शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

लोकतन्त्र र विकासको दिशाहीन यात्रा : पुस्तागत हिसाब किताब

राजनीतिक जीवनमा मैले सिकेको पाठ तपाईंहरूलाई काम लाग्ला कि ?
शुक्रबार, ३० साउन २०८२, १२ : २०
शुक्रबार, ३० साउन २०८२

मैले अहिले ६ दशक पार गरेँ । मेरा हजुरबा–हजुरआमा पुस्तासम्म राजनीति राणाशासनको नियन्त्रणमा रहेको राजाको वरिपरि थियो र यसैबाट निर्देशित सामन्ती समाज थियो । दोस्रो विश्वयुद्धको अन्त्यसँगै भएको लोकतन्त्र र आधुनिक विकासको लहरले मेरा बा पुस्ताहरू लोकतन्त्र र विकास भित्र्याउन एकैचोटि लागे । यसका लागि कोही देशभित्रै कोही देश बाहिर काङ्ग्रेस भए, कम्युनिस्ट भए । यिनले लामो समय यसैका लागि लडे । अन्य कोही उन्नतिको खोजीमा अन्यत्र भागे । देशमा हुनेले लोकतन्त्र ल्याए र सत्ताको चाबी समेत हात पारे । सत्ता प्राप्तिसँगै मेरो दाइ पुस्ताले बिस्तारै मति बिगार्‍यो र गति छाड्यो । यो देखेको मेरो पुस्ता यिनै सत्तासीनको रैती बन्यो या आफ्नै परिवारको पेट पाल्न मुग्लान भासियो । यो पुस्ताले आफूले जे गर्‍यो, आफ्ना सन्तानलाई त्यस्तै सिकायो । उसले कि पलायन हुन, नसके रैती हुन सुझायो । पलायन भएको पुस्ता उतै हरायो । यता भएको पुस्ता रैतीराजमै बरालियो । 

यही गोलचक्करमा भासिएको नेपाली समाज ८ दशकदेखि एउटा अशान्त यात्राको साक्षी बनेको छ । खासगरी निरङ्कुश राजतन्त्रबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्मको यसको बाटो क्रान्ति, यसले बढाएको धेरै आकाङ्क्षा र गहिरो निराशाले भरिएको छ । खासगरी यसले आम मानिसको आशा, भरोसा र यसमा भएको विश्वासघातले विक्षिप्त सामाजिक मनोभावको विगत र वर्तमान उजागर गर्न कोसिस गरेको छ ।

  • हजुरबुबा–हजुरआमा पुस्ताको युग 

अहिले आम मानिसको अपेक्षा राजनीतिको जटिल जालोमा जेलिएको छ । यो यसरी जेलिएको छ कि कुनै पनि मानिस यसबाट अब चाहेर पनि बाहिर निस्कन सक्दैन । यसको सुरुवात त आफैँलाई शासन गर्ने करारपत्रमा जानेर वा अन्जानमै औँठाछाप लगाएदेखि सुरु भएको हो । योसँगै सुरु भएको ईश्वरीय शक्तिको आडमा शासन गर्ने यो निरङ्कुश प्रणाली भत्काउन भइरहेको कालक्रममा हजुरबुबाको पुस्ताले यसका वरिपरि गुम्सिएको उकुसमुकुस देख्यो ।  आम मानिस शासकका प्रजा थिए, शासनमा सक्रिय सहभागी हुने कुरै थिएन । राजाका पालामा विकास भइहाल्यो भने प्रायः माथिल्लो तहबाट सुरु गरिएको पहल थियो, जसको पहुँच सीमित थियो । विकास जनचाहनाको आवरणमा निगाहको बक्सिस थियो । 

यद्यपि हामीलाई मन परे पनि नपरे पनि यो प्रणालीमा एक खालको सामाजिक स्थिरता थियो । यसको कारण शासन नभएर हाम्रो समाजमा सदियौँदेखि जीवित सामूहिक जीवन पद्धतिको गहिरो प्रभाव थियो । अरुले नै थोपरेको राजनीतिक चेतना र यसैमाथि थपिँदै गएको तीव्र आकाङ्क्षासँगै आम मानिसलाई लोकतन्त्र र लोकतान्त्रिक विकास चाहिएको थियो । यसको छनक पाएर पनि समाजलाई गति दिने मति गुमाएको शासक वर्गमा यसलाई जनचाहना अनुरूप फेर्नेतर्फ उचित ध्यान दिनेभन्दा साना–ठुला मुखियाका ताबेदारीमा यसैलाई टालटुल गरेर निरन्तरता थाम्ने दुस्साहस बढ्यो तर यो बाह्य दबाबको आकाश थाम्न असफल भयो । फलतः लोकतन्त्रको माग चर्किएसँगै बाह्य दबाब समेत बढ्यो र यो शासन र यसको विरासत ढल्यो । 

यसैको फेदमा टुसाएको लोकतन्त्र र विकासको तीव्र आकाङ्क्षा बुबा पुस्ताको घामसँगै महान आशामा बदलियो । अन्यन्त्रबाट भित्र्याएको यो व्यवस्था नितान्त नौलो थियो । यो भित्र्याउनेको मनसाय नै नबुझेर अन्ध समर्थन गरिएको समाज व्यवस्था नयाँ युगको सुरुवातको जलप लगाएको थियो । मुखियाको आँगनको कचहरी खुला चौरमा सरेको देखेर दङ्ग परेको समाजले यो जलपको गुणवत्ता नै फेला पारेन ।

  • लोकतन्त्र र विकासको बिहानी

बुबाको पुस्तामा लोकतन्त्र र आधुनिक विकासको उत्तरी हावाको लहर चल्योे । वादको नदेखिने धागोमा बाँधिएका बाहरूले असीम औद्योगिकीकरणको आदर्शवादको आवरणभित्र प्रगतिप्रतिको साझा दृष्टिकोणबाट प्रेरित हुन धेरैभन्दा धेरै मानिसलाई उक्साए । यो उक्साहट यति छिटो फैलियो कि सबै वादीहरू एकताबद्ध भएर ल्याएको लोकतन्त्र र विकास आम नागरिक तहसम्म पुर्‍याउन साझा अवधारणा बनाउन नपाउँदै आ–आफ्ना वादका कोटरीमा बनाएका गुँडमा ओथारो बस्न थाले । कोही काङ्ग्रेस बने भने कम्युनिस्ट बने । आफैँ सम्हालिन नसकेर यिनका समेत गुट बनाए र लोकतन्त्र र विकासलाई उँट बनाए । 

यी गुटका नाइके आफूहरूबिचका वैचारिक भिन्नताका बाबजुद पुरानो व्यवस्थालाई भत्काउन गरेको त्याग र सहेको राजनीतिक दमनको पहाडमा घिउ खाको कथा बेचेर एकपछि अर्कोले सत्ताको चाबी हात पारिरहे ।
जलप लगाएको लोकतन्त्रको वाचा बेच्न सफल यो युगका शासकले सुशासन दिन नसके पनि आशाका पुन्तुरा खोल्दै विकासको वचन दिन कहिल्यै चुकेनन् । लेनदेनका हिसाब–किताब गरेर निहित स्वार्थको साँगुरो गल्लीबाट भित्रिएको दानको विकासले हाम्रो सानो सहरिया मनचिन्ते आँगन छिटै भरियो । यो देखेर आम मानिसले लोकतान्त्रिक शासनले गर्र्दा स्रोतहरू राम्रोसँग व्यवस्थापन हुने रहेछन्, सबैका लागि अवसर सिर्जना हुनेछन् र नेपालले वास्तविक समृद्धिको मार्गमा अघि बढ्नेछ भन्ने धिपधिपेमा पाक्दै गरेको वीरबलको खिचडीमा भरोसा गरिरहे । यो पकाउने भान्सेको आग्रह र आस्वाशनसँगै यो छिटै पकाउनेमा विश्वास गरिरहे । 

  • दाइ पुस्ता र बाटो हराएको अवस्था

यो विरासतको विशाल भारी बोक्न आएको मेरो दाइ पुस्ता यो भारी बोकेर केही पाइला सार्न नपाउँदै यो बिसाएर बरालियो । सत्ताको बागडोर हातमा लिएपछि यो पुस्ताले मति बिगार्‍यो र गति छाड्यो । यो नेपालको लोकतन्त्रपछिको इतिहासमा एक महत्त्वपूर्ण निराशाजनक घुम्ती हो । यसले लामो सङ्घर्षबाट शासनमा आएको बा पुस्ताले थमाएको लोकतन्त्र र विकासको  विरासतको अपमान मात्र गरेन, मेरो पुस्तामा चरम निराशाको भारी बोकायो । लोकतन्त्र र विकासका लागि लड्न प्रेरित गर्ने आदर्शवाद क्षत–विक्षत भयो । स्वार्थ र गुटबन्दीको थाङ्नामा सुतेको यो पुस्ताले लोकतन्त्र र विकासका  सिद्धान्तको घोर अपमान गर्‍यो । अहिले मेरो पुस्ता दाइ पुस्ताको सत्तायुद्धको उन्माद र यिनले थोपरेको भ्रष्टाचार र कुशासनको पुस्तैनी विरासतमा गम खाएर बसेको छ ।

दाइ पुस्ताका निकम्मापनले लोकतन्त्र र विकासका मानक एकपछि अर्को भत्किँदै गएका छन् । राजनीति चालबाजी र चलखेलको अखडा बनेको छ । शासनका विधि कागजका खोस्टा भएका छन् । आम नागरिकको भरोसाको पर्खाल भत्किएको छ । यो सबैले सामाजिक निराशा मात्र बढाएको छ । भ्रष्टाचार र कुशासनको बलियो जग बसालेको मेरो दाइ पुस्ताले यसको विरासत थाम्न उक्साउँदै भाइ (मेरो पुस्ता)लाई रैती बन्न वा वरिपरि नआउन औँला ठड्याएको छ ।

  • निराशा र समर्पण : मेरो पुस्ता र रैतीपन

शासन गर्ने दाइ पुस्ताको नैतिक पतनको साक्षी बनेर बाँचेको मेरो पुस्तासँग दुई विकल्प थियो । सत्तामा रहेको दाइ पुस्ताको रैती हुन तयार हुँदै तिनैको हात समाएर सत्ताको भर्‍याङ उक्लिन दौरा–सुरुवाल सिलाउनु या निराशाको भारी बोकेर कर्म खोज्दै बर्मा अर्थात् विदेश जानु । यो दुवै निरीह रैतीपनको उपज थियो । 

भ्रष्टाचार र असफलताहरू प्रत्यक्ष रूपमा देखेर आएको मेरो यो पुस्ता आफ्नै आकाङ्क्षामा चिसो पानी खन्याएको निराश पुस्ता हो । लाचार र निरीह आफ्नै पुस्तालाई धेरै भन्ने आँट छैन । यसको निरीहता नै भावी पुस्ताको नियति बनेको छ । यो अपजसको भारी बोकेर आफ्नै आङको छारो कन्याउने आँट छैन । 

  • भविष्यको विचलन : छोराछोरी पुस्ता 

मेरो पुस्ताको निरीहता र निराशाको सिकार भएको छोराछोरी पुस्ताको नियति मेरा लागि हृदय विदारक छ ।  छोराछोरी पुस्तालाई कर्म खोज्न बर्मा अर्थात् विदेश जाने मेरो पुस्ताले बुझ्न नसकेको बर्मासँगै कर्म हुने कुराको भेद पाउन आग्रहसम्म गर्न सक्छ । मेरो पुस्ताको अकर्मण्यताको भारीले थिचिएर बिदेसिन समेत नसकेर यतै रहेर अतालिएको छोराछोरी पुस्तासँग आँखा जुधाएर बात गर्ने त आँट छैन, तर टाढैबाट सुझाव छ मेरो पुस्तालाई धारे हात लगाएर समय बर्बाद नगर्नुहोस् । मजस्ता बा पुस्ताको नियति हेरेर सिक्नुहोस् । आफ्नै उज्ज्वल भविष्यको बाटो बनाउन सचेत विद्रोहमा लाग्न तयार हुनुहोस् । तपाईंले अब बेहोर्ने नियति आफैँ समाल्न तयार हुनुहोस् । यसको अर्को कुनै विकल्प छैन । 

यो सल्लाहले एकातिर मेरो पुस्ताको लाचारीको ऐना देखाएर हामीलाई नै गिज्याएको छ भने अर्कोतिर कहालीलाग्दो भविष्यको ओरालो यात्राको भयावह दृश्य देखाएर तपाईंहरूको उत्साह कमजोर बनाउन सक्छ, तर यो थाहा हुँदाहुँदै पनि म यसो भन्ने साहस गरेको छु । किनकि यति आँट नगर्ने उल्टै रैती हुन उक्साउने मेरो दाइ पुस्ताको कमजोरीबाट सिकेको हुँ । सायद राजनीतिक जीवनमा मैले सिकेको यो सानो पाठ तपाईंहरूलाई काम लाग्ला कि ? 

अन्त्यमा निराशाको खेतीजस्तो लाग्ने यो कथा मेरा आफ्नै अनुभव र अनुभूतिको सार हो । यसका पात्र काल्पनिक होइनन् । आठ दशक लामो लोकतन्त्र र विकासको यात्रामा पलाएका आशा, थपिएका आकाङ्क्षा, तोडिएका वाचा र टुक्रिएका सपनाको भारी उठाउन बाँकी रहेका पुस्ताले पढ्नैपर्ने कथाका असली पात्र हुन् । 

यो केवल राजनीतिक संक्रमणहरूको कथा मात्र होइन, यो मैले देखेको हाम्रो समाजको लोकतन्त्र र विकासको साझा कथा हो । बा पुस्ताको आशलाई दाइ पुस्ताको भ्रष्टाचारले कसरी मेरो पुस्तामा निराशा र परित्यक्तता ल्यायो र अन्ततः युवाको बलपूर्वक बसाइँसराइ वा राजनीतिक लक्ष्यहीनताको बाटो देखायो भन्ने पुस्तान्तरको व्यथा हो । 

आजको युवा पुस्ताले यी सबै असहज सत्यहरूको सामना गर्दै भ्रष्टाचारका कारणमा गहिरो आत्मनिरीक्षण, नैतिक शासनप्रतिको नवीकृत प्रतिबद्धतासहित बलियो, जवाफदेही  लोकतन्त्रको जग निर्माण गर्न एक ठोस प्रयास गर्न आवश्यक छ । यसको बोझ अब लोकतन्त्रको विकल्प लोकतन्त्र र विकासको विकल्प वैकल्पिक विकासको नयाँ क्षितिज देख्ने उद्यमशील युवा नेतृत्वले मात्र थाम्न सक्छ । अब अरु भ्रष्ट भ्रमबाट मुक्त भएर यिनैलाई सघाउने र भौँतारिएको लक्ष्यहीन युवालाई यो मर्म बुझाउने कामसम्म गर्न सके मेरो पुस्ताको बुढ्यौलीको कर्म पूरा होला कि ? 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णप्रसाद पौडेल
कृष्णप्रसाद पौडेल
लेखकबाट थप