चलचित्र 'मुन्धुम'को छायाङ्कन सकियो, दसैँ–तिहारपछि प्रदर्शन गर्ने लक्ष्य
सारांश
- याक्थुङ समुदायको मौलिक दर्शनमा आधारित चलचित्र 'मुन्धुम' को छायाङ्कन ताप्लेजुङमा सम्पन्न भयो।
- प्रकाश सुब्बाको लेखन तथा निर्देशन रहेको यो चलचित्रले 'सामसामा मुन्धुम' को आस्था र विश्वासलाई प्रस्तुत गर्दछ।
- चलचित्रमा पूर्ण लिम्बू, सन्जु लिम्बु लगायतका कलाकारहरूको अभिनय रहेको छ, र दसैँ-तिहारपछि प्रदर्शन हुनेछ।
काठमाडौँ । याक्थुङ (लिम्बू) समुदायको मौलिक दर्शन, आस्था र विश्वासमा आधारित चलचित्र 'मुन्धुम'को छायाङ्कन सकिएको छ। फक्तालुङ फिल्म्सको ब्यानरमा निर्माण भएको यस चलचित्रको छायाङ्कन ताप्लेजुङको नुनढाकीदेखि फक्तालुङसम्मका रमणीय स्थानमा भएको छ।
प्रकाश सुब्बाको लेखन तथा निर्देशन रहेको यो चलचित्रले याक्थुङ समुदायले मान्दै आएको ‘सामसामा मुन्धुम’ को आस्था र विश्वास पद्धतिको अभ्यासलाई पर्दामा उतारेको छ। निर्देशक सुब्बाका अनुसार, याक्थुङ जातिको मौलिक दर्शन, विश्वास र आस्थालाई आम दर्शकमाझ पुर्याउने उद्देश्यले यो चलचित्र निर्माण गर्न लागिएको हो। 'याक्थुङहरूले मान्ने मुन्धुमको आस्था र विश्वास पद्धति के हो र किन छ भन्ने कुरालाई चलचित्रमार्फत देखाउन खोजेका छौं,' उनले भने।
चलचित्र ‘मुन्धुम’मा पूर्ण लिम्बू, सन्जु लिम्बु, प्रेम सुब्बा, विजय सन्योक सुब्बा, राज काउचा, अप्सरा शेर्मा, बिनिता राई सुब्बा, राज कुमार आङ्दाङ्बे, नारायण ल्वागुन, बिनिता लिम्बू, सागर केरुङ र सगर सिङलको मुख्य अभिनय रहेको छ।
चलचित्रको प्राविधिक पक्ष पनि बलियो देखिएको छ। यसको प्रोडक्सन डिजाइन राज थापा काउचाले गरेका छन् भने गङ्गा राम राईले छायाङ्कन गरिरहेका छन्। मुख्य सहायक निर्देशकमा धड्कन लिम्बू, सहायक निर्देशकमा अस्मिता लावती र कला निर्देशनमा रुपक जिमी रहेका छन्। त्यस्तै, टिका कार्की प्रोडक्सन कन्ट्रोलर र आयुब केसी कार्यकारी निर्माता रहेका छन्।
निर्माण पक्षले चलचित्र आउँदो दसैँ तिहारपछि प्रदर्शनमा ल्याउने तयारी गरेको जनाएको छ। मौलिक कथावस्तु र संस्कृतिमा आधारित यो चलचित्रले नेपाली चलचित्र क्षेत्रमा एक विशेष स्थान बनाउने अपेक्षा गरिएको छ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण