पदले योग्य भेटेको छैन कि योग्यले पद ?
आजको परिणामविहीन राजनीतिबाट हैरान र मप्रति सकारात्मक हुनेहरु नि:स्वार्थ भावले भन्छन्- ‘तपाईं माओवादी युद्धकालकै पार्टीको केन्द्रीय सदस्य, अहिलेसम्म अवसर नपाउने र इमान्दार सिनियर नेतामध्ये भएकाले अब त सोच्नुपर्छ है, सम्भावना छ ।‘
अवश्य पनि पार्टी चुनावमा जाने भएपछि यो सुझाव आएको बुझ्न सकिन्छ । त्यसैले म यहाँ यो शुद्ध सुझाव मध्यनजर गर्दै पद, पैसा र सत्यबारे मन–मन्थन गर्दैछु ।
हामी सबैलाई थाहा छ, आज हाम्रो देशमा पदको महत्व सान अति धेरै छ । लाग्छ, पद महिमाले मान्छेमा एउटा विशेष रसायन पैदा गरिदिएको छ र त्यो पदरसको नसामा मान्छेहरु झुमेका छन् । कोही डुब्दै पुरिएका छन् । तर अचम्म ! म भने उल्टो पो देख्दैछु त । पद आफैं हैरान भएको ।
साँच्चै, आफूलाई बुझ्ने र आफनो औचित्य सावित गर्दै सम्हाल्ने उचित मान्छे नपाएर पद हैरान छ । वास्तवमा, पद र मान्छेमा को कसका र कति समयका लागि ? पद के हो- साधन कि साध्य ? पदविना मान्छे बाँच्नै सक्दैन ? पदले योग्य भेटेको छैन कि योग्यले पद भेटेको छैन ? यी प्रश्न र अन्तरविरोध मध्यनजर गर्दै मनमन्थन गर्न जरुरी छ ।
आजको नेपालमा पदरसको नशाले कथित प्रमुख पार्टीका मुख्य नेतालाई विवेकशून्य जस्तै बनाएको छ । जब तिनको पदमाथि प्रश्न उठ्छ, तब सम्पूर्ण तागतले प्रश्नकर्तामाथि हमला गर्ने गरिएको छ । पछिल्लो चरण हाम्रो देशमा सबैभन्दा धेरै नेताहरुको सङ्ख्यात्मक उत्पादन भयो र यो उत्पादनले देशका लागि आवश्यक पर्ने अन्य उत्पादन भने अवरुद्ध बनाएको सत्य हो । घर–घर र टोल–टोलमा नेता छन् र तिनको काम भनेको कुरा गर्नु हो, राज्यस्रोतको दोहन गरेर जनताभन्दा उच्च स्तरको जीवन बाँच्नु हो । अवसरबाट वञ्चितले त्यो प्राप्तिका लागि संघर्ष गर्नु हो ।
यसको अर्थ, सबै नेता अवसरवादी र खराब भन्ने होइन, बरु असल नेताहरुलाई किनाराकृत गरिएको भन्ने हो । कुरा मात्र गरेर राम्रो जीवन बाँच्नेले जनतामाथि तथाकथित लोकतन्त्रको सौन्दर्य थोपरेका छन् । आजको लोकतन्त्र भनेको आफूलाई जन्म दिने जन्मदातामाथि अन्याय गरेर देश र जनताको हाँसो ल्याउने दाबी गर्ने नक्कली लोकतन्त्र हो ।
केही मान्छेलाई लाग्छ, शक्ति नै सत्य हो, अन्य केहीलाई लाग्छ- सत्य नै शक्ति हो । तर समग्रमा यी बुझाइ एकपक्षीय र अपूर्ण छन् । सत्य र शक्ति फरक कुरा हुन् । यिनको सम्बन्ध परिपूरक र विरोधी दुवै हुन्छ ।
स्पष्ट छ, राजनीतिक दलले नै सरकार-सत्ता जन्माउँछन्, तर सरकार–सत्ताले पार्टीलाई नजरअन्दाज गर्ने, हेप्ने, तोडफोड गर्ने र अन्ततः सिध्याउने गरेको छ । २००७ सालपछि कांग्रेस,२०४७ पछि एमाले र २०६४ पछि माओवादी पार्टीको स्थितिले त्यो सत्यको उजागर गर्छ । त्यसैले वास्तविक लोकतन्त्रमा राजनीतिक पार्टीहरु जनताका असल प्रतिनिधि हुन्छन् र हुनुपर्छ भने सरकारको निर्देशक तथा जन्मदाता तिनै पार्टीहरु हुन्छन् र बनाउनुपर्छ ।
जब जनता पार्टी मार्फत सरकारलाई निर्देशित गर्छन्, तब पार्टीमाथि सरकार हाबी हुन सक्दैन र हुन दिनु पनि हुँदैन । हाम्रो पार्टीले चुनावलाई एकीकृत जनक्रान्तिको एक आवश्यक मोर्चाको रुपमा लिएर त्यस सम्बन्धी बुझाइ विगत शताब्दीको भन्दा नयाँ बनाउने भनेको छ ।
मुख्यतः आजको चुनाव प्रणाली परिवर्तन गर्न आवश्यक छ । चुनावमा व्यक्ति भन्दा पार्टीलाई उम्मेदवार बनाउन सकिन्छ । यो नभएको स्थितिमा पनि पार्टी र सरकारको सम्बन्धलाई एकीकृत जनक्रान्तिको नयाँ मान्यतासहित सञ्चालन गरेपछि पदरसको नशाबाट पैदा हुने समस्यालाई हटाउन सहयोग पुग्नेछ । अन्त्यमा, मान्छेलाई आफनो जीवनको उत्तरार्धमा पदविना निजी घरभन्दा पर समाजमा सम्मानजनक जीवन बाँच्ने नियम–संस्कृति निर्माण गरिनुपर्छ ।
आजको हाम्रो समाजमा पैसाको आवश्यकता र महत्व पनि अति धेरै छ । यो संसारमा सबैभन्दा ठुलो र शक्तिशाली वस्तु नै पैसा हो भन्ने मान्यताबाट मान्छे पूर्णरुपले पैसाप्रति समर्पित छ । त्यसकै लागि क्रियाशील पनि छ तर पैसा धनी-गरिब कसैलाई पुग्दो छैन । मान्छेहरु पैसा–पुँजीको दास बनेर विवेकशून्य भएका छन् ।
उनीहरु आफनो मुक्तिका लागि होइन, बरु मालिक (पुँजी)को दीर्घायुका लागि लड्दै मरिरहेका छन । हाम्रो समाजमा ‘धन देखे महादेवका तीन नेत्र’ भन्ने आहान छ । मार्क्सले ‘पुँजी भनेको मृत श्रम हो र जो जीवित श्रमको अवशोषण गरेर बाँच्छ, यो ३०० प्रतिशत नाफाको आश हुँदा जुनसुकै अपराध गर्न र खतरा मोल्न तयार हुन्छ’ भन्दै पुँजीको उन्मादको चर्चा गरेका छन् ।
आखिर, यो पैसा–पुँजी हो कि के ? यो पैसा–पुँजी साधन कि साध्य ? मान्छेका लागि पुँजी कि पुँजीको लागि मान्छे ? पुँजीमोह यति धेरै किन ? यसको जन्म र विकासको कथा के हो ? यसको जन्मपछि मृत्यु छ कि छैन ? हाम्रो प्राचीन पूर्वीय दर्शन–साहित्यमा धनलोभलाई नकारात्मक रुपमा नै लिएको पाइन्छ भने मार्क्सवादी दर्शन–साहित्यमा त यसको मृत्युको उदघोष गरेको देखिन्छ ।
अवश्य,मार्क्सपूर्वका चिन्तकहरुले धनलोभको नकारात्कता र यसको मृत्युको कामना गरे पनि १९ औं शताब्दीमा आएर मार्क्सले पुँजीको मृत्युको वैज्ञानिक आधार दिए । अहिले पुँजीको एक असल प्रतिनिधि विल गेट्सले केही भिन्न रुपमा त्यसको कार्यान्वयन वा पुष्टि गर्दै मर्दाखेरि पुँजीपति भएर नमर्ने इच्छा व्यक्त गरेका छन् ।
पैसा–पुँजीको सन्दर्भमा मन–मन्थन गर्न खोजेको खास कुरा के हो भने प्रारम्भमा पुँजी मृत्युको घोषणा गरेका कम्युनिस्टहरु पछि गएर पुँजीका कट्टर रक्षक किन र कसरी हुन्छन् ? नेपाल कम्युनिस्ट पार्टीले अघि सारेको श्रम–उत्पादन र आत्मनिर्भरताको अभियानले के–कसरी काम गर्छ ? पूर्वीय दर्शनमा ‘म’ चरमोत्कर्षमा पुग्दा ‘हामी’ मा परिणत हुन्छ भन्ने मान्यता छ भने मार्क्सले विपरीत एकअर्कोमा बदलिने नियम अन्तर्गत सर्वोत्कृष्ट मानव चेतनाद्वारा समाज विकासको उच्च चरणमा पुँजीविहीनताको परिकल्पना गरे । तर पुँजी एकपछि अर्को बलियो बन्दै गएको छ ।
पुँजी नहुँदाका समाजवादी पुँजी हुँदा भने पुँजीवादी बनेको इतिहास मात्र पढाइन्छ । त्यसैले पनि मान्छेहरु भन्छन् ‘आदर्शले जीवन चल्दैन,विचारका कुराले केही हुँदैन, पैसा चाहिन्छ पैसा । पैसा भए जे पनि हुन्छ ।‘
यही मान्यताले केही माओवादीहरु पछिल्लो चरण पुँजीका लागि लड्दै मर्न तयार छन् । निश्चित माओवादीहरु नवधनाढ्य बनेका छन् । यसलाई लिएर विरोधीले माओवादी जनयुद्ध धनयुद्ध हो भनेर आरोपित गरेका छन् । यसरी माओवादीको पुँजीवादीकरण भइरहेकोफ अवस्थामा पार्टीको अर्थतन्त्रसम्बन्धी नयाँ संश्लेषण र उत्पादन नीतिले मान्छेलाई पुँजीबारे सही बुझाइ बनाउन सहयोग गर्नेछ ।
नेपाली समाज एक नयाँ राजनैतिक परिवर्तनको संघारमा छ । यो परिवर्तनको प्रक्रियाको पूर्णताका लागि नयाँ विचार–कार्यक्रम र नेतृत्व आवश्यक विकल्प हो । जुन विकल्प दिन केही नयाँ संश्लेषणसहित नेकपा उत्पादनमा सक्रिय छ, क्रमश: ऊ यसमा सफल हुनेछ र पदरसको नशा र पद–पैसा मिलेर बनेको विशेष शक्ति विरुद्ध लड्दै सारतः संघर्ष, रुपान्तरण र परिणाममा खरो उत्रिनेछ ।
पुँजी नहुँदा मात्रै होइन, पुँजी हुँदा पनि समाजवादी बन्नेतिर निर्देशित गर्नेछ । हामीले श्रम–उत्पादन र आत्मनिरर्भताको नीति अनि व्यवहारद्वारा पुँजी साध्य हैन, साधन हो, पुँजीको लागि मानव हैन, मानवको लागि पुँजी हो भन्ने सत्य पुष्टि गर्नुपर्नेछ ।
फेरि पनि मुख्य कुरा दृष्टिकोणको हो । हामी समाजवादी दृष्टिकोणबाट उत्पादनलाई हेर्छौं र प्रयोग गर्छौं भने अवश्य त्यो दिशामा अग्रसर हुनेछौं ।
हाम्रो आजको दलाल पुँजीवादी समाजमा पद र पैसा मिलेर विशेष शक्ति बन्छ । जुन आणविक शक्ति जस्तै निर्णायक हुने ठानिन्छ र त्यो शक्तिले सत्यको स्थान लिने विश्वास गरिन्छ । त्यसकारण पद–पैसाको मोह अत्यधिक बढेको हो । सैद्धान्तिक रुपमा शक्ति र सत्य एकै हो या फरक चीज हो ? सत्य र शक्तिको अन्तरसम्बन्ध र अन्तरविरोध के हो ? छलफलको आवश्यकता छ ।
केही मान्छेलाई लाग्छ, शक्ति नै सत्य हो, अन्य केहीलाई लाग्छ- सत्य नै शक्ति हो । तर समग्रमा यी बुझाइ एकपक्षीय र अपूर्ण छन् । सत्य र शक्ति फरक कुरा हुन् । यिनको सम्बन्ध परिपूरक र विरोधी दुवै हुन्छ । जनयुद्धका शक्तिशाली माओवादीहरु शान्तिमा आएपछि केही पद–पैसाको विशेष शक्तिद्वारा विभूषित छन् र त्यसको अभावमा अवसानको भय र आतंकले पीडित छन् । कोही शक्तिको खोजीमा जाँड–रक्सी हुँदै देउताको शरणमा पनि पुगेका छन् ।
मैले जेल र जेलबाहिर शक्तिको बलमा कसरी सेतोलाई कालो र कालोलाई सेतो बनाइन्छ ? राम्रोसँग देखेको छु । यदि कसैले सत्य–असलको पक्षपोषण र असत्य–खराबको विरोध गर्दैन र त्यसमा शक्ति, शर्त र चित्तप्रसन्नता अझ भनौं, व्यक्तिगत लाभहानिको कोणबाट हेर्छ भने त्यो कसरी एक इमान्दार कम्युनिस्ट वा समाजवादी हुनसक्छ ? कुनै एउटा सत्य कमजोरले हैन, शक्तिशालीले भन्दा मात्र सत्य हुन्छ त ?
हाम्रो समाजमा ठुलाबडा वा शक्तिशालीले भनेपछि सत्य ठान्ने परम्परा जस्तो छ । जब यस्तो हुन्छ तब शक्ति नै सत्य हो भन्ने भ्रम बन्छ । वस्तुतः पद–पैसाको विशेष शक्तिको आशक्तिले शक्तिलाई नै सत्य ठान्ने भ्रम पैदा गर्छ । जसरी शक्ति आफैं सत्य होइन, ठिक त्यसरी नै सत्य आफैं स्वत:स्फूर्त शक्ति पनि बन्दैन । ती फरक हुनु अन्तरविरोधी हुनु हो भने सत्य र शक्ति एकापसमा जोडिनु र एकले अर्कोलाई प्रभावित पार्नु अन्तरसम्बन्धित हुनु हो । बहुल सत्यहरुमा एकीकृत सत्यको खोजी मानव जातिको मात्र विशेषता हो ।
आज नेपाली समाज एक नयाँ राजनैतिक परिवर्तनको संघारमा छ । यो परिवर्तनको प्रक्रियाको पूर्णताका लागि नयाँ विचार–कार्यक्रम र नेतृत्व आवश्यक विकल्प हो । जुन विकल्प दिन केही नयाँ संश्लेषणसहित नेकपा उत्पादनमा सक्रिय छ, क्रमश: ऊ यसमा सफल हुनेछ र पदरसको नशा र पद–पैसा मिलेर बनेको विशेष शक्ति विरुद्ध लड्दै सारतः संघर्ष, रुपान्तरण र परिणाममा खरो उत्रिनेछ ।
पार्टीको अबका नयाँ र अग्र मोर्चा दुईवटा हुनेछन्– पहिलो उत्पादन र दोस्रो चुनावी मोर्चा र ती दुई मोर्चाको योगमा अरु मोर्चा खोल्दै नयाँ विकल्पको रुपमा नेकपाको उदय हुनेछ । त्यो प्रक्रियामा आवश्यकता अनुसार जुनसुकै जिम्मेवारी पनि लिन हरदम तयार हुनुपर्नेछ ।
मुख्य कुरा आजको पद–पैसा केन्द्रित विकृत राजनीतिको ठाँउमा विचार–जनता र परिणाम केन्द्रित असल राजनीतिको स्थापनामा सकारात्मक भूमिका खेल्नु हो । त्यसका लागि आवश्यक पद पनि लिनुपर्छ, तर हामी पालो पुर्याउने र केवल विगतका नेताको सूचीमा केही थान नाम थप्न राजनीति गरिरहेका छैनौं ।
(भरत सी नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य हुन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण