जारको पानीमा कोलिफर्म भेटियो, कसरी जोगिने ?
काठमाडौँ । ललितपुर जिल्लामा वितरण हुँदै आएको पानीमा फिकल कोलिफर्म रहेको पुष्टि भएको छ । जनस्वास्थ्य कार्यालय ललितपुरले जिल्लाका विभिन्न स्थानबाट सङ्कलन गरिएको पानीको नमुना परीक्षण गर्दा फिकल कोलिफर्म देखिएको हो ।
ललितपुर जनस्वास्थ्य कार्यालयका प्रमुख डा. भुवन पौडेलका अनुसार परीक्षणका लागि सङ्कलन गरिएका २८ नमुनामध्ये ११ मा फिकल कोलिफर्म पुष्टि भएको हो । गोदावरी नगरपालिका, महाँकाल गाउँपालिकाको गोटीखेल र पँधेरे खोलाबाट ल्याएको जारको पानीको नमुना परीक्षण गरिएको थियो ।
बर्खाको समयमा यसरी धमाधम फिकल कोलिफर्म देखिनु भनेको हैजा तथा झाडापखालाको जोखिम बढेको अर्थमा बुझ्नुपर्ने डा. पौडेलको भनाइ छ ।
पौडेलले कोलिफर्म आफैँमा रोगको कारक नभए पनि यसले पानीमा मानव वा जनावरको दिसा मिसिएको र त्यहाँ टाइफाइड, हेपाटाइटिस, झाडापखाला जस्ता रोगका खतरनाक कीटाणु रहेको सङ्केत गर्ने बताए ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका वरिष्ठ कन्सल्ट्यान्ट डा. विमल चालिसे खानेपानीमा कोलिफर्म भएमा झाडापखाला, हैजा, टाइफाइड लगायतका पानीजन्य सरुवा रोग संक्रमण फैलिन सक्ने बताउँछन् । कोलिफर्म भेटिनुले पानी प्रदूषित भएको र ढल मिसिएको सङ्केत गर्ने उनको भनाइ छ । यसले झाडापखालादेखि हेपाटाइटिसजस्ता गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्ने उनले प्रस्ट पारे ।

विशेष गरी वर्षायाममा पानीका मुहान बढी प्रदूषित हुने भएकाले यस्ता समस्या हरेक वर्ष देखिने गर्छ । ‘पानीमा कोलिफर्म देखिनु भनेको त्यो पानी पिउनका लागि अयोग्य छ भनेर बुझ्नु पर्छ । कोलिफर्म देखिएको पानी प्रदूषित छ भन्ने बुझिन्छ । त्यसमा ढलको पानी मिसिएको हुन सक्छ,’ डा. चालिसेले भने, ‘त्यो पानी पिउनयोग्य छैन भन्ने कुरा हो ।’
डा. चालिसेका अनुसार प्रदूषित पानी पिउँदा विभिन्न पानीजन्य रोगको जोखिम बढाउँछ । यस्तो पानी पिउँदा झाडापखाला, आउँ, कलेरा, टाइफाइड, र हेपाटाइटिसजस्ता रोग लाग्न सक्ने उनको भनाइ छ ।
वर्षायाममा झाडापखालाका बिरामीको सङ्ख्यामा सामान्य वृद्धि भए पनि अवस्थाले महामारीको रूप नलिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीको भनाइ छ ।
हरेक वर्ष बर्खायाममा प्रदूषित पानीका कारण हैजा, झाडापखाला लगायतको सरुवारोग फैलिने गरेको छ । अघिल्लो वर्ष ललितपुरका विभिन्न ठाउँमा हैजा फैलिएको थियो । त्यतिबेला हैजाका ५० वटा केस पुष्टि भएको थियो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७९/०८० मा एक हजार ३१६ जनामा हैजा पुष्टि हुँदा २०८०/०८१ मा घटेर १ हजार १६ जनामा पुष्टि भएको थियो । आर्थिक वर्ष २०८१/०८२ मा हैजा हुनेको सङ्ख्या २ हजार ३७३ पुगेको थियो ।
विशेष गरी बर्खा याममा झाडापखालाका बिरामी बढ्ने गर्छन् । स्वास्थ्य मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा देशभरि १ लाख ९९ हजार १६९ जना झाडापखालाका बिरामी थिए । आर्थिक वर्ष २०८०/०८१ मा २ लाख २७ हजार ४८५ जनामा झाडापखाला देखिएको थियो ।
वर्षायाममा झाडापखालाका बिरामीको सङ्ख्यामा सामान्य वृद्धि भए पनि अवस्थाले महामारीको रूप नलिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीको भनाइ छ ।
चिकित्सकका अनुसार खाना खानुअघि र पछि तथा शौचालय प्रयोग गरेपछि साबुन–पानीले मिचिमिची हात धुनु पर्छ ।
‘कोलिफर्म भेटिनुमात्र ठुलो कुरा होइन, कति मात्रामा भेटियो भन्ने महत्त्वपूर्ण हो । कोलिफर्मले जनस्वास्थ्यमा असर पार्ने भएकाले खानेपानी मन्त्रालयलाई सजग गराउनुपर्छ,’ उनले भने ।
शुद्ध पानी वितरण गर्ने मुख्य जिम्मेवारी खानेपानी मन्त्रालयको भए पनि जनस्वास्थ्यमा पर्नसक्ने असरलाई ध्यानमा राख्दै स्वास्थ्य मन्त्रालयले काम गरिरहेको डा. बुढाथोकीले बताए ।
- हैजा तथा झाडापखालाबाट कसरी बच्ने ?
बर्खायाममा पानीजन्य रोगबाट बच्न सतर्कता अपनाउनु आवश्यक छ । बर्खामा उमालेर वा फिल्टर गरेको पानीमात्र पिउन चिकित्सक सुझाव दिन्छन् ।
चिकित्सकका अनुसार खाना खानुअघि र पछि तथा शौचालय प्रयोग गरेपछि साबुन–पानीले मिचिमिची हात धुनु पर्छ । बासी, सडेगलेको र झिँगा भन्केको खानेकुरा तथा बाहिरको पानी र खानेकुरा जथाभाबी नखान उनीहरूको सुझाव छ ।
फलफूल तथा हरियो तरकारीहरू सफा पानीले राम्ररी पखालेर मात्र प्रयोग गर्ने, पकाएर खान मिल्ने चिज राम्ररी पकाएर खाने गर्दा पनि पानीजन्य रोगबाट बच्न सकिने चिकित्सकको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
-
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
-
लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण