भेनेजुएला भूकम्पः फुटबलर यामभर्ट बेरोटेरानसहित कैयौँ खेलाडीको ज्यान गयो
सारांश
- गत बुधबार भेनेजुएलामा गएको शक्तिशाली भूकम्पमा परी कैयौँ फुटबल खेलाडीहरूको ज्यान गएको छ ।
- भूकम्पमा ज्यान गुमाउनेहरूमा १८ वर्षीय प्रतिभाशाली खेलाडी यामभर्ट बेरोटेरान, भिक्टर पालासियोस र राजान सिजा समेत रहेका छन् ।
- भूकम्पको समयमा आफ्नो सानो बच्चालाई बचाउने क्रममा जुलिया एफसीका डिफेन्डर हेक्टर बेलोकी श्रीमतीको निधन भएको छ ।
काठमाडौँ । गत बुधबार भेनेजुएलामा गएको शक्तिशाली भूकम्पमा परी कैयौँ फुटबल खेलाडीहरूको ज्यान गएको छ भने धेरै खेलाडीहरू यसबाट प्रत्यक्ष प्रभावित भएका छन् । भेनेजुएला फुटबल महासंघले शुक्रबार यस दुःखद खबरको पुष्टि गरेको हो ।
भूकम्पमा ज्यान गुमाउनेहरूमा भेनेजुएलाका उदीयमान १८ वर्षीय प्रतिभाशाली खेलाडी यामभर्ट बेरोटेरान समेत रहेका छन् । बेरोटेरानले केही महिनाअघि मात्र दोहामा सम्पन्न फिफा यू–१७ विश्वकपमा आफ्नो देशको प्रतिनिधित्व गरेका थिए भने उनी हालै यू–२० राष्ट्रिय टोलीमा समेत आबद्ध थिए ।
फुटबल महासंघ र सम्बन्धित क्लबहरूका अनुसार भूकम्पकै कारण अन्य दुई युवा खेलाडीहरू भिक्टर पालासियोस र राजान सिजाको पनि निधन भएको छ । यसैबिच, जुलिया एफसीका डिफेन्डर हेक्टर बेलोको परिवारमा पनि ठूलो बज्रपात परेको छ । भूकम्पको समयमा आफ्नो सानो बच्चालाई बचाउने क्रममा बेलोकी श्रीमतीको निधन भएको छ । खेलाडी बेलोले सामाजिक सञ्जालमार्फत आफ्नी श्रीमतीले बच्चाको रक्षा गर्दा ज्यान गुमाएको र अहिले छोरी र आफन्त अस्पतालमा उपचाररत रहेको जानकारी दिएका छन् ।
भूकम्पमा परेर ज्यान गुमाउने सयौँ नागरिकहरूको सूचीमा राष्ट्रिय स्तरका यी खेलाडीहरू पनि परेपछि भेनेजुएलाको खेलकुद क्षेत्र अहिले गहिरो शोकमा डुबेको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण