शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय

नेकपा कोशीले बनायो १ हजार ४९९ सदस्यीय समिति, प्रचण्डले गराए शपथ

शुक्रबार, १२ असार २०८३, २२ : ३८
शुक्रबार, १२ असार २०८३

सारांश

  • नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को १ हजार ४ सय ९९ जनाको कोशी प्रदेश समिति अनुमोदन भएको छ ।
  • विराटनगरमा बसेको प्रदेशको एकता बैठकले उक्त सदस्यसहितको प्रदेश समिति अनुमोदन गरेको हो ।
  • नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले समितिमा मनोनीत सबैलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।

विराटनगर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को १ हजार ४ सय ९९ जनाको जम्बो कोशी प्रदेश समिति अनुमोदन भएको छ । विराटनगरमा आज बसेको प्रदेशको एकता बैठकले उक्त सदस्यसहितको प्रदेश समिति अनुमोदन गरेको हो । समितिमा मनोनीत सबैलाई नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनीयताको शपथ गराएका छन् ।

नेकपा प्रदेश कमिटीका संयोजक हर्कबहादुर नेम्वाङले प्रस्ताव गरेपछि उक्त सङ्ख्यालाई बैठकमा उपस्थित प्रतिनिधिहरूले ताली बजाएर अनुमोदन गरेका थिए। संयोजक नेम्वाङले बैठकमा छलफल र स्वीकृतिका लागि आठ वटा एजेन्डा पेस गरेका थिए ।

जसमा सङ्गठन निर्माण र एकीकरणलाई तीव्रता दिनका लागि प्रदेश सचिवालय समिति गठन, जिल्ला समितिहरूको एकता भेला तथा बैठक सञ्चालन गर्ने, जनवर्गीय सङ्गठन तथा मोर्चाहरूको व्यवस्थापन गर्ने र विभाग तथा कामको फाँट निर्धारण गर्ने रहेको छ ।

यस्तै, केन्द्रीय सदस्य, प्रदेश सदस्य तथा अन्य कमिटीका सदस्यहरूको कार्यक्षेत्र र जिम्मेवारी समायोजन गरिने, पार्टी एकीकरण र सङ्गठन विस्तारका लागि विशेष अभियान सञ्चालन गर्ने लगायतका एजेन्डा रहेका छन् । शुक्रबारको बैठकले कोशी प्रदेशका समसामयिक विषयवस्तुहरू समेटेर प्रदेश सह–इन्चार्ज परशुराम बस्नेतद्वारा तयार पारिएको प्रस्ताव पारित भएको संयोजक नेम्वाङ्गले बताए ।

बैठकलाई सम्बोधन गर्दै संयोजक नेम्वाङले पार्टी एकता र सांगठनिक समायोजनका कामहरू लामो समयदेखि अल्झिएका कारण स्थानीय तह र वडास्तरसम्म यसलाई यथाशीघ्र टुङ्ग्याउनुपर्ने आवश्यकता रहेको बताए । उनले नयाँ राजनीतिक शक्तिहरूको बढ्दो गतिविधि र अन्य दलहरूको हस्तक्षेपलाई चिर्न कार्यकर्तामा देखिएको अन्यौलता र निराशा अन्त्य गर्नुपर्ने पनि बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप