको हो ।
उपसंहार
पुनः कथाकार चुप लाग्यो । मैले लेखनी अड्याएर उसलाई हेरेँ, ऊ त मुखमा बुजो लगाएर ढल्किसकेछ ।
‘ए कथाकार तिमी किन सुतेको ! उठ त, कथा सकिएको छैन, उठ !’
मैले केही आदेशात्मक स्वरमा उसलाई उठाउन खोजेकी थिएँ ।
‘ल भैगो अब मलाई कचकच नगर । यत्तिका कथा भन्दा पनि तिमीलाई पुगेन । प्रत्येक कथामा तिमी आफैँ फूलबुट्टा हालेर ठुलो पार न एउटा कथासङग्रह नै भइसकेको छ त ! अब तिमी मलाई व्यर्थ उठाउने काम नगर, यस्ता कथाहरू मसँग जत्ति पनि छन् तर आजचाहिँ म अरू कुनै कथा भन्नेछैन ।’
यति भनिसक्नासाथ ऊ त साँच्चै मपट्टि पिठ्युँ फर्काएर पो सुत्यो । नभन्दै ऊ त एकैछिनमा मस्त निद्रामा पुगेर घुर्न पनि थाल्यो ।
ल भन त गीता ! अब म के गरौँ ! मलाई यी कथाहरूको व्याख्या गर्न मन लागेन । त्यसैले तिमीलाई यी कथाहरू जस्ताको तस्तै दिँदै छु । ...र तिमीसँग मेरो एउटा अनुरोध पनि छ । के तिमी यी कथामध्ये कुनै एउटा कथा मात्रै रोजेर व्याख्याविश्लेषण गर्दिन्छयौ र बाँकी रहेका कथाहरूचाहिँ मलाई नै फिर्ता गर्दिन्छ्यौ गीता !
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण