काठमाडौँबाट भारत लगेर युवकको मिर्गौला तस्करी, ३ जना पक्राउ
सारांश
- प्रहरीले मिर्गौला तस्करी आरोपमा ३ जनालाई पक्राउ गरेको छ, जसमा मुख्य योजनाकार पनि संलग्न छन्।
- पक्राउ परेका व्यक्तिहरूले एक युवकलाई भारत लगेर मिर्गौला निकालेको आरोप छ, उनलाई जागिरको प्रलोभन देखाइएको थियो।
- उक्त समूहले ६ लाख दिने प्रलोभन दिएर मिर्गौला निकालेको र भुजेलसहित ५ जनाको मिर्गौला तस्करी गरेको खुलेको छ।
काठमाडौँ । काठमाडौँबाट एक जना युवकलाई भारत लगेर मिर्गौला तस्करी गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।
मिर्गौला तस्करीमा संलग्न मुख्य योजनाकार काभ्रेको पाँचखाल घर भएका ३५ वर्षीय राज कुमार परियार उर्फ कुमार सहित तीन जनालाई पक्राउ गरिएको मानव बेचबिखन ब्युरोका एसपी नरेन्द्र कुँवरले रातोपाटीलाई बताए ।
पक्राउ पर्नेमा कुमार सहित नुवाकोटका बेलकोटगढी नगरपालिका–९ घर भएका २४ वर्षीय समिर नेपाली र बेलकोटगढी–४ घर भएका ४७ वर्षीय राकेश नेपाली छन् । बिहीबार कुमारलाई काभ्रेको साँगाबाट र अरू दुई जनालाई ब्युरोको टोलीले काठमाडौँबाट पक्राउ गरेको हो ।
आरोपीहरूले सिन्धुलीको दुधौली नगरपालिका–१ घर भएका खिल बहादुर भुजेललाई ‘दिल्लीमा जागिर मिलाइदिन्छौँ’ भनेर चण्डीगढ लगेर उनको मिर्गौला निकालेका हुन् । ज्यामी काम गरेर जीविकोपार्जन गर्दै आएका भुजेललाई १ महिनाअघि आरोपीहरूले थानकोटबाट भैरहवा स्थित सुनौली बोर्डर पार गराएर चण्डीगढ लगेर अपार्टमेन्टमा राखेको अनुसन्धानबाट थाहा भएको छ । त्यहाँ आर्थिक प्रलोभन देखाएर आरोपीहरूले निजी क्लिनिकमा मिर्गौला निकालेका हुन् ।
मिर्गौला निकाल्दा ‘६ लाख आउँछ’ भनेर उनीहरूले रकम दिएको भिडियो समेत बनाएको भेटिएको छ । साउन ९ मा बायाँ मिर्गौला निकालेपछि आरोपीहरूले भुजेललाई काठमाडौँ ल्याए । भुजेलसँगै ५ जनाको मिर्गौला सो समूहले तस्करी गरेको ब्युरोका अधिकृतहरू बताउँछन् ।
मिर्गौला निकालेपछि पीडितहरूलाई लिएर राजकुमार परियार र समिर नेपाली काठमाडौँ आए । चण्डीगढमा ‘६ लाख दिन्छौँ’ भनेका परियार र नेपालीले पीडितलाई भारतबाट फर्केर नयाँ बसपार्क आइपुगेपछि ५ हजार दिएर पठाएको थाहा भएको छ । त्यसपछि घर फर्केका खिलबहादुरले आफूलाई लगातार दुखेपछि घटनाबारे परिवारमा जानकारी गराए । त्यसपछि घटना बाहिरिएको हो । आरोपीहरू विरुद्ध ब्युरोले मानव तस्करी र सङ्गठित अपराध निवारण ऐन–२०७० अनुसार अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ ।
मिर्गौला तस्करीमा संलग्न आरोपमा पक्राउ परेका राज कुमार परियार र समिर नेपालीले पनि यसअघि मिर्गौला बेचेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । पीडितहरूलाई काठमाडौँमा भेला गराएर भारतको नोयडा, दिल्ली, चण्डीगढ र कलकत्तामा मिर्गौला तस्करी हुँदै आएको प्रहरी अधिकृतहरू बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको अनुगमन अब डिजिटल पोर्टलबाट
-
धुर्मुसको अपिलः सकिन्छ भने न्याय दिनुस्, सकिन्न भने जेल हालिदिनुस्
-
विदेशी सम्बन्धनका कलेजमा थप कडाइ, नयाँ नियमावली स्वीकृत
-
बजेट विवाद समाधान गर्ने विषयमा सुदूरका मुख्यमन्त्री र महामन्त्रीबिच भेटवार्ता
-
विश्वकपको उत्सवबिच अर्जेन्टिनी फुटबल संघमाथि एफबीआईको अनुसन्धान
-
संविधान संशोधनमा दलित अधिकारलाई प्राथमिकता दिन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण